Saturday, May 04, 2024

-->

को हुन् ‘डेमागग’? किन हुन्छ यिनको त्रास?

३० वर्षको अवधिमा देश र समाज मध्ययुगबाट आधुनिक युगमा प्रवेश गर्‍यो। ३० वर्षअघि देशमा तीन हजार किलोमिटर मात्र गाडी कुद्ने सडक थियो, आज त्यो 'तन्केर' ८० हजार किलोमिटर छ। डेमागगहरू त्यो कुरा गर्दैनन्।

को हुन् ‘डेमागग’ किन हुन्छ यिनको त्रास

अंग्रेजीमा ‘डेमागग’ भन्ने शब्द छ। यो शब्द संयुक्त राज्य अमेरिकाको राजनीतिमा डोनल्ड ट्रम्पको उदय भएपछि सबैजसो पश्चिमी देशमा निकै प्रचलनमा आयो। डेमागगको ठ्याक्कै अनुवाद गर्न मिल्ने नेपाली शब्द भेटिँदैन। हामी र हाम्रो समाजले 'डेमागग' चरित्रलाई आलोचनात्मक रूपले नहेर्ने गरेको भएर पनि त्यस्तो अर्थ र आशय बोक्ने शब्द नभेटिएको हुनसक्छ।

युक्तिसंगत तर्क प्रयोग गर्नुको सट्टा आमजनताको व्यग्र चाहना र पूर्वाग्रहलाई अपिल हुने खालका अति लोकप्रिय तर्क र भाषण गर्दै, जनताको भावनामा खेलेर लोकप्रिय बन्न खोज्ने राजनीतिक नेतालाई नै ‘डेमागग’ भनिन्छ। यस्ता नेताहरूले सामान्यतया देशलाई गलत दिशामा लैजान्छन् र आफ्नो अधिनायकवाद स्थापना गर्न खोज्छन्। अन्ततः त्यसले देशलाई लाभभन्दा हानि बढी हुन्छ। 

डेमागग नयाँ शब्द होइन र यो ठेट अंग्रजी शब्द पनि होइन। प्राचीन ग्रिसको खास गरी एथेन्स शहरमा आजभन्दा झन्डै २५ सय वर्षअघि नै लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना भएको मानिन्छ। त्यतिखेर नै यो शब्द त्यस्ता राजनीतिज्ञहरूलाई जनाउन प्रयोग गरिन्थ्यो, जसले भिडलाई उक्साएर र भड्काएर आफ्नो स्वार्थ सिद्ध गर्थे। भिडलाई भड्काउने 'डेमागग'कै कारण प्राचीन एथेन्सको लोकतन्त्र बारम्बार संकटमा परेको कुरा इतिहासमा उल्लेखित छ। 

बिसौँ शताब्दीमा रेडियो र टेलिभिजनको आविष्कार र विकासले हिटलरजस्ता डेमागगको उदय सम्भव बनायो। अहिले फेसबुक, ट्विटर र युट्युबजस्ता सामाजिक सञ्जालले गर्दा जताततै डेमागगको बिगबिगी छ। सञ्चारका यस्ता आधुनिक माध्यमबाट सजिलैसँग र सिधै जनतामाझ पुगी तिनलाई प्रभावित र दिग्भ्रमित पार्न सकिन्छ।

डेमागगले सरल शब्द र उत्तेजक नारा प्रयोग गरेर सर्वसाधारणलाई उत्तेजित बनाउँछन्। तिनीहरूको लक्षित समूह मूल रूपमा अशिक्षित, अर्धशिक्षित र कुनै न कुनै रूपमा आफू अन्यायमा परेको ठान्ने मतदाताहरू हुन्, जसलाई सजिलै प्रभावमा पार्न सकिन्छ। डेमागगले समसामयिक विषयलाई मुद्दा बनाउँछन्। त्यसलाई अतिरञ्जित तरिकाले व्याख्या गर्दै जनताको गुनासोलाई आक्रोशमा परिणत गर्छन्। त्यही आक्रोशलाई सत्तामा पुग्ने सिँढी बनाउँछन् र सत्ताको चाबी हातमा परेपछि आफ्नो अधिनायकवाद स्थापना गर्ने प्रपञ्च रच्छन्।

डेमागगको उद्देश्य जसरी भए पनि सत्तामा पुग्नु हो। तिनीहरूको कार्य प्रणाली (मोडस् अपरान्डी) लोकतन्त्र र अर्थतन्त्रमा भएका कमीकमजोरीहरूलाई कोट्याउँदै देश/राज्यमा विकराल समस्या भएको देखाउनु र त्यसको समाधान आफूसँग मात्रै छ भनेर आफ्ना अल्पज्ञानी र छिट्टै उत्तेजित हुने समर्थकहरूलाई विश्वास दिलाउनु हो। 

नेपालमा अहिले हुर्किरहेका डेमागगहरू पनि 'नेताहरूले हीरा र स्वर्गजस्तो देशलाई डुबाए, बर्बाद पारे' भन्दै नयाँ सपना बेचिरहेका छन्। जबकि, सर्वसाधारणका लागि यो देश कहिल्यै हीरा र स्वर्गजस्तो थिएन। 

डेमागगहरू अप्रत्यक्ष तरिकाले आफूलाई मसिहाको रूपमा प्रस्तुत गर्छन् र आफ्नाअगाडि पछाडि त्यस्तो खालको भिड जम्मा गर्छन्, जसले तिनीहरूलाई भगवान‍्कै अवतार ठान्छन्। डेमागगका अन्धभक्तहरूलाई तिनको हरेक शब्द कर्णप्रिय लाग्छ, हरेक वाक्य शतप्रतिशत सही लाग्छ। 

डेमागग सोच्ने क्षमता अतिभन्दा अति कम भएका स्रोताहरूले समेत आफ्ना कुरा बुझून् भन्ने ठानेर अति सरल शब्दहरू प्रयोग गर्छन्। तिनीहरू भावनात्मक रूपमा 'चार्ज्ड' नाराहरू प्रयोग गर्छन्, ताकी स्रोताहरू उत्तेजित भएर विपक्षी या समस्याप्रति आक्रोशित बनून्। गडगडाहट ताली बटुल्न यिनीहरू प्रतिद्वन्द्वीहरूलाई तुच्छ भाषामा गाली गर्छन्। तिनीहरूलाई थाहा हुन्छ कि तिनीहरूको समर्थकहरूलाई त्यस्तै गाली मन पर्छ। जस्तै: 'लाज पचेका नकचराहरूलाई टुँडिखेलमा राखी उडेर घुमाएर एक–एक किक हान्न मन छ।'

सन् १९३० को दशकमा एडोल्फ हिटलरले प्रथम विश्वयुद्धमा जर्मनी हार्नुको दोष यहुदीहरूमाथि लगाए र परम्परागत रूपमा जर्मनहरूको यहुदीहरू प्रतिको नकारात्मक भावनालाई उक्साएर घृणा र आक्रोशमा परिणत गरे। उनले त्यस समयको जर्मनहरूमा भएको उग्र राष्ट्रवादको भावनालाई झनै उक्साएर जर्मनहरू नै संसारमा सर्वश्रेष्ठ जाति हुन् र विश्वमा राज्य गर्ने अधिकार उनीहरूलाई मात्रै छ भन्ने विश्वास दिलाए। उनले छिमेकी देशहरूकै कारण जर्मनीको दुर्दशा भएको र तिनीहरूलाई आफ्नो अधीनमा नल्याई जर्मनी उँभो लाग्दैन भन्ने विश्वास दिलाए। 

उनी भाषण गर्नमा यति पोख्त थिए कि उनको भाषणले क्षणभरमै उनको झूटहरूमा किञ्चित मात्रै पनि विश्वास गर्ने जो कोहीको रगत उमाल्न सक्थ्यो। यसरी जर्मन जनतालाई उक्साएर र भड्काएर सन् १९३३ को आमचुनाव जितेपछि हिटलरले के गरे भन्ने कुराको साक्षी इतिहास छ। विश्वका डेमागगहरूको सूचीमा हिटलरको नाम पहिलो नम्बरमै पर्छ।

सन् २०१६ को संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पले नश्लवादी-गोरा-अमेरिकीहरूको आप्रवासी तथा उदार विचार बोक्ने अमेरिकी प्रतिको नकारात्मक भावनालाई उक्साएर आक्रोशमा परिणत गरे। अल्पसंख्यक बन्दै गएका कट्टर क्रिश्चियनहरूलाई भड्काएर उनले आफ्ना प्रतिद्वन्द्वीहरूलाई तुच्छ शब्दमा गाली गरेर आफ्ना समर्थकहरूको ताली बटुले। झूटैझूटको पुल बाँधेर अर्धशिक्षित अमेरिकीहरूको ठूलो समूहलाई (उनकै शब्दमा भन्ने हो भने ‘पुअर्ली एडुकेटेड') आफ्नो पक्षमा पारे र चुनाव जिते। सन् २०२० मा उनले चुनाव हारेपछि उनको इसारामा उनका समर्थकहरूको भिडले अमेरिकी संसद् भवनमा आक्रमण गर्‍यो।

हिटलर र ट्रम्प दुई उदाहरण मात्रै हुन्। विश्वका सबैजसो देशमा यस्ता डेमागगहरू पहिले नै अस्तित्वमा छन् र कतै उम्रँदै छन्। तीमध्ये केहीले सत्ता कब्जा गरेर आफूलाई तानाशाह बनाएका छन्, केहीले लोकतन्त्र मास्ने काम गरेका छन्, केहीले देशलाई गृहयुद्धतिर धकेल्ने काम गरेका छन्। सत्ता हातमा परेपछि यस्ता नेताहरूले आफ्नो सच्चा रूप (ट्रु कलर्स) देखाउँछन्, तर त्यति बेलासम्म भने समय घर्किसकेको हुन्छ। जनताले चाहेर पनि डेमागगलाई सत्ताबाट सहजै हटाउन सक्दैनन्। 

हाम्रो देशमा केही दशक पुरानो लोकतन्त्रले देशको अर्थतन्त्र र आम मान्छेका हुर्कँदा सपनालाई अपेक्षित रूपमा अगाडि बढाउन नसकेपछि त्यसकै ओसमा औँशेकीरा अर्थात् डेमागगहरू स्याउँस्याउँती उम्रेका छन्। 

डेमागगहरू गएको ३० वर्षमा देशले हरेक क्षेत्रमा विशाल फड्को मारेको कुरा गर्दैनन्। देश र समाज मध्य युगबाट आधुनिक युगमा प्रवेश गरेको कुरा गर्दैनन्। ३० वर्षअघि ८० प्रतिशत नेपाली गरिबिको रेखामुनि थिए, आज २० प्रतिशतभन्दा कम नेपाली गरिबीको रेखामुनि छन्। त्यो कुरा गर्दैनन्। ३० वर्षअघि देशमा तीन हजार किलोमिटर मात्र गाडी कुद्ने सडक थियो, आज त्यो 'तन्केर' ८० हजार किलोमिटर छ। डेमागगहरू त्यो कुरा गर्दैनन्। 

उनीहरू बहुदलीय सरकारले एउटा जुत्ता कारखाना बेचेको कुरा गर्छन्। तर देशमा सयौँ जुत्ता कारखाना खुलेको कुरा गर्दैनन्। देशमा भइरहेका विकासका अनगिन्ती कामहरूको कुरा गर्दैनन्। कुनै बेला देश केबल एउटा परिवार, तिनका नातेदार र तिनकै चाकरीबाजहरूको हातमा थियो। तिनीहरूले जे चाह्यो त्यही हुन्थ्यो, अरू सबै निरीह बनेर टुलुटुलु हेरेर बस्नु पर्थ्यो। विभेद र अन्याय अहिले पनि होलान्, तर पहिलेका तुलनामा आज सम्भावनाका ढोका धेरैका लागि खुलेका छन्। 

तर डेमागगहरू त्यो कुरा गर्दैनन्। यिनीहरू गर्छन् त केवल 'देश डुब्यो, नेताहरूले देश डुबाए, हामीले मात्रै देशलाई बच्चाउन सक्छौँ।'

'डेमागग इन्डिकेटर'
१. अनेक तिकडमयुक्त, तोडमरोडयुक्त र काल्पनिक कुरा गरेर सर्वसाधारणको भावनालाई आफ्नो पक्षमा पार्न डेमागगहरू सिपालु हुन्छन्। तिनका कुरा झट्ट सुन्दा सही र मिठो लाग्छ, तर तिनका धेरैजसो कुरा तथ्यपूर्ण हुँदैनन्। केही तथ्यमा धेरै झूटका फूलबुट्टा भरेर यिनीहरू जनतालाई आफ्ना विपक्षीप्रति त्रस्त बनाउँछन्।  

२. यिनीहरू समाजमा व्याप्त पूर्वाग्रहलाई प्रयोग गर्दै सर्वसाधारणलाई भड्काउन माहिर हुन्छन्। हिटलरले यहुदीहरूप्रतिको पूर्वाग्रह र ट्रम्पले आप्रवासीहरू प्रतिको पूर्वाग्रहलाई प्रयोग गरेर चुनाव जितेका थिए। भारतमा नरेन्द्र मोदीले 'हिन्दू धर्म खतरामा परेको' भन्दै देशका लागि त्यही 'समस्या' ठूलो रहेको भाष्य प्रयोग गर्दै बलशाली शासकका रूपमा स्थापित भए र अहिले रजाइँ गर्दैछन्।    

३. यिनीहरू समस्याहरूको सजिलो समाधान प्रस्तुत गर्छन्। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने यिनीहरूका कुरा सुन्दा यस्तो लाग्छ सबै समस्याका जड पुराना नेता हुन् र तिनीहरूले चुनाव जित्नासाथ सबै समस्याहरू एकाएक गायब हुन्छन्।

४. यिनीहरू डर र त्रासको वातावरण सिर्जना गर्न सिपालु हुन्छन्। देश डुब्यो, अर्थतन्त्र तहसनहस भयो, भोलिबाट कसैको घरमा भात पाक्दैन जस्ता मनगडन्ते कुरा गरेर डर र त्रासको वातावरण सिर्जना गरेर मान्छेहरूमा असन्तोष पैदा गर्न यिनीहरूले जानेका हुन्छन् ।

५.  प्रतिद्वन्द्वीहरूलाई तथानाम र तुच्छ गाली गर्नमा यिनीहरू अरूभन्दा दुई कदमअघि हुन्छन्। विपक्षीलाई झुटो आरोप लगाउने यिनीहरू सानो गल्तीलाई पनि बढाइचढाइ गरेर विशाल पहाडै बनाइदिन्छन्। विपक्षीलाई भौतिक आक्रमण गर्न आफ्ना समर्थकहरूलाई उक्साउँछन्।

६. यिनीहरू 'म पनि सर्वसाधारण नै हुँ, म र तपाईंहरूमा केही पनि फरक छैन, मलाई तपाईंहरूले नै बनाउनु भएको हो' जस्ता झूट बोलेर तिनीहरू सर्वसाधारणहरूको मन जित्नु सिपालु हुन्छन्। सार्वजनिक खपत या देखावाका लागि सर्वसाधारणका घरमा गएर खाना खाने र खेतबारीमा पुग्ने अभ्यास गर्ने यिनीहरूको वास्तविक जीवन, उठबस र रहनसहन भने सर्वसाधारणको जस्तो हुँदैन। 

७. पत्रपत्रिका तथा मूलधारको मिडियाले धेरै हदसम्म वास्तविकताको पर्दाफास गरेर सबैसामु सत्य कुरा ल्याइदिने हुनाले डेमागगहरू मिडियामाथि आक्रमण गर्छन्। ठूला व्यापारी र विदेशी खुफिया एजेन्सीहरूको पैसाले मिडिया चलेको आरोप लगाउँछन्। यद्यपि, त्यसको पुष्टि गर्न सक्ने आधार र प्रमाण यिनीहरूसँग हुँदैन। 

असल नेताको कर्तव्य देश र समाजलाई सही बाटोमा लैजानु हो, चाहे त्यो बाटो जति नै कष्टकर होस्। भिडले जता जान चाह्यो उतै लैजानेहरूचाहिँ डेमागग हुन्। भिड सधैँ गलत बाटोमा हिँड्न खोज्छ, किनभने त्यहाँ बुद्धि प्रयोग गर्ने र तर्क गर्ने सक्ने मानिसको कमी हुन्छ। विद्वान र असल जनहरू भिडमा नभएर विवेक र समस्याको वस्तुनिष्ठ विश्लेषण र समाधानमा जान्छन्। 

अतः समयमै डेमागगहरूको पहिचान गरेर लोकतन्त्र र र देशलाई गलत दिशामा जानुबाट बचाउनु हाम्रो कर्तव्य हो। कानूनी राज्यको रक्षा गर्नु आजको आवश्यकता हो।


सम्बन्धित सामग्री