रास्वपासँगको एकता १२ दिनमै भत्किएपछि उनेपाको अध्यक्ष बनेका कुलमान घिसिङले ‘राष्ट्रिय परिवर्तन पार्टी’सँग मिलेर निर्वाचन लड्न समानुपातिकतर्फका उम्मेदवारको नयाँ सूची बुझाउने तयारी अघि बढाएका छन्।
काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता १२ दिनमै भंग भएपछि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा)ले राष्ट्रिय परिवर्तन पार्टी (रापपा)सँग मिलेर समानुपातिकतर्फका उम्मेदवारको सूची पठाउने तयारी गरेको छ। त्यसका निम्ति यी दुई दलबीच छलफल चलिरहेको छ।
आइतबार दुबै पक्षबीच भेटघाट भएको थियो। सोमबार समानुपातिक सूचीको विषय टुंग्याउन बैठक बोलाइएको छ। उनेपाका केन्द्रीय सदस्य पवन पोख्रेल भन्छन्, "अब हामीले आयोगमा नयाँ लिस्ट बुझाउन मिल्दैन। राष्ट्रिय परिवर्तनसँग टाइअप गर्ने कुरा भइरहेको छ। यो विषय छिट्टै टुंगिन्छ।"
राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलका अनुसार समानुपातिकमा नाम फेर्ने विषयलाई उज्यालो नेपालले प्राथमिकतासाथ उठाएको छ। त्यसका निम्ति आफूहरू तयार रहेको उनले बताए। उनले उकालोसँग भने, "हाम्रो छलफल भइरहेको छ। समानुपातिकमा उहाँहरूको उम्मेदवारलाई पनि मिलाएर अघि बढाउनुपर्छ भन्ने कुरा आएको छ। त्यसो हुँदा हाम्रो उम्मेदवारले नाम फिर्ता लिएर उहाँहरूको उम्मेदवारको नाम राख्नुपर्ने हुन्छ।"
रास्वपासँग छुट्टिएपछि उनेपा र रापपबीच पछिसम्मै मिलेर जाने विषयमा पनि छलफल चलिरहेको पोर्तेल बताउँछन्। त्यसका निम्ति आफूहरू सकारात्मक रहेको अध्यक्ष पोर्तेलको भनाइ छ। उनले भने, "अहिलेसम्म समानुपातिकलाई लिएर छलफल भएको हो। हामीले त भरसक एउटै पार्टी बनाएर जानुपर्छ भनेका छौँ। यही विषयमा आज छलफल छ।"
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी दलहरूले अब नयाँ बन्द–सूची पेस गर्न नमिल्ने बताउँछन्।
"जुनबेला मिति तोकिएको थियो, त्यतिबेलै बन्द–सूची नबुझाएपछि अहिले समानुपातिक नयाँ सूची पठाउन मिल्दैन," जिसी भन्छन्, "हामीले बन्द–सूची बुझाउन १३ र १४ गतेको समय दिएका थियौँ। ती दिन ज–जसले पेस गरे, ती दल प्रक्रियामा गए। त्यतिबेला पेस नगरेर अहिले समानुपातिक सूची तयार पार्नु चाहिँ लगन पछिको पोतेजस्तै हो।"
तर बन्द–सूची बुझाएको अर्को कुनै दलसँग मिलेर नाम फेरबदल गर्न मिल्ने उनको भनाइ छ। उनी भन्छन्, "जुन पार्टीले बन्द–सूची पेस गरेको छ, त्यो पार्टीका उम्मेदवारले नाम फिर्ता लिएपछि क्लस्टर नबिग्रने गरी खाली ठाउँमा नयाँ नाम ल्याउन पाउँछन्। खाली ठाउँमा नयाँ नाम राख्न बाधा पर्दैन।"
निर्वाचन आयोगले सोमबार नै नाम फिर्ताका निम्ति उम्मेदवारले निवेदन दिनसक्ने बताएको छ। त्यसका निम्ति बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्मको समय तोकिएको छ।
निर्वाचन आयोगले गत पुस १३ र १४ गते समानुपातिकको बन्द–सूची बुझाउन समय तोकेको थियो। त्यतिबेला उज्यालो नेपाल र रास्वपाबीच एकता भयो। एकताको सम्झौता–पत्रमा रास्वपाका तर्फबाट रवि लामिछाने, उनेपाका अनुपकुमार उपाध्याय र बालेन्द्र शाहले हस्ताक्षर गरेका थिए। उक्त पत्रमा रास्वपाले अघिल्ला निर्वाचनमै प्रयोग गरेको घण्टी चिह्नमा चुनाव लड्ने सहमति पनि भयो। घिसिङ रास्वपाको उपसभापति बने। यही सहमति अनुसार आयोगमा उज्यालो नेपालको छुट्टै बन्दसूची पेस भएन।
रास्वपाले उनेपाका नाम समेत राखेर निर्वाचन आयोगमा पुस १४ गते समानुपातिक बन्द–सूची बुझाएको थियो। उक्त बन्द–सूचीमा उज्यालो नेपाल पार्टीका १४ जनाको नाम राखिएको थियो। त्यसमध्ये केही नाम क्लस्टरको शुरूमै थिए। आदिवासी जनजाति पुरुषतर्फ डा. राम लामा पहिलो नम्बरमै थिए। त्यस्तै, दलित महिलातर्फ रिमा विश्वकर्माको नाम पनि एक नम्बरमा थियो।
तर त्यसको १२ दिनमै उनेपाले रास्वपासँगको एकता कायम नराख्ने निर्णय लियो। यो निर्णयलगत्तै उपाध्यायले राजीनमा दिए। उर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीबाट राजीनामा दिइसकेका घिसिङ त्यसलगत्तै उनेपाको अध्यक्ष बने।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका तयार पारेको छ। उक्त निर्देशिका अनुसार कुनै उम्मेदवारले नाम फिर्ता लिन पनि सक्नेछन्। निर्देशिकाको दफा २२ ले बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले निर्वाचन कार्यक्रममा तोकिएको समयावधिभित्र आफ्नो नाम फिर्ता लिन चाहेमा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्छ। यस्तो अवस्थामा राजनीतिक दलले नयाँ उम्मेदवारको नाम पठाउनुपर्छ।
अहिले उनेपामै फर्किन चाहने नेताहरूले रास्वपाको बन्द–सूचीबाट नाम फिर्ता लिनुपर्छ। घण्टी चुनाव चिह्नबाटै सांसद बन्दा उनीहरूलाई रास्वपाको संसदीय दलको ह्वीप लाग्छ। त्यसकारण उनेपाको सदस्य भएर रास्वपाको सांसद बन्न व्यावहारिक रूपमा कठिनाई हुन्छ। अहिले रिमा विश्वकर्माको बारेमा पनि यही विषयलाई लिएर चर्चा भइरहेको छ। उनले बन्द–सूचीबाट नाम फिर्ता लिएकी छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
