वास्तवमा हिजोआज जनता भेट्न होइन, जनताका अघि देखिन चाहन्छन् नेता। जनता पनि भेट्न, बोल्न र सोध्न होइन हेर्न चाहन्छन्। केवल हेरिरहन।
‘एss चुनाव त हो आउँछ,जान्छ!’
उहिलेदेखि अहिलेसम्म उही एउटै भड्खालो-भनाइको आलोपालो छ, चुनाव त हो आउँछ,जान्छ।
तर कसरी जान्छ? र के लिएर आउँछ भन्ने थोरै हेक्का पनि अझैसम्म धेरैलाई छैन।
ठिकै हो, चुनाव त आउँछ, जान्छ!
तर चुनावले ल्याएको व्यवस्था सजिलै जाँदैन। अनि त्यही व्यवस्थाले सिर्जेको अवस्था त झनै हठयोगले पलेटी नै मारेर बस्छ। हुन त आजका हतारे ‘मसिन-मानिस’लाई योग भन्ने शब्दै नै बोझ भइसकेको छ। कसैलाई थाहा छैन–बेला कुन हो, अबेला कुन हो? पश्चिम बङ्गालमा आसन्न विधान सभा चुनावलाई लिएर जनतालाई खासै चासो छैन भन्नुभन्दा पनि जनतालाई फुर्सद नै छैन भन्दा सही हुन जाला। जनता सारा काम छाडेर आफ्ना प्रमाण-पत्रहरू मिलाउन र बुझाउन सरकारी दफ्तरतिर लाइन लाग्नमै व्यस्त छन्। बाध्य छन्। यो देशमा लाइन केमाचाहिँ लाग्नुपर्दैन?
उता छिमेक-नेपालको हाल उस्तै छ। सर्वत्र चुनावको रन्को छ।
राज्यमा चलिरहेको विशेष गहन पुनरिक्षण (स्पेसियल इन्टेन्सिभ रिभिजन-एसआईआर) भोटर रोलसित सम्बन्धित छ। यो प्रक्रिया देशका विभिन्न राज्यहरूमा चलिरहेको छ भने विशेष गरेर पश्चिम बङ्गालमा यसले चुनावी कसरतको मैदान पनि बनाएको छ। देशका ‘खाँटी नागरिक’हरूले पनि पटक पटक ‘म पनि यही देशको हुँ’ भन्ने दसी पेस गरिरहनुपरेको छ। यस्तोमा चुनावका बेला आम मानिसले आफ्नो समस्या नेतालाई सुनाउनसम्म भ्याएका छैनन्। अनि त भन्ने नै भए, ‘चुनाव त आउँछ जान्छ।’
तर चुनाव-आउँछ जान्छ भन्दाभन्दै मानिसको कति हो कति समय गइसक्यो। खासमा जनता पनि सजिलो मात्रै खोज्ने भएका छन्। अन्तमा आफ्नै सजिलो बोझिलो बनिदिन्छ। त्यसपछि मान्छेहरूलाई दुई वटा काम खुल्छ–ताली बजाउने र गाली गर्ने। वेतन बिनाको यस्तो कामले न ब्याङ्क भरिन्छ, न त मन नै। फेरि चुनाव आउँछ। पुन:उही नारा दोहोर्याइन्छ-चुनाव आउँछ, जान्छ।
ठिकै हो नि–चुनाव आउँछ,जान्छ।
तर आउँछ-जान्छबीच जनताले के पाउँछन्? के गुमाउँछन्? के बिगार्छ अनि के बनाउँछ? यस विषयमा न मन छ, न त मनन नै।
पहिले पहिले, खासै पहिले पनि होइन। बितेका केही वर्षमा गाउँघरतिर नेता टुप्लुक्किए भने चुनाव आयो भनेर बुझिन्थ्यो। अहिले त चुनावको मुखैमा पनि नेताहरूको दर्शन यतातिर दुर्लभ छ। जनता जनसभामा पुग्न छाडेको लगभग युगौँ बित्यो। कार्यकर्ता त जानकै लागि पनि जान्छन्, गइरहेकै छन्। वास्तवमा हिजोआज जनता भेट्न होइन, जनताका अघि देखिन चाहन्छन् नेता। जनता पनि भेट्न, बोल्न र सोध्न होइन हेर्न चाहन्छन्। केवल हेरिरहन। त्यसैले त यो समय नै भाइरल भइदिएको छ। जनताले समाजको मुद्दा उठाइरहेका छैनन्, बस् फेसबुकको विक्ली च्यालेन्ज पूरा गर्न नेतासँग 'कन्टेन क्रिएट' गरिरहेका छन्।
मानिसको दूरदृष्टि मोबाइल स्क्रिनसितै स्क्रोल डाउन भइसकेको छ। नेताहरू जनताको घरदैलोतिर भन्दा कुनै स्टुडियोतिर धाउन थालेका छन्। नेता गाउँतिर होइन, फेसबुक पेजतिर पुग्छन् र लाइभ सम्बोधन गर्छन्। रिल र सर्ट्सतिर चुनावी क्याम्पेन चलाउँछन्। आर्टिफिसियल र ओरिजिनलको अन्तर छुमन्तर भइसकेको छ।
(अ)सामाजिक सञ्जालमा आफ्नाबारे जति गुलिया भ्रम छर्न सकियो र विपक्षीबारे दुष्प्रचार बढाउन सकियो, त्यति सहजै नेता। जति भाइरल, त्यति नेता। यता जनता भने हाते मोबाइलमा भाते-नेताहरूलाई हेरेको हेर्यै। यसो गर्ने क्रममा जनताले आफू छालाबाट हड्डी मात्रै भइसकेको पनि बिर्सिसकेको छ। वास्तवमा मान्छेले के सम्झिरहेको छ? के सोचिरहेको छ? आफ्नै पैसामा खपत भइरहेको डाटाबाट नेतालाई हेरेको हेर्यै। र, नै त गाइन्छ गीत–‘हामी हेरेको हेर्यै। हामी हेरेको हेर्यै।’
साँच्चै हो। सोह्रै आना सत्ते हो। मानिसले आफूले आफैलाई नहेरेको जुगौँ बित्यो। हुन त एआईको जमानामा यति बेला जनतालाई पनि हाइ मात्र आइरहेको छ। हाइ काढिरहने जनताले आफैँलाई बिसन्चो भएको किन बुझ्दैनन्? जनता आफैले नबुझेपछि नेतालाई त सधैँ हाइसन्चो हुने नै भइगयो। भोट हालेपछि हार र जित केवल नेता-नेताहरूबीच मात्रै हो भनेर बुझिन्छ, तर आफ्नो हार जितको ख्याल गर्दैन स्वयं जनता। आफ्नै मतसित बेमतलब रहने मतदाताहरूको ज्ञान, ध्यान निक्कै अघि अवसान भइसकेको छ। जो उत्तेजित बोल्छ–उसैको खोजी छ। जो विवादित छ उही सर्वाधिक चर्चित छ। यस्तो पाराले अन्ततः नेताले घरीघरी गर्ने भनेको मनपरी नै हो।
प्रत्येक क्षण अपडेट हुने आजको युगमा राजनीतिक दलहरू भने आफूलाई आउटडेटेड भएको कहिल्यै महसुस गर्दैनन्। घिसिपिटी उही चुनाव चर्तिकला देखाउँछन्। दार्जिलिङ पहाडका नेताहरूले दिल्लीमा केन्द्रीय नेताहरूसित फोटोसेसन गर्न कत्ति पनि अबेर गर्दैनन्। भर्खरै गोजमुमो (गोर्खा जनमुक्ति मोर्चा) अध्यक्ष, महासचिव र दार्जिलिङका सांसदले देशका प्रधानमन्त्री र गृहमन्त्रीसित चुनावको ऐन मौका पारेर फोटो खिचाइसकेका छन्।
यहाँ नेताको नीतिबारे चर्चा गरिहाले पनि उनीहरूको नियतलाई लिएर सायदै सोचिन्छ। अहिलेको अहिल्यै समय ढिला भइसक्छ अपडेटेड-समयमा। पहिले यस्तो थिएन। तर अहिले जस्तो जे छ, फेसबुक-युट्युबमै छ, समाजमा छैन। हरेक विषय नै फेसबुक फिडसम्म सीमित बनेको छ।
कुरा मात्र गर्ने नेताको कुरा सुन्ने जनता नेताको मात्रै कुरा गरिबस्छन्। तर चुनावको समयमा ब्यालेट बक्समा जवाफ दिन भने बिर्सिन्छन्। काम भनेपछि त अरूको न आफ्नो, कसैको पनि नगर्ने बेकामे आदत जनतामा पनि बसिसकेको छ। र, नै त मानिसहरू भट्याइरहन्छन्-
‘चुनाव त आउँछ,जान्छ।’
गएको साता कामतापुर लिबरेसन अर्गनाइजेसन (केएलओ) को पहलमा ठूलो संख्यामा मानिसहरू चुनावको समय सरकारलाई दबाब दिनको लागि आफ्नो स्थायी पुनर्स्थापना र स्वायत्त परिषद् गठनको मुद्दालाई अघि सार्दै सिलगढी स्थित उत्तरकन्या (मिनी शाखा सचिवालय) पुगे।
उनीहरूले दल र सरकालाई आफ्ना मुद्दाहरूबारे सचेत गराउन छाडेका छैनन्। पहाड भने गोर्खाल्यान्ड मागबारे यस्तो चेतमा छ कि उसित विचेतबाहेक अरू केही चेत बाँकी छैन। मिहिन रूपमा हेर्यो भने पहाडमा छैनको बराबरमा छन् पार्टी। नेतैनेता छन्, जो भित्र आफूआफू नै मिल्दैनन्। अनि कसरी हुन्छ त पार्टी? पार्टी भन्नू नाम मात्र छ। इतिहास खाली पढ्नका लागि मात्रै भएको छ, केही गर्नको लागि होइन। अनि भन्ने त त्यही नै हो, ‘ए चुनाव त आउँछ,जान्छ।’
प्रिय जनता जनार्दन! हरेक चोटि नेताहरूको अनेक ड्रामा हेरिरहेर हुँदैन। आफ्नै सदियौँ पुरानो ट्रमामा बसिरहेर पनि हुँदैन। जसरी लोकतन्त्र चुनावरहित हुँदैन, त्यसरी नै कुनै पनि जीवन चुनौतीरहित हुँदैन। त्यसैले ‘ए चुनाव त हो आउँछ,जान्छ’ भन्ने भाष्यलाई त्यागौँ, यसलाई गम्भीरतासित बिचारौँ। चुनावलाई सुशासन कायम गर्ने, लोकतन्त्र र समावेशिताका मूल्यलाई जोगाउनका लागि यसको भरपुर प्रयोग गरौँ।
(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
