Friday, April 26, 2024

-->

द कुरौटे फाइल्स
गगन–स्वर्णिम ‘प्रक्सी वार’, कोर र विकल्पको विवादले रंगिएको २०७९

लोकतान्त्रिक राजनीतिको स्पेसमा हालीमुहाली चलाउँदै आएको नेपाली कांग्रेस र अहिले उसलाई चुनौती दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी गौण भएका छन्,‌ गगन र स्वर्णिम प्रधान‌।

गगन–स्वर्णिम ‘प्रक्सी वार’ कोर र विकल्पको विवादले रंगिएको २०७९

पृथ्वीले ३६५/३५६ दिन लगाएर सूर्यको परिक्रमा पूरा गरेको उपलक्ष्यमा हरियो ग्रहका बासिन्दाले‌ यस खगोलीय माइल्स्टोनलाई हर्षोल्लासपूर्वक मनाउने गरेका छन्। चक्रानुसार वर्ष फेरिने नियमित प्रक्रियालाई जोस-जाँगरका साथ मनाउने, विभिन्न उपाधि-पुरस्कार दिने, विचार-विमर्श गर्ने, र त्यहीअनुरूप वाद-प्रतिवाद गर्ने अभिभारा अहिले विक्रम संवत् पात्रो पच्छ्याउने नेपालीको काँधमा आइपुगेको छ।

हरेक वर्षजस्तै यो वर्ष पनि सामाजिक, आर्थिक, राजनीतिक वृत्तमा साना-ठूला हलचल भइरहे।

राजनीतिक हिसाबले विसं २०७९ नेपालका लागि निकै 'इभेन्ट्फुल' वर्ष रह्यो। स्थानीय चुनावको रमझमबाट शुरू भएको २०७९ आमनिर्वाचन हुँदै उपनिर्वाचन तिर लम्किँदा थापाथलीको पुलमुनिबाट धेरै पानी बगिसकेको छ, पुल छेउमा धेरै कृत्य भएका छन्।

चैतको उत्तरार्धमा देखिएको एक विशिष्ट कोटिको राजनीतिक परिघटनाले बुद्धि–विलासीहरूको दुनियाँमा यस्तो तरंग ल्यायो कि त्यसको बाछिटा अझै पनि राजनीतिक बहसहरूमा देखिइरहेको छ। यो इभेन्ट थियो 'गगन-स्वर्णिम प्रक्सी वार' – जसको प्रतिध्वनि अहिलेसम्म सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा हुने गफगाफमा गुन्जिरहेको छ। यसलाई मन लागेको खण्डमा चलिआएको परम्परागत बुद्धि–विलासिताका विषयगत डिस्कोर्सबाट भएको डिपार्चरका रूपमा पनि हेर्न सकिन्छ।

सारमा भन्नुपर्दा, नेपाली कांग्रेसमा बुद्धिजीवी कोटाबाट नेता भएका स्वर्णिम वाग्लेको 'दाजु-भाउजूबाट प्रताडित भएर' राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश, वाग्लेको सर्प्राइज एक्जिटबाट रन्थनिएका महामन्त्री गगन थापाको तिरिमिरी क्रन्दन र तत्पश्चात् उनीहरूको पक्ष-विपक्षमा विभाजित 'सचेत' नागरिकहरू बीचको चाइँचुइँले वर्ष अन्त्य तरंगित बनाइदियो ।

उल्लेखित खण्डपछि बौद्धिक र स्यूडो-बौद्धिक जगत्मा भइरहेका बहसको स्तर बढ्यो वा खस्कियो, मलाई ठ्याक्कै अन्दाज भएन– चलायमान अवश्य भयो। विकसित भयो। औधी विकसित। बुझिनसक्नु। थेगिनसक्नु। खपिनसक्नु।  

कुन क्रममा विकसित भयो भन्ने भेउ‌‌ पाउन छिमेकका गृहमन्त्रीले कुनताका भने झैँ 'तपाई क्रोनोलजी बुझ्नुस् है' :  पहिले–पहिले सार्वजनिक वृत्तमा बहस, वादविवाद भन्नेबित्तिकै विषय 'स्वास्थ्य कि धन ठूलो?' भनेर बुझिन्थ्यो। हद भए 'के नेपाल सानो छ?' अथवा 'बहादुर‌ पहिलेका अच्छा था कि अहिले का?' वा 'बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइने कि समथल भूमि?' र त्यसभन्दा अझ एक खुड्किलो माथि चढेर बहस गर्ने हो भने बुद्धको असल जन्मभूमि कहाँ हो भन्नेमा हुन्थ्यो।

आजकल? आजकल वादविवादको मुहार बदलिसक्यो। आजकल हामी भुईंमा खसेको खानेकुरा टिपेर खानुपर्दा राम कि भूत भन्दैनौँ, गगन कि स्वर्णिम भन्छौँ। आजकल स्वास्थ्य ठूलो कि धन होइन कि गगनको एक्स्पिरियन्स् ठूलो कि स्वर्णिमको एक्स्पर्टिज ठूलो भनेर भिडिरहेका हुन्छौँ। आजकल मापनको इकाई ओली भर्सेस देउवा वा ओली भर्सेस प्रचण्डबाट गगन भर्सेस स्वर्णिमतिर लगभग सरिसकेको छ। 

लोकतान्त्रिक राजनीतिको स्पेसमा हालीमुहाली चलाउँदै आएको नेपाली कांग्रेस र अहिले उसलाई चुनौती दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी गौण भएका छन्,‌ गगन र स्वर्णिम प्रधान‌।

स्वर्णिम-गगन बहसोलोजीले अहिले उल्कैको तर सतही ध्रुवीकरण प्रत्युत्पादक गरेको छ, जुन झट्ट हेर्दा यी दुई बीचको व्यक्तित्व-टकराबबाट जन्मिएको नतिजाजस्तो देखिन्छ।

यो ध्रुवीकरण उल्कैको छ, किनकि तपाईं हामी अहिले एकछिन डिजिटल दुनियाँतिर टहलिने हो भने देशको अर्थतन्त्रको स्थिति, दलगत भ्रष्टाचार, सामाजिक बेथिति, कानूनी बखेडा, आदिबारे हुने कुरा औपचारिकतामा सीमित छन्, ध्रुवीकृत क्रिया-प्रतिक्रियाको  छायामा परेका छन्। बितेका दिनमा ती विषयबारे खबर नआएका हैनन्, तर अधिक चर्चा र खपत यही 'प्रक्सी वार' कै भयो। हिजोको मितिसम्म स्वर्णिमका नाममा खुल्ला पत्र आइरहेका थिए, असम्बन्धित प्रकरणमा उनीमाथि प्रश्नहरू तेर्सिइरहेका थिए। कुनै बेला अति रुचाइएका तर हाल मिडिया ब्रान्ड भ्याल्युमा ह्रास आएका नेता गगन थापाको सित्तैमा बदख्वाइँ चलिरहेको छ। 

यो सतही छ, किनकि शायद यसले पूरै यथार्थलाई प्रतिविम्बित गर्दैन। समाज ध्रुवीकृत नभएको हैन, तर यसका सीमितता छन्। यी गतिविधिहरूले बहुमतको दैनिकीलाई असर गर्ने होइनन्, न ती छलफलले कसैको चुल्हो बल्ने हो। बरु यसलाई‌ हाम्रा दुई दाइ नेताका नयाँ-पुराना, सक्कली-नक्कली, स्थायी-अस्थायी समर्थकको टी-टाइम टकराब भन्न सकिन्छ।

मेरा गुरु प्राडा. कुरोलोजिस्ट भन्ने गर्छन्– अपवादबाहेक कुनै राजनीतिक दलको प्रभावको धरातलीय यथार्थ सामाजिक सञ्जालमा देखिने-सुनिने मतभन्दा फरक हुन्छ। "सामाजिक सञ्जालको लोकप्रियता, अलोकप्रियताले भुईं-तथ्यको मापन हुँदो हो त नेपाली कांग्रेस र नेकपा एमाले हालको ताल हेर्दा नामेट हुनुपर्ने।" तर अवस्था अझै त्यस्तो छैन, किनकि कथ्य र तथ्यमा उत्तिकै अन्तर छ जति निर्वाचनमा खस्ने मत र ट्विटरका पोलमा खस्ने मतबीच हुन्छ।

सोही भावअनुरूप तीन क्षेत्रमा हुन गइरहेको उपनिर्वाचन नतिजाले को कति पानीमा छ भन्ने बताइहाल्ला। बाँकी त लख काट्ने, ब्लग लेख्ने, मेसो न हो। 

खैर, धरातलीय सत्य र डिजिटलीय तथ्य जे भए पनि यो प्रक्सी-वारको परकम्पले  (पर्सिभ्ड) वैकल्पिक राजनीतिको बहसलाई फेरि जाज्वल्यमान बनाएको छ। कांग्रेस महामन्त्री र भूपू कांग्रेस बुद्धिजीवीबाट शुरू भएको यो जेरीजस्तो किस्सामा पार्टीसहितका स्वतन्त्र नेता रवि लामिछाने र पार्टीरहित स्वतन्त्र मेयर बालेन शाह मिसिएर सुनमा सुगन्ध छरिदिएका छन्।

अनि फेरि बुनिँदैछ मूलाधार भर्सेस वैकल्पिक राजनीतिको कथ्य।

विवेकशील नेपाली दलले दोस्रो संविधानसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै नेपाली समाजलाई वैकल्पिक राजनीतिसँग परिचित गराएको थियो। त्यसपछि २०७४ सालको स्थानीय निर्वाचनमा विवेकशील र साझा पार्टीले सोचेभन्दा राम्रो नतिजा ल्याएका थिए। निर्वाचनको नतिजाले हौसिएर यी दुई दल जुटे, विवेकशील साझा पार्टी बन्यो। पार्टी त बन्यो, तर दुवै समूह गुटभन्दा माथि उठ्न नसक्दा  कालान्तरमा 'उही सक्कली बाजेको खास‌ असली पेडा' पारा देखाउँदै छुट्टिए, कट्टी गरे। 

हल्का समाजवाद हल्का पुँजीवादको डुंगा चढेर चर्चित भएका दलका अनुहार 'विचारभन्दा माथि देश' भन्दै उच्च कोटिका राजावादी भए। कोही गेमचेन्जर व्याख्याता भए, कोही नयाँ वैकल्पिक दलतिर लागे भने केही छिन्नभिन्न भएको पार्टीको टाक्राटुक्री जोड्न प्रयासरत छन्। 

विवेकशील-साझाको अधोगतिपछि वैकल्पिक राजनीतिमा देखिएको खाल्डो पुर्ने कामको शुरूआत २०७९ सालको स्थानीय निर्वाचनबाट मेयर चुनिएका बालेन शाहको उदयका‌ साथ भयो। उनको अहिले संघीय सरकारसँग अर्कै लेभलको जुहारी चल्दैछ, जसबारे कुनै दिन एक्स्क्लुसिभ लेखै लेखौँला। 

शहरी उच्च/मध्यमवर्गले स्वतन्त्र उम्मेदवार असाध्यै रुचाएको टिप लिँदै आमनिर्वाचनको मुखैमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका रवि लामिछाने निर्वाचन पछि उदाएनन् मात्रै, स्थापितै भए। 

माथि उल्लेख गरिए झैँ, कांग्रेसी-कलेशले (कलह?) कमब्याक गराएको वैकल्पिक बहसको आगोमा घ्यू थप्ने काम गर्‍यो पछिल्लो २ करोडको मोलभाउ गरिएको 'टेपगेट'ले, जुन यसरी दन्कियो कि जति पानी घोप्टाए पनि छिट्टै निभ्ने छाँटकाँट देखिएको छैन। 

न 'कोर'‍को रहस्य नै पत्ता लागेको छ।

काठमाडौँ महानगरपालिका निर्वाचनको मतगणना हुँदै गर्दा 'कोर-एरिया' भन्ने शब्दावली खुबै प्रचलित थियो। सरोकारवालाले कोर एरिया अब आउँछ भन्थे, तब आउँछ भन्थे, तर कहिले आएन। 

अहिले टेपगेटले प्रकाशमा ल्याइदिएको कोर-टिम रहस्य उत्तिकै चर्चामा छ। खुलासा हुन्छ भन्छन्- फुस्सा। कोर टिम छ, कोर टिम छ भन्छन् तर त्यो कहाँ छ, त्यसमा को–को छन्, के–के हुन्छ? चराचर जगत्को कसैलाई थाहा छैन। 

थाहा छ त यति कि यही मुद्दामाथि टेक्दै अन्धाधुन्ध हिलो छ्यापिँदै छ। कसैको अस्तित्वको औचित्य माथि प्रश्न उठाउन थालिएको छ। धाक लगाउँदै ज्ञाता भएकाहरू रन्थनिएका छन्। हामी यति ठूलो बाहुबली हुँदाहुँदै सानातिना चोर किन चाहियो भनेर आङको भैँसी अनदेखा हुँदैछ भने हामीले पाकेट मात्र मारेको तिमीले त बैंक लुटेको भनेर कानको जुम्रा पन्छ्याइँदै पनि छ।

कुनै बेला देखीनसक्ने 'मेडिकल माफिया' डियर भएका छन्, कुनै बेला काँधमा बोकिएका मान्छे खेदिएका छन्। अरूभन्दा कांग्रेस,‌एमाले, माओवादी, लगायतका समर्थकले मोरल हाइग्राउन्ड लिने अवसर पाएका छन्।

अर्कोतर्फ रास्वपाका सभापतिले धेरै पुरानो किस्सालाई चुनावी अस्त्र बनाइएको आरोप लगाउँदै छन्। उनले नबुझेका त हैनन्, साम दाम दण्ड भेद - सबै चाल मान्य हुने राजनीति यसरी नै चलायमान छ। यहाँ सूचना नै शक्ति हो, प्रयोग गर्न आइतबार‌ कुर्न पर्दैन। भईपरी आए जसको हातमा क्लासिफाइड सूचना छ उसले पत्रकार सम्मेलनमा छाती ठोक्दै फाइलसहित सार्वजनिक गर्दिने 'प्रावधान' छ। अड्को थाप्नेहरूको नाम किट्दै 'पोल खोल्दिम्' भनेर थर्काउने चलनै छ।

किनकि, ‌अहिले समाजमा उल्कै तर सतही ध्रुवीकरण छ ।

तर आशावादी कहाँ हुन सकिन्छ भने कुराग्राफीको 'नेपालीजनको अल्पकालिक स्मृति' सिद्धान्तअनुसार‌ कुनै पनि मुद्दा यहाँ दुई-चार महिनाभन्दा बढी टिक्दैन। केही दिनको रमिता पछि हामी अर्कै कुनै स्थिति, परिस्थितिबारे अहिलेभन्दा बढी तल्लीन, दत्तचित्त भएर लागिपर्ने छौँ। 

आज यही गनगनका साथ आशा गर्दछु आउने १–२ हप्ता साह्रै उग्र उटपट्याङ गतिविधि नहोउन्। कुनै नेताले गीत, संगीत र नृत्यको उत्पत्ति नेपालमा भएको नभनोस् , कसैले धतुरो खाएर लट्ठ भएको जस्तो आफ्नो दलले तीनै तहको सरकार चलाउँछ भनेर जग हँसाई नगरोस्, कसैले अमेरिकामा महिनाको एक लाखको जागिर छोडेर आएको गफ नदेओस् र‌ कसैकसैले त फोन लाई हातै नलगाओस्। धेरै कुरा काट्ने विषय नै नहोउन्, कुरोग्राफरको किबोर्डमा धुलोको बाक्लो पत्र बसोस्। 

नववर्षको शुभकामना!

सञ्जालतिर बत्तिस दन्त फिँजाई मुस्कुराएको फोटोसहितको सन्देश टाँस्न नभुल्नुहोला।


सम्बन्धित सामग्री