Friday, April 26, 2024

-->

लफडा लम्बिएकै छ, लोकप्रियता चुलिएकै छ

रविको पत्रकार सम्मेलनमा बजेको घण्टीको आवाजलाई आत्मसमीक्षाको मौका मानियो भने पत्रकारिता क्षेत्र नै लाभान्वित हुनेछ। पर्चाकारिताजस्तो सुनिने जवाफी ‘फायरिङ’मा सीमित रहे आफ्नै लागि घातक हतियार बन्नसक्छ।

लफडा लम्बिएकै छ लोकप्रियता चुलिएकै छ

रवि लामिछानेलाई व्यंग्य गरी ‘भगवान’ भन्छन्, आलोचकहरू। भगवानका समर्थक स्वतः भक्तजन भइहाले। रविको आलोचना गर्दा सोसल मिडियामा उनका समर्थक भिड्न आइहाल्ने, अझ गालीगलौजमै उत्रिहाल्ने प्रवृत्ति लामै समयदेखि चलिरहेकाले ‘भगवान’ र ‘भक्तजन’ पगरी गुथाइएको हुनुपर्छ।

उनीप्रतिको आशा वा लफडाले कुनै फरक नपर्ने, बरू लोकप्रियता अझ चुलिने उनको पुर्पुरोचाहिँ साँच्चिकै भगवानैजस्तो छ। १६ हजार गोपिनीका प्रंसगले भगवान कृष्णप्रति आस्था कम  हुँदैन, न अग्निपरीक्षाको सन्दर्भले भगवान रामकै आस्थामा खलल पुग्छ। आफैँले नै स्वीकारेको तीनचोटी विवाहजस्तो व्यक्तिगत मामिलाले त फरक पर्दैन नै, फौजदारी मामिलाअन्तर्गत तीन वर्षसम्मको कैद सजाय हुने दोहोरो राहदानी लिएको स्वघोषणाले पनि उनको लोकप्रियता खस्किएको लक्षण छैन। 

मुद्दामामिलाजस्ता लफडाले त उनको लोकप्रियता अझ चुल्याएको चाहिँ छ। जबकि, ‘लफडाको अर्को नाम लामिछाने’ भन्दिदा फरक नपर्ने अवस्था छ।

उनी अमेरिकी नागरिक भएको र श्रम स्वीकृति नलिई काम गरेको भनेर जनआस्था साप्ताहिकले पाँच वर्षअघि खुलासा गरेको थियो। यो खुलासाले रविबाट अमेरिकी नागरिकता परित्याग गरायो। त्यसपछि उनले अमेरिकी राहदानी सम्बन्धित दूतावासमा बुझाइदिएर पुनः नेपाली नागरिक भएको घोषणा गरेका थिए। यो  विवादले उनको लोकप्रियताको ग्राफ तल झरेन। बरू खुलासा गर्ने जनआस्थाका सम्पादक किशोर श्रेष्ठले त्यसअघि जिन्दगीभरि खाएको गाली जोडेर जति गाली खाएका थिए, संभवतः त्योभन्दा बढी गाली सोसल मिडियामा एकै झमटमा खाए। 

चानचुने मान्छे मात्र हैन, देशका चल्तापुर्जाकै लागि पनि यति घटना सार्वजनिक  जीवनलाई रसातलमा पुर्‍याइदिन काफी थियो। नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता ग्रहण गरेको अरूले नै खुलासा गरिदिएपछि विदेशी नागरिकता परित्याग गर्न बाध्य भएको व्यक्तिको सार्वजनिक जीवन कुन अवस्थामा पुग्थ्यो होला? सामाजिक जीवन अघि बढाउँदा यो समाजले कति स्वीकार्थ्यो होला? अझ त्यो मान्छे मधेशी/मुस्लिम भइदिएको भए के हुन्थ्यो होला? 

आफ्नै पूर्वसहकर्मी शालिकराम पुडासैनीले आत्महत्या गर्ने निष्कर्षमा पुग्नुमा रविलाई जिम्मेवार ठहर्‍याउदै भिडियो नै बनाएर प्राण त्याग गरे। त्यही कारण रवि २०७६ साउन ३० गते पक्राउ त परे, चितवन प्रहरीको हिरासतमा ११ दिने बसाइले त्यसको तीन वर्षपछि चितवनमा उनी अत्यधिक मतले चुनाव जित्ने अवस्था बन्यो। चितवनबाहिर टाढाटाढाबाट समेत हजारौँ हजार उनका शुभचिन्तक ओइरिए। हिरासतमुक्त नहुञ्जेल भरतपुरमा दिनहुँ समर्थनमा प्रदर्शनहरू भए। प्रदर्शनकारी उग्र भइदिँदा प्रहरीसँग झडप, आगजनी आदि पनि भए। उनको थुनछेकको बहसका बेला अदालतका साथै कतिपय ठाउँमा निषेधाज्ञा लगाउन परेको थियो। 

त्यति बेला आफूमाथि प्रेम वृष्टि भएको देखेरै चुनावमा प्रतिस्पर्धा गर्न चितवन नै रोजे, आफू हुर्केको महांकाल (काठमाडौं–३) वा पुर्ख्यौली थलो नगरकोट (काभ्रे–२) रोजेनन्। अरू कोही हुन्थे भने आत्महत्याकर्ताले आफ्नो आत्महत्यामा जिम्मेवार ठहर्‍याएको व्यक्तिको अवस्था कस्तो हुन्थ्यो होला? प्रेमप्रसाद आचार्यले शरीरमा आगो सल्काउनुअघि फेसबुकमा गरेको पोष्ट (सुसाइड नोट) मा व्यापार/व्यवसाय गर्दा आफूलाई सास्ती दिएको भनेर आरोपित गरेका जोकोहीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा चलाउनुपर्ने माग सामाजिक सञ्जालमै चर्कोसँग उठेको होइन र? मै हुँ भन्ने सेलेब्रिटीको पनि सार्वजनिक जीवन धरापमा पार्नसक्ने घटना थिएन र शालिकरामको ‘सुसाइड डिक्लेरेशन?’ 

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा रविले नेपाली मिडियामाथि गरेको मारमुङ्ग्रीले पनि देशविदेशमा उनको चर्चा छ नै, लोकप्रियता चुल्यायो भने अचम्म नमाने हुन्छ। त्यसपछि सामाजिक सञ्जालका साथै सिंहदरबारदेखि टोलका क्याफे/भट्टीमा रविको पत्रकार सम्मेलनकै चर्चा छ, गफको कन्टेन्ट रविले लगाएको आरोपमै सीमित छ। 

गफगाफतिर कान थाप्दा रविले ‘जे गरे बहुत सही गरे’ भनेकै सुनिन्छ। कतिपयले खालि शैली सही नभएको, धेरै नै व्यक्तिगत तहमा ओर्लिएकोसम्म भनेका छन्। मिडियामाथि बोलेको धावा गलत भनेको सुनिन गाह्रै छ। 

मिडियाका साउ र सञ्चारकर्मीमाथि समान आक्रोश सुनिन्छ। पत्रकारले अरूको निजी जीवन पनि हुने कुरा ख्यालै नगरी रातविरात फोन गर्दा पनि ‘रिसिभ’ नभएकोमा टुच्च डाइलग भेटेको धेरैको गुनासो हुन्थ्यो। त्यही कारण यति बेला रविको पत्रकार सम्मेलनसँगै सामाजिक सञ्जालमा पत्रकारमाथि मारमुङ्ग्री हुँदा आनन्दित महसुस गरिरहेका सार्वजनिक पदधारकहरू पनि भेटिए।

‘पत्रकार सम्मेलन प्रकरण’ले नागरिकता/पासपोर्टको मुद्दामामिला, ‘नाई मलाई त्यही केटी चाहियो,’ गीत सम्झाउने गरी गृहमा गरेको दाबा आदिले वैराग्गिएका र आलोचनामै उत्रिएका उनका शुभचिन्तकलाई हौस्याएको छ। पत्रकार सम्मेलनमा उनले बोलेका कुराले त उनका कतिपय सदाबहार आलोचकलाई पनि प्रशंसक बनाइदिएको छ। 

पछिल्ला वर्षहरूमा, खासगरी दक्षिणपन्थी नेताहरूले मिडियामाथि खनिएरै ‘टीआरपी’ बढाउने रणनीति लिएका छन्। ट्रम्पले त्यही गरे, बोल्सेनारोले त्यही गरे। भारतको मिडिया पनि भक्तजनको अघिल्लो पंक्तिमा खडेबाबा भएको थियो, मोदी सिंहासनमा बस्नासाथ फूलपाती वर्षाउन र चरण स्पर्श गर्न। नत्र मोदीले पनि त्यही रणनीति अपनाउँथे भनेर अड्कल गर्न सकिन्छ। रविले त्यही गरे, यसलाई फगत आक्रोशको अभिव्यक्तिको रुपमा बुझिनु सही हुनेछैन, राजनीतिक रणनीति नै हो।

ट्रम्प ‘न्यूयोर्क टाइम्स’विरुद्ध अझ चर्को सुनिन्थे। पूर्वसञ्चारकर्मी रविले गरून् वा अग्रज सञ्चारकर्मी विजयकुमारले– मिडियाबारे गर्ने टिप्पणी रणनीतिक हुन्। संयोगले आदरणीय विजयकुमारले रविमा स्वार्थको द्वन्द्व देख्ने मिडियाले आफ्नै स्वार्थको द्वन्द्व नजरअन्दाज गरेको सन्देश दिने ट्विट गरेको केही दिनमै उनीसँग सुमधुर सम्बन्ध रहेका रविले मिडियाविरुद्ध फायर खोले। ट्रम्प त ‘फेक न्यूज’ भन्दै मिडियाको आरोप नै खारेज गरिदिन्थे। रविले आफूमाथिका सबैजसो आरोपलाई स्वीकारेका छन्। 

रविले ‘अटोमेटिक राइफल’बाट जसरी भटटट फायर खोलेपछि केही मिडियाले जवाफी फायर त खोलेका छन्, तर समाज/सामाजिक सञ्जालमा प्रतिक्रियाले जवाफी फायरिङभन्दा पनि आत्मसमीक्षाको आवश्यकता औँल्याएको छ। सोसल मिडियाका प्लेटफार्महरू नियाल्दा पत्रकार सम्मेलनमार्फत मिडियामाथि मारमुङ्ग्री गरेकोमा उनको वाहवाही नै भइरहेको छ। मिडियामाथि मान्छे उस्तैगरी खनिएका छन्, जसरी पत्रकार सम्मेलनमा रवि खनिएका थिए। जबकि, रविको मामिलामा समग्रमा मिडिया यति गालीको हकदार होइन। उनका नागरिकता, पासपोर्टको विवाद र स्वार्थको द्वन्दको मुद्दा उठान र फलोअपलाई पत्रकारिता बुझेको कसैले पनि गलत भन्न नसकिने विषय हुन्। रवि खुदले त्यसमा आफूलाई दोषमुक्त भनेका पनि छैनन्। उनले त ‘हो मैले गल्ती गरें, तिमीहरू पनि चोखा छैनौ’ भनेका न हुन्।   

कसैको पछि लागेपछि हात धोएर मात्र हैन, नुहाएरै पछि लाग्ने हाम्रो पत्रकारिताको सिकार रवि र उनका मन्त्रीहरू पनि भएका हुन्। एउटा हिन्दी सिनेमामा सम्पादकको ‘किरदार’ निभाएका कादर खानको डाइलग यहाँ निकै सान्दर्भिक छ। सम्पादक भन्छन्, “मन्त्रीजी खडेरी प्रभावित क्षेत्रमा गए लेखौँ, उता मान्छे बाढीले डुबाइरहेको छ र मन्त्री पानी नै नभएको ठाउँमा पुगे। बाढी प्रभावित क्षेत्रमा गए लेखौँ, मान्छे उता पानी नपरेर मरिरहेका छन् र मन्त्री यता पानी नै पानी भएको ठाउँमा पुगे। मन्त्री विमानमा गए लेखौँ, यहाँ मान्छे आपत् विपतमा छन् र मन्त्री हवाईजहाज चढ्न छाडेका छैनन्। रेलमा गए लेखौँ, हवाईजहाजबाट छिटै पुग्ने सुविधा हुँदाहुदै मन्त्री रेलमा ढिलो गरी पुगे।’

एउटा मन्त्री अर्को मन्त्रालयअन्तर्गतको अड्डामा जानै नपाउने भन्ने त पक्कै हुँदैन। त्यसमा पनि गृह मन्त्रालय अन्तर्गतका ७७ सीडीयो कार्यालयले राहदानी दिन्छन्। तर गृहमन्त्रीले राहदानी विभाग अवलोकन गर्दा क्षेत्राधिकार मिच्यो भन्दै न्यूज त बनाइयो नै, बारम्बार क्षेत्राधिकार मिच्यो भनिराखियो, लेखिराखियो। स्टन्ट हो भनेर फैसला सुनाइयो। उनले मन्त्रालयको क्यान्टिनमा खाना खाएको अझ ठूलो स्टन्ट भयो। राहदानी अफिस अवलोकन गर्दा वा क्याण्टिनमा खाना खाँदा कसलाई के बिगार गर्‍यो? यसमा हामीले नदुखेको टाउको डोरी बाँधिवरी दुःखाउनपर्ने किन? 

शिक्षामन्त्री शिशिर खनाल ‘टिच फर नेपाल’ नामको गैरसरकारी संस्थामार्फत सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन काम गर्ने अभियन्ता थिए। सामुदायिक विद्यालय सुधार गर्न भिजन भएकाले उनीबारे थाहा पाउनेहरूलाई शिक्षामन्त्री बनुन् भन्ने कामना थियो। तर, कतिपय पत्रकारलाई उनी हजम भएनन्। 

कुनै नाफामुखी शिक्षण संस्था होइन ‘टिच फर नेपाल’, फेरी त्यहाँबाट उनी अलग भएको पनि तीन वर्षभन्दा बढी नाघिसकेकेको छ। उनीमाथि स्वार्थको द्वन्द्वको सिस्नुपानी वर्षाइरहे कतिपय मिडिया। अझै स्कुल सञ्चालक आदि इत्यादी भनियो। अनि डा. भीम रावलजस्ता पीएचडीधारी नेता चाहिँ त्यस्तै खबर पढेर खनालविरुद्ध गदा प्रहार गर्न उत्रिहाले। 

स्वार्थ द्वन्द्व के हो र के होइन भन्ने आफैँमा विवादहीन विषय होइन। तर शैक्षिक अभियन्ता भन्न सही हुने खनालको शिक्षामन्त्रीमा नियुक्तिमा स्वार्थको द्वन्द सुन्नेहरूले भोलि किसान भएकाले कृषिमन्त्री हुँदा स्वार्थको द्वन्द्व लेख्न बेरचाहिँ छैन।

दूरदराजका स्कुलमा समयमा पाठ्यपुस्तक विरलै पुग्छन। किताब पुगेन भनेर बारम्बार समाचार लेखिएकै छन्। अनि, शिक्षामन्त्रीले ‘जनक शिक्षा सामग्रीको भर पर्ने हो भने कहिल्यै समयमा पाठ्यसामग्री पुर्‍याउन नसकिने’ निष्कर्षका साथ निजी क्षेत्रलाई छपाइको काम दिने निर्णय गर्दा ‘लौ जनक शिक्षा सिध्याउन थाल्यो’ भनेर मिडिया नै ट्वारट्वार गर्छ। 

यसरी मिडियाले सम्पादक कादर खानको डाइलग पटकपटक ताजा गराइरह्यो। बिल्कुलै फाइदारहित त कोही पनि नहोलान्, रविको ‘पत्रकार सम्मेलन प्रकरण’मा बजेको घण्टीको आवाजलाई आत्मसमीक्षाको मौकाको रूपमा सदुपयोग गरियो भने पत्रकारिता क्षेत्र नै लाभान्वित हुनेछ। होइन, पर्चाकारिताजस्तो सुनिने जवाफी ‘फायरिङ’मा सीमित रहे आफ्नै लागि घातक हतियार हुने छाँट देखिँदैछ।

रवि चाहिँ दोहोरो राहदानी मुद्दामा जेलै जानपर्ने पनि हुनसक्छ। त्यसका लागि मानसिक रूपले तम्तयारसमेत देखिन्छन्। साथै, यसले पार्टी र आफ्नो लोकप्रियता अझ चुलिनेमा उत्तिकै विश्वस्त पनि। अप्ठ्यारोमा त हामी नै देखिन्छौँ।


सम्बन्धित सामग्री