Tuesday, May 14, 2024

-->

जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने कुरा सकारात्मक : सुनिल केसी

बैंकर्स संघका अध्यक्ष सुनिल केसीले चालु पुँजी कर्जा, शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने कुरा सकारात्मक रहेको बताएका छन्।

जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने कुरा सकारात्मक  सुनिल केसी

काठमाडौँ– वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीति सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।

आइतबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिकपश्चात् यस्तो प्रतिक्रिया दिएका हुन्। विश्व अर्थतन्त्रमा देखिएका समस्या अझै बाँकी रहेको र नेपाली अर्थतन्त्रमा पनि समस्या चुनौती कायम रहेकाले असामान्य अवस्थामा आएको मौद्रिक नीति सन्तुलन कायम गर्ने गरी आएको बताए।

उनले चालु पुँजी कर्जालाई पुनरावलोकन गर्ने, शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने कुरा सकारात्मक रहेको बताए।

“नेपालमा पनि आर्थिक नीतिमा समस्या हुँदा असामान्य अवस्थामा आएको मौद्रिक नीति भएकाले यसलाई  सन्तुलन खालको मौद्रिक नीतिका रूपमा हेरका छौँ” न्युज एजेन्सी नेपालसँग उनले भने, “चालु पुँजी कर्जालाई पुनरावलोकन गर्ने, शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने कुरा सकारात्मक छन्।”

उनले पछिल्लो समय चालु पुँजीकर्जा मार्गदर्शनको कारणले कर्जा जान समस्या भएको बेलामा परिवर्तन गर्ने कुराले कर्जा प्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा लिएको बताए। उनले केवाइसीलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने, बैंकिङ कसुरलाई सशक्त बनाएर लैजाने र कर्जा लगानीको फ्रेमवर्क बनाउने कुराले बैंकिङ क्षेत्रलाई सजिलो बनाउने बताए।

उनले निजी क्षेत्रमा कर्जा प्रवाह ११ प्रतिशतले वृद्धि गर्ने लक्ष्य पूरा हुने अवस्थामा रहेको बताए। उनले बैंकिङ नीतिगत दरलाई ६.५ प्रतिशतमा ल्याउँदा बैंकहरूको स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता ब्याजदरको कम हुने भएकाले बैंकको लागत कम हुने बताए। 

उनले आर्थिक क्षेत्रलाई चलायमान बनाउनु पर्ने चुनौतीलाई सहज बनाउने अपेक्षा रहेको बताए। “आर्थिक क्षेत्रलाई चलायमान बनाउनु पर्ने चुनौती पनि छ। बाँकी कार्यविधिहरू बनाउँदै जाँदा थाहा हुँदै जानेछ,” उनले भने।


सम्बन्धित सामग्री