हाम्रो राजश्व र अर्थतन्त्रका सीमा छन्। बाह्य सहयोग लिनुपर्ने हाम्रा चुनौती छन्। यी सबै विषयमा हामी कसरी डिल गर्छौं, छिमेकी तथा अन्य शक्ति राष्ट्रहरूसँग हाम्रो सम्बन्ध कस्तो रहन्छ?
मान्छेहरू पुराना पार्टीसँग अत्यन्तै रिसाएका थिए। पुराना पार्टीले मान्छेका 'पल्स'लाई अनुभूत नगर्ने हो भने तिनको दुर्दशा हुनेवाला भनेर उनीहरूले पहिल्यै संकेत गरिसकेका थिए र चुनावी परिणामले त्यो बताइदिएकै छ।
यसो गर्दैगर्दा मतदाताले नयाँ भन्ने दल कस्तो छ, तिनको विचार र दर्शन के हो भन्ने सन्दर्भमा सुविचारित निर्णय लिएनन्। को मान्छे कस्तो मान्छे हो, कसलाई भोट हाल्न हुने, कसलाई नहुने हो अथवा कसको अजेन्डा के हो भन्नेबारे पनि सोचेनन्। बौद्धिक वर्गले उठाउने मुद्दालाई जनताले अहिले सुन्न चाहेन। बरु, पुरानालाई जसरी भए पनि बदला लिन्छौँ भन्ने हिसाबले जनता अघि बढे। त्यहीअनुसार जनमत दिए। जनताले यस पटक पक्कै देखाइदिन्छौँ भनेका थिए, देखाइदिए। त्यसो हुँदा यो बदलाको चुनाव हो। पुरानालाई हामी यथावस्थामा कुनै पनि हालतमा स्विकार्दैनौँ बताए जनमतमार्फत जनताले।
अहिलेको रुझान हेर्दा रास्वपाको सहजै बहुमत देखिन्छ, दुई तिहाइतिर जान पनि सक्छ। दुई तिहाइ आउनुको अर्थ रास्वपाले आफूले चाहेको काम गर्न सक्नेगरी म्यान्डेट पायो भनेर हामीले बुझ्नुपर्छ। रास्वपाले पाएको जनमतको सकारात्मक पाटो हो त्यो।
अब रास्वपाले बिना कुनै अवरोध आफ्ना नीति, योजना र कार्यक्रम गर्न सक्छ। त्यसमा कुनै अवरोध नहुने देखियो। काफी ठूलो जनशक्ति उहाँहरूको साथमा छ। यो जनमतको सबैभन्दा राम्रो पक्ष पनि त्यही हो। त्यसो हुँदा जन अपेक्षा पूरा गर्नका लागि उहाँहरूका लागि यो ऐतिहासिक अवसर हो। यो सत्ता र शक्तिलाई न्यायपूर्ण र लोकतान्त्रिक ढंगले रास्वपाका नेता र जनप्रतिनिधिले प्रयोग गर्न सके भने नयाँ युग निर्माणको एउटा अवसर हो। हाम्रो इतिहासमा यस्ता अवसर बिरलै आएका थिए। र, ३० वर्षयता कुनै पनि दलले यो तहको अवसर प्राप्त गरेको यो पहिलो पटक हो। १५ सालको निर्वाचन छाडेर हेर्दा यस्तो कहिल्यै भएको छैन।
उहाँहरूले जुन रूपान्तरणको कुरा गर्नुभएको छ, यो जनमतबाट सो सम्भव छ। पहिले सरकारको अकर्मण्यताको विरोध गर्दा मात्र जनताको समर्थन पाइन्थ्यो, अब भने परिणाम देखाएर आफूलाई सिद्ध गर्ने बेला उहाँहरूमाथि आएको छ। उहाँहरूमाझ अवसर आएको छ, यो सुखद हो उहाँहरूका लागि।
यसबाट प्राप्त दोस्रो अवसर के हो भने हाम्रो संसदमा पुराना दलका सरकार र संसद् सञ्चालनका पुराना र नकारात्मक अनुभवहरूबाट अब हामी मुक्त हुने बेला पनि भयो। यसो हुँदा यस जनमतमार्फत हामी नयाँ दिशातिर जान सक्छौँ।
तर यस जनमतका नकारात्मक पक्ष पनि हाबी हुन सक्छन्। हाम्रो आशंका छ त्यसमा। एउटा, हाम्रोमा सहिष्णुताको राजनीति लामो समययता हामीले देखिराखेका छैनौँ। कतै त्यसले रास्वापाका मित्रहरूलाई अलि अहंकारी र उत्ताउलो पो बनाउला कि? उत्ताउलो भइसकेपछि संविधान संशोधन गर्ने या मनमौजी ढंगले सत्ता सञ्चालन पो गर्ने हो कि? यो जनमत आउनुअघि नै कतिपय प्रश्न र आलोचनामाथि रास्वपाका कतिपय नेताले नजरअन्दाज र तिरस्कार गर्ने काम भएको थियो। सत्तामा पुगेपछि त्यसको निर्मम रूप पो देखियो भने हाम्रो लोकतन्त्रका लागि त्यो दुर्भाग्य हुनेछ।
त्यसो हुँदा, जुन स्तरमा उहाँहरू विजय हुनुभयो, त्यही तहको उदारता, विनम्रता र जिम्मेवारीवोध उहाँहरूले देखाउनु आवश्यक छ। उत्ताउलिएर संविधान चलाउन खोज्नुभयो, सहमतिबिना शासन गर्न खोज्नुभयो, प्रश्नहरूलाई नियन्त्रित गर्न खोज्नुभयो र आलोचनालाई बदख्वाइँ ठान्नुभयो उहाँहरूमाथि संकट थपिन थाल्छन्।
दोस्रो कुरा, प्रतिनिधिसभामा उहाँहरूको बहुमत या दुई तिहाइ नै पनि हुनसक्छ, तर राष्ट्रियसभामा उहाँहरूको प्रतिनिधित्व छैन। त्यस्तो नहुने बित्तिकै रास्वपाका लागि आफ्ना विधेयकहरू पारित गर्ने कुरामा अप्ठ्यारो हुनेछ। जब संकट हुन्छ, तब उहाँहरूले 'हामीले यति धेरै सिट जित्यौं, हामी जनअनुमोदित हौँ' भनेर अघि बढ्ने तर उहाँका विपक्षीहरूले त्यो कुरामा नमान्दा राजनीति अझै प्रतिशोधपूर्ण र उत्ताउलो बनाउँछ कि? त्यसो भयो भने पनि हाम्रो राजनीति ठीक दिशामा अघि बढ्न सक्दैन।
तेस्रो कुरा, रवि लामिछानेहरूकै अभिव्यक्ति सुन्दा पनि उहाँहरूले पुराना दलका नेतालाई प्रतिसोध साँध्ने हो कि झैँ देखिन्छ। हाम्रो राजनीतिमा पहिले पनि त्यस्तो भएको हो। प्रतिसोधले त झनै नयाँ द्वन्द्वको सिर्जना गर्न सक्छ। आफू बलियो छु भन्ने नाममा 'अब हाम्रो बेला हो' भन्ने ठान्दै अघि बढ्दा त्यसले नकारात्मक परिणाम दिन सक्छ।
त्यसका अलावा, पहिचान र सामाजिक न्यायका कतिपय अजेन्डा पनि हामीसँग छन्। ती केही सुषुप्त होलान्, तर सकिएका अजेन्डा होइनन्। यस्ता अजेन्डालाई कसरी अघि बढाउने र सँगै लैजाने भन्नेबारे पनि व्यापक जनमत पाएको दलले गम्भीर भएर सोच्नै पर्छ। यसमा प्रभावकारी ढंगले काम गर्नुपर्छ। उहाँहरूले त्यसो गर्न सक्नुभएन भने त्यसले नकारात्मक परिणाम दिन सक्छ।
चौथो, आजको युगमा हामी एक्लो छैनौँ, हाम्रो वरपर अरू धेरै कुरा छन्। भूराजनीति छ। त्यसमा पनि ध्यान पुर्याउन आवश्यक छ। हाम्रो राजश्व र अर्थतन्त्रका सीमा छन्। बाह्य सहयोग लिनुपर्ने हाम्रा चुनौती छन्। यी सबै विषयमा हामी कसरी डिल गर्छौं, छिमेकी तथा अन्य शक्ति राष्ट्रहरूसँग हाम्रो सम्बन्ध कस्तो रहन्छ? यी विषयमा पनि हामीले सही ढंगले काम गर्न सकेनौँ भने हामीले संकट झेल्नुपर्ने हुनसक्छ।
त्यसो हुँदा जनमत प्राप्त गरेको पार्टीले उल्लेखित विषयमा उदारतापूर्वक, राष्ट्रिय सहमति निर्माण गर्दै सुविचारित ढंगले जान आवश्यक छ। त्यसो गरिएन भने फेरि हामीले अर्को अस्थिरता झेल्नुपर्ने हुन्छ। फेरि हामी अर्को परीक्षणतिर जानुपर्ने हुन्छ।
अतः यति ठूलो जनमतको कदर गर्दै रास्वपा अत्यन्त जिम्मेवार बनोस्। जनमतको कदर गरोस्।
(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
