भीडमा रहेकाहरू लहलहैमा व्यक्तिको हत्या गर्न पनि पछि पर्दैनन्। सयौँ/हजारौँ अपराधी छुटुन्, तर एक जना पनि निर्दोषले सजाय नपाओस् भन्ने सिद्धान्त दयाहीन भीडले बुझ्दैन।
घामलाई छिर्न पनि सकस हुने, दिउँसै साँझ परेजस्तो लाग्ने अँध्यारो चिसो गल्ली। होटेल नै होटेलले भरिएको बदनाम बस्ती। अग्ला घरहरू छन् पाँच-छ तल्लाका। हुनलाई यो सुकुम्वासी बस्ती होइन, तर त्यस्तै लाग्छ। यो टोलमा दिउसो मानिसको खासै भीड हुँदैन, साँझमा भने धेरै चहलपहल हुन्छ। यही बस्तीभित्र एउटा स्कुल छ टिनले छाएको। विरक्त लाग्दो, चर्पी उत्तिकै फोहर। यसै टोल र आसपासका टोलका बच्चा यहाँ पढ्छन्, तर अब्बल नम्बर ल्याएर ल्याएर कक्षा/परीक्षा पास गरेका छन्।
टोलमा दिनदहाडै चोर लाग्छ। गाँजा-चरेस खाने र सुई लगाउने बदमास केटाहरू पल्किएको ठाउँ भन्छन् कतिले यसलाई। गेट बनाइएका छन् टोल छिर्ने तीन चार गौँडामा। सुरक्षाका लागि त्यसो गरिएको हो रे! रातमा सुरक्षा दिन पाले-चौकीदारहरू पनि राखिएका छन्। तर पनि यस टोलमा चोरहरू मोबाइल चोर्छन्, किराना पसलबाट चुरोट र पराग चोर्छन्।
साँझ पर्नै लागेको थियो। अँध्यारो अझै भइसकेको थिएन। एक जना बुढो मान्छेलाई पिटपाट गरेर चोरले पैसा चोर्यो। होहल्ला हुन थालेपछि टोलका केही घरमा जडिएका साइरन बज्न थाले। छरछिमेकहरू, त्यो टोलमा पसल गरेर बसेकाहरू, घर मालिकहरू, डेरा गरेर बस्नेहरू, त्यही बाटो भएर हिँडेका बटुवाहरू सबै भेला भए। उनीहरूले चोरलाई समाइसकेका रहेछन्।
टोलमा एउटा चौबाटो छ। दक्षिण गन्तव्य जानेतर्फ एउटा सानो खाजाघर (होटेल) छ। त्यहाँ दारु, चिउरा, भुजा, चाउमिन, मम, मासु र सुकुटीलगायत अनेक परिकार पाक्छन्। राम्रो व्यापार हुन्छ। त्यही खाजा घरको आँगनमा सेकुवा पोलिन्छ, पसलेले घर अगाडि छाना निकालेका छन्। त्यही छाना अड्याउन खम्बा गाडेका छन्।
त्यही खम्बामा अहिले उनीहरूले चोरलाई बाँधेर राखेका छन्। पालैपालो त कैले एकैसाथ आफूलाई जान्ने बुझ्ने भन्ठाने टोलवासीहरू त्यस चोरलाई निर्दयतापूर्वक पिट्दै छन्। हात, खुट्टा, मुड्की, लौरी सबै त्यो चोरको ज्यानमा बजारेका छन्। चोरको अनुहार अब चिन्न नसकिने भइसकेको छ। सुनिएको छ, नीलडाम छ। रगत बगिरहेको छ। लाग्छ–अब केही बेरमा चोरले आफ्नो प्राण त्यही आँगनमा त्याग्नेवाला छ।
त्यस खाजा घरको खम्बामा हप्तैपिछे चोरहरू बाँधिन्छन्। त्यसैगरी पिटिन्छन्। हरेक दिन म त्यो बाटो हिँड्दा चोरहरूको रक्ताम्मे अनुहार अनि भीडले गरेको अमानवीय कर्तुत सम्झिन्छु र झस्किन्छु।
शायद त्यो खम्बा पनि आफूमा खुसी छैन। ती चोरहरूको चिच्याहट, रगतका छिटा र आँसुले उसलाई पनि पोल्दो हो। मेरै शरीरमा बाँधेर यस्तो नगरे हुन्थ्यो भन्दो हो। उसलाई पनि 'ट्रमा' परेको हुँदो हो। चाडबाडमा रमाइलो गर्न आएका भिडभाडको होहल्ला देख्दा समेत त्यो खम्बा 'फेरि कुनचाहिँ चोर/लुटेरालाई समाए र मेरो शरीरमा बाँध्न आए' भन्दो हो। हातखुट्टा चल्थ्यो भने त्यो आँगन छोडेर कतै पर भाग्दो हो खम्बा पनि। बिचरा खम्बा! बिचरा आँगन! तिनले अमानवीय व्यवहार सधैंजसो हेरिरहनुपर्छ।
चोरले पिटपाट गरेर कसको पैसा लुटेको रहेछ भनेर बुझ्दा त्यही टोलमा घुमिफिरी साइकलमा माछा बेच्ने कुनै तराइबासी बाजेको रहेछ। बाजेको नजिकैको मेडिकलमा उपचार चल्दै रहेछ। खुट्टामा चोट लागेको रहेछ, रगत बग्दै रहेछ। फार्मेसीकी दिदीले मलमपट्टी गर्दै थिइन्।
मरणासन्न हुने गरी चोरले पिटाइ खाइसकेपछि प्रहरीहरू आए र पिटिनेलाई आफैसँग लगेर गए। भीड एकै छिनमा हरायो। सबै आआफ्नो बाटो लागे। यो टोलमा यस्ता धेरै किस्सा छन्।
एक दिनको कुरा हो, टोलमै बिजुली पसल गरेर बस्ने हिँड्दा बाबुछोरालाई दिउसै रडले हानेर लुटेराहरूले पैसा लुटेर गएछन्। त्यस घटनाको दुई तीन दिनपछि त्यही लुटेरामध्ये एक जनाचाहिँ उनीहरूको पसलको बाटो भएर हिँड्दै गर्दा बाबुछोराले चिनेर होहल्ला गर्दै भीड जम्मा गरे। बाउ छोरा र टोलवासी सहितको भीडले त्यो लुटेरालाई त्यही खम्बामा बाँधेर न्वारान देखिको बल लगाएर पिट्दै थिए।
अघि व्याख्या गरेजस्तै हालत भएको थियो लुटेराको। लुटेरा अझै कराउँदै थियो, "जजसले मलाई पिटेका छौ, तिमीहरूको अनुहार याद राखेको छु, तिमीहरूसँग बद्ला जरुर लिन्छु।"
बाबुछोराको टाउकोमा पहिले लागेको चोटको उपचार गर्दा लगाएको मलहम पट्टी पनि अझै ताजै थियो।
किराना पसलबाट दुई तीन हजारको परागको प्याकेट चोर्दा त्यस चोरको हालत पनि त्यस्तै बनाएका थिए टोलवासीले। कसैको ज्यानै लिने गरी भिडले कुटपिट गर्दा कोही कोही भनिराखेका थिए, "ए, मान्छे मर्ला है। नपिट, कानुन हातमा नलिऊँ, प्रहरीलाई खबर गर, उनीहरूलाई बुझाइदेऊ, जे गर्छ अदालत न्यायालयले गर्छ।" अनि नपिट भन्नेहरूलाई पिटुलाझैं गर्दै, झम्टँदै ठुलोठूलो स्वरमा पिट्नेहरू जंगिँदै बोल्थे, "चोरलाई नपिटेर पूजा गरेर राख्ने त? बढी नबोल है, जान्ने नबन।"
कानुनभन्दा माथि आफूलाई ठान्दै कसैलाई सजाय दिन अघि तम्सने/लम्कनेहरूको भीड देखेर मलाई डर लाग्छ। जसलाई उनीहरू पिट्दै छन्, त्यो व्यक्ति साँच्चै चोर हो वा होइन भन्नेबारे समेत यिनीहरू सोच्दैनन्। चोर नै हो भन्ने ठहर नगरीकनै भकाभक कसैको सन्तानलाई निर्मम कुट्न थाल्छन्। व्यक्ति दोषी नै हो भने पनि कसुरदार को हो र कहाँबाट आयो, कस्तो व्यक्तिको सन्तान हो, किन चोर्यो, उसलाई चोर्नु पर्ने के मजबुरी पर्यो आदि इत्यादि पो सोधिखोजी गर्नुपर्छ। बुझ्नु पर्छ। त्यसपछि प्रहरी बोलाउनुपर्छ, अनि कानुनबमोजिम कारबाही गर्नुपर्छ।
तर कसैले कसैलाई चोर भनेर दपेट्ने बित्तिकै विवेक गुम भएको समाजका मान्छे भकाभक कुट्न थाल्छन् जो कसैलाई। अपराधभन्दा पनि कैयौँ गुणा भारी सजाय दिन कुरेर बसेका भीड मात्र छन् झैँ लाग्छ यस समाजमा। कसैलाई सुध्रिने मौका दिनसमेत तयार छैन र चाहँदैन जस्तो लाग्छ दया र विवेक हराएको समाज।
'भीडले दिने न्याय नै न्याय हो' भन्ने समाजसँग मलाई डर लाग्छ। भीडले निर्दोष वा दोषी व्यक्ति चिन्दैन। भीडमा रहेकाहरू लहलहैमा लागेर व्यक्तिको हत्या गर्न पनि पछि पर्दैनन्। सयौँ/हजारौँ अपराधी छुटुन्, तर एक जना पनि निर्दोषले सजाय नपाओस् भन्ने सिद्धान्त विवेक र दयाहीन भीडले बुझ्दैन।
…
त्यसपछि ती बाबुछोराले आफ्नो पसल हप्तौँसम्म बन्द राखे। प्रहरी चौकी, अदालत आवतजावतमा लागे लुटेराकै धम्कीले डराए!
त्यही चौबाटोबाट पूर्व जाने बाटोमा एउटा ठूलो किराना पसल छ। त्यसै पसलको छेउमा उत्तर जाने सानो गल्ली छ। त्यताबाट पश्चिम मोडियो भने पारिजात फूलको रुख र अमलाको बुट्यान भएको सानो आँगन सहितको घर देखिन्छ। त्यस घरका पर्खाल साना छन्, बच्चाहरूले पनि सहजै नाघ्न सक्ने खालका।
त्यही आँगन छेउमा भएको अर्को आँगनको कुरा हो। यस्तै १५/१६ वर्ष अगाडि हुनुपर्छ। एक जना महिला थिइन्, हरियो सारी र चोली लगाएकी। कालो कपाल भएकी। उमेरले पचास-साठीकी हुँदी हुन्।
ती महिलालाई 'बोक्सी लाग्यो' भन्दै तीस पैँतिस वर्षको युवक तिनलाई बेस्सरी भुत्ल्याउँदै र पिट्दै थियो। उ आफूलाई देउता चढेको र आफूमा अपार ईश्वरीय शक्ति रहेको दाबी गर्दै थियो केटा। उसले टाउकामा कुखुराको प्वाँख सिउरेको थियो।
ठूलो आँगनमा मानिसको भीड थियो। त्यस बेला म सानी थिएँ, डराएर भागी हालेँ। घर फर्केँ। त्यसपछि त्यहाँ के भयो थाहा छैन। आफूमा ईश्वरीय शक्ति छ भन्ने युवकले अलिक वर्षपछि आत्महत्या गर्यो भन्ने थाहा पाएँ। अहिले त्यस आँगनमा नयाँ घर बनिसकेको छ। बहिनी र साथीभाइसँग त्यो बाटो हिँड्दा त्यस घरको जगमा म अझै त्यही दृश्य देख्छु।
त्यो बेला अहिलेझैँ हर कोहीको हात हातमा मोबाइल थिएन।
रातीको समय थियो। कतैबाट एउटा युवतीको आवाज आयो, "बचाउ बचाउ।" म सुतिसकेकी थिएँ। आवाजैले बिउँझिएँ। पाँच तल्ला माथिको झ्यालबाट बाटोतर्फ हेरेँ। केही देखिनँ, आवाज मात्र सुनेँ। "मलाई पिट्यो, बेस्सरी पिट्यो, मेरो मुख फुटाइदियो, रगत आयो" भन्दै रोएको आवाज मात्र आइरह्यो। वरपरका मान्छे पनि आआफ्नो घरको झ्यालबाट आवाज कताबाट आयो भनेर ठम्याउन खोज्दै थिए। आतपमा परेकी असहायलाई सहयोग गर्नुपर्छ भनेर बाहिर निस्कने भने कोही पनि भएनन्।
एकै छिनमा त्यो आवाज बन्द भयो।
बिहान उठ्दा काकी र आमाले कुरा गरेको सुनेँ, "पल्लो छेउ निलो रङको होटेल भएको घरको घटना हो हिजोको। वरपरका मानिस उठ्नु अघि नै घर आँगन र बरन्डा सबै सफा गरे तिनीहरूले। पानी खन्याए र खुन सफा गरे होलान्। बिचरी! मुख फुट्यो, ऐया, मेरो रगत आयो भन्दै थिई, कता गई होलि! जिउँदै छे कि पापीहरूले मारे होलान्! बाँचेकी नै छे भने पनि त्यसले अबका केही दिन कसरी खाना खाँदी हो?"
…
हाम्रा वस्ति र समाजमा विवेक, दया र करुणा कहिले जाग्ला?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
