Saturday, April 27, 2024

-->

चीनमा कोभिड संक्रमण तीव्र, एक सातामा १३ हजारले गुमाए ज्यान

चीनका वरिष्ठ इपिडेमियोलोजिस्ट वु जुनयोले ८० प्रतिशत चिनियाँमा कोभिडको संक्रमण देखिएको बताएका छन्।

चीनमा कोभिड संक्रमण तीव्र एक सातामा १३ हजारले गुमाए ज्यान

चीनमा कोभिड–१९ को संक्रमण र मृत्युदर तीव्र भइरहेका खबर बाहिरिएका छन्। कोभिड संक्रमणबारे औपचारिक रूपमा सरकारले तथ्यांक सार्वजनिक नगरेका कारण पछिल्लो समय चीनको संक्रमणदरबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन्। यसैबीच अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले चीनमा संक्रमणको डरलाग्दो अवस्थाबारे समाचार लेखेको छ।

गत साता मात्रै चीनमा कोभिड संक्रमणसँग सम्बन्धित १३ हजार जनाको मृत्यु भएको थियो। यसअघि डिसेम्बरमा मात्रै ६० हजार कोभिड संक्रमितको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। यी सबैको मृत्यु अस्पतालमा भएको हो।

तर, स्वास्थ्य सुविधाको पहुँच नभएका ग्रामीण क्षेत्र र संक्रमणका कारण घरमै मृत्यु भएकाको संख्या गन्ती नै नभएको बताइएको छ। ग्रामीण क्षेत्रमा कति संक्रमितको मृत्यु भयो भन्ने औपचारिक तथ्यांकसमेत उपलब्ध छैन। गणना नभए पनि मृतकको संख्या अत्यधिक भएका थुप्रै प्रमाण फेला पारेको बीबीसीको दाबी छ।

बीबीसीको टोलीले चीनका विभिन्न स्थानमा पुगेर वस्तुस्थिति केलाएको जनाएको छ। टोली पुगेका अधिकांश स्थानका शवदाह गृह भरिभराउ रहेको बताइएको छ। चीनको शान्सी प्रान्तसहित धेरै स्थानमा पुगेर संक्रमित र मृतकको संख्याबारे बुझिएको थियो। शान्सी प्रान्त अधिकांश स्थानीयले त्यहाँ मृत्युदर बढेको र यो सबै कोरोनासँग सम्बन्धित रहेको बताएका थिए।

तस्वीर : बीबीसी

विशेषगरी कफिन (शव राखिने काठको बाकस) बनाइरहेका मानिसलाई भेटेर वस्तुस्थिति बुझेको बीबीसीको भनाइ छ। अन्य समयको तुलनामा हाल कफिन बनाउनेलाई भ्याइनभ्याइ रहेको र मृतकको संख्या सोचेभन्दा अत्यधिक रहेको उनीहरूले प्रतिक्रिया दिएका थिए।

शान्सीकै एक ग्रामीण क्षेत्रमा क्लिनिक सञ्चालन गर्ने डा. दोङ योङमिनका अनुसार उनको भेगका ८० प्रतिशत बासिन्दामा कोभिड संक्रमण भइसकेको छ। डा. दोङ भन्छन्, “सबै गाउँले बिरामी पर्दा यहीँ आउँछन्। यहाँ हाम्रो मात्रै क्लिनिक छ।”

संक्रमणका कारण मृत्यु भएका अधिकांशमा पहिलेदेखि नै स्वास्थ्य समस्या रहेको पनि उनले बताए। सो क्षेत्रमा मृत्यु भएकालाई जमिनमा गाडिने र त्यसमाथि नै कृषि गरी जीविका चलाउने गरिएको छ। ग्रामीण क्षेत्रका अधिकांश सडक किनारमा खाडल खनिएको र रातो झन्डा गाडिएका थुप्रै नयाँ चिहान देखिएको बीबीसीले उल्लेख गरेको छ।

तस्वीर : बीबीसी

अब बिस्तारै कोभिड महामारी सकिएको डा. दोङको विश्वास छ।

केही हजारको बासिन्दा भएको क्षेत्रमा संक्रमणको पछिल्लो लहरमा मात्रै ४० जनाले ज्यान गुमाएको स्थानीयले बताएका छन्। डा. दोङले भने, “एक दिन एक जना अर्को दिन अर्को मरिरहेका छन्। गत महिनादेखि यही सिलसिला जारी छ। ”

संक्रमणका कारण त्रसित शहरका अधिकांश बासिन्दा आफ्नो गाउँ फर्किरहेको पनि बताइएको छ। स्प्रिङ सिजनमा (जनवरीदेखि फेब्रुअरी मध्यसम्म) सामूहिक बसाइसराइका कारण तीव्र हुँदा यसको संक्रमणको जोखिम बढेको हो। चिनियाँ नयाँ वर्षमा आवतजावत गर्नेको चाप बढ्दा संक्रमणको प्रसारमा तीव्रता आएको हो।

वृद्ध अवस्थाका आफन्त संक्रमित नभए शहरदेखि गाउँ नजान सरकारले चेतावनीसमेत दिएको छ।

महामारी शुरू भएयता शून्य कोभिडनीति अपनाएको चीनले यस नीतिविरुद्ध चौतर्फी विरोध र प्रदर्शनपछि डिसेम्बरको पहिलो सातादेखि यसमा लचक भएको थियो। त्यसपछि शून्य कोभिडनीति पूर्ण रूपमा हटाउँदै आफ्ना नागरिक र विदेशीको आवतजावतलाई सहज बनाएको थियो।

शून्य कोभिडनीति हटाएपछि सरकारले औपचारिक रूपमा संक्रमित र मृतकको संख्या सार्वजनिक गर्न छाड्यो। त्यसपछि संक्रमितको वास्तविक संख्याबारे धेरै विवाद आउन थाले। केही दिनअघि चीनका वरिष्ठ इपिडेमियोलोजिस्ट वु जुनयोले पनि चीनको ८० प्रतिशत मानिसमा संक्रमण देखिएको बताएका थिए।


सम्बन्धित सामग्री