Friday, May 03, 2024

-->

लगानीकर्तालाई निराश पार्दै किन खुम्चिइरहेको छ शेयर बजार?

मौद्रिक नीति सार्वजनिक भएपछिको ८ कारोबार दिनमध्ये ६ दिन शेयर बजार घटेको छ। शेयर लगानीमैत्री नीतिहरू नआउँदासम्म बजार पुरानै लयमा फर्किन नसक्ने पुँजीबजारका लगानीकर्ताहरू बताउँछन्।

लगानीकर्तालाई निराश पार्दै किन खुम्चिइरहेको छ शेयर बजार

काठमाडौँ– मौद्रिक नीति सार्वजनिक भएयता बुधबारसम्ममा अपवादका दुई दिन बाहेक शेयरबजार बढ्नुको सट्टा निरन्तर घटिरहेको छ। त्यसअघि पनि बढ्न नसकेको बजार नयाँ मौद्रिक नीति आएसँगै उकालो लाग्ने आशामा लगानीकर्ताहरू प्रतीक्षारत थिए।

गत साउन ७ गते मौद्रिक नीति सार्वजनिक भएपछिको ८ कारोबार दिनमध्ये ६ दिन शेयर बजार घटेको छ भने दुई दिन मात्रै सामान्य अंकले बढ्यो। नेपाल स्टक एक्सचेन्जका अनुसार यो अवधिमा शेयर बजार परिसूचक नेप्से १४०.३४ अंकले घटिसकेको छ। मंगलबार २८.५९ अंकले घटेर २०७७.५९ बिन्दुमा कायम भएको बजार बुधबार कारोबार बन्द हुँदासम्म ९.२५ अंकले बढेर २०८६.८४ बिन्दुमा कायम भएको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर धितो कर्जाको जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको थियो। उक्त वाक्यले मौद्रिकनीति सार्वजनिक भएको दिन शेयर बजार ६३.२४ अंकले बढेर २२२७.१६ बिन्दुमा बन्द भयो। त्यस दिन जोखिमभार १५० प्रतिशतबाट सिधै १०० प्रतिशतमा झर्छ भन्ने लगानीकर्ताको अपेक्षा थियो। 

यद्यपि शेयर बजार बन्द भएको ३० मिनेटपछि मौद्रिक नीतिबारेको पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघिको २५ लाखको सीमालाई दोब्बर बढाउँदै ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिमभार मात्र १०० प्रतिशतमा सीमित हुने व्यवस्था गरिने स्पष्ट पारे।

“शेयर धितो कर्जामा २५ लाखको थे्रसहोल्डलाई बढाएर ५० लाख पुर्‍याउने गरी जोखिमभार तय गरिएको छ,सबै कर्जाको १५० बाट १०० मा आउन खोजेकोे भनेर नझुक्किनुहोला। हामी स्पष्ट छौँ,” गभर्नर अधिकारीले भनेका थिए जुन लगानीकर्ताको अपेक्षाविपरीत थियो। त्यसपछि भएका ७ कारोबार दिनमध्ये साउन १३ गते मात्रै बजार परिसूचक सामान्य अंकले बढेको छ। अरू ६ दिनमा झण्डै १५० अंकले घटेको छ।

यसअघि शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिमभार बैंकहरूले २५ लाख रुपैयाँसम्मको कर्जामा १०० प्रतिशत र सोभन्दा माथिको हकमा १५० प्रतिशत राख्नुपर्ने व्यवस्था थियो।

जोखिमभार बढी हुनु भनेको त्यसक्षेत्रमा कर्जा लगानी गर्न बैंकहरूलाई निरुत्साहित गरेको अर्थमा बुझिन्छ। जोखिम भार बढी भएको क्षेत्रमा बैंकका शेयरधनीबाट व्यहोरिने पुँजी कोष थप चाहिने भएकाले बैंकहरूले कर्जा लगानी गर्न नचाहने बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल बताउँछन्। 

“अहिलेको प्रचलित व्यवस्थाअनुसार १०० प्रतिशत जोखिमभार हुँदा ऋणीले लिने १ करोड रुपैयाँ शेयर कर्जामा बैंकका शेयरधनीको पैसाबाट ११ प्रतिशत पुँजी राख्नुपर्छ। सामान्य हिसाबले पनि त्यस अवस्थामा बैंकले ११ लाख रुपैयाँ आफ्नो पैसा लगानी गरे पुग्यो। जोखिमभार बढेर १५० प्रतिशत हुँदा त्यही हिसाबले १ करोड ५० लाख रुपैयाँ कर्जा दिँदा चाहिए बराबरको रकम पुँजी कोषमा राख्नुपर्ने भयो,” दाहाल भन्छन्, “त्यो भनेको १६ लाख ५० हजार रुपैयाँ हो। यसमा बैंकका शेयरधनीलाई लगानीबाट उत्तिकै फाइदाका लागि बढी पुँजी लगानी गर्नुपर्ने भयो। त्यसो हुँदा कम जोखिम भार हुने क्षेत्रमा नै बैंकहरूले लगानी गर्छन्।”

कर्जा जोखिमभार के हो? 
‘पुँजी पर्याप्तता फ्रेमवर्क २०१५’ अनुसार नेपाल राष्ट्र बैंकले विभिन्न क्षेत्रमा लगानी हुने कर्जाको जोखिम कति प्रतिशत छ भनेर निकाल्ने आधार तय गरिदिएको छ। केन्द्रीय बैंकले विभिन्न क्षेत्रमा जाने कर्जा जोखिम वर्गीकरण गरेर उक्त वर्गमा पर्ने कर्जामा जोखिमभारको व्यवस्था गरिदिएको राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल बताउँछन्। 

उनका अनुसार ट्रेजरी बिल र सरकारी ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीमा जोखिमभार शून्य हुन्छ। अर्थात् यस्ता लगानी जोखिमरहित हुन्छन्। तर कतिपय क्षेत्रको लगानीमा बढी जोखिम हुने हुँदा वर्गीकरणमा तिनीहरूको जोखिमभार पनि बढी नै तोकिएको हुन्छ।

शेयर धितो कर्जा लगानी गर्दा बैंकहरूले ११ प्रतिशत पुँजी पर्याप्तता अनुपात (पुँजीकोष) कायम गर्नुपर्छ। यसका आधारमा जोखिमभार १०० प्रतिशत हुँदा बैँकहरूले १ करोडको शेयर कर्जा दिँदा त्यसको ११ प्रतिशत बैँकका शेयरधनीको लगानी रकम पूँजी कोषमा राख्नुपर्छ। तर जोखिम भार १५० प्रतिशत भएमा बढेको अनुपातमा ११ प्रतिशत पुर्‍याएर पूँजीकोषमा राख्नुपर्छ जुन रकम बैंकका शेयरधनीको लगानीबाट राखिन्छ। १ करोडको शेयर कर्जामा जोखिमभार १५० प्रतिशत हुँदा पुँजीकोषमा ११ प्रतिशतले हुन आउने रकम राख्नुपर्ने भयो। यसले बैंकलाई जोखिमभार बढी भएको भन्दा कम भएको कर्जा लगानीतर्फ प्रोत्साहन गर्छ। 

राष्ट्र बैंकले शेयरमा जाने ठूलो कर्जा लगानीलाई निरुत्साहित गर्न २०७९ असारबाट लागू हुने गरी  शेयर कर्जाको जोखिमभार पनि १०० प्रतिशत बाट बढाएर १५० प्रतिशत पुर्‍याएको थियो। जोखिभार बढाउँदा शेयरमा कर्जा लगानी स्वतः निरुत्साहित हुने बैंकर्स संघका पूर्वअध्यक्ष दाहाल बताउँछन्। घरकर्जामा ६० प्रतिशतभन्दा कम जोखिमभार भएको हुँदा बैंकहरूले यसमा लगानी गर्दा बढी फाइदा हुने उनको भनाइ छ। 

पछिल्लो मौद्रिक नीतिमा गरिएको व्यवस्थाले ५० लाखसम्मको शेयर धितो कर्जा लगानीमा प्रोत्साहन गरे पनि समग्र बजारलाई भने राहत नपुग्ने लगानीकर्ताको भनाइ छ। बैंकहरूले कुनै पनि क्षेत्रमा ऋणको जोखिम वर्गीकरण गरेर नै लगानी गर्छन्। लगानीको क्षेत्रअनुसार कर्जाको जोखिमभार फरक फरक हुन्छन्। जस्तो कि शेयर, घरजग्गा र सवारी कर्जाको जोखिमभार एकै हुँदैन। 

निरन्तर निराश लगानीकर्ता
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल मौद्रिक नीतिमार्फत लगानीको माग सम्बोधन नहुँदा बजार घट्दो क्रममा रहेको बताउँछिन्। “शेयर धितो कर्जाको जोखिमभार १५० बाट  सिधै १०० झार्नुपर्छ भन्ने माग थियो। अर्को कुरा, शेयर कर्जामा १२ करोडको सीमा पनि हटाइएन,” उनी भन्छिन्, “मौद्रिक नीतिले माग सम्बोधन गर्न नसकेर नै बजार डाउन भएको हो।”

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जामा लगाएको कुल १२ करोडको सीमा भने यथावत् राख्यो।

२०७९/८० को मौद्रिक नीतिमार्फत एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड मात्र लिन पाउने व्यवस्था हटाउँदै एक बैंकबाट १२ करोडको सीमासम्म कर्जा लिनसक्ने व्यवस्था गरेको थियो। यो नीतिलाई चालु आर्थिक वर्ष पनि निरन्तरता दिइएको छ। 

शेयर लगानीमैत्री नीतिहरू नआउँदासम्म बजार पुरानै लयमा फर्किन नसक्ने पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेल बताउँछिन्। “शेयर बजार दुई वर्षदेखि लगातार ओरालो लागेको छ। मुख्य गरी राष्ट्र बैंकका पोलिसीहरू शेयर बजारप्रति सकरात्मक हुने खालका छैनन्, नीतिहरू शेयर बजारमैत्री आउनु पर्‍यो। बैंकको ब्याजदर पनि घट्नुपर्‍यो। अनि सबै खालको शेयर धितोको जोखिमभार १०० प्रतिशत कायम भएमा मात्र बजार बढ्न सक्छ,” पोखरेल भन्छिन्। 

शेयर बजारका पुराना एवं ठूला लगानीकर्ता छोटेलाल रौनियार पनि लगानीकर्ताले चाहेजस्तो नीति नआउँदा बजार बढ्न नसकेको बताउँछन्। “बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) सहज छ। सोही कारण ब्याजदर घटाउने ठोस नीति आउनुपथ्र्यो तर आएन,” रौनियारले भने।

मौद्रिक नीति लगानीकर्ताहरूको अपेक्षाअनुसार नआए पनि बजार प्रतिकूल पार्ने खालका व्यवस्था भने नथपिएको उनको भनाइ छ। “हामीले लगानीको हिसाबले नै शेयर किनेका हौँ। मौद्रिक नीति अलिकति चित्तबुझ्दो नआउँदैमा शेयर बेचिहाल्नुपर्छ जस्तो मलाई लाग्दैन,” उनी भन्छन्, “यो समय शेयर बेच्नुपर्ने होइन, राम्रा कम्पनी छानेर किन्दै जानुपर्ने हो। खराब कम्पनीलाई राम्रो कम्पनीमा बदल्ने समय हो।”

बैंकहरूको ब्याजदर घट्नेक्रममा रहेकाले शेयर बजार बढ्ने आशा गर्न सकिने पनि उनी बताउँछन्। “बैंकहरूको बेसरेट(आधारदर) घट्नेक्रममा रहेकाले ब्याजदर घट्दैछ। अरू सुधारको कार्यक्रम पनि हुँदैछ त्यसैले शेयर बजारमा अहिले धैर्यताका साथ लगानी गर्ने समय हो,” उनले भने

पछिल्लो एक साताको अवधिमा मात्र लगानीकर्ताहरूको सम्पत्तिको मूल्य २ खर्ब १९ अर्ब २६ करोड रुपैयाँले घटेको छ। मंगलबार शेयर बजारमा सूचीकृत कम्पनीहरूको शेयरको कुल मूल्य ३० खर्ब ५३ अर्ब ६२ करोड हाराहारी छ। कारोबार रकम पनि हाल मुस्किलले २ अर्ब रुपैयाँ पुगेको छ।

२०७८ भदौमा करिब ३ हजार २०० को नजिक पुगेको नेप्से घटेर १ हजार ८०० बिन्दुमा समेत झरेको थियो। त्यसयता शेयरबजारमा उतारचढाव आउने क्रम जारी नै छ। यो बीचमा बजार १ हजार ८०० सय  बिन्दु र २ हजार २०० बिन्दुको बीचमा नै घट्नेबढ्ने भइरहेको छ।

‘लगानीकर्ताको मनोविज्ञानले बजारमा उतारचढाव’
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीका अनुसार बजार घट्नु अथवा बढ्नुमा कम्पनीहरूको वित्तीय अवस्था लगायतका विषयले मात्र काम गर्दैनन्। “एउटा ठोस कारण हुन्छ जुन देख्न सकिन्छ। कम्पनीहरूको आम्दानी बढेको हुन्छ। त्योअनुसारको लाभांश पाइन्छ भन्ने हिसाबले लगानीकर्ताहरूले शेयरमा बढीभन्दा बढी मूल्य हाल्न तयार हुन्छन्,” पराजुली भन्छन्, “अर्को मनोवैज्ञानिक कारण हुन्छ। कम्पनीले नाफा नदिँदा पनि भोलि बजार बढ्छ भन्ने लगानीकर्ताको अपेक्षाले नै बढाइदिन्छ।”

शेयर बजारमा सट्टेबाजीले पनि काम गर्ने पराजुली बताउँछन्। उनी भन्छन्, “आज कुनै कम्पनीको मूल्य ५०० रुपैयाँ चलिआएको छ, तर त्यति पर्दैन भन्न थाहा छ। तापनि आज ५०० मा किनेर केही दिनमै ६०० रुैयाँमा बेच्न सक्छु भन्ने विश्वास लगानीकर्तामा हुन्छ। त्यो सट्टेबाजी हो। यो कारणले गर्दा पनि बजार बढ्ने हुन्छ।”

अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पनि स्पष्ट देखिने सुधार नआएसम्म शेयर बजार मात्र  बढ्न नसक्ने पराजुली ठान्छन्। “शेयर बढ्नलाई ठोस कुराहरू आउनुपर्छ। सँगसँगै उत्पादन क्षेत्र र घरजग्गाको कारोबार पनि बढेमा शेयर बजार बढ्न सक्छ,” उनी भन्छन्।


सम्बन्धित सामग्री