Thursday, May 09, 2024

-->

उड्डयन क्षेत्रमा भ्रामक समाचार र रोकथाम

प्रश्नैप्रश्न माझ विभिन्न अड्कलबाजीहरू शुरू भए। जहाजको 'फलोअप' गर्दा सो उडान निर्धारित समयभन्दा केही ढिला गरेर पूर्व निर्धारित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गर्‍यो। म ढुक्क भएँ।

उड्डयन क्षेत्रमा भ्रामक समाचार र रोकथाम

वैशाख ११ गते राति साढे नौ बजेतिर 'फ्लाई दुबई'को विमानको इन्जिनमा समस्या, ठूलो दुर्घटना हुँदै'लगायत सनसनीपूर्ण सूचनाले सामाजिक सञ्जाल भरिए। खान खाएर सुत्ने बेलाको काठमाडौँ जुरुक्कै जागेर छत र बरन्डामा पुग्यो, आकाशतर्फ मुन्टो बटार्‍यो। 

आकाशमा देखिएको झिल्का होस् वा सुनिएको आवाज, दुवैले मान्छेलाई जुरुक्क उठायो। नागरिक उड्डयन मन्त्रीदेखि देशका महत्त्वपूर्ण निकायको ध्यान कोटेश्वर हुँदै धार्केसम्मको आकाशमा पुग्यो। 

यती एयरलाइन्सको पोखरा दुर्घटनाले तर्साएको हाम्रो मगज, त्यस्तै अर्को भयले आतंकित बन्न पुग्यो। हामी यति अत्ताल्लियौँ कि पोखराको आघात आँखाअगाडि आउन थाले। टिकटक, फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा 'लाइभ ट्रेन्डडिङ' चल्यो। सामान्य मानिसदेखि नाम चलेका मिडियासमेत 'ब्रेकिङ न्युज'मा व्यस्त बने।

लगत्तै विमानस्थल ड्युटीमा हुने एयर ट्राफिक कन्ट्रोलरले आवश्यक 'स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर'अनुसार जहाजलाई सहयोग गर्न तत्पर भएर बसेँ। 'मेडे मेडे' (उडानका क्रममा विमान संकटमा परेको अवस्था प्रयोग गरिने शब्द संकेत) भनिरहेको एयर 'ट्राफिक'लाई हरतरहले सहयोग गर्नुपर्ने मानवीय एवं बाध्यात्मक नियमानुसार चाँजोपाँजो मिलाएँ अनि विमानको आवश्यकता बुझ्नतर्फ लागेँ। विमानको समस्या र आवश्यकता त्यही विमानका चालकहरूको ठम्याइका आधारमा हुन्छन्। 

पाइलटले जहाजभित्रका 'प्यारामिटर्स'हरू उपयुक्त रहेको खण्डमा जहाज गन्तव्यतर्फ लैजान्छन् भने अनुपयुक्त लागे नजिकको विमानस्थलमा अवतरण गर्न अनुमति माग्छन्। 'थोरै थोरै सिक्दै गरेको विद्यार्थी'को हैसियतले मलाई पनि सो विषयमा कौतुहलता नहुने कुरा भएन। 

समस्या छ भन्ने अभिव्यक्ति दिँदै आपत्कालीन अवस्था घोषणा गरेको 'फ्लाई दुबई ५७६'को चालक दलले केहीबेर आकाशमा फन्को लगाए। शायद तिनले यसो गरेर आफ्ना प्यारामिटर (अवस्था) परीक्षण गरे। जब उनीहरूले जहाज उडाउन योग्य देखे, तब केही समयपछि जहाजले पश्चिमतर्फ जाने 'लिमा ६२६' रुट हुँदै नेपालको हवाई आकाश छोडेर हिँड्यो।

तर, आकाशमा झिल्को र ठूलो आवाज देखका/सुनेका काठमाडौँवासीले विमानमा के भयो र कसरी भयोजस्ता प्रश्न गर्न छाडेनन्। आँखैअगाडि देखेको आगोको झिल्का र आफ्नै कानले सुनेको बम विस्फोटजस्तो ड्याङ ड्याङ आवाज भुल्ने कुरा भएन। प्रश्नैप्रश्न माझ विभिन्न अड्कलबाजीहरू शुरू भए। जहाजको 'फलोअप' गर्दा सो उडान निर्धारित समयभन्दा केही ढिला गरेर पूर्व निर्धारित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गर्‍यो। म ढुक्क भएँ।  

तर त्यत्रो आवाज र आगोसहित हामीले देखेको जहाज सामान्य अवस्थामा पूर्व निर्धारित विमानस्थलमै सकुशल गयो भन्दा कतिले त्यस सूचनालाई सामान्य रूपमा लिन सक्यौँ भने कतिले विश्वास गरेनौँ। हामीले देखे र सुनेजस्तो प्राविधिक गडबडी सो विमानमा थियो भने सही हिसाबले जहाज गन्तव्यमा पुग्न सक्थेन। गडबडी नै थिएन भने आगो र आवाज किन देखियो सुनियो? 

यो अध्ययनपश्चात् मात्र निर्क्योल गर्न सकिने विशिष्ट अवस्था थियो। यद्यपि, नेपाली मिडियाले बारबार प्रश्न उठाइ रहे। उड्डयन क्षेत्रका हरेक कार्यमा प्रश्न उठ्छन्, तर उत्तर 'तथ्य'बाट आउनुपर्छ, किनभने अन्यत्रझैँ विमान र उडान प्रविधिमा पनि विज्ञानले अभूतपूर्व चमत्कार गरेको छ। यद्यपि, प्रविधिका कतिपय विषय सहजै बुझ्न सकिन्न। 

काठमाडौँबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारत, पाकिस्तान वा अफगानिस्तानको आकाश छिचोल्दै उडिरहेको जहाजसँग साक्षात्कार नहुँदै विभिन्न अड्कलबाजी सार्वजनिक भए, जुन उड्डयन क्षेत्रका लागि सबैभन्दा दुःखद पक्ष हो। कमसेकम उडिरहेको जहाज अवतरण भएपछि, उडान भर्ने चालक दल वा विज्ञद्वारा निरीक्षण गरेपछि सबैले पत्याउन सक्ने तथ्यसहित जहाजमा के भएको रहेछ भनेर ढुक्कसँग भन्न सकियोस्। 

सर्वसाधारणले नबुझ्ने कुरा त छँदैछ, कतिपय मिडियाले पनि त्यसमा धैर्यता नगरेको देखियो। हरेक चिजमा सनसनी खोज्ने र तात्तातै विश्लेषण गर्ने अभ्यास भयो। सनसनीपूर्ण समाचारले आफ्नो कमाइ त गर्ला, तर तथ्य खोज्नुपर्ने उड्डयनजस्तो विशुद्ध प्राविधिक क्षेत्रले के गरोस्? सत्यता, सन्तुलन निष्पक्षतालगायत सूचना र समाचारका आधारभूत विषयमा समेत नजरअन्दाज गरिँदा सर्वसाधारणमा सन्त्रास फैलियो। 

हचुवा र अनुमानका विश्लेषणले उड्डयन क्षेत्रमा कस्तो असर पर्ला भन्ने ख्याल गरिएन। जबकि, यसखाले भ्रमपूर्ण जानकारीले उड्डयनप्रतिको विश्वास र अर्थतन्त्रमा एकदम नकारात्मक असर गर्ने यस क्षेत्रका विज्ञ र जानकार बताउँछन्। सेवाका माध्यमबाट जोडिन पर्ने हुनाले यो क्षेत्रका प्रमुख प्रयोगकर्तामा पर्ने नकारात्मक मनोवैज्ञानिक असरले समग्रमा यो क्षेत्र प्रतिको विश्वास घट्ने वा उपभोक्ता घट्ने अनुमान गर्न सकिन्छ।

उड्डयन क्षेत्रमा समाचारको प्रभाव
८ मार्च २०१४ मा मलेसियन एयरलाइन्सको एमएच ३७० जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट चीनको बेइजिङको लागि उडान भर्दै गर्दा मध्य आकाशबाटै हरायो। अहिलेसम्म पनि सो विमानको खोजी कार्य जारी रहे पनि भेटिएको छैन। सोलगत्तै १७ जुलाई २०१४ मै नेदरल्यान्डको आर्म्स्टरडमबाट क्वालालम्पुर उडेको एमएच १७ जहाज युक्रेनी आकाशमा गोली हानी खसालियो। यसलगत्तै मलेसियन जहाज चढ्ने यात्रुको संख्यामा भारी गिरावट आयो। यसले मलेसियाको अर्थतन्त्रमा नै नकारात्मक असर गर्‍यो। नाम परिवर्तनलगायत अनेक उपाय गर्दा पनि हालसम्म सो वायुसेवा कम्पनीलाई आर्थिक हिसाबले बलियो बन्न कठिनाइ देखिएको छ। 

अरबौँ लगानी गरेको वायुसेवा कम्पनी यसरी क्षणभरमै स्वाहा हुने स्थिति आयो। वर्षौँ दुःख गरेर आर्जन गरेको विश्वास क्षणभरमै शून्यमा विलीन भयो। हरेक घटना र परिघटनाले उड्डयन अर्थतन्त्रमा कति असर गर्दो रहेछ भन्ने सानो उदाहरण मलेसियन वायुसेवा कम्पनी बन्न सक्छ। त्यसैले समाचार 'ब्रेक' गर्ने नाममा, सम्बन्धित संस्थाबाट त्यसबारे तथ्य नआईकन हचुवाका भरमा उच्च स्रोतको हवाला दिँदै समाचार प्रेषण गर्न हतारिनु उचित होइन। उड्डयन क्षेत्र पर्यटनको स्रोत तथा विदेश गएका हाम्रा आफन्तको नियमित आउजाउको माध्यम भएकाले पनि हरेक क्षेत्रले उडान क्षेत्रबारे संवेदनशील र जिम्मेवार बन्नु आवश्यक छ। 

उड्डयन क्षेत्रका फेक न्युजसँग कसरी जोगिने?
केही तानाशाही मुलुकबाहेक विश्वभर अहिले सामाजिक सञ्जाल र मिडियामार्फत व्यक्ति आफ्ना धारणा सार्वजनिक गर्न स्वतन्त्र छन्। एक्काइसौँ शताब्दीको महान् उपलब्धि भने पनि सबैभन्दा ठूलो प्रतिरोधी माध्यम भने पनि अचेल सामाजिक सञ्जाल वा न्युजगृहहरू नै हुन्। सञ्जाल र समाचार कक्षहरू सबै जनमानसको पहुँचमा भएका अघोषित 'मिसाइल' हुन्, जसको दुरुपयोगले ठूला युद्धदेखि राजनीतिक उथलपुथल ल्याइदिने सामर्थ्य राख्दछ।

ठूलो लगानी भएका आर्थिक क्षेत्रको  संरक्षण गर्न होस् वा तहसनहस पार्न होस्, यी साधनको प्रयोग भइरहेको देख्न सकिन्छ। यसरी हेर्दा विज्ञानको अनुपम आविष्कार/विकाशका रूपमा रहेको उड्डयन क्षेत्र क्षणभरमै कुनै 'फेक न्युज'को शिकार नबन्ला भन्न सकिने अवस्था छैन। ठूलो लगानी भएको क्षेत्र यसरी गलत वा तथ्यहीन सूचनाको आधारमा कुनै समय सिकार बन्छ भने त्यो क्षेत्रका लागि एकदमै दुर्भाग्यपूर्ण कुरा हो। त्यसका लागि यो क्षेत्रले सही समयमा सही सूचनासहित सामाजिक सञ्जाल वा सार्वजनिक मिडियामा आफ्नो दर्बिलो उपस्थिति देखाउनु पर्छ। 

विशेषतः यस किसिमका सूचना उड्डयन क्षेत्रको नियामक वा सेवा प्रदान गर्दै आएको संस्थाको आधिकारिक व्यक्ति/आधिकारिक वेबसाइट/सामाजिक सञ्जालबाट यथासक्य छिटो र तथ्यगत सूचना उपलब्ध गराउनु आवश्यक छ। 

सर्वसाधारणले पनि कुनै पनि समस्याबारे पूर्ण वा आंशिक जनाकारी लिन सम्बन्धित संस्थाको आधिकारिक वेबसाइटमा रहेको सूचनालाई आधार मान्ने अभ्यास गर्नुपर्छ। सूचना पाउने सर्वसाधारणको आकांक्षालाई सम्बोधन गर्न कम्पनी तथा निकायहरूले जिम्मेवारीपूर्वक आवश्यक समयमा सही सूचना प्रेषण गर्नुपर्छ ताकि भ्रम फैलन नपाओस्। यसो हुँदा सही सूचना सही समयमा जनमानसमा पुग्न सक्छ भन्ने विश्वास गरिन्छ। वायुसेवा कम्पनी वा सरोकारवाला निकायले जनतालाई चित्त बुझ्दो हिसाबले तथ्यसहित सही सूचना सम्प्रेषण गरी यो क्षेत्रको गरिमा बचाउनुपर्छ। यसो गर्न ढिला गरियो भने अनावश्यक सूचनाको प्रकोपले उड्डयन क्षेत्र थप समस्यामा पर्न सक्छ। 


लेखक नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक हुन्। यो उनको निजी विचार हो।


सम्बन्धित सामग्री