Friday, April 26, 2024

-->

आठ देश मिलेर बनाउँदै छन् विश्वकै ठूलो रेडियो टेलिस्कोप

अन्तरसरकारी रेडियो टेलिस्कोप निर्माणको प्रारम्भिक चरणको संरचनामा २०० प्याराबोलिक एन्टेना डिसका साथै १ लाख ३१ हजार डाइपोल एन्टेना राखिने छ। यसको आकार ‘क्रिसमस ट्रि’जस्तो हुने छ।

आठ देश मिलेर बनाउँदै छन् विश्वकै ठूलो रेडियो टेलिस्कोप

२१औँ शताब्दीकै बृहत् वैज्ञानिक परियोजनाअन्तर्गत द स्क्वायर किलोमिटर एरे (एसकेए) सोमबारदेखि निर्माण शुरू भएको छ। सन् २०२८ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण शुरू गरिएको यो परियोजना विश्वकै ठूलो अन्तरसरकारी रेडियो टेलिस्कोपको हो।

बेलायतमा मुख्यालय रहेको, दक्षिण अफ्रिकादेखि अस्ट्रेलियासम्म फैलिएको यस परियोजनाले खगोलीय भौतिक विज्ञानसम्बन्धी महत्त्वपूर्ण प्रश्नको सम्बोधन गर्ने बताइएको छ। यस अन्तरसरकारी परियोजनामा वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका सिद्धान्तको 'वास्तविक परीक्षण' हुने बताइएको छ। यस्तै, पृथ्वीभन्दा बाहिर जीव भए/नभएको पनि खोज अनुसन्धानमा टेलिस्कोपले मद्दत गर्ने छ। टेलिस्कोपले सौर्य मण्डल, ब्ल्याक होल, अन्तरिक्षका अन्य वस्तुबाट उत्पन्न हुने प्राकृतिक ध्वनि तरङ्ग तथा दृश्यहरूको अध्ययन अनुसन्धान गर्ने छ।

परियोजनाको नेतृत्व गरिरहेका विश्वका ८ देशका प्रतिनिधिले अस्ट्रेलियाको ग्रामीण क्षेत्र मर्चसन सायर र दक्षिण अफ्रिकाको उत्तरी क्षेत्र कारोमा एसकेए अन्तर्गतका संरचना निर्माणको सोमबार शिलान्यास गरे।

“यो, त्यो पल हो जुन वास्तविक बन्नेछ”, स्क्वायर किलोमिटर एरे संगठनका महानिर्देशक प्रोफेसर फिल डायमन्डले भने, “यो ३० वर्षको यात्रा हो। पहिलो १० वर्ष हामीले अवधारणा र विचारको विकासमा लगायौँ। दोस्रो १० वर्ष प्रविधिको विकासमा बितायौँ भने अन्तिम १० वर्षमा डिजाइन, निर्माणस्थल सुरक्षित बनाउने, सन्धि संगठन (एसकेएओ) गठन तथा सरकारबीच समर्थन जुटाउने र परियोजना निर्माणका लागि आर्थिक सहयोग जुटाइने छ।”

यस अन्तरसरकारी रेडियो टेलिस्कोप निर्माणको प्रारम्भिक चरणको संरचनामा २०० प्याराबोलिक एन्टेना डिसका साथै १ लाख ३१ हजार डाइपोल एन्टेना राखिने छ। यसको आकार ‘क्रिसमस ट्रि’जस्तो हुने छ।
 

टेलिस्कोपबाट प्राप्त हुने तस्वीरहरू उच्च गुणस्तरका हुने र तिनको अध्ययनको क्षेत्र पनि फराकिलो हुने वैज्ञानिकहरूको अनुमान छ। यो रेडियो टेलिस्कोप प्रणालीमा आवृत्तिको सीमा ५० मेगाहर्जदेखि अधिकतम २५ गिगाहर्जसम्म रहने छ।

पृथ्वीबाट अर्बौँ प्रकाश-वर्ष टाढाको ब्रम्हाण्ड स्रोतबाट आउने फेन्ट रेडियो सिग्नल (कानले सुन्न नसकिने ध्वनि तरङ्ग) लाई पहिचान गर्न टेलिस्कोपले मद्दत गर्ने छ। बिग ब्यांगभन्दा केही लाख वर्षअघि उत्पन्न ध्वनि तरङ्ग पनि यसले पत्ता लगाउने अपेक्षा गरिएको छ।

हाइड्रोजनको इतिहास पत्ता लगाउनु पनि एसकेएको महत्त्वपूर्ण खोजीमध्ये एक उद्देश्य रहने छ। हाइड्रोजन पृथ्वीमा व्याप्त महत्त्वपूर्ण तत्त्व पनि हो। साथै, यस टेलिस्कोपले पहिलो तारा बन्नुभन्दा अघिको हाइड्रोजनको अवस्थितिबारे पनि पत्ता लगाउने अपेक्षा छ।

विज्ञान प्रयोगशालाका सञ्चालन प्रमुख डाक्टर शरी ब्रिन भन्छन्, “द एसकेएले खगोलशास्त्रका धेरै पक्षमा योगदान पुर्‍याउने छ। त्यसमध्ये एउटा, तीव्र गतिका रेडियो ध्वनि पत्ता लगाउनु हो। जसले गर्दा सूर्यबाट वर्षभर उत्पन्न ऊर्जाबारे हामीले क्षणभरमै थाहा पाउन सक्ने छौँ। कसरी सम्भव भयो? हामीलाई अहिले थाहा छैन तर एसकेएले त्यसको उत्तर दिनेमा आशावादी छौँ।”

यसअघि पनि अन्तरिक्षबाट आउने ध्वनि तरङ्गको अध्ययन भइरहेका क्षेत्रमै परियोजना निर्माण शुरू गरिएको बीबीसीले उल्लेख गरेको छ। यी क्षेत्रलाई थप विस्तार गर्न दक्षिण अफ्रिकाको कारो क्षेत्रका किसान र अस्ट्रेलियाको भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र मर्चसन सायरका जनजाति वाजारी यामाजीसँग आवश्यक जग्गा व्यवस्थापनको सहमति हुन बाँकी छ। यद्यपि, वाजारी समुदायले नै सोमबारको उद्घाटन समारोह आयोजना गरेका हुन्। उद्घाटनकै क्रममा थुप्रै खरिद सम्झौताको घोषणा हुने अनुमान छ।

परियोजना शुरू भएपछि पहिलो महत्त्वपूर्ण उपलब्धि २०२४ मा देखिने छ। यसअन्तर्गत अस्ट्रेलियामा रहेका ४ वटा डिस र अफ्रिकामा रहेका ६ वटा एन्टेनाले एक अर्काको सम्पर्कमा निर्बाध रूपमा काम गर्नुपर्ने छ। यही सिद्धान्त प्रमाणीकरणको क्षण नै टेलिस्कोपले पूर्ण रूपमा काम गरेको ठानिने छ।

त्यसपछि सन् २०२८ मा टेलिस्कोपले ५ लाख स्क्वायर मिटरको क्षेत्रफलमा फैलिएर सूचना पठाउने छ। यद्यपि, टेलिस्कोपमा थप १० लाख स्क्वायर मिटरसम्म निरन्तर फैलिने सक्ने प्रविधि जडान गरिने छ। एसकेएओ संगठनमा आठ वटा देशको सहभागिता र आर्थिक सहायता छ। यो परियोजनाको बजेट २ अर्ब पाउन्ड रहेको छ।

हाल चीन, बेलायत, दक्षिण अफ्रिका, अस्ट्रेलिया, इटली, नेदरल्यान्ड्स, पोर्चुगल, स्वीजरल्यान्डले मात्रै सम्झौता गरेका छन् भने पछिल्लो समय फ्रान्स, स्पेन र जर्मनी पनि संगठनमा जोडिन चाहेका छन्। यस्तै, क्यानडा, भारत, स्विडेन, दक्षिण कोरिया र जापानले पनि कुनै बेला एसकेएओमा जोडिने इच्छा देखाएका छन्। 


सम्बन्धित सामग्री