भृकुटीमण्डपले ओलीलाई एमालेको अध्यक्षमा फेरि ल्याएन भने त्यो अनर्थ हुनेछ, ल्यायो नै भने पनि ओली अब ‘घिस्रने बाघ’मा सीमित हुनेछन्। आउँदो निर्वाचनमा अझ यिनको ‘दक्षरूप’ सतहमा प्रकट हुनेछ।
ब्रह्माका पुत्रसमेत मानिने दक्ष प्रजापतिको बिथोलिएको महायज्ञको प्रसंग 'स्वस्थानी व्रतकथा'मा आउँछ। यसको मूलकथा शिवपुराणमा छ। काठमाडौँ तथा पहाडी क्षेत्रका खस आर्यहरूले स्वस्थानी व्रतकथा माघ महिनाभर वाचन गर्ने गर्छन्।
प्रजापतिमध्ये एक हुन् दक्ष प्रजापति। कथाअनुसार विष्णुले उहिले छल गरेर शिवलाई दक्ष प्रजापतिकी छोरी सतीदेवी (यिनै सतीदेवी अर्को जन्ममा हिमालय पर्वतकी छोरी-पार्वतीको रूपमा जन्मिइन्) को विवाह गराउन भूमिका खेले। पहिले सामान्य सन्यासीको स्वरूपमा रहेर सतीदेवी भित्र्याएका शिवको वास्तविकता थाहा पाएपछि भने सती खुसीसाथ उनीसँग रहन थालिन्। (कतिपय कथाले सती स्वयंले तपस्या गरेर शिवलाई पति पाएको पनि भन्छन्।)
आफ्ना ज्वाइँ बन्न पुगेका शिवलाई अयोग्य, असभ्य, नांगो, श्मशानवासी, भस्मधारी, भूत–प्रेतसँग बस्ने र जातबाहिरको ठान्थे दक्ष प्रजापति। जात र गोत्रैसमेत पहिचान नभएकासँग विष्णुले कपटपूर्वक विवाह गराइदिएकोमा दक्ष प्रजापति र उनकी पत्नी विरणी खुसी थिएनन्। एक समय दक्ष प्रजापतिले विशाल यज्ञ गर्न थाले, जसमा सबै आफन्त र चिनिजानेकालाई बोलाए। तेत्तीस कोटीलगायत सबै देवता, नाग, दश दिक्पाल, अप्सरा, यक्ष, गन्धर्व, दैत्य, ऋषिहरू निम्त्याइए। तर जानीजानी ज्वाइँ शिव र छोरी सतीदेवीलाई भने बोलाएनन्। यस कुराले सतीदेवी धेरै दुखी भइन्। निम्ता नपाए पनि शिवलाई नबताईकन खुसुक्क माइत पुगिन् र आफूहरूलाई मात्रै ननिम्त्याएको भन्दै माइतीसँग चित्त दुखाइन्।
उत्तरमा दक्षप्रजापतिले "तेरो हामीलाई धेरै माया छ, तर तँलाई बोलाए तेरो लोग्ने पनि आउला भन्ने लाग्यो। फेरि मसान र भूतप्रेतमा बस्ने तेरो लोग्ने भोलानाथ यत्रा देवता, यक्ष, गन्धर्व, किन्नर, उर्वशीहरूमाझ सुहाउँदैन। तेरो पति के ढंगको छ र? बाघको छाला बेरेर हिँड्छ, खरानी घसेर हिँड्छ। विष भाङ र धतुरो खान्छ" भन्दै शिवको निन्दा गरे। पतिको निन्दा सुन्न नसकेर सतीदेवीले यज्ञकुण्डमा हाम फालेर आफ्नो देह त्याग गरिन्। आफ्नी प्राणप्यारी सतीदेवीले आत्महत्या गरेको कुरा सुनेर महादेव अति क्रुद्ध भए। उनले दक्षको यज्ञ जसरी पनि विफल बनाएरै छाड्ने अठोट गरे र आफ्ना कपालका जटा भुईँमा पछार्दै त्यसबाट डरलाग्दा दुई भीमकाय 'विध्वंसकारी' हरू सिर्जना गरे। ती थिए–वीरभद्र र महाकाली।
यी दुईसहित शिवगणले दक्षको यज्ञमा हाहाकार मच्चाए। यज्ञमा सहभागीहरूको टाउको काट्दै तिनको रगत पिउन थाले। तिनले मच्चाएको आतंकका कारण भागदौड चल्दा यज्ञस्थल कुहिरीमण्डल भयो। बिना बादल मेघ गर्जन थाल्यो। कतै ती दुईले आगो झोसे। सहभागी देवतालगायत सबै यज्ञ छाडेर त्राहिमाम् हुँदै भागे। दक्षको सेनामा हाहाकार मच्चियो। अन्ततः दक्ष प्रजापति स्वयंकै टाउको काटियो। स्वस्थानीमा वीरभद्र र महाकालीले गरेको नरसंहारको विवरण कहालीलाग्दो छ।
झन्डै त्यस्तै नियति र नरसंहार हामीले भोग्यौँ भदौ २४ मा। देशभर सार्वजनिकदेखि निजी सम्पत्ति स्वयं हवन कुण्डमा बदलिए। जिउँदा मान्छे डढे, डढाइए। शिवसेनाले स्वस्थानीमा दक्षहरूका प्रजापति (प्रजाको मालिक) को टाउको गिँड्यो, नेपाली सेनाले देशका सबै महत्त्वपूर्ण संरचना छाडेर तत्कालिन् प्रधानमन्त्रीलगायत निशानामा परेका कतिपय नेताको ज्यानमात्र जोगायो। देशका अनेकन् महत्त्वपूर्ण संरचना पोलिए, गिँडिए।
अहिलेसम्म कैयौँ संरचना पुनः सञ्चालनमा आउन सकेका छैनन्। ध्वंस, हुलचाल र विध्वंसको त्यस घट्ना जोसुकैलाई विचलित बनाउने खालको थियो। देशभर धुवाँ आइरहेको, संरचना डढिरहेका, बलियाबाङ्गा र लुटेराहरूको मनपरी चलिरहेको, कानून र न्याय व्यवस्था झन्डै शून्यमा झरेको त्यो महामारीको अवस्था! त्राहीत्राहीको क्षण!
सर्वत्र आगजानी र विध्वंसका घटना हुन थालेपछि, ज्यानै तलमाथि हुने अवस्थामा मात्रै नेपाल 'प्रजापति' बालुवाटार छाड्न विवश भएका थिए। केही समयको ढिलोचाँडो हुन्थ्यो भने स्वस्थानीकै अनर्थ हुन सक्ने सम्भावना धेरै थियो त्यहाँ। यज्ञनाश र स्वयं दक्ष प्रजापतिको ज्यान जानूको मूल कारक दक्ष प्रजापति थिए। तिनको अविवेक र अहंकार थियो। अनेकन् कारणहरू सहायक भए पनि मूल रूपमा केपी शर्मा ओलीको अहंकार र छुद्रताले सिर्जना गरेको थियो त्यो सर्वनाश।
अहंकार, अपमान र निन्दामा कहलिएका ओलीको रजगजका अन्तिम दिन सम्झौँ न! कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको गाडीले २१ भदौको बिहान ललितपुरको हरिसिद्धिमा एक बालिकालाई ठक्कर दिएर भाग्यो। मगर एमालेको विधान महाधिवेशनस्थल (गोदावरी सम्मेलन केन्द्र) जाँदै थिए। सम्मेलन केन्द्र त्यसको तीन दिनपछि जेनजी विध्वंसमा ध्वस्त पारियो, त्यस विधान महाधिवेशनका मूलभूत प्रावधान भृकुटीमण्डप महाधिवेशनमा धुजाधुजा पारियो।
सामान्य मानवीय विवेकसमेत नदेखाएर गाडी भाग्दा तत्कालीन प्रम ओलीले उल्टै घटनाको ढाकछोप गरे। 'सामान्य छोएको' भन्दै पन्छिए, गलत कर्म गर्ने आफ्ना पार्टीका मन्त्रीलाई जिम्मेवार बनाउनुको साटो उकासे। एकपछि अर्को भ्रष्टाचार प्रकरण सार्वजनिक भइरहँदा ओली उल्टै पार्टी र पार्टी इतरकाहरूको निन्दा र गालीगलौजमा कसिएर लागिरहे। यो टिप्पणी लेख्दै गर्दा उनका स्वकीय सचिव र यति समूह बीचको साढे चार करोड जतिको उपहारको विषय मिडियामा आएको छ। यस्ता धेरै हर्कतहरूबीच पनि यी ओलीमा थोरै पनि विवेक र विनम्रता विरलै देखियो। त्यसैले त लेखक सिकेलाल 'ओली-अहंकार'बारे एउटा ग्रन्थ नै तयार गर्न सकिने बताइरहेका छन्।
हाम्रोजस्तो समाज शक्तिको पुजारी छ, तर शक्तिको पुजारी हुनु दूरदर्शी हुनु पक्कै होइन। अनेकन् उपायबाट राज्य नै कब्जा गरेर बसिरहेको एउटा व्यक्ति कति निरीह हुनुपर्छ भन्ने सत्य भदौ २४ पछि तिनै ओलीको झन्डै दुई हप्ताको गुप्तवासले नै थाहा हुन्छ। घर जलेर अन्यत्र सहायता लिन गएका ओलीलगायत दर्जनौँको 'शरणार्थी' पहिचानले थाहा हुन्छ। तर यति छिटो ओली र ओली सेवकहरूले जेनजी प्रलयको त्यो वियोग भुलेका छन् कि उनीहरू ठान्दैछन्–यी 'त्रिलोक विजयी ओली' अब फेरि पहिलाझैँ राजपाटमा फर्कनेछन्, फेरि ओलीले पस्केको थालमा महमा चोबेर सुनका डल्ला खान पाइएला।
ओली फेरि दिग्विजयी बन्ने योजनामा छन्। त्यसका लागि महाधिवेशन नामको प्रपञ्च सम्पन्न गरेका छन्। यो महाधिवेशनलाई कतिपयले 'वासिङ मेसिन'को नाम दिए। त्यस वासिङ मेसिनबाट वैधता प्राप्त गर्दै अनेकन् तिकडममार्फत पुनः राजपाट सम्हाल्छु भन्ने यिनलाई लागेको होला। तर स्वस्थानीकै हविगत नझेले पनि भदौ २४ ओलीको नैतिक पतनको दिन हो। बानेश्वर हत्याकाण्डको नैतिक जिम्मेवार मूल रूपमा ओली नै हुन्। ओली पार्टीको अध्यक्षमा यस पटक मात्र नभएर अर्कै पटक जितेछन् भने पनि भदौ २४ पछिका ओली कतैबाट पनि क्षमायोग्य होइनन्। देशले ठूलो क्षति त बेहोर्यो नै, ओलीको सार्वजनिक र नैतिक वैधता नामेट भएको दिन हो त्यो।
दक्ष प्रजापतिको टाउको काटिएपछि तिनकी पत्नी विरणीले शिवसमक्ष गएर मरिसकेका प्रजापतिलाई फेरि बचाइदिन (ब्युँताइदिन) अनुरोध गर्दै बिलौना गरिन्। करुणामय थिए शिव, प्रजापतिलाई ब्युँताइदिने बताए। तर दक्षको टाउको त यज्ञकुण्डमा होमिइसकेको थियो। तब, नजिकै उपलब्ध बोकाको टाउको जोडिदिए शिवजीले। त्यसैमा सन्तोष मानिन् विरणीले। उपरान्त बोकोको विवेक बोकेका (मान्छेका तुलनामा बोकाबाख्रालगायत पशुपक्षी निमुखा-निर्दोष हुन्, तिनको यहाँ मजाक उडाउन खोजिएको होइन) दक्षप्रजापतिसँग सम्भवतः गुनासो गर्ने सामर्थ्य र विवेक रहेन होला।
दोस्रो जीवन पाएका दक्ष प्रजापति पुराना दक्ष प्रजापति थिएनन्।
केपी शर्मा ओलीको हकमा पनि त्यही हो, भदौ २४ पछिका ओली पहिलेका ओली होइनन्। भदौ २४ को विध्वंस-यज्ञमा यिनको सत्त्व खरानी भएको छ। त्यस दिन उनको 'दक्षप्रजातिकरण' भयो भन्दा हुन्छ। जति नै चिच्याए पनि अब ओली पुरानै साख र सामर्थ्यमा छैनन् र हुने छैनन्। भृकुटीमण्डपले ओलीलाई एमालेको अध्यक्षमा फेरि ल्याएन भने त्यो अनर्थ हुनेछ, ल्यायो नै भने पनि ओली अब 'घिस्रने बाघ'मा सीमित हुनेछन्। आउँदो आम चुनावले अझ यिनको 'दक्षरूप' सतहमा प्रकट हुनेछ।
(उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

Last time it was "Olitics-politics", now it is "Politics-Olitics".
Narayan Manandhar
7 months ago