महायुग : स्त्री अस्तित्वको गहिरो वैचारिक यात्रा

पाठेघरलाई सृष्टिको मूल स्रोतका रूपमा व्याख्या गर्नु, मासिकस्रावलाई लाज वा कमजोरी होइन, बरु सृष्टिको निरन्तरतासँग जोडिएको एक पवित्र जैविक प्रक्रियाका रूपमा व्याख्या गर्नु उपन्यासको साहसिक र रूपान्तरणकारी दृष्टिकोण हो।

नेपाली आख्यान साहित्यमा समय–समयमा यस्ता कृतिहरू देखा पर्छन्, जसले पाठकलाई केवल कथा सुनाएर मात्र सन्तुष्ट पार्दैनन्। बरु सोच्न, प्रश्न गर्न र आफ्नो दृष्टिकोण पुनःपरिभाषित गर्न बाध्य बनाउँछन्। सीमा आभासद्वारा लिखित महायुग त्यस्तै एक प्रभावशाली र बहसयोग्य उपन्यास हो, जसले स्त्रीअस्तित्व, पीडा, विद्रोह र चेतनाको बहुआयामिक पाटोलाई गहिराइमा पुगेर उजागर गरेको छ। उपन्यासको प्रारम्भिक खण्डले नेपाली समाजको यथार्थ धरातललाई निकै मार्मिक रूपमा चित्रण गरेको छ।

यस उपन्यासमा हाम्रो नेपाली समाजमा छोरी भएर जन्मिनु नै अभिशापजस्तो मानिने सोंच, परिवारभित्रको विभेद, र समाजमा गहिरो रूपमा जरा गाडेर बसेको पितृसत्तात्मक मानसिकता जस्ता, विषयलाई छायादेवीको जीवनकथामार्फत सशक्त ढंगले प्रस्तुत गरिएको छ। छायादेवी केवल एक पात्र मात्र होइनन्; उनी हजारौँ नेपाली महिलाहरूको प्रतिनिधि स्वर हुन्, जसले आफ्ना इच्छा, आकांक्षा र अधिकारहरूलाई दबाएर बाँच्न बाध्य छन्। 

उपन्यासले पुरुष पात्रहरूलाई पनि केवल व्यक्तिका रूपमा नभई एउटा सामाजिक संरचनाको प्रतिनिधिका रूपमा प्रस्तुत गर्छ। उनीहरू मार्फत देखाइएका स्वार्थ, गैरजिम्मेवारी र शोषणकारी प्रवृत्तिले कथा व्यक्तिगत पीडाभन्दा माथि उठेर एउटा सामाजिक आलोचनामा रूपान्तरण हुन्छ। यसले पाठकलाई केवल सहानुभूति होइन, आत्ममन्थन गर्न पनि बाध्य बनाउँछ। उपन्यास अघि बढ्दै जादा नीलाञ्जनाको आगमनसँगै कथा अर्को गहिराईको तहमा प्रवेश गर्छ। 

आमाको अनुपस्थितिमा हुर्किएकी नीलाञ्जना आफ्नो अस्तित्व खोज्ने यात्रामा अनेक मनोवैज्ञानिक द्वन्द्व र जटिल अनुभवहरूबाट गुज्रिन्छे। उसका निर्णयहरू कहिलेकाहीँ अस्थिर वा विवादास्पद देखिए पनि ती व्यवहारहरू समाजले निर्माण गरेको दबाब र आन्तरिक विखण्डनको परिणाम हुन् भन्ने कुरा उपन्यासले संकेत गर्छ। यसरी, नीलाञ्जना एक अत्यन्त यथार्थपरक र बहुआयामिक पात्रका रूपमा स्थापित हुन्छे। 

उपन्यासको दोस्रो खण्ड ‘यक्षिणी’ले भने कथालाई यथार्थको सीमाभन्दा बाहिर लैजान्छ। यहाँ कथा प्रतीकात्मक, दार्शनिक र अलौकिक आयाममा प्रवेश गर्छ। यक्षिणी केवल एक पात्र मात्र होइन; ऊ समय, परिवर्तन र स्त्रीचेतनाको शक्तिशाली प्रतीक हो। सत्यरूपा, यलाहाङ्मा, गोल्मा, रिपुमर्दिनीदेवीजस्ता पात्रहरूले एउटा वैकल्पिक संसारको निर्माण गर्छन्। जहाँ दबिएका आवाजहरू एकजुट हुन्छन्, पीडाहरू शक्तिमा रूपान्तरित हुन्छन् र स्त्री अस्तित्व पुनःपरिभाषित हुन्छ। 

यस उपन्यासको सबैभन्दा सशक्त पक्ष भनेको स्त्री शरीर, स्व अस्तित्व र चेतनाको पुनर्पाठ हो। पाठेघरलाई सृष्टिको मूल स्रोतका रूपमा व्याख्या गर्नु, मासिकस्रावलाई लाज वा कमजोरी होइन, बरु सृष्टिको निरन्तरतासँग जोडिएको एक पवित्र जैविक प्रक्रियाका रूपमा व्याख्या गर्नु उपन्यासको साहसिक र रूपान्तरणकारी दृष्टिकोण हो। यसले परम्परागत लाञ्छनालाई तोड्दै स्त्री शरीरप्रतिको दृष्टिकोणलाई सम्मान र गर्वमा रूपान्तरण गर्न खोज्छ।

‘यक्षिणी’ खण्डले केवल कथा विस्तार मात्र गर्दैन, बरु एउटा वैकल्पिक दार्शनिक जगतको निर्माण गर्छ, जहाँ स्त्रीहरू आफ्ना पीडा र विखण्डनलाई शक्ति, एकता र नवचेतनामा रूपान्तरण गर्छन्। यहाँ यथार्थ र मिथकको संगमले एउटा यस्तो विमर्श सिर्जना गर्छ, जसले पाठकलाई परम्परागत सोचभन्दा पर पुगेर सोच्न प्रेरित गर्छ। यस उपन्यासमार्फत बलात्कार, भ्रूणहत्या, हत्या र अन्यायका सिकार भएका स्त्रीहरूको आत्मालाई स्वर दिइएको छ। उपन्यासले उनीहरू मरेका होइनन्, बरु न्याय र नयाँ युगको प्रतीक्षामा छन् भन्ने विचार प्रस्तुत गर्छ।

‘स्त्रीकुचाल’को प्रतीकात्मक वधमार्फत नारीमाथि भएको ऐतिहासिक अन्यायको प्रतिशोध र विद्रोहको संकेत गरिएको छ। यो विद्रोह शारीरिक मात्र नभई मानसिक र वैचारिक पनि हो, जसले स्त्रीलाई आफ्नो शक्ति चिन्न र आफ्नो अस्तित्व पुनःस्थापित गर्न प्रेरित गर्छ। उपन्यास पठन गर्दैगर्दा मेरै मनका भाव र विचार ती पात्रमार्फत आएको जस्तो पनि लाग्यो। यद्यपि, कथा अत्यधिक कल्पनाशील बन्दै जाँदा र यथार्थ जीवनमा मेल नखाँदा अपत्यारिलो र विवादास्पद लाग्न सक्छ, जसले गर्दा पाठकका मनमा अनेक प्रश्न उब्जिन बाध्य बनाउँछ। यसले उपन्यासलाई थप बहसयोग्य र विचारणीय पनि बनाएको छ। 

समग्रमा सीमा आभासको 'महायुग' केवल एउटा उपन्यास मात्र होइन; स्त्रीअस्तित्वको गहिरो खोज, विद्रोहको उद्घोष र चेतनाको पुनर्जागरण पनि हो। यसले नेपाली समाजमा जरा गाडेको पितृसत्तात्मक संरचनामाथि तीखो प्रश्न उठाउँदै, परिवर्तनको नयाँ दृष्टिकोणको सम्भावना देखाउँछ। 'महायुग' केवल कथा मात्र नभई एक वैचारिक यात्रा हो, जसले स्त्री अस्तित्व, पीडा, शक्ति र सम्भावनाको गहिरो विश्लेषण गर्छ। यसले यथार्थ र कल्पनाको मिश्रणमार्फत स्त्रीहरूको छुट्टै संसार र नयाँ युगको परिकल्पना प्रस्तुत गर्दै पाठकलाई सोच्न, प्रश्न गर्न र चेतनशील बन्न प्रेरित गर्छ। 

स्त्रीचेतनालाई केन्द्रमा राखेर लेखिएको यो कृति नेपाली आख्यान साहित्यमा एक फरक स्वाद र दृष्टिकोण दिने उल्लेखनीय प्रयास हो।