Friday, March 29, 2024

-->

धनुषामा पञ्चायती निर्वाचनको झल्को : प्रतिनिधिसभामा महासेठ दम्पती विजयी

२०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा धनुषाबाट हेमबहादुर मल्ल र उनकी श्रीमती शारदाको जितको झल्को दिने गरी यसपटक धुनषा-४ बाट एमालेका रघुवीर महासेठ र ३ बाट उनकै श्रीमती जुली महतो विजयी भएका छन्।

धनुषामा पञ्चायती निर्वाचनको झल्को  प्रतिनिधिसभामा महासेठ दम्पती विजयी
जुली महतो र रघुवीर महासेठ। तस्वीर सौजन्य : अमरेन्द्र यादव

काठमाडौँ– धनुषा-४ मा  नेकपा एमालेका रघुवीर महासेठ ३२ हजार २३६ मत ल्याएर विजयी भएका छन्। उनको निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादव ३२ हजार ११२ मत ल्याए।

महासेठ र कांग्रेसका यादवबीचको रोचक प्रतिस्पर्धाका कारण धेरैले यो क्षेत्रलाई चासोका साथ हेरिरहेका थिए। अझ त्यसभन्दा पनि रोचक चाहिँ धनुषा–३ बाट महासेठकै श्रीमती जुली महतोले जित हासिल गरिसकेका कारण पनि महासेठ हार्छन् वा जित्छन् भन्ने चासो थियो।

धनुषा-४ को नतिजा मंगलबार बिहान मात्र आएको हो। महतोको क्षेत्र धनुषा-३ मा भने तीन दिनअघि नै गणना सकिएको थियो। उनले लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई पराजित गरेकी छन्। महासेठ दम्पती नै एमालेबाट निर्वाचित भएपछि धेरैले पञ्चायतकालीन इतिहास सम्झिएका छन्।

मल्ल दम्पती (माथि) र महासेठ दम्पती

पञ्चायतका ती 'शेरे धनुषा'
२०३८ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा धनुषाबाट हेमबहादुर मल्ल निर्वाचित भएका थिए। दुई लाख २७ हजार १३ मतदाता रहेको धनुषामा उनले ७६ हजार २७० मत पाएका थिए। उनलाई ‘शेरे धनुषा’ उपनामले चिनिन्थ्यो। २०३८ सालको चुनावपछि उनले यो उपनाम पाएका थिए। 

मल्लले २०४३ सालको निर्वाचनमा आफ्नो मत अझै बढाए। उनले ९३ हजार १४९ मत पाएका थिए। धेरै मतदाता भएको जिल्लाबाट राष्ट्रिय पञ्चायतमा दुई जना चुनिने व्यवस्था थियो। धनुषाबाट २०४३ सालमा मल्ल मात्र निर्वाचित भएनन्, उनले श्रीमती शारदा मल्ललाई पनि विजयी गराए। शारदाले ५३ हजार ९९६ मत पाएकी थिइन्।

मल्लले सत्ता र शक्तिको आडमा जित हासिल गर्ने गरेको त्यसबेलाको राजनीतिलाई बुझेका धेरैले बताउने गरेका छन्। पाँच दशकदेखि धनुषाको राजनीतिलाई नजिकबाट नियाल्दै आएका रामनारायण झाका अनुसार मल्लविरुद्ध उम्मेदवार बन्ने गरेका लोकप्रिय नेता मकेश्वर सिंह पनि धेरै पछि पर्थे। मल्लका निकटतम प्रतिस्पर्धी हुनेमा देवनारायण यादव र मदन गिरी थिए। “तर, मल्ललाई उनीहरूले कहिल्यै जितेनन्”, झा भन्छन्, “मल्लका साथमा शासन र प्रशासन दुइटै थियो, त्यही भएर मल्ल दम्पतीलाई निर्वाचन जित्न सहज भएको थियो।”

प्रतिनिधिसभामा श्रीमान्-श्रीमती र जेठान
यसपटक धनुषाका क्षेत्र नं. ३ र ४ मा एमालेबाट जुली महतो र उनका श्रीमान् रघुवीर महासेठले टिकट पाएका थिए। महासेठ एमाले सचिव हुन्। उनी एमाले अध्यक्ष केपी ओलीसँग निकट नेता हुन्। त्यही निकटताका कारण श्रीमान्-श्रीमतीले नै टिकट पाएको एमाले नेताहरू बताउँछन्। जुली महतो गैरआवासीय नेपाली व्यवसायी उपेन्द्र महतोकी बहिनी हुन्।

यो पनि पढ्नुहोस् : पञ्चायतका ‘शेरे धनुषा’ सम्झाउने रघुवीर र जुलीको उम्मेदवारी

यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि दम्पती नै एमालेबाट उम्मेदवार थिए। तर, त्यतिबेला दुवै जना हारेका थिए। महासेठ कांग्रेसका चन्द्रमोहन यादवसँग र महतो कांग्रसकै विमलेन्द्र निधिसँग पराजित भएका थिए। 

यसपटक दुवैजना विजयी भए। त्यति मात्र नभइ जुलीका अर्का दाइ तथा उपेन्द्रका भाइ व्यावसायी वीरेन्द्र महतोले पनि चुनाव जितेका छन्। जसपाको तर्फबाट उम्मेदवार भएका उनी सिरहा क्षेत्र नं ४ बाट निर्वाचित भए। दाजु जसपा र बहिनी एमालेमा आबद्ध रहे पनि यसपटक एमाले-जसपा गठबन्धन थियो।

महासेठ दम्पतीको राजनीतिक छलाङ
२०२८ सालबाट अनौपचारिक राजनीति शुरू गरेका महासेठ २०३३ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएर पार्टी राजनीतिमा औपचारिक प्रवेश गरेका थिए। ६१ वर्षिय  महासेठ २०२८/२९ को राजनीतिक संघर्षका क्रममा २७ दिन थुनामा परेका थिए। २०३७ सालमा अनेरास्ववियुको प्रथम पूर्वाञ्चल अध्यक्ष भएका थिए।

महासेठ २०५४ सालमा एमालेको केन्द्रीय कमिटी सदस्य भए। नेकपा एमाले विभाजन हुँदा उनी नेकपा मालेतिर लागे। २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी तत्कालीन मालेबाट धनुषा-३ मा उम्मेदवार बनेका थिए । तर, नेकपा एमालेका गंगाराम यादवसँग पराजित भए। २०६४ सालको प्रथम संविधानसभा चुनावमा उनी एमालेबाट धनुषा-४ मा उम्मेदवार भए पनि तत्कालीन मधेशी जनअधिकार फोरमका उम्मेदवार सञ्जय साह 'टकला'सँग पराजित भए। 

यद्यपि, धनुषा- ५ बाट चुनाव जितेका कांग्रेसका डा. रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको उक्त क्षेत्रको उपनिर्वाचनमा महासेठ विजयी भए। चुनाव जितेपछि उनी प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठित मन्त्रिपरिषदमा पहिलोपटक मन्त्री भए। उनले सिँचाइमन्त्रीको जिम्मेवारी पाएका थिए। 

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका महासेठ २०७४ सालको आमनिर्वाचनमा धनुषा-४ बाटै निर्वचित भए। २०७४ सालको निर्वाचनमा पनि उनले महेन्द्र यादवलाई नै पराजित गरेका थिए। महासेठले २२ हजार ५३२ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी यादवले १९ हजार ९९१ मत पाएका थिए।

एमालेको नवौं महाधिवेशनमा सचिवमा प्रतिस्पर्धी रहेका महासेठ पराजित भए। तर, पार्टी अध्यक्ष ओलीसँगको निकटताका कारण उनको शक्ति कमजोर भएन। २०७३ सालमा उनी र उनकी श्रीमती जुली दुवै एमालेको केन्द्रीय सदस्य मनोनीत गरिए। नेकपा माओवादी केन्द्रसँग एमालेको एकीकरणपश्चात् बनेको नेकपामा स्थायी समिति सदस्य बनाइएका महासेठ एमालेको १०औँ महाधिवेशनबाट सचिवमा निर्वाचित भएका छन्। उनी एमाले मधेश प्रदेशको इन्चार्ज पनि हुन्। 

२०७४ सालपछि बनेको ओली नेतृत्वको पहिलो मन्त्रिमण्डलमा महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए। तर, २०७६ मंसिरमा मन्त्रिमण्डल पुनर्गठन हुँदा बाहिरिए। मन्त्रीबाट बाहिरिनुपरेपछि प्रधानमन्त्री ओलीसँगको उनको दूरी बढ्दै गएको थियो। एमाले विभाजनको स्थितिमा पुग्दा महासेठ र महतो दम्पती माधव नेपाल खेमामा लागेका थिए। तर, २०७८ पुस १० को मन्त्रिपरिषद् पुनर्गठनमा तत्कालीन प्रधानमन्त्री ओलीले जुलीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाएपछि दुवै जना ओली गुटतिरै फर्किएका थिए।

२०४६ सालदेखि राजनीतिमा सक्रिय भएकी जुली सोही वर्ष अनेरास्ववियू श्रीजन सेवा मावि कर्जन्हाको सचिव भएकी थिइन्। २०५९ सालमा पार्टीको जिल्ला कमिटी सदस्य र २०६४ मा राष्ट्रय परिषद् सदस्य भइन्। २०७४ मा उनी केन्द्रीय कमिटी सदस्य भएकी थिइन्।

महतो २०६४ सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट निर्वाचित भइन्। २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार भएर उनी पराजित भएकी थिइन्।

उनी २०७६ सालमा तत्कालीन नेकपाको धनुषा सह-इन्चार्ज नियुक्त भएकी थिइन्। एमालेको १०औँ  महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित महतो अहिले पोलिटब्यूरो सदस्य छिन्। 

२०७७ पुस १० गते तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा महतो महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी पाएकी थिइन् । तर पाँच महिनामै पदमुक्त भएकी थिइन्। ओली नेतृत्वको सरकारमा महासेठ–महतो दम्पती आलोपालो मन्त्री बनेका थिए।

२०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा महासेठले बुझाएको सम्पत्ति विवरण अनुसार, उनको ललितपुर महानगरपालिकामा झन्डै पाँच रोपनीभन्दा बढी क्षेत्रफलमा घरजग्गा तथा जनकपुरमा विभिन्न स्थानमा गरी कैयौँ बिगाहा जग्गा छ। उनकी श्रीमती जुलीकुमारी महतोको नाममा जनकपुरमा १० बिगाहाभन्दा धेरै जग्गा छ। उनको परिवारको सगोलमा धनुषामा झन्डै १४७ बिगाहा जमिन छ। टेलिकम सेवा प्रदायक यूटीएलसहितका कम्पनीका उनको सेयर लगानी छ। यसबाहेक हीरा, जवाहरात, मोटरगाडीसहितको सम्पत्ति पनि उनीसँग छ। 


सम्बन्धित सामग्री