Thursday, May 02, 2024

-->

एसईई परिणामपछिको बहस:  परीक्षा महत्त्वपूर्ण कि सिकाइ?

अप्राप्य भविष्यकेन्द्रित परीक्षाभन्दा पनि जीवन बाँच्नका लागि आवश्यक सीप, ज्ञान र त्यसबाट सिर्जित खुशीप्राप्तिमा हालको शिक्षाप्रणालीलाई परिवर्तन गर्न अत्यावश्यक भइसकेको छ।

एसईई परिणामपछिको बहस  परीक्षा महत्त्वपूर्ण कि सिकाइ

कुनै खास परीक्षामा सर्वोत्कृष्ट, उत्कृष्ट वा धेरै अंक ल्याउनासाथ व्यक्तिको जीवन सफल हुने हो, सबै थोक पाइने हो? के परीक्षामा थोरै अंक आउनासाथ सबैथोक सकिने या जीवनको आगामी यात्रा नै रोकिने हो? शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित भएपछि यस्ता खालका सवालजवाफ विद्यार्थी, शिक्षक, अभिभावक, सर्वसाधारणबीच चलिरहेको छ। 

राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित एसईई परीक्षाको नतिजाअनुसार चार लाख ८५ हजार सहभागी विद्यार्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउने २२ हजार ४७५ (४.६३ प्रतिशत) छन् भने  ३८ हजार ७७० (७.९९ प्रतिशत) विद्यार्थीले १.२ देखि १.६ जीपीए ल्याएका छन्। ०.८ देखि १.२ जीपीए ल्याउने विद्यार्थी २२ सय (०.४५ प्रतिशत) छन्।

एसईई मात्र होइन, हरेक परीक्षाले विद्यार्थी, शिक्षक र अभिभावकमा एक किसिमको मनोवैज्ञानिक दबाब सिर्जना गरिदिएको हुन्छ। एकातिर परीक्षामा कमजोर नतिजा आई अन्य सहपाठीभन्दा कमजोर देखिनुपर्ने हो कि भन्ने पिर हुन्छ भने, अर्कोतिर अभिभावक र शिक्षकले कमजोर नतिजाको आधारमा गर्ने व्यवहार सम्झेर विद्यार्थीले उत्तिकै दबाब खेप्नुपरिरहेको हुन्छ।

शिक्षकमा आफूले पढाएको विद्यार्थीको कमजोर नतिजा आउँदा पेसागत क्षमतामाथि नै प्रश्न उठ्ने पो हो कि भन्ने त्रास हुन्छ। त्यस्तै, अभिभावकमा भने बालबालिकाले परीक्षामा कमजोर नतिजा ल्याउँदा आफूले पूरा गर्न नपाएको तर सन्तानमार्फत पूरा गर्न खोजेका सपना अधुरो रहने भयले सताइरहेको हुन्छ। आफ्ना सन्तानको कमजोर नतिजाका कारण आफ्नो प्रतिष्ठामा आँच आउने त्रास पनि अभिभावकमा उत्तिकै विद्यमान हुन्छ।

अब आलेखको शुरूमा उठाइएको प्रश्नबाट अगाडि बढौँ। परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउनासाथ जीवन पूर्ण सफल हुने हो, सबै थोक पाइने हो? आवश्यक होइन, तर त्यसको मतलब उत्कृष्ट अंक ल्याउने गरी पढ्नु आवश्यक छैन पनि भन्न खोजिएको होइन। यहाँ परीक्षाको नतिजा मात्रले जीवनको यात्रामा कति महत्त्व राख्छ भन्ने कुराको समेत चर्चा गर्न खोजिएको हो। 

हामी किन परीक्षाको नतिजालाई यति धेरै महत्त्व दिन्छौँ? नियमित भइरहने परीक्षाको नतिजालाई यति धेरै महत्त्व दिइरहनु आवश्यक छ? वा शिक्षामा महत्त्व दिनुपर्ने विषय अर्कै छ? यी सवालले थप प्रश्नहरू जन्माउँछन्, जस्तो कि; त्यसो भए के हामीले पढ्नु नै आवश्यक छैन? औपचारिक परीक्षाहरूमा सहभागी हुनु नै बेठिक हो त? अथवा परीक्षामा फेल भए पनि जीवनमा खासै केही असर पर्दैन त? यी दुवै प्रकृतिका सवालका विषयमा अलिकति पछाडि फर्केर हालको माध्यमिक शिक्षा परीक्षा र पहिलेको प्रवेशिका परीक्षाको नतिजाको थोरै विश्लेषण गरौँ।

परीक्षा प्रणाली बदल्ने कुरा
विसं. १९९० मा पहिलो पटक भएको एसएलसी परीक्षा विसं. २०७३ सालबाट कक्षा १० को अन्तिममा एसईई परीक्षाको नाममा सञ्चालन भइरहेको छ। १९९० सालको एसएलसी परीक्षामा ३४ जना विद्यार्थी सहभागी भएकोमा पछिल्लो शैक्षिकसत्र २०७९ मा ४.८५ लाख विद्यार्थी सहभागी भए। यी परीक्षाको नतिजा हेर्ने हो भने, सबैभन्दा धेरै १९९८ मा ७७.७८ प्रतिशत र २०३८ मा सबभन्दा थोरै १६.६८ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भए। के ती सबै उत्तीर्ण विद्यार्थी आफ्नो बाँकी जीवनकालमा पूर्ण रूपमा सफल भए होलान्? अनि के ती सबै अनुत्तीर्ण विद्यार्थीको जीवन उक्त नतिजा प्रकाशनसँगै सकिएको थियो? कदापि थिएन। न त उत्तीर्ण सबै विद्यार्थी पूर्ण रूपमा सफल र सुखद जीवन बाँचेका थिए न सबै अनुत्तीर्णको जीवन पूर्णतया: असफल भएको थियो। त्यसो हो भने के औपचारिक परीक्षा आवश्यक नै छैन त? 

त्यसो त, जिन्दगीले हरेक पल हाम्रो परीक्षा लिइरहेको मानिन्छ। औपचारिक शिक्षामा के कति सिकाइ उपलब्धिपूर्ण भयो भनेर मापन गर्न परीक्षा लिइने गरिन्छ। तर समय तोकेर लिइने आधुनिक परीक्षाशैलीको धेरैले विरोध गरेको पाइन्छ। तोकिएको निश्चित २/३ घण्टाको अवधिमा लिइने परीक्षा नै आधुनिक शिक्षाप्रणाली प्रमुख दोष रहेको धेरै शिक्षाविद्हरूले बताउने गरेका छन्। त्यसमाथि नेपालको एसईईको सवालमा त 'एसएलसीको फलामे ढोकारूपी भूत' जीवित राख्न सञ्चालन गरेको परीक्षा भनी यसमाथि आरोप पनि लाग्ने गरेको छ।

नेपालको संविधानले नै विद्यालय शिक्षा स्थानीय तहलाई जिम्मा दिएको सन्दर्भमा संघीय सरकारले यो परीक्षा सञ्चालन गर्नु अनुपयुक्त छ भन्ने पनि उनीहरूको जिकिर रहेको छ। अर्कोतिर, परीक्षा र सिकाइ कुनचाहिँ महत्त्वपूर्ण भन्ने बहस पनि उत्तिकै चलिरहेको देखिन्छ। परम्परागत रूपमा अहिले चलिरहेको शिक्षण सिकाइ प्रक्रिया बदलेर सिर्जनशील सिकाइ प्रणाली विकास गर्नुपर्ने चर्को आवाज उठिरहेको छ। विद्यालय शिक्षा प्राप्तिपश्चात् नागरिकलाई कर्तव्य परायण, नैतिकवान् र गरिखाने बनाउन सक्नुपर्ने अपेक्षा गरिएको छ भने दुई वा तीन घण्टाभित्र विद्यार्थीले वर्षौं सिकेको ज्ञानलाई प्रकट गरिसक्नुपर्ने जडतावादी परीक्षा प्रणालीलाई नै बदल्नुपर्ने आवश्यकता बढ्दै गएको महसुस गर्न सकिन्छ।

के गर्ने एसईईपछि?
धेरै विद्यार्थीहरू एसईईपछि के गर्ने भन्ने ठूलो दोधारमा परेका हुन्छन्। एकातिर आफूले जीवनमा देखेका सपनाहरू पूरा गर्ने हुटहुटी रहेको हुन्छ भने अर्कोतर्फ परिवार र समाजको आफूमाथिको आकांक्षा पूरा गर्नुपर्ने चुनौती र दबाब। एकातिर आफ्नो खुशीप्राप्ति हुन्छ भने अर्कोतिर दायित्व। आफूलाई विद्वान–लेखक बन्न मन लागेको हुन्छ, परिवारले डाक्टर बनोस् भन्ने चाहना राख्छ। कतिपयलाई फेसन डिजाइनर बन्न मन लाग्ला, परिवारले इन्जिनियर बनाउने लालसा राखेको हुनसक्छ। शिक्षक बन्न मन लागेको व्यक्तिलाई सेना–प्रहरी बन्ने दबाब हुन सक्छ भने सेना–प्रहरी बन्न मन लागेकालाई शिक्षक। यस्ता धेरै प्रकारका दबाबका बीच के पढ्ने र कता जाने भन्ने निर्णय लिन भर्खरै १० कक्षा पास गरेको विद्यार्थीका लागि निकै चुनौतीको काम हो।

यस्तो समयमा सबैभन्दा महत्त्वपूर्ण आफ्नै मनको आवाज सुन्नु हुन्छ। आफ्नो रुचि आफैँले पहिल्याउन कोशिश गर्ने र रुचिको आधारमा पढ्ने विषयको छनोट गर्नु सबैभन्दा पहिलो काम हो। कतिपय अभिभावकले आफ्ना बालबालिकाको रुचि पहिल्याउने प्रयत्न गरिरहेका हुन्छन्। तर यस किसिमका अभिभावकको संख्या अत्यन्त न्यून रहेको पाइन्छ। विद्यार्थीले आफ्नो रुचि पहिल्याउन आफू अबको १० वर्षमा कस्तो अवस्थामा हुने भनेर सोच्ने एउटा उपाय हुन सक्छ। आफ्नो रुचि आफैँ पहिल्याउन नसक्दा शिक्षाका जानकार, परामर्शदाता तथा विज्ञहरूको सरसल्लाह पनि लिन सकिन्छ। 

अर्को कुरा, आफ्नो रुचिको विषय पढ्ने कुरामा अभिभावकलाई 'कन्भिन्स' गर्नु सबैभन्दा चुनौतीपूर्ण रहेको पाइन्छ। उसो त, देखासिकीबाट अभिभावकहरूले आफ्ना सन्तानको भविष्यको रेखा आफैँ कोरेका हुन्छन्। त्यही रेखामा छोराछोरी हिँडाउन भरमग्दुर प्रयत्न गर्ने गर्छन्। अर्कोतिर, आफ्नो जीवनकालमा आफूले पूरा गर्न नसकेको सपना सन्तानबाट पूरा गर्ने ध्याउन्नमा धेरै अभिभावक लागेका हुन्छन्। यसो गर्दा सन्तानको खुशी केमा छ भन्ने कुरा उनीहरूले भुलिरहेका हुन्छन्। 

यसका लागि पनि विज्ञ परामर्शदाताको सल्लाह उपयोगी हुन सक्छ। तर सबै ठाउँमा विज्ञहरू नभेटिन सक्छन्। त्यस्तो अवस्थामा आफ्ना शिक्षक, गाउँ समाजका अगुवा, राजनीतिक, सामाजिक नेतृत्व, परिवार र आफन्तभित्र आफ्नो अभिभावकले कुरा सुन्ने व्यक्तिको मद्दत लिएर विद्यार्थीले आफ्ना अभिभावकलाई आफूले पढ्ने विषयबारे बुझाउन सक्छन्।

परीक्षा महत्त्वपूर्ण कि सिकाइ?
अधिकांश अभिभावकको प्रायः एउटै गुनासो हुन्छ, दशौँ वर्ष विद्यालय गएर शिक्षा आर्जन गरेको सन्तानले बिजुलीको एउटा बल्ब फेर्न सक्दैन। त्यसो त स्नातक र स्नातकोत्तर पूरा गरेका विद्यार्थीले दैनिक जीवनमा आइपर्ने सामान्यभन्दा सामान्य प्राविधिक काम पनि गर्न नसकेका प्रशस्त उदाहरण हाम्रै वरिपरि छन्। शिक्षाको नाममा विद्यार्थीलाई सूचना र तथ्यहरू रट्न लगाउने र तीन घण्टा परीक्षाको नाममा तिनै सूचना ओकल्न लगाउने शिक्षाप्रणालीले सिर्जना गरेको विकृतिका रूपमा शिक्षाका जानकारहरूले बताउने गरेका छन्। 

विकल्पको रूपमा हालै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अगाडि सारेको 'बुक फ्रि फ्राइडे' (शुक्रबार पाठ्यक्रम पढ्नुको सट्टा अन्य सिर्जनशील अभ्यास गर्ने) अवधारणा जस्ता सिकाइ विधिलाई अवलम्बन गर्न सकिन्छ। एक अर्कालाई साथ सहयोग गर्ने, माया र सद्भाव देखाउने, मिलेर बस्ने, अप्ठेरोमा परेका व्यक्तिलाई सहायता दिने, अनावश्यक धाक-रवाफ नदेखाउने, प्रकृतिप्रति माया र ममता जगाउनेजस्ता सामान्य तर मानवीय कुरा मात्रै सिकाउन सकेमा औपचारिक शिक्षाको महत्त्व अझ बढ्नेछ।

त्यसो त, कतिपय अवस्थामा औपचारिक शिक्षामा अब्बल ठहरिएका विद्यार्थीले पनि मानवीय संवेदना र व्यवहारमा ख्याल गरेको देखिँदैन। सार्वजनिक सवारीमा यात्राका क्रममा बच्चा बोकेर उभिरहेकी महिलाको बच्चा भिडभाड र चेपचापका कारण रोइराखेको हुन्छ, तर सँगैको सिटमा बसिरहेको स्नातकवालाले तिनलाई सिट छोड्नु आफ्नो सामाजिक दायित्व हो भन्ठान्दैनन्। बिरामी बा–आमालाई नियमित औषधि उपचार गराउने कामलाई झन्झटिलो मान्ने शिक्षित युवा हाम्रै वरिपरि थुप्रै भेटिन्छन्। जबसम्म मानवतालाई व्यवहारले सिञ्चित गर्ने भावना र व्यवहार विकास गराउन सकिँदैन, तबसम्म एसईईजस्ता परीक्षाका ग्रेडसिटमा आउने उच्च श्रेणीका नम्बरको मात्र अर्थ देखिँदैन।

आफ्नो समयको शिक्षाप्रणालीदेखि बेखुस 'गडम्यान' तथा दार्शनिक ओशो रजनिश भन्थे, 'अहिलेको शिक्षा अपूरो मात्र होइन कि हानिकारक पनि छ, किनभने अहिलेको शिक्षा प्रतिस्पर्धामा आधारित छ। त्यसो हुँदा यसले व्यक्तिको दैनिक गुजारा कसरी चलाउने भन्ने मात्र सिकाउँछ। सबै जना मिलेर अर्थपूर्ण जीवन कसरी बाँच्ने भन्ने सिकाउँदैन।' उनको विचारमा शिक्षा केबल लक्ष्यकेन्द्रित भएको छ, जसमा जीवन पर्यन्त काम लाग्ने सिकाइभन्दा पनि एक दुई वर्षमा आउने परीक्षा महत्त्वपूर्ण हुन्छ। यो शिक्षाले बर्तमानलाई भन्दा भविष्यलाई निकै महत्त्व दिएको छ। ओशोले तीन/चार दशकअघि बोलेको कुराले आज हाम्रो सन्दर्भमा समेत अर्थ राख्छ। 

हाम्रो शिक्षाले सुखद हुने ठानिएको सुदूरभविष्यको लागि हालको सुन्दर वर्तमानलाई बलिदानी गरेको छ। यो हाम्रो जीवनशैली नै बनिदिएको छ कि अप्राप्य भविष्यको लागि सुन्दर वर्तमानको तिलाञ्जली। यसले जीवनमा ठूलो शून्यता सिर्जना गरिदिएको छ। यसरी हेर्दा अहिलेको शिक्षाले धेरै व्यक्ति–व्यक्तिबीच सहकार्य गरेर बाँच्नेभन्दा पनि एक व्यक्तिकेन्द्रित जीवन जिउन अभिप्रेरित गरेको देखिन्छ, जसले मानव जीवनबाट खुशीलाई निकै पर पुर्‍याइदिएको छ। अप्राप्य भविष्यकेन्द्रित परीक्षाभन्दा पनि जीवन बाँच्नका लागि आवश्यक सीप, ज्ञान र त्यसबाट सिर्जित खुशीप्राप्तिमा हालको शिक्षाप्रणालीलाई परिवर्तन गर्न अत्यावश्यक भइसकेको छ।

हाल संघीय शिक्षा ऐन जारी हुने संघारमा मुलुक रहेको सन्दर्भमा आउने शिक्षा ऐनले परम्परागत शिक्षण सिकाइ र परीक्षा प्रणालीमा आमूल परिवर्तन गरी मानवीय मूल्य, जीवनोपयोगी सीप र व्यावहारिक ज्ञान प्राप्तिमा आधारित वैज्ञानिक शिक्षा लागू गरी कार्यान्वयन गर्नु आवश्यक देखिन्छ।


थापा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय सचिव हुन्।


सम्बन्धित सामग्री