काठमाडौँ— “२०८० सालमा देशभर झन्डै ५२ हजारभन्दा बढी डेंगी संक्रमण पुष्टि भई २० जनाको मृत्युसमेत भएको थियो। २०७६/७७ मा महामारीकै रूप लिएको स्मरण गराउँदै पुनः महामारीको रूप लिन सक्ने सम्भावनालाई ध्यानमा राख्न माग गर्दछु।”
राष्ट्रियसभाको असार ९ गतेको बैठकमा सांसद कृष्णप्रसाद पौडेलले डेंगी नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए। सांसद पौडेलले हरेक दिन एक/दुई जना डेंगी संक्रमित उपचारका लागि अस्पताल पुग्ने गरेको र संक्रमण ७३ जिल्लामा फैलिसकेको समेत बताए।
मनसुनको आगमनसँगै डेंगीले निम्त्याउन सक्ने सम्भावित स्वास्थ्य संकटप्रति राष्ट्रियसभामा अरू सांसदले पनि चिन्ता व्यक्त गरेका थिए। सांसद गोमादेवी तिमिल्सिना र उदयबहादुर बोहराले डेंगी नियन्त्रणका लागि सरकारको पहल देशभर कमजोर देखिएको भन्दै प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका थिए।
संसद्मा जनप्रतिनिधिले डेंगी संक्रमणलाई लिएर चासो र चिन्ता व्यक्त गरिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले भने यस वर्ष हालसम्मको अवस्था गत वर्षभन्दा केही सहज देखाउँछ। मन्त्रालयका अनुसार, सन् २०२५ जनवरीदेखि जुन २२ सम्ममा नेपालमा एक हजार ४०३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा निकै कम हो। अघिल्लो वर्ष जुनसम्ममा दुई हजार ७८७ जनामा संक्रमण देखिएको थियो।
अघिल्लो वर्षको तुलनामा अप्रिल र मेमा पनि संक्रमितको संख्या उल्लेखनीय रूपमा कम रहेको छ। जुनमा मात्रै अघिल्लो वर्ष ६३२ जनामा संक्रमण देखिएकोमा यस वर्ष जुन २२ सम्ममा १८२ जनामा मात्र संक्रमण भएको छ।
यद्यपि, संक्रमण ७३ जिल्लामा फैलिइसकेको छ। सात प्रदेशमध्ये बागमतीमा सबैभन्दा धेरै ३७१ जनामा संक्रमण देखिएको छ, जसमा पनि काठमाडौँ उपत्यकाभित्र संक्रमितको संख्या सबैभन्दा बढी छ। बागमतीपछि कोशी प्रदेशमा २९९, गण्डकीमा २५१ र लुम्बिनीमा २४५ जनामा संक्रमण पुष्टि भएको छ।
कतिपय ठाउँमा भने १२ महिना नै पनि डेंगीका बिरामी भेटिन थालेका छन्। जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमितताले सुदूरपश्चिम प्रदेशमा १२ महिना नै डेंगी संक्रमण बढ्न थालेको त्यहाँको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशी बताउँछन्। तर त्यहाँ पनि यो वर्ष मनसुनयता अस्पताल आउने डेंगीका बिरामी घटेका छन्।
तर जोखिम उस्तै
अघिल्लो वर्षको तुलनामा डेंगी संक्रमितको संख्या कम देखिए पनि जोखिम उस्तै रहेको विज्ञहरूले बताएका छन्। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, मनसुन छिटो भित्रिए पनि पानी नपरेका कारण संक्रमण संख्या न्यून देखिएको हो। अब नेपालभर मनसुन फैलिसकेकाले पानी पर्ने सम्भावना बढ्ने र त्यससँगै संक्रमितको संख्या पनि बढ्नसक्ने उनको भनाइ छ।
डा. पुनले यस वर्ष मनसुन लम्बिने भएकाले थप सतर्कता तथा सावधानी अपनाउनुपर्नेमा जोड दिए। “डेंगी नियन्त्रण कुनै व्यक्ति वा सरकार एक्लैले गरेर सम्भव हुने कुरा होइन। यसमा हरेक नागरिक, समुदाय र निकायले ध्यान दिनुपर्छ,” उनी भन्छन्, “सबै संक्रमितलाई अस्पतालमा भर्ना हुनुपर्ने अवस्था नआए पनि डेंगीका लक्षणसँग मिल्दोजुल्दो समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ। समयमै पहिचान भए संक्रमणपछि जटिल अवस्थामा जाने सम्भावना कम हुन्छ।”
उपेक्षित उष्णप्रदेशीय रोग तथा संक्रमणवाहक कीरा नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालको आकलनमा, विगतका वर्षबाट पाठ सिकेर नागरिक सचेत हुनु र सरकारले पनि आवश्यक सचेतना फैलाएकाले हाल संक्रमितको संख्या घटेको हुनसक्छ। नागरिकहरू सरसफाइ, सावधानी र डेंगीको आशंकामा जाँच गर्न जाने प्रवृत्तिका कारण जोखिम कम भएको उनको विश्वास छ। तर, उनी पनि जोखिम कायम नै रहेको स्विकार्छन्। “डेंगी संक्रमित अघिल्लो वर्षको तुलनामा कम भेटिएका छन् तर जोखिम उस्तै छ,” उनी भन्छन्।
उनले पनि सरकार एक्लैले मात्र डेंगी संक्रमण नियन्त्रण गर्न नसक्ने भएकाले नागरिक पनि सचेत हुनुपर्ने, साथै स्थानीय तहले पनि भूमिका खेल्नुपर्ने बताए।
यता, स्वास्थ्य मन्त्रालयले सम्भावित संक्रमणको लहर रोकथाम तथा निदानका लागि पूर्वतयारी गरेको जनाएको छ। “डेंगी संक्रमण नियन्त्रण र निदानका लागि मन्त्रालय पूर्ण रूपमा तयार छ,” प्रवक्ता डा. प्रकाश बुढाथोकीले भन्छन्, “स्थानीय सरकारले यसमा विशेष भूमिका निभाइरहेका छन् र नागरिकहरू पनि आफै सचेत हुँदै गएका छन्।”
मन्त्रालयले सबै स्थानीय तहहरूमा द्रुत प्रतिकार्य समिति तथा टोलीहरू तयार पारेको र आवश्यक पर्नासाथ परिचालन हुन पत्राचार गरिसकेको जनाएको छ। डेंगी निदानका लागि आवश्यक किट, औषधोपचार र अन्य सामग्रीसमेत तयारी अवस्थामा रहेको डा. बुढाथोकीले बताए। लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने ‘सर्च एन्ड डिस्ट्रोय’ अभियानलाई प्राथमिकताका साथ निरन्तरता दिइएको उनको भनाइ छ।
उनका अनुसार खानेपानी मन्त्रालय तथा सम्बन्धित निकायसँग समन्वय गर्दै रोगको संक्रमण र नियन्त्रणबारे विभिन्न माध्यमबाट जनचेतना फैलाउने काम पनि भइरहेको छ। जनशक्तिलाई आवश्यक तालिमसमेत दिइएको छ। अस्पतालमा हुने चापलाई व्यवस्थित गर्न सामान्य रुघाखोकी र ज्वरोका बिरामीलाई भने घरमै आराम गर्न मन्त्रालयले सुझाएको छ।
के हो डेंगी रोग?
डेंगी भाइरसबाट संक्रमित एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल रोग हो। नेपालमा यो रोग पहिलो पटक सन् २००४ मा देखा परे पनि संक्रामक रूपमा २००६ मा फैलिन थालेको थियो। वर्षात्को समयमा जम्मा भएको सफा पानीमा लामखुट्टेले फुल पार्ने र यसको वृद्धि विकास हुने भएकाले यो रोग मनसुनको समयमा बढी फैलिन्छ।
यो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ, यसमा पनि घाम उदाएको दुई घण्टापछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टाअगाडि बढी सक्रिय हुने चिकित्सक बताउँछन्। नेपालमा हालसम्म डेंगीका चारवटै प्रकार (सिरोटाइप १, २, ३ र ४) भेटिएका छन्।
डेंगीका लक्षण
डेंगी ज्वरोका मुख्य लक्षणहरूमा एक्कासि उच्च ज्वरो आउनु, टाउको बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, वाकवाकी लाग्नु, शरीरमा राता बिमिरा आउनु, जोर्टी तथा मांसपेशी दुख्नु, श्वास फेर्न गाह्रो हुनु, नाक वा गिजाबाट रगत बग्नुलगायत पर्छन्। यस्ता लक्षण देखा परेमा नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउन तथा चिकित्सकको परामर्श लिन मन्त्रालयले आग्रह गरेको छ।
डेंगीबाट बच्ने उपाय
डेंगीको कुनै विशेष औषधि वा खोप नभएकाले यसबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु नै हो। यसबाट बच्न आफ्नो घर वरपर तथा कार्यस्थल सफा राख्ने, गाडीका टायर, पानीट्यांकी, गमला लगायतमा आफ्नो स्थान वरपर पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने, कार्यस्थलमा काम गर्दा वा सार्वजनिक स्थानमा जाँदा पूरा बाहुला भएको लुगा लगाउने, विशेषगरी स्वास्थ्य समस्या भएका वा दीर्घ रोगीका साथै गर्भवती, शिशु, वृद्धवृद्धाहरूले अझ बढी सतर्क रहनुपर्ने चिकित्सकहरू बताउँछन्।