ती बौजिजी, यी गणेश

सरकारले आफ्ना नागरिकउपर दमन, थिचोमिचो र अत्याचार बढाउँदै लाने हो भने त्यो अल्गोरिदमले कुनै पनि बेला कोल्टे फेर्न सक्छ। त्यसपछि आउने सुनामीले कसलाई कहाँ पुर्‍याउँछ, त्यति वेलै थाहा हुनेछ।

नाम: महमुद बौजिजी।

उमेर: २६ वर्ष।

काम: ट्युनिसियाको राजधानी ट्युनिसबाट तीन सय किलोमिटर दक्षिणस्थित सिदी बुजिदमा ठेलामा तरकारी–फलफूल बेच्ने।

निधन: २०१० डिसेम्बर १७ मासिदि बुजिदस्थित गभर्नरको कार्यालय‍अगाडि आत्मदाह, २०११ जनवरी ४ मा मृत्यु।

महमुद बौजिजीले ठेलामा तरकारी बेचेर आठ जनाको परिवार पाल्न थालेको ७ वर्ष भइसकेको थियो। १७ डिसेम्बर २०१० को बिहान पनि सधैँ झैँ ठेलामा तरकारी बेचिरहँदा एक महिला नगर कर्मचारी आएर ठेला र सामान जफत गरिन्। यस्तो सास्ती पहिले पनि भोगिसकेका बौजिजीले जरिबाना तिर्न खोज्दा नगरपालिकाले ट्रकमा हालेर लग्यो। यसक्रममा ती महिला नगर कर्मचारीसित बाजाबाज पनि भयो। 

अपमानित महसुस गरिरहेका बौजिजी उजुरी गर्न र आफ्नो सामान फिर्ता माग्न गभर्नरको कार्यालय गए। तर उनले गभर्नरलाई भेट्न पाएनन्। अपमानित, प्रताडित र निराश बौजिजीले बिहान साढे ११ बजे शरीरमा पेट्रोल खन्याएर आगो लगाए। १८ दिनपछि उनको मृत्यु भयो।

आगो लगाउनुअगाडि बौजिजीले भनेका थिए, “तिमी मैले कसरी जीविकोपार्जन गरोस् भन्ने अपेक्षा गर्छौ?” 

बौजिजीले आफ्नै शरीरमा सल्काएको आगोले उनलाई त ढाल्यो नै, त्यसपछि  सल्किएको आन्दोलनको आगोले ट्युनिसिया मात्रै होइन इजिप्ट, लिबिया र यमनमा अन्यथा असम्भव ठानिएका शक्तिशाली तानाशाहहरूलाई ढालिदियो, शासकहरूलाई देश छाडेर भाग्न वा जीवनदानका लागि भिख माग्न बाध्य बनायो। ट्युनिसियामा २३ वर्षदेखि राज गरिरहेका सर्वशक्तिमान् बेन अलि, इजिप्टका होस्नी मुबारक, लिबियाका मुअम्मर गद्दाफी र यमनका अलि अब्दुल्लाह सलेह इतिहास बने। 

***

नाम: गणेश नेपाली।

उमेर: २५ वर्ष।

काम: राजधानी काठमाडौँमा मोटरसाइकल ट्याक्सी चलाएर जीविकोपार्जन।

निधन: २०२६ जुलाई ९ मा त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह, जुलाई १० मा मृत्यु।

इतिहासबाट सिक्न चाहनेलाई यो दयालु बन्छ, सिक्न नचाहनेलाई निर्मम। बौजिजीको आत्मदाहको साढे १५ वर्षपछि उस्तै परिस्थितिमा आत्मदाह गरेका गणेश नेपालीले सलाई कोर्नुअघि के भने थाहा भएन। आत्मदाहपछि उपचारका क्रममा दाइलाई भनेछन्, “यो सबै महानगर प्रहरीले गर्दा भएको हो।”

यो त्यही प्रहरी हो, जसलाई वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँको मेयर हुँदा आफ्नो तानाशाही र परपीडक आकांक्षा तुष्टि गर्न उन्मत्त छोडिदिएका थिए। फुकाफाल महानगर प्रहरीले ठेलामा/साइकल/डोकामा व्यापार गरी परिवार पाल्ने कैयन्को जीविका खोसेका थिए। राति थर्मसमा चिया बोकेर बेच्दै जीविका निर्वाह गर्ने महिलाहरूलाई पनि छाडिएन, थर्मसै जफत गर्ने अधम भएका थिए।

सडकको एउटा कुनामा मकै पोलेर जीविका धान्ने आमा उमेरका वयोवृद्ध महिलाहरूमाथि धरपकड र बलजफती भएका थिए। मेयरको कल्पनाको ‘एनवाईपीडी’ बनाउने चक्करमा नगरप्रहरीको सैन्यकरण गरिएको थियो। नागरिकको  नजिक रहेर सेवा दिनुपर्ने संस्थालाई नागरिकउपर दमनको औजार बनाइएको थियो। 

आधुनिक राष्ट्र राज्यहरूको सबैभन्दा ठूलो वैधताको स्रोत निर्वाचनबाट प्राप्त परिणाम होइन, त्यसपछि उसले जनताको जीविका सुनिश्चित गर्न सक्ने क्षमता हो। राजनीतिक शक्ति (मतादेश) आर्जन गरिसकेपछि त्यसलाई कायम राख्न जनताको जीविका सुनिश्चित गर्न र सुधार गर्न सक्नुपर्छ। बालेन्द्र शाह काठमाडौँको मेयर निर्वाचित भएपछि कमजोर र विपन्न नागरिकहरूको पेटमा लात हान्ने काम हुन थालेपछि नै बुझ्नुपर्थ्यो उनी विपन्न मुलुकको नेतृत्वलायक छैनन्। मुलुकका सबैभन्दा कमजोर, सुकुम्वासी, घरबारविहीन र जीविकाका लागि सडकमा भर पर्नेहरूमाथि डन्डा बर्साएर आफ्नो शक्ति देखाएको भ्रममा बाँच्ने शासकले मुलुकमा सुशासन र विकास ल्याउने कल्पना असम्भव हो। कलिला नानीबाबुहरूको शहादतको बुई चढेर शासक बन्ने अभिलाषीले जेन–जी आन्दोलनका घाइते वा शहीद परिवारसँग एकपटक भेट नगर्नु त्यो आन्दोलनप्रतिको उपहास हो भनेर नागरिकले बुझ्नपर्थ्यो।

मानवमा हुने खराब स्वभावहरू जस्तै रिसराग, द्वेष, आवेग, आक्रोशलाई चर्को बनाएर पैसा छाप्ने मेसिन बनाइएका अल्गोरिदमको भरमा उनीहरूले नेपाली मनोविज्ञानको अपहरण गरे। र, निर्वाचनमा अभूतपूर्व सफलता पनि हासिल गरे। बालेनको सेनापति राजु पाण्डेलाई काठमाडौँकै जनताले पुरस्कृत गरेर अझै डन्डा चलाउन् भनेर संघीय संसद्मा निर्वाचित गरे। अपराध आफूले गर्ने तर हरेकपटक आफैँ त्यसको पीडित दाबी गर्ने रवि लामिछानेलाई त अभूतपूर्व मतका साथ चितवन– २ का जनताले ठप्पा लगाइदिए। ठेकेदारको खुट्टा भाँच्दै हिँड्ने मन्त्री त उक्त पार्टीको शक्तिशाली उपसभापतिको मनोनयन कुरेर बसेका छन्। ढिलो–चाँडो उनी पनि पुरस्कृत हुने नै होलान्। 

यद्यपि, रास्वपाको चुनावी सफलताबाट एउटा अपेक्षा थियो कि शक्तिसँगै जबाफदेहिता आउनेछ, समयसँगै परिपक्वता आउनेछ। त्यसैले सरकारले सय दिन पुरा नगरुन्जेल आलोचना नगर्ने स्वअनुशासनमा आफूलाई बाँध्ने प्रयास पनि गरिएको हो। लोकतन्त्रमा जनमत नै अन्तिम निर्णायक हुन्छ। त्यसैले अझै पनि लोकतान्त्रिक व्यवस्थाको निरन्तरता र मुलुकको अस्तित्वका लागि बालेन्द्र शाह वा राष्ट्रिय स्वतन्त्र पार्टीले यो ५ वर्ष नै सरकार चलाउनुपर्छ भन्ने लाग्छ। बालेन्द्रले सकेनन् भने पनि उनको विकल्प रास्वपा भित्रबाट नै आउनुपर्छ भन्नेमा म दृढ छु। 

बालेन सरकारले यी वैद्य अपेक्षाहरूलाई असफल गराइदियो। र, पहिलो निशाना बनायो मुलुकका सबैभन्दा कमजोर नागरिक, सुकुम्वासीहरूलाई। शहरलाई गरिबमुक्त बनाउने उनको मनसुवा पूरा गर्न विनाविकल्प, विनायोजना जबरजस्ती छाप्रोबाट धपाइए। सर्वशक्तिशाली सरकार आफ्नै नागरिकउपर शत्रुमाथि जाइलागे जस्तो कारुणिक र विद्रूप दृश्य सम्झँदा अझै पनि ऐँठन आइरहन्छ। 

लखेटिएका सुकुम्वासीका मुटु चुँडाउने कथाहरू आइनै रहेका छन्। इन्द्रबहादुर राईले दशकौँदेखि बस्दै आएको घर भत्काएको हेर्न सक्दिनँ भन्दै बागमतीमा हेलिएर प्राण आहुति दिए। सरकारले मनोहरा सुकुम्वासी बस्ती खाली गर्नका लागि दुई दिनको म्याद दिएपछि मानसिक रूपमा विक्षिप्त भएका १९ वर्षीय रविन तामाङले गत वैशाख १० गते शौचालयमा झुन्डिएर आत्महत्या गरे। 

त्यही प्रहरीको गोली र लट्ठीको त्रासमा लखेटिएका सुकुम्वासीहरूलाई भेडा–बाख्रा जसरी होल्डिङ सेन्टरहरूमा राखिएको छ। कैदसमान आश्रयस्थलमा स्वतन्त्र पत्रकार र मानव अधिकारवादीहरूलाई समेत छिर्न अवरोध गरी अल्गोरिदमको बलमा उनीहरूको ‘औकात’भन्दा उच्चस्तरको खानपान र स्याहार दिइरहेको भ्रम छरिरहेको थियो सरकारले। तर, कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय भेषराज दर्जीको समयमै उपचार नपाउँदा जेठ २१ मा मृत्यु भयो।

अहिले त उनीहरूको पुनर्स्थापनाका लागि दिने भनिएको २५ हजार लिएर जाने भए जाऊ, नत्र त्यही पनि पाउँदैनौ भनेर धम्काइरहेको छ सरकारले। शायद लामो समय होल्डिङ सेन्टरमा राख्दा अतिसावधानीपूर्वक निर्मित र संरक्षित आफ्नो सुकिलो छविमा कालो पोतिने डरले होला, सरकारले अब सुकुम्वासीहरूलाई जसरी पनि आश्रयस्थलबाट निकालेर छुमन्तर गरी सुकुम्वासी समस्या समाधान गरेको प्रचार गर्न आतुर छ।

यो क्रममा उनीहरूमाथि गरिएको तिरस्कार, अपमान, घृणा र उपहास यति तीव्र छ कि युद्धको अवस्थामा शत्रु मुलुकका गैरसैनिक नागरिकलाई समेत सम्भवतः त्यो व्यवहार गरिन्न। उनीहरूको रसदपानी काटिएको छ, बालबालिकाले पढ्न नपाएको तीन महिना पुग्दै छ। लाग्छ शनैः शनैः अरू सुकुम्वासीहरूले पनि इन्द्रबहादुर राईको बाटो पछ्याएमा सरकारलाई हाइसन्चो हुनेछ। वा उनको शासनमा जीविका खोसिएका ट्युसन पढाउने शिक्षक वा लाखौँलाख जरिबाना ठोकिएका साना व्यवसायी वा झोले र दले भनेर अपमान गरिएका कर्मचारीहरूले गणेशको पाइला पछ्याए पनि यो सरकारलाई कुनै फरक पर्ने छैन। किनकि न उनी बोल्छन्, न त उनको शासनमा अरू कसैले बोल्ने आँट गर्छन्।

तर विद्यालय शिक्षा पूरा गर्ने संज्ञानात्मक क्षमता भएका मानिसले समेत यो ‘मुते न्यानो’ हो भन्ने थाहा पाइसकेका छन् र कुरीकुरी गर्दै छन्। जनताको पेटमा लात हान्ने, आधारभूत अधिकारबाट वञ्चित गर्ने र आत्मसम्मानमा चोट पुर्‍याउने सरकारलाई नागरिकले सहजै माफी दिँदैनन्। केही रास्वपा समर्थकहरू नियम सबैलाई लागू हुनुपर्छ भन्दै कुर्लेर सामाजिक सञ्जालमा गणेशको आत्मदाहमा पनि बालेन शाहलाई ‘क्लिनचिट’ दिन उद्धत छन्। तर उनीहरूले बुझ्दैनन् वा बुझ्न चाहन्नन् कि, काठमाडौँमा रहेर ‘राइड सेयरिङ’मा जेनतेन जीविका चलाएका गणेशले आत्मदाहजस्तो निर्णय लिनुअघि कुन मनोदशाबाट गुज्रे होलान्? नगरप्रहरी वा ट्राफिक प्रहरीले कति दुःख दिएको थियो होला? उसै जातीय विभेद चरम रहेको मुगुबाट काठमाडौँ आएर संघर्ष गरिरहेको एक दलित युवाले कति अपमानको घुटन भोग्नुपरेको थियो होला?

महात्मा गान्धीले भनेका छन् आँखाको बदला आँखा नै फोड्ने हो भने सारा संसार नै अन्धो हुनेछ। नेपालमा भने भदौ २३ र २४ पछि आँखाको बदला आँखाको अभियानले वैधता र तीव्रता पाएको छ। अल्गोरिदमसिर्जित आक्रोशले गर्दा गत वर्ष भदौ २४ मा नागरिकहरू आफ्नै घर जलाउन वा आँखा फोड्न तम्तयार भएर बसेका थिए। सरकारले आफ्ना नागरिकउपर यस्तै दमन, थिचोमिचो र अत्याचार बढाउँदै लाने हो भने त्यो अल्गोरिदमले कुनै पनि बेला कोल्टे फेर्न सक्छ। त्यसपछि आउने सुनामीले कसलाई कहाँ पुर्‍याउँछ, त्यति वेलै थाहा हुनेछ।