‘भयंकर गल्ती गरिएछ भन्नुअघि नै विवेक प्रयोग गरेर भोट हालौँ’

म प्रतिनिधिसभाको उम्मेदवार छु भने मेरा नाममा ५/७/१० वटा सार्वजनिक प्रश्न, मुद्दा र आलोचना छन् भने मैले उज्यालो र बिहानीको कुराकानी गर्न सक्छु? मैले नयाँको कुरा गर्न सक्छु?

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट गोर्खा २ का उम्मेदवार लेखनाथ न्यौपाने पार्टीभित्र र बाहिरसमेत तिखो आलोचना शैली र सिद्धान्तनिष्ठताका लागि चिनिन्छन्। ५२ वर्षका उनले जीवनको लामो समय जनयुद्ध र माओवादी राजनीतिमा रहे। पहिलो पटक संसदीय चुनावमा उत्रिएका उनीसँग चुनावकै सेरोफेरोमा प्रकाश अजातले गरेको कुराकानी: 

गोर्खा २ मा गजबै भयो। पहिले बाबुराम भट्टराईले आफ्नो उम्मेदवारीको नोमिनेसन गराउनुभयो, पछि फिर्ता लिनुभयो। एमालेले चक्रे मिलनका नामले चिनिने मिलन गुरुङलाई उठायो। के भइरहेको छ गोरखा २ मा?

दलीय व्यवस्थामा दलका प्रतिनिधिहरू चुनावमा उठ्ने कुरालाई स्वाभाविक प्रक्रिया ठान्छु । तपाईँले जे प्रसंग उठाउनुभएको छ, त्यसबारे मैले भन्दा पनि आम जनताले नियालिरहनुभएको छ, खासगरी गोर्खा क्षेत्र नम्बर २ का मतदाताले। त्यसो गर्दाखेरि इतिहासमा गरेको योगदान, आजको सम्भावना र भोलिको चित्र कुन प्रतिनिधिमार्फत व्यक्त गर्न सकिन्छ भन्नेबारे मतदाताले ठहर गर्नेछन्। मैले त्यसबारे धेरै टिप्पणी गर्नु धेरै जरुरी ठान्दिनँ। 

एउटै कुरा हो कि पूर्व प्रधानमन्त्री भइसक्नु भएका बाबुराम दाइ (भट्टराई) ले उम्मेदवारी दर्ता र फिर्ता लिने स्टेपहरू एकदमै सम्मानपूर्वक मिलाइदिनुभएको हुन्थ्यो भन्नेचाहिँ मलाई लागेको थियो। के कारणले त्यस्तो भयो, त्यता जान मैले चाहिनँ। किनभने उहाँ त धेरै परिपक्व र बौद्धिक नेता हो, माथिल्लो तहमा राजकीय भूमिका समेत निर्वाह गरिसक्नुभएको। व्यक्ति मात्र नभई हिजो औपचारिक र आज अनौपचारिक रूपमा हाम्रो नेतासमेत भएकाले उहाँबाट हाम्रो अपेक्षा थियो। त्यसो हुँदा उहाँका कदमहरू मिलेन कि भन्ने मात्र लागेको हो। अरूबारे धेरै टिप्पणी नगरौँ झैँ लाग्छ।        

चुनावका क्रममा अन्य दलका उम्मेदवारहरूसँग भेट भयो? हार्दिकतापूर्वक चलिरहेको छ चुनाव प्रचार?
कसैसँग अहिलेसम्म जम्काभेट भएको छैन। तर्किन खोजेर होइन कि संयोग नै त्यस्तो परेर होला। मनोनयनको दिनमा चाहिँ कविन्द्रसँग भेट भएको थियो। चुनावमा मतदातालाई स्वतन्त्रतापूर्वक मतदाताहरूले मत हाल्ने वातावरण बनाउनुपर्छ भन्ने प्रस्ताव मैले राखेँ। त्यस्तो अवस्थामा जसले जित्दा पनि समस्या हुँदैन। तर पैसाको चलखेल हुने र मतदातालाई वस्तुको रूपमा ठान्ने खतराचाहिँ देशैभर र हाम्रो २ नम्बरमा पनि भएको उहाँलाई बताएँ। यसलाई रोकौँ भनेर उहाँसँग आग्रह गरेको थिएँ। त्यो भन्दा बाहेकचाहिँ अरू कसैसँग भेट भएको छैन।

मैलेचाहिँ चुनाव प्रचार प्रसारको सन्दर्भमा प्रतिस्पर्धी पार्टी र प्रतिनिधिबारे व्यक्तिगत टीकाटिप्पणी र गालीगलौजको भाषा सार्वजनिक या आन्तरिक कार्यक्रममा पनि नगर्ने  मानक स्थापित गर्न खोजेको छु। मतदातालाई नयाँ संस्कृति दिने प्रयास हो मेरो। आफ्ना कुरा राखेर जनतालाई कन्भिन्स गर्ने प्रयास हो मेरो। अरूको विरोध गरेर आफ्नो पक्षमा मत तान्ने विगतको तरिका बेठीक भयो भनेर केही अरूले पनि भनेका छन्। त्यस अर्थमा यो नयाँ प्रयत्न हो भन्ने लाग्छ मलाई। मेरो कोणबाट प्रतिस्पर्धी साथीहरूसँग सौहार्दपूर्ण वातावरण बनाउन काफी भूमिका खेलेको छु भन्ने मेरो दाबी हो।

संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाका लागि पहिलो चोटि पार्टीबाट लड्दै गर्दा आफू केका लागि लडिरहेझैँ लाग्छ?
हिजोको कम्युनिस्ट आँखाबाट हेर्दा यो चुनावलाई नै दक्षिणपन्थी रुझान भन्न सकिन्छ। तर आजको दुनियाँ र आजको कम्युनिस्ट पार्टीको हिसाबले प्रतिस्पर्धालाई अस्वीकार गर्न नसकिने अवस्था बन्दै गइरहेको छ। हामीले त्यसलाई ध्यान दिएको हो। यो मसँग मात्रै सम्बन्धित छैन। ओभरअल पोलिटिकल कोर्ससँग सम्बन्धित छ। दोस्रो कुरा, जनताका निम्ति सेवा गर्दै आउँदा जनताबाट अनुमोदित हुने कुरालाई अस्वीकार गर्ने कुरा हुँदैन। तेस्रो, मैले अत्यन्तै गम्भीरतापूर्वक लिएको र सार्वजनिक समेत गरिराखेको हुनाले प्रतिनिधिसभाको सदस्यको मुख्य भूमिका त कानून, ऐन र नीति बनाउने हो। अध्ययन र अनुसन्धान मेरो रुचिको क्षेत्र पनि भएकाले त्यसमा मेहनत गर्न सक्छु भन्ने विश्वाससमेत आफूमा भएकाले हामीले बनाउने कानुनहरू कुन प्रक्रियाबाट बन्छन्, जनताको भावनाको त्यहाँ प्रतिनिधित्व र प्रतिविम्बन कसरी हुन्छ भन्न विषयवस्तुचाहिँ भन्नेबारे मैले संवेदनशील भएर काम गर्न सक्छु भन्ने लाग्छ। 

अर्कोचाहिँ, प्रतिनिधि हुनु भनेको संसद्को कुनै कुनामा हराउनु होइन। कुनै विषयवस्तु उठाउन नसक्ने, मेहनत, अध्ययन नगर्ने र सम्बन्धित निर्वाचन क्षेत्रलाई चाहिँ तुलनात्मक रूपमा गौरवका रूपमा प्रतिनिधित्व गर्न नसक्ने व्यक्तिहरू प्रशस्त देखेको थिएँ। त्यसमा पनि संसदभित्र, सम्बन्धित क्षेत्रको प्रतिनिधिको भूमिकाको अर्थमा अलि नयाँ ढंगबाट भूमिका निर्वाह गर्न र मेहनत गर्न सकिन्छ भन्ने ठान्छु। प्रभावकारी ढंगले संसद्को फोरमलाई जनताको भावना प्रतिविम्ब गर्ने गरी उपयोग गर्न सक्छु भन्ने लाग्छ मलाई। यो हिसाबले चाहिँ पार्टीले गरेको प्रस्तावलाई ठीक मान्ने निष्कर्षमा म पुगेको हुँ। 

२० वर्षअघि जनयुद्ध सक्याउँदा ताकको गाउँ र अहिलेको गाउँ धेरै फेरिइसक्यो। तपाईंको सिद्धान्त र विचारका कुरा सुन्न तयार छन् युवा? तिनले सिद्धान्तका जार्गनहरू बुझ्छन्?
यो निकै गम्भीर र फराकिलो विषयवस्तु हो यो। जनताले सिद्धान्त र विचार बुझ्दैनन् भनेर विचारको पैरवी गर्ने मान्छेहरूले विचार निर्माण र त्यो विचारको आधारमा दृष्टिकोण र त्यस आधारमा व्यवहार प्रदर्शन गर्न सकेनौँ भने विचारविहिनताले ठाउँ पाउँछ। हाम्रा लागि त्यो तत्कालिन् र दीर्घकालीन हिसाबले नै हानिकारक हो।

अर्को, विचार भनेको कुनै अमूर्त कुरा होइन। म जे खान्छु, बोल्छु, जे लगाउँछु र जोसँग उठबस गर्छु, त्यसलाई विचारले निर्देशित गर्छ। यी धेरै कुरालाई विचारले मार्गदर्शन गर्छ। विचारलाई अमूर्त, डरलाग्दो, कसैले नबुझ्ने र सीमित मान्छेले मात्रै बुझ्ने गरिएको छ, त्यो सही होइन। त्यस कारण जनतालाई मैले यो कुरा बुझाउन खोजेको छु कि जनताजस्तै भएर जनताको प्रतिनिधि हुने मेरो प्रतिबद्धता हो भन्दा मैले त्यो विचारलाई अभिव्यक्त गरेको हो।

मैले विचार बुझाउन कोसिस गरेको छु, तर मेरो घरकै अगाडिको बाटो बन्छ कि बन्दैन भन्ने उहाँहरूको चासो छ। तर त्यो पनि आखिर विचारकै कुरा हो। समाजमा भौतिक पूर्वाधारको क्षेत्रमा काम भएको होला, वैदेशिक रोजगारीमै गएर पनि नेपालीको आर्थिक गतिविधि बढेको होला। तर यी सबै विषयलाई आखिर विचारले नै निर्देशित गरेको हुन्छ। राज्यको विचार सही र गलत हुँदा जनतालाई के असर पर्छ भनेर जनतालाई बुझाउने कोसिसचाहिँ मेरो निरन्तर छ। यसलाई छाड्नुहुँदैन। तर जनताले बुझ्ने भाषामा हामीले बुझाउन सक्नुपर्छ।    

विचार र सिद्धान्त नहुनु किन डरलाग्दो छ?
विचार भएन भने हाम्रो यात्रा अँध्यारोतिर हुन्छ। किनभने विचारले नै उज्यालोको खोजी गर्ने हो। नयाँ सम्भावनाको खोजी गर्ने हो। विचारले नै अँध्यारोको पनि खोजी गर्छ। जब हामी विचारविहिनताको कुराकानी गर्छौँ, बिहानीको कुराकानी गर्न सक्दैनौँ, उज्यालोको सम्भावनाको खोजी गर्न सक्दैनौँ।

मान्छेहरूले अहिले लोकप्रियताका लागि जसरी आफूलाई सार्वजनिक गरिराखेका छन् र दर्जनौँ नकारात्मक प्रश्नहरूबाट घेरिएर पनि 'हामी नयाँ हौँ' भन्दै जनतालाई भ्रम छर्ने कोसिस गरिराखेका छन्, त्यसले अन्ततोगत्वा बिहानी र उज्यालोको अन्त्य गर्छ। मुख्यतः कांग्रेसदेखि हामीसम्म आउँदा इतिहासमा ठूलाठुला योगदान गरेका राजनीतिक पार्टीहरूले यो विषयवस्तु अधिकतम बुझाउने कोसिस गर्नुपर्छ। हामीले विरोध गर्नेचाहिँ तथ्यमा टेकेर हो, आक्रोश र पूर्वाग्रहमा होइन। हामीले त ठुलो प्रयत्न गरेर समाजलाई यहाँसम्म ल्याइपुर्‍याएका छौँ। ती प्रयत्नमा व्यक्तिगत रूपमा मेरो सहभागिता गौण भयो। त्यसरी जोडिँदै जोडिँदै आएको कुराचाहिँ बेठीक, गलत, पुरानो र बदनाम हुने, तर त्यो भन्दा खराबले चाहिँ देशका समस्या सम्बोधन गर्छ भन्ने कुराचाहिँ कसरी सही हुनसक्छ? हामी भ्रममा पर्‍यौँ भने त्यसले हामीलाई अन्धकारको सुरुङमा प्रवेश गराउँछ। विचारविहिनताको यात्रा पनि हो त्यो।

विचारले व्यवहार बोकेको हुन्छ। व्यवहारमा जे अभिव्यक्त भइराखेको हुन्छ, विचारले त्यसलाई निर्देशित गरेको हुन्छ। म प्रतिनिधिसभाको उम्मेदवार छु भने मेरा नाममा ५/७/१० वटा सार्वजनिक प्रश्न, आलोचना, मुद्दा र आलोचना छन् भने मैले उज्यालो र बिहानीको कुराकानी गर्न सक्छु? मैले नयाँको कुरा गर्न सक्छु? पुराना नेताले गरेनन् भन्ने नाममा त्यो भन्दा खराब, १० वटा मुद्दा बोकेकालाई मतदाताका रूपमा तपाईँले समर्थन गर्न सक्छु? १० वटा मुद्दा पनि विचारकै अभिव्यक्ति हो। मतदाताले यो कुरा बुझ्नुपर्छ र मतदातासँग सिधा सम्पर्कमा रहने शिक्षक, पत्रकार, कर्मचारीलगायत बौद्धिक जनले यसमा पैरवी गर्नुपर्ला। 

तपाईँले जुन पार्टीको प्रमुख व्यक्तिलाई संकेत गर्नुभयो,  उनलाई त पुराना दल, खासगरी राज्य एकोहोरो खनिएको आरोप पो लगाउँछन् त कतिपय जनता! 
मैले व्यक्तिको कुरा गरेको होइन, प्रवृत्तिकै कुरा गरेको हो। ममा त्यस्तो प्रवृत्ति देखिन्छ भने पनि त्यो गलत हो। म सांसदको उम्मेदवार छु, भोलि सांसद हुँला तर मेरा उपर बग्रेल्ती सार्वजनिक-कानुनी मुद्दा र प्रश्न छन् भने म नयाँ हुन्न। मैले प्रवृत्तिको कुरा गरेको हो। व्यक्तिउपर प्रहार गरेको होइन। मैले एउटा मानक नै बनाएको छु, चुनावमा मात्रै होइन, अघिपछिका सन्दर्भमा पनि। चुनावताक त अझै कडाइका साथ त्यसलाई लागु गरेको छु–कसैमाथि सार्वजनिक टिप्पणी नगर्ने। मुद्दा र विचारमा टिप्पणी गर्न सकिन्छ, तर व्यक्ति केन्द्रित गाली, आलोचना र कसैलाई नङ्ग्याउनेमा चाहिँ म प्रवेश नै गर्दिनँ।     

विचारको कुरा गर्दागर्दै नयाँ र पुरानोको कुरा आयो। नयाँ भन्ने बित्तिकै सबै कुरा राम्रो हुन्छ भन्ने कुरा किन गलत छ? 
नयाँको रूपमा भ्रममा पर्न सकिन्छ। दुई चार चोटि धोएर लगाएको कपडाभन्दा बजारबाट भर्खरै ल्याएको कपडा टिलिक्क हुनसक्छ। त्यसको अन्तर्वस्तुमा हामी प्रवेश गर्‍यौँ भने मात्र त्यसको गुणस्तर, टिकाउ, न्यानोपनबारे महसुस गर्ने कुरा हुन्छ। तर यतिखेर हामी कपडाको न्यानो, कपडाले दिने सुरक्षा र त्यसको गुणस्तरबारे खोजी गरिराखेका छैनौँ। आँदखलाई तत्काल दिने प्रभावबारे मात्र हामी कुरा गरिराखेका छौँ। यो दीर्घकालीन सकारात्मक यात्राको संकेत होइन। तत्कालको रङ्गीचङ्गीबारे भन्दा बरु कपडा खस्रो होस्, अलि टिकाउ, न्यानोपन र गुणस्तर चाहिएको हो। मैले गोरखा २ का मतदातालाई बुझाउन खोजेको विषयवस्तु हो यो।

जनताले तपाईँको सादगी र सिद्धान्तनिष्ठ जीवनलाई मत हाल्लान् कि हावाहुरीमा तपाईँ पनि बढारिने डर छ?
उम्मेदवार हुनाका नाताले जनताले कुरा बुझेका छन् भन्ने मेरो विश्वास छ। जनता सार्वभौम हो। जनता जत्तिको फलामे किल्ला अरू केही पनि हुँदैन भनेर बुझ्दा जनताले मलाई मत नहालेर कसलाई हाल्ने? जनताले जे खान्छ, जे लाउँछ, जहाँ बस्छ, जस्तो क्रियाकलाप गर्छ, मेरो नि लगभग त्यस्तै जीवन छ। त्यसो हुँदा, भुइँमान्छेको प्रतिनिधि भुइँमान्छे नै होला नि त भन्ने मेरो मत हो। यसरी हेर्दा पनि मतदाताले मलाई मत हाल्नुहुन्छ भन्ने मेरो विश्वास हो।       

तर कसलाई मत हाल्ने या नहाल्ने भन्ने विषय मतदाताको सार्वभौम विषय हो। मतदाताहरूको स्वतन्त्रता हो। जनताको सार्वभौम अधिकारलाई मैले जित्नुपर्छ र कुण्ठित गर्नुपर्छ भन्ने ठान्दिनँ। जनताले विवेकचाहिँ प्रयोग गर्नुपर्छ। कसको इतिहास गर्विलो छ र भोलिको सम्भावनाका लागि कसको नेतृत्व सही हुन्छ भन्ने अध्ययन र खोजी मतदाताले गर्नै पर्छ।   

गोरखा २ मा तपाईँको सिधा प्रतिस्पर्धा कोसँग? चक्रे मिलनसँग कि कवीन्द्र बुर्लाकोटीसँग? अथवा प्रकाश दुवाडीसँग?
यस प्रश्नलाई पनि मैले सरलतामा बुझ्छु। पहिलो, दलीय व्यवस्थामा दलहरूबीच प्रतिस्पर्धा हुन्छ। दोस्रो, दलले प्रस्तुत गरेका उम्मेदवारहरू सबैले आफूलाई योग्य ठान्छन्। अन्तिममा योग्य ठान्ने त मतदाताले हो। योचाहिँ मेरो प्रतिस्पर्धी हो र योसँग चाहिँ मेरो प्रतिस्पर्धा नै हुँदैन भनेर टिप्पणी गर्न चाहन्न। मैले सुन्ने गरेको छु–विगतको दृष्टान्त–कोही व्यक्ति 'ठूला उम्मेदवार'सँग उठ्यो तर उसले सय मत पनि कटाएन भने पनि बाहिर प्रचार गर्दाचाहिँ म फलानो ठूलो नेतासँग प्रतिस्पर्धा गरेको हो भनेर गौरव गर्दो रहेछ। तर त्यसरी बुझ्ने होइन, चुनावी प्रतिस्पर्धालाई। दलीय व्यवस्थामा दलहरूले गरेको योगदान र वर्तमानको कामको आधारमा जनताले फैसला गर्छ। त्यस कारण सबै उम्मेदवारहरूको प्रतिस्पर्धी हुँ म भन्ने ठान्छु।

हिजो र आजको मतदान कसरी फरक हुँदै छ? मतदाताको मनोविज्ञानलाई केके कुराले असर पार्ने देखिँदै छ या देखिन्छ?
मतदाता तुलनात्मक रूपमा पहिलेभन्दा सचेत छन्। त्यो सकारात्मक पक्ष हो। तर राजनीतिक दल र तिनका प्रतिनिधिहरू भने जनतालाई तिनको सार्वभौम अधिकारबाट कुण्ठित गर्नुहुन्न भन्ने कुरामा जनता जत्तिकै सचेत भएको देखिँदैन। हाम्रो निर्वाचन क्षेत्रमा हेर्दा खेरी पैसा भयो भने जनताको मत केही पनि होइन, जनताको मत जसरी पनि बटुल्न सकिन्छ भन्ने प्रवृत्तिले काम गरेको देखिन्छ। जनतालाई वस्तु ठान्ने सर्वाधिक नकारात्मक प्रवृत्ति हो। यो खतरनाक प्रवृत्ति देख्छु। उम्मेदवारहरू जनताको चेतनाभन्दा पछाडि छन् भन्न खोजेको हो यहाँ मैले। 

दोस्रो, पाखुरा भएपछि जे पनि गर्न सकिन्छ भन्ने प्रवृत्ति छ। त्यो अर्को नकारात्मक प्रवृत्ति हो। हिजोको सन्दर्भमा, जात्रा जाँदा देखाउन र लडाइँ लड्न प्रयोग हुने पाखुरा चुनावको लागि हुनुहुँदैन। तेस्रो र महत्त्वपूर्ण प्रवृत्ति, पहिले नै हामीले चर्चा गर्‍यौँ–दुई तीन चोटि चुनाव लड्नेहरूचाहिँ नयाँ हुने र पहिलो चोटि चुनाव लड्ने लेखनाथचाहिँ पुरानो हुने! त्यो पनि तर्कसंगत कुरा भएन। एक चोटि चुनाव लड्ने व्यक्तिलाई देखाएर उसले केही गर्न सकेन भन्ने कुरा पनि मलाई नकारात्मक लाग्छ। 

त्यसो हुँदा, जनताको मनोविज्ञान म सकारात्मक पाउँछु, यद्यपि, जनताका बीचमा आज पनि कैयौँ सन्दर्भमा अभाव छ। एउटा पङ्क्तिको जीवनस्तर जस्ताको तस्तै छ। कष्ट साध्य छ। शारीरिक श्रम गरेर मात्र बाँच्न सक्ने अवस्था छ। त्यो अभाव र सङ्घर्षपूर्ण जीवनलाई वस्तु ठान्ने, पाखुराद्वारा प्रभावित गर्न सकिने ठान्ने, हामी नयाँ हौँ भन्ने हावाले भ्रमपूर्ण प्रभाव पार्न सक्ने सम्भावना मैले  देखेको छु।      

ठूलो हुलचाल, विध्वंस र विद्रोहपछि भएको यो चुनाव किन महत्त्वपूर्ण छ? इतिहासले यो चुनावलाई कसरी मूल्यांकन गर्ला? 
भदौ २३ र २४ पछाडिको परिवेश हो यो चुनाव। २३ र २४ छुट्टाछुट्टै घटना हुन् भन्ने मेरो अध्ययन छ। २३ सकारात्मक हो। हाम्रो समाजको पछिल्लो पुस्ताको भावना हो, जसबारे पार्टीभित्र र बाहिर नभई देशभित्र र बाहिरसमेत उठाएको थिएँ। राजनीतिक पार्टीको रूपान्तर र पुस्तान्तरणको कुरा २३ गते आन्दोलनकारीले उठाएका थिए। पारदर्शी राजनीतिक जीवन र भ्रष्टाचारविरूद्धका अभियान त्यसका चासो थिए। मैले पार्टीभित्र र बाहिर पनि सम्पत्ति छानबिनको कुरा त्यस कारण पहिलेदेखि नै उठाएको थिएँ। २३ गते त्यसको उत्कर्ष भएकाले २३ को घटना सकारात्मक हो। यद्यपि, राज्यले त्यस दिन विवेक प्रयोग गर्न सकेन र जुन प्रकारको हत्या भयो, त्यो त नकारात्मक हो। तर आन्दोलनकारीको मुद्दा त सकारात्मक हो। 

२४ गते बिलकुलै फरक हो। २३ र २४ छुट्टाछुट्टै भनेपछि दुइटामध्ये एकले गरे होला नि त यो परिवेश निर्माण। यो अर्को छलफलको विषय होला, त्यतातिर जान चाहन्नँ। २३ र २४ पछाडि जब हाम्रो संविधान, प्रणाली र यसले बोकेका संस्थाहरू धरापमा परे, त्यसलाई धरापबाट मुक्त गरेर पुरानै लिकमा फर्काएर थप विकास गर्नुपर्ने चुनौती आयो। त्यसलाई लिकमा हाल्ने माध्यम संसद् पुरस्थापना त हुन सक्दैनथ्यो। तत्कालको संसद्ले समस्याहरूको हल गर्थ्यो भने त भदौ २३ गते अघि नै गर्थ्यो होला नि! किनकि उतिखेर त झन्डै दुई तिहाइको सरकार थियो। 

समस्या हल गर्ने कुरै छाडौँ, त्यतिखेरको सरकार र राज्य नै विवेकहीन रहेछ। उसले राज्यका संयन्त्रहरू प्रयोग गरेर कुनै पनि सूचना प्राप्त गर्न सक्दो रहेनछ। त्यसो हुँदा यो चुनाव अनिवार्य थियो। तर खतरा के देखियो भने २४ गते मूलतः जजसको संलग्नतामा त्यो विध्वंस गरियो, राज्यलाई खरानीमा परिणत गरियो, त्यही शक्तिले आफूलाई चुनावपछि बलशाली शक्तिका रूपमा देख्न खोजेको हो कि? त्यस्तो खतरनाक दृश्य मैले देखिराखेको छु। नेपाली समाज र मतदातामाझ हामी यो विषयलाई कति बुझाउन सक्छौँ, कति बुझिराख्नुभएको होला? 

सैद्धान्तिक हिसाबले भन्दा जनताले नबुझ्ने कुरा भएन, तर तत्कालको न्यानोमा हामी भ्रममा पर्‍यौँ भने जसले मुख्यतः २४ गतेको घटना गराउन निर्णायक भूमिका खेल्यो, पर्दापछाडि या पर्दा अगाडिबाट, त्यही शक्ति यो खरानीको थुप्रोमा उभिने परिस्थिति बन्यो भने हाम्रो यात्रा अरू खतरनाक दिशातिर गयो। भूराजनीतिका हिसाबले र नेपाली समाजलाई आज नेतृत्व गर्ने हिसाबले पनि। यो खतराप्रति व्यक्तिगत रूपमा म धेरै गम्भीर छु। 

म चुनावमा प्रवेश गर्दै गर्दा परिणाम के होला भन्ने मेरो चिन्ताको विषय धेरै होइन। मैले ३६ वर्षयता राजनीतिमार्फत गरिराखेको समाजसेवा यो बिन्दुमा आएर उभिँदा सुद्ध समाजसेवाको विषयवस्तु मुख्य विषयवस्तु नबन्ला कि? समाजसेवाभन्दा बाहिर असाध्यै धेरै घाटा र नाफाको व्यापार-व्यवसायको कोणबाट आइराख्ने हावाहुरी कतै सही दृश्य बनेर उभिने पो हो कि! त्यसले हामी आफैलाई पनि पुनर्विचार गर्न बाध्य बनाउँछ। यो प्रतिचाहिँ म निकै गम्भीर छु। 

मतदातालाई मेरो विनम्र अनुरोध छ–बाध्यताले या राम्रो जीवन बाँच्ने रहरमा विदेशमा बस्ने हाम्रा साथीहरूले पुराना दलहरूप्रतिको आग्रह र पूर्वाग्रह अथवा पुराना दलले काम गर्न नसकेको दृष्टान्तलाई देखाएर २४ गतेको विध्वंसमा संलग्न भएका प्रतिनिधिहरू छान्नका लागि तपाईँले नेपालमा रहेका बाआमा र आफन्तलाई अनुरोध गर्नुभयो भने हाम्रो योगदान सर्वाधिक नकारात्मक परिणामका लागि हुनेछ। अतः हाम्रा तत्कालका आग्रह र पूर्वाग्रहहरू छाडेर विवेक प्रयोग गर्ने बेला हो यो। मतदातासँग मेरो अनुरोध पनि यही हो। मूल्य, मान्यता र नैतिकताका निम्ति मेरो उम्मेदवारी हो। 

अन्तिममा केही भन्नु छ?
चुनाव एउटा घटना हो। मुलुकलाई कुन दिशा दिने भन्ने सन्दर्भमा त्यसले केही हदसम्म प्रभाव त राख्छ नै, तर घटना भइसकेपछि 'भयंकर गल्ती गरिएछ' भन्नु भन्दा अगाडि नै घटनाको परिणामबारे आकलन गर्नुपर्छ। हामीले यो प्रणालीलाई लिकमा राख्न सकियो, हाम्रा संस्थाहरूलाई फेरि पनि संस्थागत गर्न सकियो भने सम्भावित खतराहरूबाट हामी मुक्त हुन्छौँ। अप्ठ्यारै भए पनि मुलुकलाई एउटा प्रणाली र संस्कृतितिर हामीले लिएर जान सक्छौँ भन्ने लाग्छ। चुनाव यसर्थमा पनि सबैको चासो र महत्वको विषय हो भन्ने ठान्छु। 

भिडियो: