यो साता उकालोमा एनपीएलमा ब्रायन लारादेखि कमेन्टेटरसम्मलाई कर छलेर विदेशमा भुक्तानी,दशकदेखि नसुल्झिएको औषधिको मूल्य निर्धारण,३०० बिघा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने खेलसहितका खबर चर्चामा रहे।
गत मंसिर–पुसमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा विश्व क्रिकेटका हस्ती, वेस्ट इन्डिजका पूर्वक्रिकेटर ब्रायन लाराको उपस्थिति प्रमुखमध्ये आकर्षण थियो। नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको ‘ब्रान्ड भ्याल्यू’ बढाउन र आफूले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइजी प्रतियोगितालाई अन्तर्राष्ट्रियकरण गर्न क्रिकेटप्रेमीलाई एकखाले ‘सरप्राइज’ दिँदै लारालाई नेपाल ल्याएको थियो।
क्यानको अफर स्वीकार गरेर प्रतियोगिताको बीचतिर छोरीसहित आएका लारा चार दिन र तीन रात नेपालमा बसे। एनपीएलका खेल हेरे, क्रिकेट प्रवर्द्धनसँग जोडिएका केही गतिविधिमा पनि सहभागी भए। लारालाई नेपाल ल्याउन क्यानले कति रकम खर्च गर्यो अहिलेसम्म विवरण सार्वजनिक भएको छैन।
एनपीएल परिचालन परिषद् संयोजकसमेत रहेका क्यानका सचिव पारस खड्काको भनाइमा लारालाई नेपाल ल्याउँदा उनी र छोरीको दुईतर्फी हवाई भाडा, आवास र खानपानको व्यवस्था गरिएको थियो। यसबाहेक छुट्टै केही रकम पनि दिइएको थियो। नेपाल प्रिमियर लिगको ‘ब्रान्ड भ्याल्यू’ बढाउन ल्याइएका क्रिकेट हस्ती ब्रायन लारादेखि विदेशी कमेन्टेटरलाई क्यानले विदेशी मुद्रामा गरेको भुक्तानी राष्ट्र बैंकको जानकारीबेगर विदेशमै गरेको भेटिएको छ। यसबारे विस्तृतमा पढ्नुहोस् आदित्य नेपालको यो रिपोर्ट : एनपीएलमा आएका ब्रायन लारादेखि कमेन्टेटरसम्मलाई कर छलेर विदेशमा भुक्तानी
टीकापुर बहुमुखी क्याम्पसको सरकारी जग्गा कब्जा र एकापसमा किनबेच गरेर पक्की भवन बनाएकाहरूलाई त्यही जग्गाको लालपुर्जा दिने आश्वासनसहित भूमि आयोग र नगरपालिकाले ह्वार्ह्वार्ती निस्सा बाँडेका समाचार पनि चर्चाकै केन्द्रमा रह्यो।
माओवादी नेता–कार्यकर्ताको अगुवाइमा २०६३ जेठ ११ देखि विभिन्न मितिमा आफूलाई भूमिहीन भन्नेहरूले क्याम्पसको ३०० बिघा जग्गा कब्जा गरेका थिए। अरू जिल्लामा घरजग्गा भएकाहरूले पनि माओवादी नेता–कार्यकर्ताको आडमा यहाँ आएर जग्गा कब्जा गरे। त्यसमध्ये कतिपयले यहाँ आफै घर बनाए भने कैयौँले त्यो जग्गा अरूलाई बेचेर आर्थिक लाभ उठाए।
बस्तीमा बस्ने र जग्गा किनबेच गर्नेहरूबाट कमिसनका नाममा माओवादीसहित पछिल्लो समय अरू दलका नेता–कार्यकर्ताले पनि लाभ उठाइरहेका छन्। उकालोमा गत असार ३ गते यसबारे विस्तृत खोज रिपोर्ट प्रकाशित भएको छ।
क्याम्पसको नाममा रहेको यो सरकारी जग्गाको जंगल फडानी गरेर र पछि किनेर बसेकाहरूलाई समेत आयोगले निस्सा बाँडेको भेटिएको छ। सरकारी जग्गा कब्जा गरेर बसेका बस्तीलाई कसरी बाँडियो निस्सा? यसबारे थप बुझ्न पढ्नुहोस् उकालोमा प्रकाशित दिपा दाहालको रिपोर्ट : ३०० बिघा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने खेल, अगुवाइ भूमि आयोग र नगरपालिकाकै
साताका प्रमुख हेडलाइन:
देश-समाज
१६–१७ वर्षे कलिलाहरू ‘तल्लो बाटो’मा लामबद्ध, अभिभावक नै मरिहत्ते गर्छन्
रुकुमका गाउँघरबाट १८ वर्ष नपुगेका कलिलाहरू पनि दलालको साथ लागेर तल्लो बाटो अमेरिका पुगेका छन्। ‘भविष्य बनाउने’ भन्दै अभिभावक नै उनीहरूलाई अमेरिका पठाउन मरिहत्ते गर्छन्।
दशकदेखि नसुल्झिएको औषधिको मूल्य निर्धारण, नवीकरणका नाममा मनोमानी
वर्षौंदेखि औषधिको मूल्य निर्धारण प्रणाली बिथोलिँदा नवीकरणका नाममा औषधि व्यवस्था विभागका महानिर्देशकले अपारदर्शी र मनोमानी रूपमा मूल्य घटबढ गराइरहेका छन्, जसको मारमा छन् बिरामी।
संसद् पुगिसकेका विधेयकमा सरकारकै अड्चन
संसदीय समितिले मेहनत गरेर विधेयक टुंग्याएको हुन्छ, सरकारले अन्तिममा फिर्ता लिइदिन्छ। विधेयक फिर्ता लिन पाउने सरकारको अधिकार हो, तर यसले संसद्को समय, लगानी र मेहनत शून्यमा पुर्याइदिन्छ।
प्लास्टिकको रिसाइकल न व्यवस्थापन: स्रोतको रूपमा उपयोग नहुँदा ‘फोहोर’
फोहोरको रूपमा फालिने प्लास्टिक रिसाइकल गर्दा आम्दानीको स्रोत मात्र बन्दैन, पर्यावरण जोगिनुका साथै रोजगारीको अवसरसमेत सिर्जना हुन्छ। तर त्यही प्लास्टिक व्यवस्थापन अहिले चुनौतीपूर्ण बनिरहेको छ।
आईपीओबारे दुई संसदीय समितिका विपरीत निर्देशन, अन्योलमा धितोपत्र बोर्ड
घाटामा गएका कम्पनीले आईपीओ जारी गर्दा सर्वसाधारणको लगानी जोखिममा पर्नसक्ने भन्दै डेढ वर्षअघि सार्वजनिक लेखा समितिले रोक्न निर्देशन दियो। त्यसविपरीत अहिले अर्थ समितिले आईपीओ नरोक्न निर्देशन दिएको छ।
इजरायल र इरानसँग बदलिएको नेपाली साइनो
इजरायलसँग नेपालको सम्बन्ध राम्रो छ र त्यहाँ हजारौँको संख्यामा नेपाली श्रमिक कार्यरत छन्। इरानसँग पनि कुनै समय नेपालको मित्रता थियो। यी देशसँग विगतदेखि वर्तमानसम्म नेपालको सम्बन्ध कस्तो रह्यो त?
दैलेखमा भेटिएको ग्यास के हो, कति सम्भव छ व्यावसायिक प्रयोग?
प्राकृतिक ग्यासको भण्डार त फेला पर्यो, तर उत्पादन परीक्षण नगरी कति ग्यास निस्कन्छ थाहा हुँदैन। परीक्षण शुरू गरेको तीन महिनामा व्यावसायिक रूपमा उत्पादन हुन्छ वा हुँदैन भन्ने निष्कर्ष निकाल्न सकिन्छ।
नारायणगढ–बुटवल सडकको सास्ती कहिलेसम्म?
योजनाअनुसार काम भएको भए नारायणघाट–बुटवल खण्ड तीन वर्षअघि नै चार लेनको (दाउन्ने खण्ड १३ किमि तीन लेन) भइसकेको हुन्थ्यो। तर आगामी साउनमा चौथो पटक ठेक्काको समय थप्नुपर्ने अवस्था छ।
विचार–टिप्पणी
सरकारको १ वर्ष: सुशासन, विकास र संविधान संशोधनको बहीखाता
देशमा एउटा कुरा गज्जब छ। शासक बनिसकेपछि उसले भुइँ टेक्नुपर्दैन। सके हेलिकप्टर नभए जहाजमा यात्रा सुनिश्चित छ। सडकमा पाइला हाल्नै परे करदाताको पैसामा साइरन बजाउँदै तिनैलाई पेल्दै हिँड्न पाइन्छ।
भुटान-वाच प्रतिवेदन : राज्य नियन्त्रण र जातीय विभेदको नजिर
सन् १९९० को दशकदेखि जारी जातीय भेदभावले भुटानमै रहेका हजारौँ नेपाली मूलका ल्होत्साम्पा अझै पनि नागरिकता, जमिन स्वामित्व, मतदान, शिक्षा र सरकारी सेवाबाट वञ्चित छन्।
जीवनशैली
घटे डेंगी संक्रमित, के जोखिम कम भएको हो?
नेपालमा यस वर्ष डेंगी संक्रमितको संख्या अघिल्लो वर्षको तुलनामा कम देखिए पनि स्वास्थ्य मन्त्रालयले जोखिम उस्तै रहेको भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको छ।
खेल
लिग–२ र टी२० शृंखला खेलेर स्वदेश फर्कियो नेपाली टोली
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डसँगको एकदिवसीय शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार स्कटल्यान्डबाट स्वदेश फर्किएको छ।
यस्तै एसीसी पुरुष यू१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले जापानलाई ९ विकेटले हराएको छ भने पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो। एशियाली क्रिकेट परिषद् (एसीसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालन भएको प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता छ। नेपाल समूह ‘ए’मा रहेको छ। नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन्।
विश्व
दक्षिणपश्चिम चीनमा बाढी, ८० हजारभन्दा बढी मानिस विस्थापित
चीनको दक्षिणपश्चिम गुइझोउ प्रान्तमा आएको बाढीबाट ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। बाढी प्रभावित करिब ८० हजार ९०० जनालाई मंगलबार दिउँसोसम्म सुरक्षित स्थानमा सारिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
