Friday, April 26, 2024

-->

यू-१९ : लुम्बिनीको चौथो जित

बिहीबार सम्पन्न खेलमा लुम्बिनीले प्रदेश-१ लाई ६ विकेटले हराउँदै लगातार चौथो जित निकालेको छ।

यू-१९  लुम्बिनीको चौथो जित

काठमाडौँ– लुम्बिनी प्रदेशले यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लगातार चौथो जित निकालेको छ। बिहीबार सम्पन्न खेलमा लुम्बिनीले प्रदेश-१ लाई ६ विकेटले हराउँदै लगातार चौथो जित निकालेको हो। योसँगै अंक तालिकाको तेस्रो स्थानमा रहेको लुम्बिनीको फाइनल खेल्ने सम्भावना जीवितै रहेको छ।

प्रदेश-१ ले दिएको ७० रनको लक्ष्य पछाएको लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाउँदै ७३ रन बनाएको थियो। लुम्बिनीका लागि देव खनालले ३९ बलमा सर्वाधिक १९ रन बनाए। उनले २ चौका प्रहार गरे।

ओपनर आकाश त्रिपाठीले १७ रन बनाउँदा प्रज्ज्वल थापा १५ रनमा आउट भए। उनीहरूले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेका छन्। यता, सुनिल भण्डारी ६ र विशाल भुसाल ८ रनमा अविजित रहे।

विशालविक्रम केसीले भने खाता खोल्न सकेनन्। प्रदेश-१ का दीपेश कँडेलले ५ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन खर्चिएर ३ विकेट लिए। विपिन महतोको नाममा भने १ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको प्रदेश-१ ले २६. २ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन बनाएको थियो। प्रदेश-१ का शुभम गहतराजले सर्वाधिक २२ रन बनाए। उनले २२ बलमा ३ चौका प्रहार गरे।

स्टाइन रिजालले ६८ बलमा २ चौकासहित १९ रन बनाए। दोस्रो विकेटका लागि उनीहरूले ३३ रनको साझेदारी गरेका थिए। प्रदेश-१ ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

लुम्बिनीका निर्मल गुरूङले ४.२ ओभर बलिङ गर्दै २ मेडनसहित ४ रन खर्चिएर ५ विकेट लिए। दुर्गेश गुप्ताले २ विकेट लिँदा अभिषेक गौतम र तुलबहादुर थापाको नाममा १/१ विकेट रह्यो।

जितसँगै लुम्बिनीले ५ खेलमा ४ जित र १ हारसहित ८ अंक बनायो। पहिलो स्थानमा रहेको सुदूरपश्चिम शतप्रतिशत जितसहित १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको बागमतीले समान खेलमा ८ अंक जोडेको छ। बागमतीले ४ खेलमा जित र १ मा हार बेहोरेको छ।


सम्बन्धित सामग्री