Tuesday, June 18, 2024

-->

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : यात्रुले किन खेप्दैछन् लगातारको हैरानी?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको चाप बढ्दा उडान र अवतरणको समयमा ढिलाइ भएर यात्रुले हैरानी खेपिरहेका छन्। लगातारको यस्तो उपक्रमले विमान कम्पनीको खर्चसमेत बढाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  यात्रुले किन खेप्दैछन् लगातारको हैरानी
तस्वीर : रासस

काठमाडौँ– विभिन्न गन्तव्यबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने हवाइजहाजले भोग्नुपर्ने समस्या हो, अवतरणमा पालो कुर्नुपर्ने बाध्यता। अर्थात् एयर ट्राफिकका कारण एयर ट्राफिक कन्ट्रोलरले दिएको निश्चित समय विमानलाई आकाशमै ‘होल्ड’ गराएपछि मात्र जहाजले अवतरणको अनुमति पाउँछन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा अवतरण गर्ने यात्रुका लागि तोकिएको समयभन्दा १०/१५ मिनेट बढी आकाशमै उड्नुपर्ने परिस्थिति सामान्यजस्तै भइसकेको छ। विमानस्थलका प्रवक्ता सुवास झाका भनाइमा एउटा मात्र धावनमार्ग भएकाले जहाजहरू एकै पटक उडान र अवतरण गर्दा यस्तो समस्या आएको हो।

उनका अनुसार अहिले टीआईए भएर दैनिक १०० र आन्तरिक ३०० उडान हुन्छ। यति धेरै उडान हुने विमानस्थलमा एउटा मात्र धावनमार्ग छ। “एउटा मात्र रनवेबाट सानोदेखि ठूलो जहाज अवतरण र उडान गर्नुपर्छ। हाम्रो एयर ट्राफिक सिस्टमले एक पटकमा एउटा मात्र रनवे प्रयोग गर्नु भन्छ,” उनी भन्छन्। 

“०२ (कोटेश्वरतर्फको आकाश) बाट अवतरण गर्नुपर्‍यो। उड्ने जहाज पनि ०२ मा नै पुग्नुपर्‍यो। त्यसले गर्दा ढिला हुन्छ। भौगोलिक अवस्थितिका कारण हामीले यसलाई परिवर्तन गर्न सकेका छैनौँ। त्यसकारण विमानहरू लाइनमा बस्नुपर्छ। बाटोमा हिँड्दा जसरी जाम भएर बस्नुपर्छ, हवाइजहाजको पनि ठ्याक्कै त्यही अवस्था हो,” प्रवक्ता झाले भने। 

यद्यपि दैनिक ४०० उडानमध्ये १५ देखि २० वटासम्म जहाजलाई मात्र त्यसरी आकाशमा होल्डमा राख्नुपरेको उनी बताउँछन्। “सबै जहाज होल्डमा बस्नुपर्छ भन्ने होइन, केहीलाई मात्र हो,” उनी भन्छन्, “कहिले ट्राफिक र कहिले मौसमका कारण होल्डमा राख्नुपर्छ। यसो गर्नु राम्रो होइन, तर हामीले सुरक्षाका लागि यस्तो गरेका हौँ।” 

विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरहरूले ठूला जहाजलाई प्राथमिकतामा राखेर अवतरण तथा उडानको अनुमति दिने गर्छन्। कुन जहाजलाई प्राथमिकता दिएर अवतरण तथा उडानको अनुमति दिने एयर ट्राफिक कन्ट्रोलरको आफ्नै नियम हुन्छ, त्यही अनुसार उनीहरूले अवतरण र उडानको अनुमति दिन्छन्। 

निर्माणले पनि समस्या 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२३ मा उक्त विमानस्थल भएर ८६ लाख ९१ हजार यात्रुले यात्रा गरे। त्यसमध्ये ४१ लाख ५० हजार ३२६ आन्तरिक यात्रु हुन्। सन् २०२२ मा यात्रुको संख्या ७९ लाख ५४ हजार ४९५ थियो। 

हरेक वर्ष विमानस्थल भएर यात्रा गर्ने यात्रुको संख्या वृद्धि हुँदै गएको छ। जस्तो कि कोरोना भाइरसको महामारीअघि सन् २०१८ मा ७१ लाख ९० हजार ९१२ र सन् २०१९ मा ७३ लाख २७ हजार ४२ यात्रुले यात्रा गरेका थिए। त्यसमध्ये ४१ लाख ३८ हजार अन्तर्राष्ट्रिय र ३१ लाख ८८ हजार आन्तरिक यात्रु थिए। सन् २०१९ मा विमानले एक लाख २४ हजार २५५ पटक उडान भरेका थिए। त्यसमध्ये अन्तर्राष्ट्रियतर्फ ९१ हजार ८१६ र आन्तरिकतर्फ ३२ हजार ४३९ पटक उडान भरेका थिए। 

विमानस्थल कार्यालयका अनुसार सन् २०२३ मा कोभिड अघिको तुलनामा १८ प्रतिशत र सन् २०२२ को तुलनामा ९ प्रतिशतले उडान बढी छ। यात्रु र उडान भर्ने विमानको संख्या वृद्धि भइरहँदा धावनमार्गको विस्तार गर्न नसक्नु नै मुख्य समस्या भएको विमानस्थलका प्रवक्ता झा बताउँछन्। 

यात्रुसँगै उडान र अवतरण गर्ने विमानको संख्यामा वृद्धि भएसँगै विमानस्थलको उत्तरतर्फ ट्याक्सीवे र पार्किङस्थल निर्माणको काम भइरहेको छ। यसकारण पनि अहिले विमानस्थलको उत्तरतर्फ (२०) बाट विमान अवतरणमा तीन महिनाका लागि रोक लगाइएको छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै विमान दक्षिणतर्फ (०२) बाटै अवतरण गर्दा पनि अहिले चाप परेको हो। 

विमानस्थल स्तरोन्नतिका कारण जहाज ‘टेकअफ’का लागि एकातर्फबाट मात्र रनवे सञ्चालन भएको र सञ्चालित रनवे पनि छोट्याइएको कारण नियमित उडान र अवतरणमा समस्या भएको वायु सेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की बताउँछन्। “एयरलाइन्सका कारणले भएको होइन, ट्राफिकको कारणले यस्तो समस्या आएको हो,” उनी भन्छन्। 

किन हुँदैन समयमा उडान?
नेपालभित्र आन्तरिक उडान गर्ने नेपाली यात्रुले भोग्दै आएको अर्को समस्या हो, तोकिएको समयमा कहिल्यै पनि उडान नहुनु। निर्धारित उडान तालिकाभन्दा दुईदेखि तीन घण्टासम्म पनि यात्रुले विमानस्थलमा कुर्नुपर्छ। लामो समयसम्म उडान नभएर कुर्नुपर्दा यात्रु र एयरलाइन्सका कर्मचारीहरूबीच भनाभन र चर्कार्कीका घटना समय–समयमा भइरहन्छन्। 

टीआईएका प्रवक्ता झा एउटा उडानको तालिका बिग्रिनेबित्तिकै दिनभरका सबै उडानमा त्यसको असर पर्ने बताउँछन्। “एयर ट्राफिकको समस्या त छँदै छ। त्यसबाहेक कहिलेकाहीँ मौसम वा अन्य प्राविधिक कारणले पनि उडान ढिलो हुन्छ। अनि त्यसको असर सबैतिर दिनभर नै पर्छ,” उनी भन्छन्, “त्यसका लागि एयरलाइन्सहरूले नियमित तालिकाका बाहेक एक–दुई जहाज थप राख्नुपर्छ।” 

एउटा तालिकामा ढिलो हुँदा स्वभावैले त्यसको असर सबै उडानमा पर्ने र गाल भने एयरलाइन्स कम्पनीले खानुपरिरहेको वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की बताउँछन्। “बिहानै तालिका बिग्रियो भने बेलुका आइपुग्दा दुई–तीन घण्टासम्म ढिलो हुन थाल्छ। त्यसले यात्रुहरूलाई विमानस्थलमा लामो समयसम्म कुर्नुपर्ने समस्या हुन्छ,” उनी भन्छन्, “कतिपय अवस्थामा ढिलो हुँदा मौसम र अन्य कारणले गर्दा उडान नै रद्द गर्नुपर्छ।” 

त्यसबाहेक लामो समयसम्म आकाशमा विमान ‘होल्ड’ गर्नुपर्ने बाध्यताले जहाजको खर्च स्वाभाविक रूपमा बढ्ने एयरलाइन्स सञ्चालकहरू बताउँछन्। कार्की भन्छन्, “एक मिनेट होल्डमा बस्नु पनि एयरलाइन्स कम्पनीलाई घाटा हुनु हो। नागरिक उड्ययन प्राधिकरणले नटिकल माइल र उडानमा लाग्ने समयको आधारमा भाडा निर्धारण गरेको हुन्छ। तर कहिलेकाहीँ आकाशमै आधा घण्टासम्म बस्नुपर्छ जसका कारण अनावश्यक इन्धन खर्च हुन जान्छ।” 

उदाहरणका लागि एटीआर–७२ जहाजले प्रतिघण्टा कम्तीमा पनि ८०० देखि एक हजार लिटरसम्म इन्धन खपत गर्छ। तर इन्धन खपतको परिमाण जहाजको उचाइ र गतिमा निर्भर गर्छ। एटीआर जहाजलाई इन्धनमैत्री जहाजका रूपमा पनि चिनिन्छ। त्यस्तै, जेट इन्जिनको सीआरजे–७०० जहाजले एक घण्टामा एक हजार ७०० किलोग्राम इन्धन खपत गर्छ। 

अन्तर्राष्ट्रिय उडान गर्ने ठूला बोइङ जहाजको इन्धन खपत क्षमता झन् धेरै हुन्छ। उदाहरणका लागि बोइङ–७७७ ले एक घण्टामा झन्डै १८ हजारदेखि २१ हजार किलो इन्धन खपत गर्छ। अर्थात् एउटा बोइङ जहाज आधा घण्टा आकाशमा रोकिनु भनेको झन्डै १० हजार लिटर इन्धन खपत बढ्नु हो। प्रतिलिटर हवाइ इन्धनको मूल्य १३७ रुपैयाँका दरले हिसाब गर्दा १० हजार लिटर हवाइ इन्धनको मूल्य १३ लाख ७० हजार रुपैयाँ पर्न आउँछ।

त्यसैगरी एक घण्टामा ८०० लिटर इन्धन खपत गर्ने एटीआर–७२ या एटीआर–५०० आधा घण्टा आकाशमा होल्ड गर्दा करिब ५४ हजार ८०० रुपैयाँ खर्च थपिन्छ। विमानस्थलका प्रवक्ता झा भन्छन्, “हामीजस्तो इन्धन आयात गर्ने मुलुकका लागि आकाशमा जहाज होल्ड गर्नु भनेको खर्च बढाउनु पनि हो। तर अहिलेका लागि यो बाध्यता हो। निर्माण हुँदै गरेको ट्याक्सीवे सम्पन्न भएपछि यो समस्या घट्ने छ। त्यसपछि एयर ट्राफिकका कारण जहाज उडानमा हुने ढिलाइ पनि कम हुन्छ।”


सम्बन्धित सामग्री