श्रवण मुकारुङ पहिला कविको रूपमा स्थापित भए। अनि गीतकार र नाटककारका रूपमा चिनिए। स्थापित साहित्यकार भइसकेपछि उनले उपन्यासमा कलम चलाउन थाले। अब उनको परिचय कवि, गीतकार र नाटककारमा मात्र सीमित छैन।
काठमाडौँ— पछिल्ला दशकहरूमा प्रखर कवि तथा गीतकारका रूपमा स्थापित भोजपुरे स्रष्टा श्रवण मुकारुङले आफ्नै चिनारी विनिर्माण गरेका छन्- आख्यानकारका रूपमा।
विशिष्ट कथनशैली र विषयगत नवीनतासहितको उपन्यास ‘सलह’का लेखक मुकारुङले यसअघि ‘देश खोज्दै जाँदा’, ‘बिसे नगर्चीको बयान’, ‘सुन रे सियाराम’ लगायतका कविता/गीत संग्रह प्रकाशित गरिसकेका छन्। प्रकाशन गृह नेपालयबाट ‘सलह’ यसैसाता प्रकाशित भएपछि उकालो संवादमा आएका आख्यानकार मुकारुङले करिब डेढ वर्षजति सलहको भावभूमिलाई आफ्नै मस्तिष्कमा हुर्काएको बताए।
“कविता वा गीतका लागि क्यानभास सानै भए पनि लेख्न सकियो, कथ्न सकियो”, मुकारुङले भने, “शुरूका डेढ वर्षजति सलहको भावभूमि मस्तिष्कमै हुर्काइरहेँ। त्यसपछिको तीन वर्ष कथा लेखनमा लाग्यो। स्वैरकल्पना, अतियथार्थ र मेरै किराँती सभ्यता, मिथक तथा लवजका कतिपय प्रयोगलाई मैले यसमा बुन्ने प्रयास गरेको छु। आजको उत्तरआधुनिक समयमा जोडिएका चेतनाहरूको कोलाज झैँ लेख्ने प्रयत्न गरेको छु।”
मूल पात्र नायुमा र साथमा जोडिएका सहपात्रहरूको कथानकमा सबभन्दा बढी एउटी युवतीको जीवनसंघर्ष, विरोधाभाष तथा विसंगतिको दैनिकीलाई मुकारुङले सलहमा उतारेका छन्। आफूले ‘सलह’ नामांकनलाई एउटा उपमाका रूपमा प्रयोग गरेर शब्दार्थको विनिर्माण गर्न चाहेको उनले बताए।
“सलह भन्नासाथ बाली विनाश गर्ने एक जातको पतंग भन्दै विध्वंश र विपत्तिको अर्थमा बुझ्ने गरिएको भए पनि मैले शब्दार्थको विनिर्माण गर्न चाहेको छु। सलह अँध्यारो होइन, बरु उज्यालो उपमा पनि हुन सक्छ भन्ने बुझाइ पाठकले पाउन सक्छन्,” उनले सुनाए।
एउटा लेखक बरु छिट्टै हराएर जाने वा विस्मृतिमै जाने रितका सामु कुनै लेखिएको कथा भने निकै लामो समय बाँचिरहने आत्मबोधका कारण आफूले सलहको यो कथा ल्याएको मुकारुङले सुनाए। “यो उपन्यास लेखिसकेपछि हामी लेखकहरूले पनि घमण्ड गर्नुको अर्थ छैन भन्ने मलाई लाग्यो। लेखेर म अमर भएँ, महान काम गरेँ भनेर सम्झनुको अर्थ छैन, यो बोध भएको छ,” उनले भने, “यो जगतमा त्यस्तो लेखक कोही छैन जसले यो संसारलाई पूणरूपमा बुझेको होस्। यो कथैकथाले जेलिएको संसारको कथा लेख्न एउटा लेखकको एक जुनी पर्याप्त छैन।”
स्थानीय लवज, भाषिका र उखान–थेगो समेतको विनिर्माण गर्दै मुकारुङले सलहमा भिन्न तवरको प्रयोग पनि गरेका छन्। ‘सर्पको विष पचाको मान्छेलाई भुसुनाले टोक्ने?’ भनेर उखानमा मात्रै होइन, चलनचल्तीका अरू संवाद (वाक्य–विन्यास)मा पनि आख्यानकारले नयाँपन दिएका छन्। किराँती भेगका पात्र र कथानक बुनिरहेका बेला पहिचानको मर्म बुझाउन एक जब्बर पात्रलाई अघि सारेर श्रवणले भनेका छन्, “लातको भूत बातले मान्दैन। दुध दिएन भने खुट्टे लगाउने हो। अझ नदिए ढाडमा केराको दाम्चा बसाल्ने हो। अझ नदिए भिरबाट खसाल्ने हो। गीतले गैँडाको छाला चिर्दैन दाइ।”
४४५ पृष्ठको उपन्यास ‘सलह’को समग्र कथानक बुझाउन पुस्तकको आवरणमै लेखिएको छ- द जर्नी अफ अ माउन्टेन गर्ल! उपन्यास चैत अन्तिम साताबाट बजारमा आउने प्रकाशन गृह नेपालयले जनाएको छ।
भिडियो वार्ता
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
