Saturday, April 27, 2024

-->

हाम्रो ठगी मन्त्र: मेरो भाग कति?

देश विकास हुन नसक्नु र युवा रित्तिँदै जानुको कारण यो काम गरेबापत, मेरो भाग कति? भन्ने मानसिकता हो। पियनदेखि प्रमसम्म सबैको पहिलो प्राथमिकता र चासो नै मैले कति पाउँछु वा के पाउँछु? भन्ने देखिन्छ।

हाम्रो ठगी मन्त्र मेरो भाग कति

नक्कली भुटानी शरणार्थी प्रकरणले देश तातेको छ। अनपेक्षित रूपमा यस्तो मामलामा यस पटक सरकार पनि तातेको छ। यस प्रकरणमा संलग्नलाई ठगी, संगठित अपराध र राज्यविरुद्ध अपराधमा मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ। ५८ दिन लामो अनुसन्धान प्रहरीले सकाएको प्रहरीले सोमबार नै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ। 

आफ्नो देशबाट लखेटिएर नेपालमा आइपुगेका भुटानी शरणार्थीका लागि अमेरिका जानु एउटा बाध्यता थियो। तर हुँदोखाँदाको नेपाली नागरिकता छाडेर नक्कली कागजातमा विदेश जाने रहर गर्नेहरू आफैँ ठगीमा परे। तिनका रहरलाई जीवन्तता दिँदै, सक्कली नेपालीलाई नक्कली भुटानी बनाउनेहरू आम जनताका नजरमा त अपराधीका रूपमा स्थापित भइसकेका छन् भने तिनले कानूनी भुक्तमान पक्कै व्यहोर्ने छन्। 

अन्य भ्रष्टाचारमा झैँ यो ठगी काण्डमा सहभागी सबै 'हाई' तथा 'लो प्रोफाइल' व्यक्तिहरूले पनि 'मेरो भाग कति?' सिद्धान्त  अपनाएको देखिन्छ। 

मेरो अध्ययनको पृष्ठभूमि वित्त हो। यस क्षेत्रमा दशक लामो अनुभव छ। अध्ययन अनुसारकै काम गरेँ, गरिरहेको छु: धेरैजसो पैसा, लेनदेन र हिसाबकिताब। ठेक्का, निर्माण, व्यापारसम्बन्धी निजी कम्पनी, स्थानीय सरकार, महालेखा नियन्त्रण कार्यालयभित्र पर्ने कामको समेत अनुभव लिएको छु। छोटो अवधिमै मझौला, साना तथा ठुला करदाता कार्यालयदेखि राजस्व अनुसन्धानमा समेत संलग्न भएर काम गर्न पाएँ। यिनै अनुभवपछि 'देश किन विकास भएन?' भन्नेबारे एउटा निचोडमा समेत पुगेको छु। 

सबै अनुभवका आधारमा म दाविका साथ के भन्न सक्छु भने नेपाल विकास हुन नसक्नु र देशबाट युवा रित्तिँदै जानुको कारण यो काम गरेबापत, मेले के पाउँछु? भन्ने अभ्यास, मानसिकता र चलन हो। कार्यालयको पियनदेखि प्रमसम्म, सिइओदेखि ड्राइभरसम्म, सिएफओदेखि एकाउन्टेन्टसम्म सबैको पहिलो प्राथमिकता, चासो र प्रश्न नै 'मैले कति पाउँछु वा के पाउँछु?' भन्ने देखिन्छ। यो मेरो ठहर हो।  ठूलै ऊहापोह नझेली सम्भवतः नेपाली राज्य यो मानसिकताबाट मुक्त हुन सम्भव छैन।  

तपाईं चाहे कर कार्यालय जानुस्, चाहे कम्पनी रजिस्ट्रार, स्थानीय पालिका या वडा नै। कतिपय ठाउँका उपभोक्ता समितिमा समेत त्यही हाल देखिन्छ। सर्वसाधारणले आफ्नो घर या टोलअगाडि ढल हाल्ने सन्दर्भ होस् या ढलान गर्ने काम होस्! कम्पनी खोल्ने र  सामान निर्यात गर्ने गर्ने सन्दर्भमा समेत  हिन्दु संस्कारमा औसानी चढाएझैं अनेक तप्कामा आसीनहरूलाई आफ्नो पुँजीको केही भाग टक्राउनुपर्छ। 'बक्सिस' पाएपछि मात्र उनीहरूले तपाईंको काम गर्ने बाटो खुलाइदिन्छन्। 

भाग खोज्ने त्यस्ता मनुवा देख्दा आमाको कोखबाट धर्तीमा जन्मँदा समेत मैले के पाउँछु भन्ने प्रश्न सोधेर नै जन्मिएको थियौ? भनेर सोध्न मन लाग्छ। तर बेसरम यिनीहरू आफ्नो भाउ खुला बजारमा बिक्रीमा राख्छन्। अनुभवले भन्छ, धेरैजस्तो कार्यालयमा भाग माग्न उस्तै तरिका अपनाइन्छन्: यो गर्दिए बापत मेरो भागमा कति? काम हुन्छ, तर त्यसबापत मैले के पाउँछु? यत्रो काम गरिसकेपछि यस्सो केही प्रतिशत त चाहियो नि हजुर! 

कसैले तपाईँको सबै कागजात पुगेको अवस्थामै पनि काम अल्झाउँछ या त्यसमा ढिलाइ गर्छ भने मान्नुस् त्यस व्यक्तिले हात्ती र बाघका चित्र भएका नोटका बिटा खोजिरहेको छ। आफ्नो 'भाग' खोजिरहेको छ। 

राम्रो अँग्रेजी बोल्ने होस् या कुशल नेपाली वक्ता,  छड्के ढाका टोपी ढल्काउने होस् या जुल्फी हल्लाउने, अति सुस्त होस् या द्रुत फाइल पल्टाउने, भाग नमाग्ने 'सरकारी सेवक' विरलै भेटिन्छन्। नमाग्नेचाहिँ को होलान् भनेर अनुमान लगाउन सकिन्न। भाग माग्नेहरूका समेत प्रकार छन्: सरकारी कर्मचारीको भाग, बिचौलिया/दलालको भाग, ठुला भलादमी पद बाहकको भाग अनि भाग नखोज्नेको समेत भाग। 

हास्यास्पद कुरा के छ भने यिनै मानिसहरू यदाकदा मञ्चहरूमा पुग्छन् र सुकिला लुगामा ठाँटिँदै जागिरे जीवनका आदर्शबारे ठुला र दार्शनिक प्रवचनसमेत दिन्छन्। 

यही संघीय निर्वाचनताक, म रञ्जु दर्शनासँग उनीसम्बन्धित एउटा  बैठकमा सहभागी हुन पुगेको थिएँ। उनी काठमाडौँ क्षेत्र नम्बर पाँचबाट स्वतन्त्र उम्मेदवार थिइन्। 

संघिय निर्वाचनको तयारी भइरहँदा रञ्जुलाई धेरै जनाले आफ्नो पक्षमा लाग्न, र समर्थन गर्न आग्रह गर्थे। अप्रत्यक्ष रूपमा उम्मेदवारी फिर्ता लिन लागि दबाब दिन्थे। रञ्जु कति ढिट (अडान भएकी) छिन् भन्ने कुरा तिनलाई थाहा नभएर होला ! त्यस बीचमै एक जना व्यक्तिले रञ्जुसँग उतिखेर 'निर्वाचन क्षेत्र उही पर्‍यो, खुलेरै आउन त मिलेन, तर अप्रत्यक्ष रूपमा पूरै सहयोग गर्छु' भन्ने आश्वासन दिए। ती व्यक्तिले कुनै समय नेपाल सरकारको वित्तीय क्षेत्रमा सेवा गरेका थिए। 

राजनीतिक भेटघाटबारेको उत्सुकताले म त्यस बैठकमा सामेल भएँ। ती व्यक्तिले कार्यक्रममा राजनीतिक मूल्य मान्यता, पारदर्शिता र नैतिकताको आदर्श छाँटे। तर यी तिनै व्यक्ति थिए, जसले करिब पाँच/सात वर्ष अघि 'यो काम त भई हाल्छ नि भाइहरू, तर यसो पाँच/दश प्रतिसतचाहिँ हेर्दिनुपर्छ है' भनेका थिए। कार्यक्रमभर मेरो स्मृतिमा उनले भनेको त्यही पाँच/दस प्रतिशत गुन्जिरह्यो। 

पुरानो गुनगुन मेरो दिमागमा गुन्जिरहँदा ठग कर्मचारी आँखै अगाडि प्रवचन दिइराखेका थिए, 'नेपालको राजनीति साह्रै खत्तम भएको छ, अब युवा, महिला र तपाईंहरूजस्तै नौजवानले सम्हाल्ने हो।' निर्वाचनमा काँग्रेस र एमालेले उम्मेदवार घोषणा गरेपछि भने उनी हाम्रो दृश्यबाट हराए। 

यस्तो कर्मचारीतन्त्र, त्यसलाई आड दिने राजनीतिक नेतृत्व र तिनलाई आड दिने ठूला घराना। यिनीहरूको गोलचक्करमा हामी युवाचाहिँ रन्थनिने मात्र! बेलाबेलामा आक्रोशको टेकोमा हाम्रा प्रतिक्रियात्मक लेख र अन्तर्वार्ताहरू मिडियामा आउलान्। त्यसपछि ताली या गालीमध्ये एक पाइएला। तर नेपालको ठोस अवस्था परिवर्तन हुनेचाहिँ कहिले? 

यस बीचमा मेरो युवा कहलाउने उमेरसमेत ढल्दो छ। यी सबै कुरा सोच्दा मनमस्तिष्क भारी हुन्छन्। मेरो पुस्ता र मभन्दा झनै नयाँ पुस्तालाई यस्ता कुराले झनै सताउँछ। नेपालमा मेरो जीवन सधैँ यही दोधारमा अड्किरहने हो कि भन्ने सन्देह छ ममा। म कहिलेकाहीँ अन्योलमा पर्छु: यसरी भाग माग्नेहरूलाई 'भाग दिएर' फटाफट काम सम्पन्न गर्नु ठिक कि भाग खोज्नेलाई रोकेर, प्रक्रियागत रूपमा काम गर्न कोसिस गर्नु ठीक?

खैर, म झिनो आसा बोकेर हरेक राति सुत्ने गर्छु र हरेक दिन बिहान उठेर केही न केही त राम्रो होला नि, कोही न कोही त बिक्री नभएको होला नि भन्दै मरुभूमिमा तलाउ खोज्छु। ढोँगबाट माथि उठ्ने त पक्कै कोही होला नि भन्ने अनुमान गर्छु। अहिलेसम्मको खोजमा त्यस्तो एक व्यक्ति भेटेको पनि छु, तर उनलाई भनेको छैन। परैबाट उहाँलाई नियालिरहेको छु। उनीबारे जुन दिन पूरै पक्का हुन्छु, त्यतिखेर उनलाई गएर धन्यवाद भन्नेछु। गुरु बनिदिन आग्रह गर्नेछु।

अन्त्यमा, यो लेख आक्रोशमूलक हुन पुगेको छ। अर्को लेखमा सम्भावित समाधानको पाटो केलाउने प्रयास गर्नेछु।


'सीपीए (सर्टिफिकेट प्राक्टिसिङ एकाउन्टेन्ट) अस्ट्रेलिया'का असोसिएट सदस्य रहेका कुइँकेल 'दराज, नेपाल'को 'क्रस बोर्डर म्यानेजर' हुन्।


सम्बन्धित सामग्री