Monday, April 29, 2024

-->

पुस्तक चर्चा
मुटुरोगका विशिष्ट विशेषज्ञको स्मरण

एक दिन शिक्षकले उपाध्यायलाई जंगलको बाटो हुँदै गाडीमा लिएर गए। बाटोको बीचमा भव्य महल भेटियो। महलको ठूलो बैठकको सोफामा कोही बसिरहेका थिए। तिनी रुसी कम्युनिस्ट पार्टीका महासचिव ब्रेज्नेभ थिए।

मुटुरोगका विशिष्ट विशेषज्ञको स्मरण

जीवनको यात्रा र अनुभव स्मरण गर्दा अतीतका तितामिठा सम्झनाले जो कसैलाई रोमाञ्चित र भावुक बनाउँछ। जीवनका अनेकन् सम्झना संगृहीत कतिपय पाको र प्रेरक संस्मरणहरूले नयाँ पुस्तालाई अमूल्य पाठ र ज्ञानसमेत हस्तान्तरण गर्छ। आफ्नो क्षेत्रमा दक्खल मेडिकल डाक्टर अवनिभूषण उपाध्याय लिखित 'मुटुसँग सहयात्रा' पुस्तकमा जीवनका आफ्ना भोगाइ र अनुभवहरूको चाखलाग्दो प्रस्तुति छ। 

उपाध्यायले बाल्यकालको आफ्नो शिक्षा प्राप्तिका अनुभव पुस्तकमा वर्णन गरेका छन्, जसबाट त्यस समयको नेपाली शिक्षा प्रणालीबारे बुझ्न सकिन्छ। लेखकका पिता अम्बिकाप्रसाद उपाध्याय अंग्रेजी भाषाका प्राध्यापक र जुद्योदय स्कुल (क्षेत्रपाटी)का प्रधान अध्यापक थिए। त्यस समय अंग्रेजी शिक्षाका निम्ति काठमाडौँको सेन्ट जेभियर्स स्कुलको खुबै नाम चलेको थियो। सो स्कुलमा अवनिभूषणलाई भर्ना गर्न लिएर जाँदा त्यस स्कुलका शिक्षकले अशुद्ध अंग्रेजी बोलेको सुनेपछि अवनिभूषणका पिताजीले सो स्कुलमा भर्ना नगरीकन उनलाई फर्काएको घटना रोचक लाग्छ।

एसएलसी सकेपछि डाक्टर बन्ने सपना बोकी उच्च शिक्षा प्राप्तिका लागि अवनिभूषण त्रिचन्द्र कलेज भर्ना भए। अन्तिम वर्षको परीक्षाको समयमा कलेज हडतालमा सहभागी भए। सोही कारण उनलाई कलेजबाट निष्कासन गरियो। डाक्टर बन्ने उनको सपनामा त्यस घटनाले ब्रेक लगाउने भय भयो। तर उनीसँग विद्यार्थी संगठनमा काम गरेको समेत अनुभव भएका कारण आबद्ध विद्यार्थी संगठनले उनलाई परीक्षा दिने वातावरण बनाउन सहयोग गर्‍यो। अञ्चलाधीशसँग वार्ता गरी 'भूलवश आफूले परीक्षाको समयमा हडताल गर्न पुगेको' भन्दै कुलपतिको कार्यालयमा निवेदन दिन लगाइयो। त्यसपछि कुलपतिले उनको निष्कासन फिर्ता गरे। 

पुस्तकमा उच्च शिक्षा अध्ययनका क्रममा १० वर्षसम्म सोभियत संघमा बस्दाको अनुभव, त्यहाँको शिक्षा प्रणाली, रहनसहन, व्यवहार र सांस्कृतिक पक्षलाई सूक्ष्म रूपमा प्रस्तुत गरिएको छ। संसारका फरक रहनसहन, व्यवहार र परम्पराको राम्रो झलक पुस्तकमा छ। रुसमा मलामीबाट घर फर्केपछि मृतकको परिवारले पाहुनाहरूलाई भव्य भोज ख्वाउने चलन आम नेपालीहरूका लागि नौलो हो। उनले यस्ता सांस्कृतिक सन्दर्भहरू पुस्तकमा समेटेका छन्।   

पुस्तकमा मुटुसम्बन्धी विशेषज्ञता हासिल गर्न अध्ययन गर्दाताकका उपाध्यायका रोचक र स्मरणीय अनुभव छन्। धेरैजसो शिक्षक आफ्ना विद्यार्थी आफूजस्तै सक्षम हुन् भन्ने चाहना राख्छन्। उपाध्यायलाई पढाउने रसियाली शिक्षक पनि त्यही चाहन्थे। उपाध्याय बिदाको समय ‍‍नेपाल आउँदा उनका शिक्षक सिंहदरबार वैद्यखानाको सिलाजित मगाउँथे। उतिखेर सिलाजित मुटुरोगका लागि उपयोगी प्राकृतिक औषधि मानिन्थ्यो। एक दिन तिनै शिक्षकले उपाध्यायलाई आफूसँगै कतै डुल्न जान आग्रह गरे र जंगलको बाटो हुँदै उनलाई गाडीमा लिएर गए। बाटोको बीचमा भव्य महल भेटियो। महलको ठूलो बैठकको सोफामा कोही बसिरहेका थिए। तिनी रुसी कम्युनिस्ट पार्टीका महासचिव ब्रेज्नेभ थिए। आफ्ना गुरु उति शक्तिशाली व्यक्तिको उपचारमा संलग्न रहेछन् भन्ने कुरो उनले त्यतिखेर मात्रै थाहा पाए। शिक्षकसँगको सम्बन्धका कारण त्यति विशालतम देश हाँक्ने विशाल पार्टीको महासचिवसँग भेट्ने संयोग आफैँमा विशेष हो।

रुसको अध्ययन सकाएर नेपाल फर्किएपछिका अनुभव, नेपाली स्वास्थ्य सेवाको स्थिति, स्वास्थ्य संस्थाहरूको गतिबारे पुस्तकमा रोचक वर्णन छ। जनकपुर अस्पतालमा खटिएर जाँदा अस्पताल परिसर सफा गर्न प्रयोग गरिएका उपाय, कुख्यात स्थानीय डाँकाका सरदारलाई उपचार गर्दाको अनुभव तथा उदयपुर अस्पतालमा चितुवाको आक्रमणबाट घाइते बिरामीहरूलाई अस्पतालमा उपलब्ध न्यून स्रोतसाधनबाटै उपचार गरेका रोचक र सन्दर्भ पुस्तकमा उल्लेख छन्। 

तत्कालीन स्थानीय सामन्तहरूले सिर्जना गरेको अराजक स्थितिका कारण एकाएक उदयपुरको सेवा कर्म छोडेर राजविराजतर्फ आउनुपरेको घटनाले तत्कालीन राजनीतिक अवस्थाको चित्रण गर्छ। पुस्तकमा नेपालका चर्चित राजनीतिक पात्रहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दाका अनुभव अत्यन्त रोचक ढंगमा प्रस्तुत गरिएका छन्।

रोचक घटना विवरणहरूको वर्णनका कारण किताब पढ्न शुरू गरेपछि छोड्न मन लाग्दैन। सामाजिक, आर्थिक र राजनीतिक पक्ष र स्थितिको वर्णन गरिएकाले नेपालको स्वास्थ्य सेवाको अवस्था बुझ्न किताबले सहयोग पुर्‍याउने देखिन्छ। 

लेखकले आफ्ना भोगाइलाई पुस्तकमा जीवन्त रूपमा प्रस्तुत गरेका छन्। धेरै ठाउँमा घटनाहरूलाई ठट्यौली पाराले प्रस्तुत गरेकाले पुस्तक झनै चाखलाग्दो बन्न पुगेको छ। 'इन्डोस्कोपी' (मुखबाट पाइप छिराएर परीक्षण) गर्न लाग्दा बिरामीले चस्मा नै फुट्ने गरी विशेषज्ञ डाक्टरलाई चड्कन हानेको घटनाले एकातिर हँसाउँछ भने अर्कोतिर स्वास्थ्यसेवीहरूको असुरक्षाको स्थितिसमेत देखाउँछ। समाजका विभिन्न तह र स्तरका बिरामीलाई सेवा दिँदा गर्नुपर्ने भाषाको प्रयोगबारे पुस्तकमा रोचक वर्णन छ, जसले त्यस समयको नेपाली समाजको मनोविज्ञान झल्काउँछ।

उपाध्यायले काम गरेको वीर अस्पतालको मुटु उपचार सेवाको स्तर वृद्धिका काम, जनचेतनामूलक कार्यक्रम अघि बढाउन स्थापना गरेको नेपाल हृदय रोग निवारण प्रतिष्ठान र मुटुरोगसम्बन्धी विशिष्ट सेवा पुर्‍याउन मुटुरोग उपचार अस्पतालको स्थापनाका संघर्ष र सन्दर्भ किताबमा समेटिएका छन्। नेपालको स्वास्थ्य सेवामा भएका राजनीतिक खेलबाड तथा निजी अस्पताल सञ्चालन गर्दाका अनुभव बहुमूल्य छन्। सत्रौँ वर्षसम्म एकै तहमा बस्दा पनि पदोन्नति नभएपछि पदबाट राजीनामा गरेको सन्दर्भले नेपालमा रहेको प्रशासनिक र राजनीतिक अव्यवस्था, खिचातानी र अदूरदर्शिताको अवस्था झल्काउँछ। 

नेपालमा बढ्दो मुटुरोगबाट मानिसहरूलाई कसरी बचाउन सकिन्छ भन्ने उपायमा लागिरहेका एक मुटुरोग विशेषज्ञको यात्रा र अनुभव हो यो पुस्तक। उपाध्यायले आफ्नो अनुभवको आधारमा भविष्यका डाक्टरहरूलाई दिएको सन्देश नयाँ पिँढीका लागि उत्तिकै उपयोगी हुनेछ।


प्रकाशक: एदा उपाध्याय।
बजार व्यवस्थापन: मञ्जरी प्रकाशन, पुतली सडक काठमाडौँ, नेपाल
मूल्य: साधारण रु. ६७५, विशेष रु. ११७५, विशेष


सम्बन्धित सामग्री