Tuesday, May 07, 2024

-->

भोलिको नेपाल : यस्तो सुन्न पाइयोस् समाचार

निराशाहरूका कारण सिर्जित भावना होइनन् यी। देश सुन्दर होस् र नागरिकले सुख, समता र समृद्धि पाउन् भन्ने आशयले गरेको परिकल्पना हो।

भोलिको नेपाल  यस्तो सुन्न पाइयोस् समाचार

हरेक दिनजसो आफ्ना साथी र परिवारका सदस्यमाझ 'देशमा के सकारात्मक भइराखेको छ?' भन्दै प्रश्न गर्छु। उत्तर भने नकारात्मक आउँछ। केही हप्ता पहिले एक साथीले निराशा पोखे, 'सबै खत्तम छ। पर्यटनमैत्री देश भनिन्छ, तर पर्यटक सोचेजति छैनन्।' केही हप्ता पहिले विद्युत् प्राधिकरणले धेरैजसो पर्यटकहरूको जमघट र बसोबास रहने ठमेल क्षेत्रको सडकमा तार बिछ्याउने प्रयोजनका लागि बाटो खन्यो, तर छिटो काम सम्पन्न नहुँदा ठमेल क्षेत्रको आवतजावत नै अस्तव्यस्त हुन पुग्यो। त्यही कुरालाई लिएर मेरा साथीले आक्रोश पोखे, 'यस्तो पनि हुन्छ?' 

उनले भने, 'नेपालमा पर्यटक भित्र्याउन उति अप्ठ्यारो पनि त छैन। दुबई र  सिंगापुरझैँ मानवनिर्मित संरचना हेर्न यहाँ पर्यटकहरू आउने होइनन्। प्रकृतिले दिएका हिमाल, पहाड र जैविक विविधता हेर्न आउने हुन्। तर पर्यटक हिँड्ने सडक नै अस्तव्यस्त बनाइदिएपछि पर्यटकहरूमा कस्तो नकारात्मक प्रभाव पर्ला? खाल्डाखुल्डी छल्दै हिँड्न तिनलाई कति दिक्क लाग्ला? कम्तीमा यस्ता झिनामसिना कुराले शान्ति खोज्न आउने पर्यटकलाई नअल्झाए त हुन्थ्यो नि!' 

उनले यति भन्दाभन्दै अर्को साथीले थोरै आशावादी कुरा गरे, 'नेपालमा युक्रेन-रसियाजस्तो युद्ध त भएको छैन, सकारात्मक सोचौँ न।' त्यसमाथि अर्की साथीले थपिन्, 'हामी बन्दुक र गोलाको युद्धमा त छैनौँ, तर मन्द विषको युद्धमा छौँ। हाम्रो हजुरआमाको समयभन्दा बढी भौतिक विकास अहिले भएको छ, तर भौतिक विकास दुहुने गाईझैँ भएको छ। एक पटक सडक र पुल बनायो अनि वर्षौंसम्म त्यही संरचनालाई बनाउने र भत्काउने गरिरहने, यस्तो पनि कुनै तरिका हुन्छ?'

हामीले सुन्ने गरेका समाचार
हरेक दिनजसो हामी मिडियामा सुन्ने गर्छौं, 'फलानो नेताले देश विकास हुनुको विकल्प नरहेको बताउनुभयो। ढिस्कानोले अब समृद्धिको ढोका खोलेरै छाड्ने बताउनुभयो। 'का' पार्टीले 'खा' पार्टीसँग गठबन्धन गर्ने, 'गा' पार्टी र 'घा' पार्टीबीच सहकार्यको प्रस्ताव टुंगोमा पुगेन। आफूले मागेको मन्त्रालय नपाउँदा 'ङा' पार्टी सरकारबाट फिर्ता हुने। संसद् बिजनेसविहीन। फलानो बहादुर मन्त्री हुने, फलानो प्रसाद मन्त्रीबाट बाहिरिने। काठमाडौँ विश्वकै प्रदूषित शहरमध्ये एक। फेरि सिसडोलमा उपत्यकाको फोहोर फ्याँक्न अवरोध।' 

'अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बढ्यो। श्रमका लागि वैदेशिक रोजगारीमा जानेको लर्को। श्रम स्वीकृतिमा घुस। कुटपिटबाट श्रीमतीको हत्या, हत्यारा पार्टीका सक्रिय कार्यकर्ता। घटना ढाकछोपको प्रयास। अस्पतालमा उपचाररत बच्चाको ज्यान गएपछि स्वास्थ्यकर्मीमाथि कुटपिट, अस्पताल तोडफोड। सरकारले स्वास्थ्यकर्मीको सुरक्षा गर्न नसकेको भन्दै स्वास्थ्यकर्मीको पेन डाउन।' 

महिला मन्त्रीले देश विकासका लागि महिला सशक्तीकरणको आवश्यकता औँल्याउनुभयो। बलात्कार मुद्दाका आरोपीलाई उनकै दलले संरक्षण गर्‍यो। पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको गौतम बुद्ध विमानस्थल उद्घाटनको दिनदेखि नै निरन्तर घाटामा। खानेपानी मन्त्रीले काठमाडौँले मेलम्चीको पानी पाएझैँ पूर्वले कोशीको पानी पाउनुपर्ने बताए। खानेपानीमा दिसामा भेटिने 'ईकोलाई' ब्याक्टेरिया भेटियो। एसीसी प्रिमियर कपको उपाधि नेपालले जित्यो। क्रिकेट खेल मैदानको सधैँ अभाव। 

धेरै वर्षदेखि यी र यस्तै 'एंगल'का समाचार हामी सुनिराखेका छौँ, जसले हामीलाई उत्साही होइन, निराश बनाउँछ।

हामीले सुन्न चाहेका समाचार
'युवाहरूको लागि स्टार्ट अप अभियान शुरू। उद्यम गर्ने युवालाई निःशुल्क परामर्श र इन्टरनेट सुविधासहित कम ब्याज दरमा ऋण दिइने। सरकारमा जानेबारे प्रमुख दलहरूबीच हानथापमा युवा नेताको हस्तक्षेप। देशभर नागरिक समूह, राजनीतिक खिचातानीमा जनसेवा पर्न नहुने भन्दै युवा तथा महिला समूहको प्रदर्शन। नागरिक समाज थप बलियो हुँदै। जनदबाबले पार्टीहरू थप दबाबमा।'

'त्रिभुवन विश्वविद्यालयको शैक्षिक र प्रशासनिक सुधारका निम्ति आयोग गठन। विभिन्न संकायका विद्यार्थीको अनुसन्धान र अध्ययनमा रुचि बढ्दो। इन्जिनियरिङ संकायका विद्यार्थीको एक समूहद्वारा कृषिसम्बन्धी बहुउपयोगी यन्त्रको निर्माण। शिक्षा र विज्ञान मन्त्रालयले यन्त्रलाई थप परिष्कृत बनाउन लगानी गर्ने।' 

'नेपालमा पर्यटक संख्या बढ्यो। पर्यटनबाट रोजगारी सिर्जना हुँदा विदेश जाने विद्यार्थी ह्वात्तै घटे। प्राविधिक सीप बढेसँगै देशमा युवाले पाउन थाले यथेष्ट रोजगारी। सरकारी विद्यालयमा बढ्दो गुणस्तरसँगै निजी विद्यालयमा विद्यार्थी घटे। सरकारी शिक्षकको तलब निजामती कर्मचारीसरह हुने। वैदेशिक रोजगारीमा गएका नेपालीलाई गन्तव्य देशमा नै श्रम स्वीकृतिको सुविधा।' 

'नेपालको जनसंख्या कम भएका कारण बालबच्चा जन्माउन प्रोत्साहन गर्ने उद्देश्यका साथ सरकारले विवाहित जोडीको आयकर घटाउने। सुत्केरीका लागि तलबी बिदा बढाउने। सुत्केरी बिदा पुरुषको लागि समेत बढाइने। आमाबुवासँग बस्ने छोराछोरीका लागि सरकारले सुविधा बढाउने।' 

'सबै अस्पताल र प्रसूति केन्द्रमा गर्भवती महिला, उनको जीवनसाथी र परिवारलाई मनोपरामर्शको व्यवस्था। आर्थिक अवस्था कमजोर भएका गर्भवती महिलालाई स्थानीय तहबाट आर्थिक अनुदान। अति दुर्गम भेगमा काम गर्ने चिकित्सकहरूको तलब र सुविधामा वृद्धि।' 

'घरेलु हिंसा, जातीय विभेद र बलात्कार मुद्दाका आरोपितलाई संरक्षण गर्नेलाई नागरिक समूहले बहिस्कार गर्ने। महिला हिंसाविरुद्ध संसदभित्र र बाहिर सबै पार्टीहरूको संयुक्त महिला प्रतिरोध समूह गठन। हालै सार्वजनिक भएको 'हाई प्रोफाइल' दुर्व्यवहार र जातीय विभेदको घटनामा राजनीतिक संरक्षण नहोस् भनी नागरिक समूहद्वारा चेतावनी।' 

'खानेपानी अब सबै नागरिकका लागि निःशुल्क, व्यक्तिको मौलिक हकका रूपमा स्थापित। नेपाली हिमालको पानी विभिन्न देशमा निर्यात। नेपालको वनस्पति र जडीबुटी प्रशोधन तथा निर्यात गर्ने उद्योगलाई सरकारको साथ। गैरआवासीय नेपालीद्वारा नेपाली उद्योगमा अर्बौं लगानी।' 

'जलविद्युतमा नेपालको फड्को। भारतपछि चीनले समेत किन्ने भयो नेपालको बिजुली। नेपाल केही वर्षमै पेट्रोल र डिजेलबाट चल्ने सवारीमुक्त हुने। पर्यटकीय स्थल र देशका प्रमुख सहर अब साइकलमैत्री। सार्वजनिक संरचना अपांगमैत्री भएका कारण अन्तर्राष्ट्रिय संस्थाहरूले नेपालको गरे प्रशंसा।' 

'अब पर्यटन क्षेत्रका निर्माण कार्य बेमाैसममा मात्र हुने। संसारकै कम प्रदूषित र सुरक्षित देशका रूपमा दर्ज भएसँगै नेपालमा पर्यटकको ओइरो। किसानले आफैँ प्रांगारिक मल उत्पादन गरेसँगै मलखादमा नेपाल आत्मनिर्भर, रासायनिक मलको खपत घट्दै। स्थानीय बिउको संरक्षण अभियानको सफलतासँगै नेपालका पुराना अनाज, फलफूल र तरकारी संरक्षित हुँदै। कृषि मन्त्रालयले भेगअनुसार उत्पादनको वर्गीकरण गर्ने।' 

'घटनालगत्तै प्रहरी घटनास्थल पुग्न थाले। सामाजिक सञ्जालबाटै अपराधबारे उजुरी गर्न सकिने। सरकारी कार्यालय अब कागजी झमेलाबाट मुक्त। सरकारी उपाधि तथा पुरस्कार राजनीतिक आडमा दिने प्रचलनको अन्त्य। सामाजिक सेवा र नागरिक सेवामा संलग्नलाई उचित सम्मान गर्न स्वतन्त्र छनौट टोलीको गठन। मन्त्रालय र विदेशस्थित दूतावास कर्मचारीले समेत उत्कृष्ट सेवक पुरस्कार पाउन थाले।' 

'राज्यको चरित्र बन्यो जबाफदेहिता, पारदर्शिता, अनुशासन र समावेशिता। नेपाल विश्वमै कम भ्रष्टाचार र अपराध हुने देशमा दर्ज। सीमा सुरक्षामा सरकार संवेदनशील, विशेष टोली तैनाथ। सीमाबाट हुन सक्ने अपराध र फैलन सक्ने महामारी नियन्त्रण गर्न सरकारले बनायो विशेष निकाय। दुई देशबीचका सीमा विवाद बिस्तारै निरूपणतर्फ।' 

'सरकारले  'विश्व मानचित्रमा ५० वर्षपछिको नेपाल'बारे विज्ञहरूको पाँचदिने सम्मेलन गर्ने। विश्वस्तरमा नेपालको प्रभाव विस्तार गर्ने रणनीतिमा सर्वदलीय सहमति।' 

सामूहिक प्रयत्नको खाँचो
म अहिले २७ वर्षकी भएँ। हरेक दिन मेरो युवा उमेर घट्दो छ। मेरा उमेरका साथीहरूको नेपाल बसोबास पनि घट्दो छ। निराशाहरूका कारण सिर्जित भावना होइनन् यी। देश सुन्दर होस् र नागरिकले सुख, समता र समृद्धि पाउन् भन्ने आशयले मैले गरेको सुन्दर परिकल्पना हो। नागरिक र नेताहरू इमानदार भए भने उति असम्भव परिकल्पना पनि होइन यो।  

मानव जीवनमा झैँ अन्यत्र पनि शक्तिको मोह हुन्छ। राजनीतिमा पनि हुन्छ। तर आमनागरिक, सचेत नागरिक समाज र 'क्रिटिकल राजनीतिक कार्यकर्ता' हुँदा प्रशासनिक सुधार, नागरिककेन्द्रित सेवा प्रवाह र नागरिकमा जिम्मेवारीबोध लगायतका धेरै कुरा बदल्न सकिन्छ। यी कुरा मेरै जीवनकालमा यथार्थमा बदलिने छन् भन्ने आस म राख्छु। 

सक्रिय उमेरका जनशक्ति देशबाट पलायन हुँदा देशमा आर्थिक र सामाजिक संकट आउनु स्वाभाविक हुन्छ। जिउँदोमा जन्ती र मर्दा मलामी जानका लागि सशरीर मान्छे नै चाहिन्छ, सामाजिक सञ्जालमा लाइभ बसेर हुँदैन। त्यसो हुँदा अब हामीले नेपाली समाजलाई मलामी र जन्ती नपाइने समाज बनाउनका लागि हरेक नेपाली र नेपाली भावना भएका सबैले यत्न गर्नु आवश्यक छ। त्यसका लागि सामूहिक प्रयत्नको खाँचो छ। इमानदार प्रयत्नका लागि हामी सबै खुला रहौँ।


सम्बन्धित सामग्री