Saturday, April 27, 2024

-->

द कुरौटे फाइल्स
मावली राज्यमा लेखिएको उल्टो निबन्ध

हल्ला मच्चाउनेहरूको अर्को श्रीपेच भेरियन्ट पनि भेटिन्छ। उमेर ढल्किँदै गए पनि हिजोआज यो किसिमको भेरियन्टरको महत्त्वकांक्षा बढेको बढ्यै छ, सगरमाथाको उचाइ छेक्ने गरी बढ्दो छ।

मावली राज्यमा लेखिएको उल्टो निबन्ध

आज कुरोग्राफीको अन्त्यबाट शुरूआत हुन्छ।

विक्रम संवत् क्यालेन्डरको २०७९औँ वर्ष सकिनै लाग्दा एकथरी आवाज सुनिइराखेको छ। यो आवाज फरक–फरक समयमा विभिन्न डेसिबलमा सुनिन्छ। चार–पाँच महिना अघिसम्म यसको स्वर अलि कम थियो, एकाध महिनायता फेरि चर्को भएको छ। यो आवाजमा खास नयाँ–नौलो कुरा केही छैन, र यो सुनिनै नहुने, बुझिनै नहुने आवाज पनि हैन– हाल व्यवस्थामा सबै किसिमका आवाज सहअस्तित्वमा छन्।

यसो हेर्दा, यो हानिरहित ध्वनि हो, तर बिस्तारै यसले बस्दैगरेको प्रणालीको निब मक्काउन खोजिरहेको हुन्छ। प्रायजसो सालभरि हाइबरनेट गर्छ, मौका हेरेर बेला–बेला फुत्त निस्केर च्याउँ–च्याउँ गर्छ, तर यसलाई आफू गर्जिरहेको छु भन्ने भान हुन्छ।

एउटै स्वरूप नभएको यसका विभिन्न स्रोत धेरै हानिकारक नभए पनि समाज र राज्यका भिन्न तहहरूमा घुसपैठ गरेर बसेका छन्। र, बेला–बेला केही निकायहरूमा यिनको हस्तक्षेपको हल्का असर देखा पर्छ।

यीमध्ये केही हाकाहाकी आफ्नो विरूप अनुदार भेषमा देखा पर्छन्, केही उदार आवरणमा लुकेर बसेका हुन्छन्।

अधिकांशत: यो आवाजले भन्छ, “देश बरबाद हुन लाग्यो, सिद्धिइसक्यो। मैले बचाए मात्र हो, नत्र बाँकी सब मिलेर देशलाई बेच्न लागे। देशलाई छिट्टै निकास चाहिएको छ, हामीलाई भइसकेको परिवर्तन मान्य छैन, तर फेरि अर्को परिवर्तन चाहिएको छ।”

यस्तो स्वर मच्चाउने टाउकेहरू धेरैजसो आफैँ बोल्दैनन्, आफ्ना पुच्छरहरूलाई बोल्न लगाउँछन्। आफू जब बोल्छन्, थपडी खोज्छन्, जयजयकार चाहन्छन्।

यस आवाजका थरीथरीका भेरियन्ट भेटिन्छन्। यी धेरैजसो पुरातनवादी सोचका अनुयायी हुन्छन्– उमेर, पढाइ, लिंग, भाषा, बसाइ, कमाइ आदिसँग उनीहरूको सोचको केही सम्बन्ध हुँदैन। ८ कक्षा पास हुन् कि पीएचडी, यिनको बोली लगभग उस्तै सुनिन्छ।  

एकथरी मध्यमस्तरको भेरियन्ट कहिले राष्ट्रगानको शुरूको धुन हटाउन पर्‍यो भन्छ, कहिले कुनै ऐतिहासिक/मिथक पात्रको जन्मभूमि मेरै आँगन‌ हो भन्दै भुनभुनाउँछ। यसलाई बेला–बेला भूगोलप्रेमको साँपले डस्छ, आफ्नो अजेन्डालाई राष्ट्रवादको सिरक ओढाइदिन्छ। 

यिनीहरू भौतिक विकासको‌ कसौटीमा समृद्धिको मापन गर्छन्, आधारभूत आवश्यकताको यिनीहरूलाई त्यति साह्रो मतलब हुँदैन। राज्यको संरचना पनि उनीहरूलाई मान्य हुन्न र धेरैजसो हिरोगिरी गर्न अभिशप्त हुन्छन्।      

यिनी अनेक किसिमको कम्प्लेक्सले ग्रसित छन्- अचम्मको कुरा त श्रेष्ठता बोध र हीनताबोध दुवै एकैपल्ट पालेका हुन्छन्।

यी आवाजहरूको विदेशी भेरियन्टहरू पनि छन्, जो उग्रै छन्। अलि धेरै नै उग्र। 

यसको सबैभन्दा डरलाग्दो भेरियन्ट अतिवादी भेरियन्ट हो। यो हाल केही सुषुप्त छ, तर टाउको उठाउन खोज्दै छ। विदेशी भेरियन्टको सिको गर्दै तरबार लिएर नाच्दै छ। आशा गरौँ यो नाच, नाचमै सीमित रहोस्। 

हल्ला मच्चाउनेहरूको अर्को श्रीपेच भेरियन्ट पनि भेटिन्छ। उमेर ढल्किँदै गए पनि हिजोआज यो किसिमको भेरियन्टरको महत्त्वकांक्षा बढेको बढ्यै छ, सगरमाथाको उचाइ छेक्ने गरी बढ्दो। विरोधाभास कस्तो भने–  स्थायित्व भएन भन्छन्, अस्थिरतामा रमाउँछन्। 'देशले चाहेको खण्डमा' सलबलाउन तयार छन्, त्यो सलबलाहटका लागि जस्तै कुपात्रको काँधमा चढ्न लालायित देखिन्छन्। यो भेरियन्टका आसेपासेहरू 'यो तन्त्रमा हाम्रोतन्त्रबारे बोल्न पाइन्न हो?' भन्दै बिनाकुनै रोकटोक बोल्दै छन्, यही व्यवस्थाभित्र बसेर यो व्यवस्था उल्ट्याउँछौँ भन्दै कुर्लिरहेका छन्, मूभ‌ गर्न लालायित हुन्छन्। किनकि, त्यसो गर्न पाइएको छ। उनीहरू बुझ्छन् तर बुझ पचाएरै त्यसो सोध्छन्, भन्छन्। 

यी र माथिका भेरियन्ट आवरणमा फरक देखिए पनि उस्तै सोच राख्छन्। कहिले प्रशान्त महासागरको बाटो आएर बुट बज्छ भन्छन्, कहिले रातारात देश कसैले कसैलाई बिक्री गरिसकेको हल्ला गर्छन्।

यी हल्लागार सूर्यको तेजमा र रूखको छहारीमा भेटिन्छन्, केही हलो जोत्छन्, कसैले हँसिया–हथौडा पनि चलाउँछन्, केही पूजापाठको घण्टी बजाउँछन् - सबैतिर व्याप्त छन्।

यिनी आमाको अस्तित्व चिन्दैनन्, यिनलाई मावली राज्यको अवधारणा महिलाको आधारभूत अधिकारभन्दा प्रिय हुन्छ। महिलाको कोख राष्ट्रियताविरुद्ध सबैभन्दा ठूलो हतियार देख्छन्, सीमान्तकृतका मुद्दा भन्नेबित्तिकै डलरको लेप लगाउँछन्,  पिल्सिएका स्वरलाई ट्याउँट्याउँ सुन्छन्, समानतालाई संस्कार-क्षय बुझ्छन्। 

यस्तो आवाज बोक्ने राज्यका विभिन्न अंगमा भएका प्रतिनिधि पात्रहरूले उकासिएको भनिने चेत नांगेझार पार्दै गम्भीर अपराधका आरोपीलाई माला र खादा लगाइदिन्छन्, राष्ट्रको मान राखेको भन्दै बधाई दिन्छन्, हात मिलाउँछन्– यो सबै हेरेर जम्मा भइरहेको रोष, कुनै दिन त्यसबापत चुक्ता गर्नुपर्ने ब्याज बारे बुझ्दैनन्। एउटा कुनै दृष्टान्तको सामान्यीकरण गर्छन्, न्यायको कठालो समाएर आफूउपर अन्याय भो भन्दै कराउँछन् । 

यिनको आफ्नो बकबकको सीमा हुँदैन, तर‌‌ अरू बोलेको रुचाउँदैनन्। 

यो निबन्ध अहिले बेतोडले चल्न खोजिरहेको यिनै आवाजहरूबारे हो, ती आवाज जसले सबै सकिसक्यो, खतम भयो, बाटो बिग्रियो, नयाँ बाटोको अन्त्य भयो भन्दै पुरानो बाटो फर्काएर लग्न खोजिरहेका छन्।  भ्रम छर्न खोजिरहेको छ– ‘एन्ड गेम’को भ्रम!

---
यो कथा भएको भए यसमा धेरै अतिरञ्जना र थोरै तथ्यहरू हुन्थे। निबन्ध भएका कारण सत्य र मिथक समानुपातिक हिसाबमा भेटिनेछन्।  

यो निबन्धको मुख्यपात्र मै हुँ, यसको व्युत्पत्ति मेरै भोगाइमा आधारित छन्।

यसको प्रस्थानबिन्दु म सानो छँदाको समय हो।

म सानो छँदा देशमा पञ्चायती व्यवस्था थियो। समयक्रममा धेरै जनता यो शासन व्यवस्थाको विपक्षमा, र परिवर्तनका पक्षमा देखिन थाले। स्वाभाविक रूपमा केही पुरानै व्यवस्थाको पक्षधर थिए– पुरानो अर्थात् पुरातनवादी मनस्थितिका, परिवर्तन नरुचाउने, ऐतिहासिक दबदबा रहेको समूहको आधिपत्य रहिरहनुलाई स्थायित्व भन्ने, अधीनस्थ हुनुलाई संस्कार मान्ने।  

शायद, उनीहरू थोरै संख्यामा थिए, २०४६को जनादेश उल्ट्याउन चाहिने संख्यामा थिएनन्। परिवर्तन हुँदै गर्दा तिनै थोरै अरुचि हुने मध्यका एक मेरा हजुरबा र उनका पनि बा आत्तिन थालेका थिए। उनीहरू भन्न थालेका थिए अब देश बरबाद हुन लाग्यो, फलानो र ढिस्कानो मिलेर बेच्न लागे, हामीलाई लखेट्छन्, सर्वनाश हुन लाग्यो। 

मैले हजुरआमाको कुरा गरिनँ, किनकि उनी ऊबेला त्यति साह्रै बोल्थिनन्। बोल्न पाउँथिनन्?

बाजेहरू २० वर्षदेखि आत्तिइरहेका थिए।  समय बित्दै गयो। २०६२-६३ मा सत्ता मात्र हैन राज्य व्यवस्था, संरचना नै बदलियो। 

पुराना सत्ताका सबै तत्त्वको बिदाइ हुँदै थियो, अवशेष बाँकी थिए। हजुरबाहरूको अत्त्याइ चरम बिन्दुमा पुगेको थियो, तर अब मेरा बा, काका पनि‌ उनीहरूसँग मिसिएर बिरक्तिन थालेका थिए। पुस्तान्तरण त थाहा थियो, यहाँ पुस्तामिश्रण भइरहेको थियो।

अहिले म पुग न पुग २१ वर्षको भएँ। मेरा यी २१ वर्षहरूमा मैले धेरै किसिमको परिवर्तन देखेँ, विशेषतः राजनीतिक परिवर्तन । मैले दुवै थरीको पञ्चायत– सुधारिएको र बिग्रिएको; किसिम–किसिमका राजतन्त्र– सक्रिय र संवैधानिक; फरक शासक– सुन्ने, देखिने र बोल्ने, इन्टरनेट काटिदिने, फोन खोसिदिने; श्रीपेच पहिरिने र नपहिरिने महाराज/महारानी; किसिम–किसिमका लोकतन्त्र, गणतन्त्र देखेँ। हरेक परिवर्तन हुँदा मेरा बाजे, बा, काका, फुपाजु, अब त मामा पनि मिसिन आइपुगे– यी थरीका प्राणीको सधैँ एउटै गुनासो रहन्छ– देश खत्तम भयो। उनीहरू आतंकित हुन्छन्– फलानाले डुबाए, सबै सक्कियो!

तपाईंहरू “२१ वर्षमा कसरी यसले पञ्चायतदेखि गणतन्त्रसम्म देखेर भ्यायो? कस्तो गफाडी!” भन्दै हिसाब लगाउन नथाल्नु नि! एक त हो म गफाडी, गफ गरेर जिन्दगी चलाउँछु। अर्को, क्रिएटिभ राइटिङमा लजिक खोज्ने हैन कि, लेखक भावनामा बगेर कुरा गर्दै छ भने तपाईं पाठक पनि सँगसँगै बहिदिने। सलललल... सके गंगा जसरी‌ ह्वारह्वार बग्दिने, नत्र बागमती आफ्नै आँगनमा छँदैछ सिको गर्नका लागि‌।

ल अब फर्केर आउनुस् हिसाब खोज्नुपूर्वको भावनातिर, बग्दैबग्दै...

त... देशको अति चिन्ता गर्ने, बिक्न लाग्यो भनेर चिन्ता गर्ने मेरा हजुरबा, बा, काका,‌‌ तिनका आसेपासे, छरछिमेकी छँदै थिए, आजकल मेरा दाजुभाइ, साथी संगति पनि त्यस्तै त्यस्तै आवाज निकाल्न थालेका छन्। मेरी नबोल्ने हजुरआमाको स्वर पनि ती आवाजसँग मिसिन थालेको छ ।  

“कसरी डुब्न लाग्यो देश? पानीजहाज छ रे त, भइपरी आए त्यसमा राखेर बचाउन मिल्दैन?” हामीले बालसुलभताका साथ सोध्दा उत्तर ‘तिमीहरू बुझ्दैनौँ, कखगको धेरै ठूलो खेल छ। नचाहिँदो कुरामा बच्चा बोल्ने हैन’ भन्ने हुन्थ्यो। अझै त्यै छ। खाली उत्तरमा भेटिने खेलाडी पात्र कगखबाट बदलिएर कहिले चछज हुन्छन्, कहिले क्षत्रज्ञ।

मचाहिँ यो सब सुनिरहँदा एउटा कुनामा बसेर गम खाँदै सोच्छु– चुइंगम है फेरि, साहित्यिक वाला गम हैन– कि मेरो बाजे–बराजुको पालादेखि शुरू भएको यो चिन्ताको अन्त्य कहाँ छ? 

साल २०७९ सक्किन लागिसक्यो, तर २१ वर्षअघि म बालखा हुँदा ‘डुब्नै लागेको’ देश अझै कसरी तैरिरहेको छ भन्ने उत्सुकता ताजै छ। भर्खरै मुखमा हालेको चुइंगम जस्तै।  कि यी आवाज हौवा हुन्? जसले दशकौँदेखि यो देश किन्न खोजिरहेको छ, त्यो तत्त्व कहाँ छ? के यो अजम्मरी देश हो जोमाथि उल्लिखित आवाजहरूले तर्साइ–तर्साइ उल्ट्याउन खोज्दा पनि केही नहुने? कि कसैले यसलाई कुनै मायावी बुटी पहिर्‍याइदिएको छ।

हैन, यथार्थवादमा टेकेर हेर्ने हो भने हाम्रो देश एउटा औसत देश हो। उपर वर्णन गरिएका आवाजका स्रोतहरूझैँ भव्यताको भ्रम नभएका सामान्य मानिसले बुझ्छ व्यवस्थामा अनेक कमजोरी भएको, भू-राजनीतिक हिसाबले जटिल स्थान हो जहाँ समस्याहरू छन्, आइरहन्छन्। यसै क्रममा यो निबन्ध देशप्रेमले ओतप्रोत भएर होइन कि अनुदार‌ आवाज भएका माथि उल्लेखित तत्त्व, र मेरा बाजे, बाउहरूको असुरक्षाको भाव र तिनले जन्माउने भ्रमबारे बुझ्ने क्रममा सोचिएको वाक्यहरूको सञ्जाल हो। कुनै औसतभन्दा मुनिको निबन्धजस्तै यसमा समाधान छैन। छ त देश यति छिट्टै, यसरी सजिलै कसैको चित्त नबुझ्दैमा बिक्रीमा जाँदैन भन्ने अड्कलबाजी। पछिल्लो समय मैले बुझेर हेर्दै गर्दा यतिसम्म गर्ने छुट थियो, खासगरी जसको नामको पछाडि कुरा, गफ आदि विशेषण जोडिएका छन् उसका लागि। 

यो कथ्यको शुरूआत अन्तबाट भयो, किनकि  सन्दर्भविहीन भइसकेका, हुने क्रममा रहेका आवाजहरू नयाँ–नयाँ मुखौटा पहिरिएर अगाडि बढिरहेका छन्। यी ध्वनिहरू अन्त्यको बिन्दुबाट शुरूआततिर प्रस्थान गर्दै छन्।

अब शुरूआत
चियाको चुस्की लिँदै, तमाम आवाज सुन्दै भद्र लेडिज एन्ड जेन्टल्मेनसँग बुद्धिविलास गर्दैगर्दा अन्दाज लगाउन सकिन्छ– यी आवाजहरू केही अवधिसम्म रहिरहनेछन्, तर अनन्तकालसम्म होइन। अन्त्य सबैको अवश्यम्भावी छ, हरेक घटना चक्रमा चल्ने नियमानुसार झैँ यसको अन्तको शुरूआत भइसकेको हुनुपर्छ।

सोचेको, नसोचेको उत्पात हुने सम्भावना विश्वभर रहिआएको छ– सम्भावनाको सिद्धान्तले संयुक्त राज्य दुई दिनमा टाट पल्टिन सक्छ भन्ला। तर अति सम्भावनालाई नजरअन्दाज गर्ने हो भने देश नामेट नै हुने संघारमा छैन भनेर बुझ्न आइन्स्टाइन हुनुपर्दैन।

सर्वहाराहरूका मसिहा‌‌ बनेर उदाएको आवाजलाई पुँजीवादको पोस्टरबोइ बनाइदिने यो मध्यम चाल चल्न रुचाउने देश उसैगरी अनुदार आवाजहरूलाई पन्छाउँदै, परास्त गर्दै  चलिरहेको छ।

एकादेशमा नेपाल भन्ने देश विक्रम संवत‍्को २०८०औँ वर्षको डिलसम्म जसोतसो चलिरहेको छ। 

अभिवादन!


सम्बन्धित सामग्री