Sunday, April 28, 2024

-->

चिनियाँ राष्ट्रपति सी ६ वर्षपछि अमेरिकामा, के छन् बाइडेनसँग वार्ताका अजेन्डा?

सी चिनफिङको अमेरिका भ्रमणका क्रममा राष्ट्रपति जो बाइडेनसँग मुख्यगरी इजरायल–हमास र रुस–युक्रेन युद्धबारे छलफल हुने अनुमान गरिएको छ। तर वार्ता उपलब्धिपूर्ण हुनेमा शंका गरिएको छ।

चिनियाँ राष्ट्रपति सी ६ वर्षपछि अमेरिकामा के छन् बाइडेनसँग वार्ताका अजेन्डा
तस्वीर: सीएनएन

चीनका राष्ट्रपति सी चिनफिङ ६ वर्षपछि अमेरिका पुगेका छन्। यो ६ वर्षमा विश्वको राजनैतिक परिदृश्यमा धेरै परिवर्तन भइरहँदा अमेरिका र चीनबीचको सम्बन्ध चिसिँदै गएको छ। दोस्रो वर्षमा चलिरहेको रुस–युक्रेन युद्धले विश्वको आर्थिक सन्तुलनलाई नै प्रभावित बनाएको छ। एक महिनादेखि जारी इजरायल–हमास द्वन्द्वले पनि विश्वलाई विभाजित गरेको छ। यी युद्धमा चीन र अमेरिका फरक ध्रुवमा छन्।

यो विषम अवस्थामा सी चिनफिङ सान फ्रान्सिस्कोमा हुने एशिया प्यासिफिक इकोनोमिक कोअपरेसन समिट (एपेक) मा भाग लिन अमेरिका पुगेका हुन्। उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग स्थानीय समयअनुसार बुधबार बिहान भेटवार्ता गर्ने छन्।

भ्वाइस अफ अमेरिकालाई उधृत गर्दै भारतीय सञ्चारमाध्यम भास्कर दैनिकले जनाएअनुसार सी र बाइडेनबीच करिब चार घण्टा वार्ता हुनेछ। दुई देशबीचको तनाव कम गर्ने विषयमा वार्ता केन्द्रित हुने जनाइएको छ। बाइडेनलाई उधृत गर्दै अलजजिराले जनाएअनुसार द्विपक्षीय वार्तामा चीन र अमेरिकाबीच सामान्य सञ्चार पुनर्स्थापना र सैन्य सम्पर्कबारे कुरा हुनेछ। सी र बाइडेनबीच इजरायल–हमास र रुस–युक्रेन युद्धमाथि पनि छलफल हुने जनाइएको छ। 

सी अमेरिका पुगेकै दिन इजरायली सेना गाजा क्षेत्रको सबैभन्दा ठूलो अस्पताल अल–शिफामा प्रवेश गरेको छ। हजारौँ बिरामीको उपचार भइरहेको र ठूलो संख्यामा नागरिकहरूले आश्रय लिइरहेको भनिएको उक्त अस्पतालमुनि हमासको ‘कमान्ड सेन्टर’ रहेको भन्दै इजरायली सेना त्यहाँ प्रवेश गरेको हो।

यसअघि, मंगलबार अमेरिकाले उक्त अस्पताललाई हमासले बन्धकहरू राख्न प्रयोग गरेको आरोप लगाएको थियो। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले गाजाका अस्पतालहरूलाई हमासले ‘कमान्ड सेन्टर’ बनाएको बताएका थिए। त्यसलगत्तै इजरायली सेना उक्त अस्पतालमा प्रवेश गरेर ‘निश्चित क्षेत्र नियन्त्रणमा लिँदै कारबाही गरेको’ थियो। 

हमासले भने अमेरिकाले इजरायललाई अस्पतालहरूमाथि आक्रमण गर्न ‘ग्रिन सिग्नल’ दिएको दाबी गरेको छ। गाजामा इजरायलले गरिरहेको नरसंहारको जिम्मेवार अमेरिकी राष्ट्रपति बाइडेन भएको हमासको दाबी छ। यहीबीच, चीनले इजरायललाई युद्ध रोक्न आह्वान गरेको छ।

गएको अक्टोबर ७ राति हमासले गाजा क्षेत्रबाट इजरायली भूमिमा प्रवेश गर्दै डरलाग्दो आक्रमण गरेपछि इजरायलले युद्धको घोषणा गरेको थियो। त्यसपछिका दुई सातासम्म चीन यो मामिलामा मौन बसेको थियो। त्यसपछि राष्ट्रपति सीले युद्धविरामको आह्वान गर्दै ‘दुई–राज्य समाधानको माध्यम’बाट प्लालेस्टाइन देशको स्थापना गरी स्थायी शान्ति कायम गर्नुपर्ने बताएका थिए।

अमेरिकाले भने सिधै इजरायलको पक्ष लिने मात्र नभई विभिन्न प्रकारका सैन्य सहयोग पनि गर्ने गरेको छ। तर चीनले इजरायल र प्यालेस्टाइनलाई समदूरीमा राख्ने गरेको छ। सन् १९९२ मा इजरायलसँग कूटनीतिक सम्बन्ध गाँसे यता चीनले त्यहाँ आफ्नो व्यापार बढाउँदै लगेको छ।

प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बासले गएको जुन १३ गतेदेखि चीनको ‘स्टेट भिजिट’ गरेका थिए। चार दिने भ्रमणमा चीन र प्लोस्टाइनबीच ‘रणनीतिक साझेदारी’ सम्बन्धी सम्झौता भएको थियो। यद्यपि, राष्ट्रपति सीले चीन इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुलाई पनि स्वागत गर्न तयार रहेको बताएका थिए।

इजरायल–हमास युद्धमा फरक ध्रुवमा रहेका चीन र अमेरिकाका राष्ट्रपतिबीच हुन गइरहेको वार्ताले शान्तिका लागि ठोस कदम चाल्न सक्ने सम्भावना भने कमै रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। तर विश्वका दुई महाशक्ति देशबीच प्रत्यक्ष वार्ता जरुरी रहेको विज्ञहरूको मत छ।

यसबाहेक सी र बाइडेनबीच उत्तर कोरिया र रुसको सम्बन्ध, ताइवान मामिला, इन्डो–प्यासिफिक क्षेत्रमा मानवअधिकार, आर्टिफिसियल इन्टेलिजेन्स, व्यापार, आर्थिक सम्बन्धलगायत विषयमा छलफल हुने जनाइएको छ। सीसँगको भेटअघि बाइडेनले भनेका छन्, “हाम्रो लक्ष्य सम्बन्धलाई अझ प्रगाढ बनाउनु हो। हामी चाहन्छौँ कि संकटको समयमा दुवै देश एक–अर्कासँग कुराकानी गर्न सकून् र दुवै देशका सैनिक सम्पर्कमा रहून्।”

यसअघि, सन् २०१७ मा सीले अमेरिका भ्रमण गरेर तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए। त्यसबेला पनि ट्रम्प र सीले भेटवार्ताबाट दुई पक्षका असमझदारीलाई साँघुरो बनाइएको बताएका थिए। उनीहरूले सम्बन्धमा व्यापक सुधार आएको दाबी गरे पनि ठोस समझदारी के भयो भनेर बताएका थिएनन्। उक्त वार्तापछि अमेरिका र चीनबीचको सम्बन्धमा खास सुधार भने देखिएको थिएन।

यसपटक सीसँगको भेटअघि बाइडेनले भनेका छन् कि, अमेरिका चीनबाट अलग हुने कोशिश गरिरहेको छैन। तर चीनमा लगानी बढाउन कुनै शर्त स्वीकार नगरिने र त्यसका लागि व्यापारको गोपनीयता पनि नखोल्ने बाइडेनले स्पष्ट पारेका छन्।

न्यूयोर्क टाइम्सका अनुसार यो वार्ताबाट कुनै ठूलो नतिजाको अपेक्षा गर्नु उचित हुँदैन। अहिलेको सन्दर्भमा यी देशले आपसी सम्बन्धलाई थप बिग्रन नदिनु महत्त्वपूर्ण रहेको बताइएको छ।

गएको फब्रुअरीमा अमेरिकाले चीनको एउटा जासुसी बेलुनलाई खसालेको दाबी गरेको थियो। यो घटनापछि वाशिंटन डीसी र बेइजिङको सम्बन्ध अहिलेसम्मकै खराब अवस्थामा पुगेको थियो। व्यापार सम्बन्धलाई लिएर पहिलेदेखि नै तनावको अवस्था थियो। ताइवान मुद्दामा पनि यी देशको सम्बन्ध राम्रो छैन। अमेरिकाले कतिपय चिनिया कम्पनीका उत्पादनलाई चिनिया सेनासँग सम्बन्ध भएको भन्दै प्रतिबन्ध लगाएको छ। 

सी र बाइडेनको वार्तामा दुई देशबीचको सम्बन्ध टुट्न नदिन जोखिमहरू कम गर्ने उपायबारे छलफल हुने अनुमान गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

- एजेन्सीहरूको सहयोगमा


सम्बन्धित सामग्री