Friday, May 10, 2024

-->

कानून व्यवसायीको छविमाथि उठेको प्रश्न

समाजले किन कानून व्यवसायीलाई न्याय-सहजीकरणकर्ता नभएर मुद्दा मिलाउने बिचौलिया वा दलालका रूपमा चिन्न थालेको छ? किन चौतर्फी रूपमा कानून व्यवसायीको छविमाथि प्रश्न तेर्सिइरहेका छन्?

कानून व्यवसायीको छविमाथि उठेको प्रश्न

एउटा दैनिक अखबारमा भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरूको तर्फबाट बहस गर्ने कानून व्यवसायीको लावालस्करबारे समाचार प्रकाशित भएको थियो। समाचारमा एक अभियुक्तले आफूले पैसा दिएर कुनै अधिवक्ता नबोलाएको कुरा उल्लेख गरेका छन्। "वकिल राख्ने पैसा थिएन, म इजलासमा आफ्नो कुरा आफैँ राख्छु भनेर बसेको थिएँ,’ उनले भनेका थिए, ‘कता कताबाट कोको–कोको बहस गर्न जम्मा भएका रहेछन्, मैले नगर भन्न मिलेन क्यार!” उक्त समाचारलाई लिएर सामाजिक सञ्जालमा कानून व्यवसायीप्रति घृणा दर्साउने खालका प्रशस्त प्रतिक्रिया व्यक्त भए। 

कानून व्यवसायी हुँदै प्रधानन्यायाधीश हुनुभएका हरिकृष्ण कार्कीको नियुक्तिविरुद्ध बहालवाला जिल्ला न्यायाधीशले दायर गरेको उजुरीको विषय होस्, न्यायाधीश नियुक्तिमा अयोग्य कानून व्यवसायीहरूलाई 'पकेट क्यान्डिडेट'का रूपमा न्यायाधीश बनाएका कारण न्यायालय बिचौलियाहरूको चंगुलमा फसेका भन्दै करिब १८० जना जिल्ला न्यायाधीशले न्यायपरिषद्‌मा पेस गरेको ज्ञापन पत्र होस् अथवा उच्च अदालतको न्यायाधीश छनौटसम्बन्धी सूचिमा परेका कानून व्यवसायीहरूबाट न्यायाधीश नियुक्ति नगर्न स्वयम् कानून व्यवसायीले नै दायर गरेको उजुरी होस्, यस्ता प्रसंगले कानून व्यवसायीको सार्वजनिक छविमा बारम्बार प्रश्न उठ्न थालेको देखिन्छ। 

समाजले किन कानून व्यवसायीलाई न्याय-सहजीकरणकर्ता नदेखेर मुद्दा मिलाउने बिचौलिया वा दलालका रूपमा चिन्न थालेको छ? किन चौतर्फी रूपमा कानून व्यवसायीहरूको छविमाथि प्रश्न तेर्सिइरहेका छन्? पेसागत आचरणले दिएको काम अर्थात् प्रतिवादीको तर्फबाट प्रतिवाद वा बहस पैरवी गर्दासमेत किन कानून व्यवसायीको छविमा प्रश्न आउने गरी प्रश्न उठाइएका छन्? यी प्रश्नको जवाफ फरक होलान्, तर कानून व्यवसायीका नाताले यसको उत्तरसमेत खोज्नुपर्छ भन्ने ठान्छु म। 

अस्वाभाविक राजनीतिकरण
मुद्दा मामलामा सेवा र सहजीकरण तथा कानुनी झमेलामा परेकाहरूलाई सहयोग गर्ने पेसा हो कानून व्यवसाय। यस्तो पेसामा कानून व्यवसायीहरू जति सक्दो तटस्थ र विवेकसंगत भई सेवा गर्न तत्पर हुनुपर्छ। कानून व्यवसायीको आचार संहिताले पनि यही विषयलाई मुख्य रूपमा पहिचान गरेको छ। कानून व्यवसायीको पेसागत आचरणसम्बन्धी नियमावली, २०७९ ले आफ्नो पेसामा पूर्ण रूपले स्वतन्त्र रही कानूनी सेवा गर्ने कुरालाई कानून व्यवसायीको कर्तव्य र जिम्मेवारीको रूपमा पहिलो नम्बरमा उल्लेख गरेको छ। पूर्ण रूपले स्वतन्त्रको अर्थ हो, विना कुनै दबाब वा विना कुनै आबद्धता। नेपालको परिप्रेक्ष्यमा भने यो आचरण कमै मात्र कानून व्यवसायीले देखाउन सकेका होलान्, जसले देखाएका छन् ती 'सफल' छैनन्। 

कानून व्यवसायीहरूको संगठनको रूपमा रहेको नेपाल बार एसोसिएसनबाहेक पार्टीगत संगठनसमेत हुनुले कानून व्यवसायीहरू पार्टीको झोले सदस्यहरू हुन् भन्ने छवि निर्माण भएको छ। कानून व्यवसायीहरू अस्वाभाविक रूपमा राजनीतिकरणमा लिप्त छन्। यसकै कारण ठुलाबडा नेताहरूको मुद्दामा कानून व्यवसायीहरू बहस पैरवी गर्नका लागि 'लम्पसार' हुने गरेको देख्न सकिन्छ। 

कोही व्यक्तिगत स्वार्थका लागि राजनीतिक पहुँच बढाई प्रभावशाली पद प्राप्त गर्न, कोही मुद्दामा अनौपचारिक पहुँच, दबाब र प्रभाव सिर्जना गर्न त कोही मुद्दाको 'भोल्युम' बढाउनै पनि राजनीतिकरणमा रमाएको देखिन्छ। त्यसकै असर समाजले हामी कानून व्यवसायीलाई हेर्ने दृष्टिकोणमा पर्ने गरेको छ।

'स्टेरियोटाइप प्राक्टिस'ले विकसित धरातल
केही गने-चुनेका विद्वान तथा वरिष्ठ अधिवक्तालाई यसै क्षेत्रले निकै लगनशील, मेहनती, निष्ठावान् तथा बौद्धिक कानून व्यवसायीको रूपमा सम्मान दिएको छ भने केही वरिष्ठ अधिवक्ता भइकन पनि मुद्दाको 'सेटिङ किङ'का रूपमा चिनिएका छन्। यसरी अग्रजहरू हामीमाझ चिनिएका छन्। त्यही धरातलमा हामी आफ्नो वृत्ति विकास गर्न तल्लीन छौँ। मुद्दा मामिलाको सेटिङको सन्दर्भमा धेरैजसो २० वर्ष बढी अनुभव भएका वा 'मिड लेभल' कानून व्यवसायी देखिन्छन्। 'स्टेरियोटाईप्ड प्राक्टिस'ले हामीलाई जस्तो धरातल प्रदान गर्छ, हामी त्यस्तै भएर निस्कन बाध्य हुन्छौँ। अतः आजका दिनमा यस विषयमा अग्रज, 'मिडलेभल' तथा नवोदित सबै एकै ठाउँमा बसेर गम्भीर मन्थन गर्नुपर्ने बेला भएको छ।

सस्तो लोकप्रियता
'लकडाउन'का बेला दायर भएका केही रिटहरूको सुनवाइ सर्वोच्च अदालतमा न्यायाधीश अनिल कुमार सिन्हासहितको इजलासमा भइरहेको थियो। उतिखेर इजलासभित्र प्रवेश गर्दै गर्दा सिन्हा श्रीमानले रिट निवेदकलाई “तपाईँहरूले दायर गरेको रिट निवेदनको विषयवस्तुको सम्बन्धमा नेपाल सरकारले के निर्णय गरेको छ भन्ने कुरासमेत तपाईँहरूलाई थाहा छैन। तपाईँहरूले रिट मात्र दायर गरेर हुन्छ?” भन्ने प्रश्न गरिरहनु भएको थियो। घट्नाको विकास क्रमबारे समेत जानकारी नलिई कन जथाभाबी रिट दिने कुराप्रति श्रीमानको असन्तुष्टि मुहारमा स्पष्ट झल्कन्थ्यो। 

यस सन्दर्भमा माननीय न्यायाधीश आनन्दमोहन भट्टराई र माननीय न्यायाधीश टंकबहादुर मोक्तानको बेन्चबाट जारी भएको फैसलाको नजिर सम्झनु उचित हुन्छ। फैसलामा भनिएको छ, “संविधानले सार्वजनिक हक र सरोकारको विवादमा उपचार प्रदान गर्ने जुन क्षेत्राधिकार यस अदालतलाई प्रदान गरेको छ, सोलाई सबैले गम्भीरतापूर्वक लिनु र बुझ्नुपर्छ। सार्वजनिक हक र सरोकारको विषय भनी मनमा उठेको कुनै पनि विषयलाई बिना अध्ययन र विश्लेषण वा सो विषयवस्तु हेर्ने दायित्व सुम्पिएका कुनै पनि अधिकारी कहाँ जाँदै नगई र उनीहरूलाई कर्तव्य पालनतर्फ सचेतसम्म नगराई यस अदालतमा प्रवेश गर्ने होइन। यो क्षेत्राधिकारले निवेदकसँग सो विषयवस्तुसँग सार्थक सम्बन्ध र तात्त्विक सरोकार मात्र नभई गहिरो अध्ययन मनन र विश्लेषण पनि खोज्दछ। निवेदन दर्ता गर्ने, सो कुरा मिडियामा प्रचार प्रसार गर्ने गराउने, त्यसपछि सो विषयलाई अदालतको जिम्मा लगाई आफूचाहिँ चुप लागी बस्ने, यो कुरा स्वीकारयोग्य हुन नसक्ने।” 

सस्तो लोकप्रियताका लागि हामीले प्रयोग गर्ने बाटोमध्ये एउटा बाटोको रूपमा रहेको सार्वजनिक सरोकारको विषयलाई हामी कानून व्यवसायीहरूले प्रयोग गर्दा यसको दायित्वसमेत बुझ्नु जरुरी छ। रिट निवेदन दर्ता गर्ने र केही समयको लागि मिडियाबाजी गर्ने विषयले न्यायाधीशहरूले कानुन व्यवसायीप्रति निर्माण गर्ने दृष्टिकोणलाई समेत सिधै असर पार्छ। ठुला ठुला प्रकरण वा नाम चलेका सेलिब्रिटिको मुद्दामा प्रतिवादीलाई थाहा नै नहुँदासमेत वकिलको रूपमा 'जबरजस्ती' बहस गर्ने र पत्रपत्रिकामा नाम प्रकाशित गर्ने होडबाजीले हामी नवोदित कानून व्यवसायी समेत सस्तो लोकप्रियताको लागि लालायित छौं भन्ने देखिन्छ।

सजिलै पैसा आर्जनको चाहना
संसारमा जस्तोसुकै आर्थिक मन्दी भएता पनि कहिल्यै नसुक्ने पेसाको रूपमा कानून व्यवसायलाई लिइने गरिन्छ। जति धेरै विवाद, उति धेरै पैसा भन्ने मानसिकता हाम्रो पेसामा हुर्कँदै गर्दा सजिलै पैसा आर्जन गर्नकै लागि कानून व्यवसायीहरूले अपनाएका अनेकन् हतकण्डाले हाम्रो पेसाप्रतिको छवि बिग्रँदो छ। कानून व्यवसायीको आचारसंहिता विपरीत 'जति धेरै मुद्दा, उति धेरै पैसा' भन्ने सोच राखेर पक्षलाई अनावश्यक मुद्दा हाल्न प्रोत्साहित गर्नेदेखि मुद्दा मिलाउने सम्मको कार्यमा नवोदित कानून व्यवसायीहरूको संलग्नतासमेत देखिन्छ। 

केही दिन पहिले जनकपुर उच्च अदालतमा बहस गर्न जाने क्रममा 'मुद्दा मिलाउने' विषयमा जनकपुरका नाम चलेका अधिवक्ताका छोराको संलग्नताको विषय सुन्न पाएँ। कुरा कति सत्य या झुटो हो, त्यो, तत्-तत् निकायबाट छानबिन होला, तर यस्ता सन्दर्भ/समाचारले कानून व्यवसायको साख गिर्दो छ। मुद्दामा प्रभाव देखाउन भूमिका निर्वाह गर्ने कुरा कतिपय अवस्थामा बाध्यता भएता पनि यो अभ्यास प्रायजसो युवा कानून व्यवसायीहरूको रहर तथा छनोटकै रूपमै विकास हुँदै आएको छ। तर यसो गरेर हामीजस्तो नवोदित कानून व्यवसायीले कस्तो नैतिक अभ्यास गर्दैछौँ?

फितलो संस्थागत नेतृत्व 
केही महिनाअघि मात्र "कानून व्यवसायी हुँ" भन्दै मुद्दा मिलाएर हिँड्ने एक इतर व्यक्तिबारे समाचार प्रकाशित भएको थियो। त्यसको केही महिना पहिले कानून व्यवसायी र माननीय न्यायाधीशबीच फोनमार्फत भएको 'डिल' सार्वजनिक भएको थियो। नेपाल बार एसोसिएसनकै प्रांगणमा बेलाबेला कुटाकुट गर्नेदेखि अन्तर्वार्ताका लागि हानथाप गर्ने सम्मको घटना हामीले देखेका छौँ।  

यी साराका हर्कतबीच नेपाल बार एसोसिएसन तथा नेपाल बार काउन्सिलजस्ता सरोकारवाला तथा नियमनकारी संस्थाहरू मौन प्राय: रहने कुरा उदेकलाग्दो छ। बार-नेतृत्व चयनका बेला "हामी पेसागत विकासमा लाग्छौँ" भन्ने तर नेतृत्वमा आउँदा केही झिना कामबाहेक ठोस कार्य गर्न नसक्नुले संस्थागत नेतृत्व फितलो मात्र नभएर फितलो नेतृत्वका कारण संस्था नै कमजोर हुँदैछ। कमजोर संस्थाले अराजक तथा अनियन्त्रित सदस्य उत्पादन गर्छ भन्ने कथन 'बार'कै हकमा पनि लागू भएको छ भनेर मान्न सकिन्छ। 

कानून व्यवसायीको छविमा उठेको प्रश्नको उत्तरहरूको सम्बन्धमा व्यक्तिपिच्छे फरक उत्तर हुनसक्छ, तर समाजले कानून व्यवसायलाई प्रतिष्ठित पेसाको रूपमा चिन्न छोडेर दलाली पेसाका रूपमा चिन्न थालेको छ, जसका कारण 'सोसल इन्जिनियर'का रूपमा रहेका कानून व्यवसायीहरूले निर्माण गर्ने समाज झनै फोहोरी समाजमा परिणत हुँदै गइरहेको छ। यसबारे कानुन व्यवसायमा संलग्न र सरोकारवालाहरूको गम्भीर चासो र समस्या समाधानका लागि उत्तिकै गम्भीर पहल आवश्यक छ। 


अधिकारी अधिवक्ता हुन्।


सम्बन्धित सामग्री