सञ्जय जस्तै नबनून् बालेन्द्र

बुधबार साँझ सुरक्षा प्रमुखहरूलाई डाकेर शनिबार र आइतबार काठमाडौँका नदी किनारका बस्ती हटाइसक्न निर्देशन दिने प्रधानमन्त्री बालेन्द्र ठ्याक्कै ५० वर्षअघिका सञ्जय गान्धी जस्तै सुनिन्छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको ‘देश बनाउने’ हुटहुटी, अनि त्यसको कार्यान्वयनका लागि अवलम्बन गरेका शैलीले बारम्बार पचास वर्षअघि भारतमा सञ्जय गान्धीले समातेको बाटो र अपनाएको शैलीलाई सम्झाउँछ। प्रधानमन्त्रीपुत्र भएरै सर्वशक्तिमान् बनेका सञ्जय एकातिर आफूले ठानेको देश विकासको उपलब्धि यथाशीघ्र हासिल गर्न कटिबद्ध थिए। अर्कोतिर ती उपलब्धि प्राप्त गर्ने उनको शैली कठोर, अलोकतान्त्रिक, निर्मम र कतिपय ठाउँमा अमानवीय नै थियो।     

१९७५ डिसेम्बरको एक दिन सञ्जयले उत्तर प्रदेशका तत्कालीन मुख्यमन्त्री नारायणदत्त तिवारीलाई ‘तलब’ गर्छन्। दुई जना सरकारी अधिकारीसहित तिवारी बिहानै अकबर रोडस्थित कार्यालयमा पुग्दा सञ्जय दिल्लीको ठूलो नक्सामा घोरिइरहेका थिए। ‘प्रदूषण फैलिइरहेको छ, उद्योगहरू स्थानान्तरण गर्नपर्‍यो नि,’ सञ्जय भन्छन्। 

उनले नक्सामा देखाउँदै शहरभित्रका उद्योगहरूलाई स्थानान्तरण गर्न यमुना नदीपारि उपयुक्त ठाउँ खोज्न अह्राउँछन्। ‘दिल्ली नजिकै हुनपर्‍यो, शहरबाहिर हुनुपर्‍यो,’ उनको आदेश हुन्छ। 

मंगलबार यस्तो आदेश पाएका मुख्यमन्त्री तिवारीका लागि ‘डेडलाइन’ छ शुक्रबारको। मुख्यमन्त्रीलाई आदेश दिने सञ्जयको हैसियत चाहिँ प्रधानमन्त्रीपुत्र हुनुबाहेक अरू थिएन। उनले सार्वजनिक ओहोदा धारण गरेका थिएनन्। 

सञ्जयले दिएको डेडलाइन बरु अगाडि सर्ला, पछाडि सर्ने कुरै छैन। मुख्यमन्त्री तिवारी तिनै दुई जना सरकारी अधिकारीसहित अहिले नोइडा शहर भएको ठाउँका गाउँ, खेत–खलिहानतिर कुद्न थाल्छन्। मुख्यमन्त्रीले डेडलाइनमै रिपोर्ट पेश गर्छन्। गाउँ–बस्ती, खेतीयोग्य जमिन भएको ठाउँ निरीक्षणमा पुगेका सञ्जयलाई रोज्जा लाग्छ। ‘ठाउँ ठिक छ, सोमबारदेखि काम शुरू गर्नू,’ उनले आदेश दिन्छन्।

कर्मचारी जगदीश खट्टरले मुख्यमन्त्रीको कानमा खुसुरफुसुर गरेको देखेपछि सञ्जय भन्छन्, “केही समस्या छ?” जमिन अधिग्रहण नभएको अवस्थामा काम शुरू गरिहाल्नु गैरकानूनी हुने कुरा खट्टर सम्झाउन खोज्छन्। तर सञ्जयलाई यस्ता कुरासँग मतलब छैन। ‘सब हुँदै जान्छ, काममा विलम्ब हुनुभएन, सोमबारै यहाँ बुल्डोजरहरू आइपुग्छन्,’ यति भनेर सञ्जय हिँड्छन्।

अब खट्टर हस्याङफस्याङ गर्दै स्थानीयसँग बैठक गर्न गाउँ–बस्ती कुद्छन्। जग्गाको आकर्षक मुआब्जा पाउँछौ, उद्योग आएपछि रोजगारी पनि पाउँछौ भनेर लोभ्याउन थाल्छन्। नभन्दै सोमबार जगमोहनका बुल्डोजरहरू आइपुग्छन्। किसानका जग्गाका आलीहरू भत्काएर जग्गा सम्म्याउन शुरू हुन्छ। (खबरगावँ, युट्युब)

बुधबार (वैशाख ९ गते) साँझ सुरक्षा प्रमुखहरूलाई बोलाएर शनिबार र आइतबार काठमाडौँका नदी किनारका सुकुमवासी/अतिक्रमित बस्ती हटाइसक्न निर्देशन दिने प्रधानमन्त्री बालेन्द्र ठ्याक्कै सञ्जय जस्तै सुनिँदैनन् त? 

यस्ता आदेश काठमाडौँ महानगरको मेयर हुँदा नै दिइन्थ्यो। कक्षा सञ्चालन भइरहेको चाँदबाग स्कुल खालि गर्न उनले २०८१ साउन २८ गते दुई दिनको समय दिई माइकिङ गराएका थिए। भृकुटीमण्डपस्थित फनपार्कलाई बक्यौता राजस्व बुझाउन २४ घण्टाको अल्टिमेटम दिइएको थियो (१५ भदौ २०७९)। नर्भिक अस्पतालले भाडामा लिएको १ रोपनी ८ आना जग्गामा नक्सा पास नगरी निर्माण गरिएको संरचना भत्काउन पनि २४ घण्टाकै समय दिइएको थियो।    

सञ्जय हतारमा थिए, उनलाई छिटोछिटो काम सक्नु थियो। नरम व्यवहार र सम्झाइ–बुझाइ गर्न समय नै नभए जस्तो हतारमा थिए। उनलाई सल्लाह सुझाव दिन सक्ने अवस्था पनि थिएन। उनलाई परिणाम चाहिएको थियो– सकेसम्म छिटो, भोलिपल्टै। (द सञ्जय स्टोरी, विनोद मेहता)। “लक्ष्यप्रति अर्जुनदृष्टि राख्ने उनमा धैर्य थिएन,” सञ्जयबारे कैयौँ स्टोरी गरेकी पत्रकार कुमकुम चड्डा भन्छिन्, “उनको डेडलाइन भोलि हैन कि हिजो हुनेगर्थ्यो।” (बीबीसी हिन्दी)। 

सन १९७० को दशकभरि भारतमा सर्वाधिक चासो, चर्चा र विवादमा रहेका सञ्जय सन् १९८० मा हवाई दुर्घटनामा बित्दा ३३ वर्षका थिए। 

भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले २१ महिना लगाएको इमर्जेन्सी (२५ जुन १९७५–२१ मार्च १९७७) को मुख्य खलनायकका रूपमा चर्चा गरिने सञ्जय त्यो कालखण्डमा भएको जबरजस्ती नशबन्दी (पुरुष बन्ध्याकरण) र अतिक्रमित/सुकुमवासी बस्ती (झोपडपट्टि) सफाया अभियानका कारण बहुविवादित छन्।

इमर्जेन्सीमा प्रधानमन्त्री इन्दिरा गान्धीका अत्यावश्यक वस्तुको मूल्य कम गर्ने, सरकारी खर्च घटाउने, कृषियोग्य भूमिको हदबन्दी लागू गर्ने, भूमिहीनलाई जमिन दिने, बँधुवा मजदूरीलाई निमिट्यान्न पार्नेलगायत २० सूत्रीय लक्ष्य थिए। आमाको भिजन कार्यान्वयन गर्न सञ्जयले पाँचसूत्रीय कार्यक्रम घोषणा गरेका थिए– नशबन्दी, वृक्षारोपण, दहेज (दाइजो) उन्मूलन, निरक्षरता निमिट्यान्न अभियान र झोपडी हटाओ अभियान। चाकरहरूले सञ्जयको कार्यक्रमलाई भारतमा ‘सांस्कृतिक क्रान्ति’ को घोषणापत्र भनेर प्रशंसा गरिदिएकै थिए। 

त्यो अमानवीय नशबन्दी      
प्रेसमाथि कडा सेन्सरसिपको कारण त्यसबेलाको यकिन आँकडा नभए पनि इमर्जेन्सीकालमा ६०–८० लाख जनाको नशबन्दी भएको अनुमान गरिन्छ, जसमा ९० प्रतिशत जबरजस्ती गरिएको थियो (इमर्जेन्सी क्रोनिकल, ज्ञानप्रकाश)। संविधानप्रदत्त मौलिक अधिकारका साथै आधारभूत मानवअधिकारकै कुन हदसम्म धज्जी उडाइयो भन्ने उदाहरण थियो यो।   

दिल्लीमा उनको ‘फोकस’ झोपडपट्टि सफाया र नशबन्दीमा थियो। दिल्लीमै सय झोपडपट्टी बस्ती थिए, पाँच लाख मान्छेको बसोबास थियो। सञ्जय आफ्ना योजना साकार भए भारतको पचास प्रतिशत समस्या छुमन्तर हुने ठान्थे। पाँचसूत्रीय कार्यक्रममा नशबन्दी नै यस्तो कार्यक्रम थियो, जसले उनलाई करिश्माई नेताको छवि प्रदान गर्न सक्थ्यो (इन्डिया आफ्टर नेहरू, रामचन्द्र गुहा)। 

महाराष्ट्रको सतारा जिल्लाको स्थलगत अध्ययन गरेका मानवशास्त्रीलाई उद्धृत गर्दै गुहाले लेखेअनुसार इमर्जेन्सीको पहिलो वर्ष नशबन्दी कार्यक्रमले खासै सफलता पाएन। सेप्टेम्बर १९७६ मा सञ्जयले महाराष्ट्र दौरा गरेपछि अनिवार्य नशबन्दी शुरू गरियो। स्थानीय कर्मचारीहरूले तीन चार बालबच्चा जन्माइसकेका ‘योग्य पुरुषहरू’को फेहरिस्त बनाएका थिए। आरोपी खोजेजस्तै शैलीमा पुलिस गाडी लिएर आउँथ्यो, समातेर स्वास्थ्य केन्द्र पुर्‍याउँथ्यो। नशबन्दीबाट जोगिन मानिसहरू पहाडतिर पनि भागे।  

नशबन्दीका लागि शिविरहरू लगाइएको थियो। मुख्यमन्त्रीहरूलाई नशबन्दीको लक्ष्य दिइएको थियो। एउटा प्रान्तको तुलना अर्कोसँग गरिन्थ्यो। धेरै नशबन्दी भएको प्रान्तको संख्या देखाएर थोरै भएको प्रान्तको मुख्यमन्त्रीलाई संख्या बढाउन दबाब दिइन्थ्यो। मुख्यमन्त्रीहरूले डिस्ट्रिक्ट मजिस्ट्रेट (डीएम, हाम्रा सीडीओजस्तै) लाई लक्ष्य दिन्थे। लक्ष्य पुरा गर्ने डीएमको पदोन्नति हुन्थ्यो, पुरा गर्न नसक्ने दण्डित। 

जबरजस्ती नशबन्दी गराउने लहर देशैभर चल्यो। समात्यो, टेबलमा सुतायो, अपरेसन गरिदियो। नशबन्दीको डरले कतिपय गाउँले खेतमै सुत्थे। ट्रक चालकलाई लाइसेन्स नवीकरण गर्न नशबन्दी गर्नपर्थ्यो। घर भत्काइएपछि विस्थापित सुकुमवासीले पुनर्वासमा जग्गा पाउन नशबन्दी अनिवार्य थियो। 

उत्तर प्रदेशको सुल्तानपुरमा नशबन्दी गर्न भेला पारिएको समूहले पुलिसउपर हमला बोलेपछि गोली चलाउँदा कम्तिमा १३ जनाको ज्यान गयो। मुजफ्फरनगरमा त भीडले स्वास्थ्यचौकी जलाइदिएपछि पुलिसले गोली चलाउँदा ५० जनाको ज्यान गएको थियो। उत्तर प्रदेशमा घर–घर गएर नशबन्दीको लागि राजी गराउने ड्युटी पुरा नगर्ने कम्तीमा १५० शिक्षक गिरफ्तार गरिए।

नशबन्दी अभियानका लागि ‘फन्ड रेज’ कार्यक्रममा सहभागी हुन इन्कार गरेपछि गायक किशोरकुमारको गीतलाई आकाशवाणीको विविध भारती (फिल्मी गाना बजाउने कार्यक्रम)मा प्रतिबन्धित गरियो भने सेन्सर बोर्डलाई उनले गीत गाएको सिनेमाधरि पास नगर्न भनियो। 

नशबन्दी अभियानलाई स्वास्थ्य मन्त्रालयसँग परामर्श गर्नधरि आवश्यक नठानी हतारमा अघि बढाइएको थियो। गरेकै भए पनि कार्यक्रम सफल बनाउन कम्तीमा दुई वर्षसम्म निरन्तर जनचेतना, शिक्षा र प्रशिक्षण आवश्यक पर्छ भनेर भनिदिने कोही थिएनन्। सबै कुरा थाहा पाएका स्वास्थ्यमन्त्री डा. कर्ण सिंह खोपाको मन्त्री बनेर बसिदिए। (द सञ्जय स्टोरी)    

झुपडी सफायामार्फत सुकुमवासीलाई डाँडा कटाउने अभियान
घटना काठमाडौँमा खोला किनारका सुकुमवासी/अव्यवस्थित बस्तीमा बुल्डोजर चल्नुभन्दा ठिक ५० वर्षअघि दिल्लीको तुर्कमान गेटको हो। बुल्डोजर देख्दै अव्यवस्थित बस्तीमा ‘दहसत’ को माहोल हुन्थ्यो। केही दिनअघि नै शरणार्थी शिविर (ट्रान्जिट क्याम्प) का साथै केही घर/पसलमा बुल्डोजर चलाइसकिएको थियो। १९ अप्रिल १९७६ को दिन बिहानैदेखि महिला/बालबालिकासहित पाँच सयजति स्थानीय तुर्कमान गेटमा विरोधमा उत्रिएका थिए, कतिपयको हातमा कालोपट्टि थियो। प्रदर्शनकारीलाई हतियारधारी सुरक्षाकर्मीले घेरेका थिए। 

साढे ११ बजे बुल्डोजर पुग्यो, सात ट्रक केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) का जवान उतारियो। नजिकै आसफ अली रोडमा बुल्डोजर र सुरक्षाकर्मीको ट्रकको लाइन थियो। अप्रिलको गर्मीमा दिल्ली यसै तातो, भीड थपिँदै/तातिँदै गयो। प्रतिरोध गर्नेलाई पक्रेर लैजान बन्दी/कैदी ओसार्ने लरी ल्याइयो। भीड झन् भड्कियो। ‘मरता क्या न करता’– प्रदर्शनकारीको धैर्यको बाँध टुट्यो। उनीहरूले ढुंगामुढा गरी सुरक्षाकर्मीलाई तितरबितर पारे। यसअघि बुल्डोजर चढाई भइसकेकाले ढुंगामुढा गर्न सामग्रीको कमी थिएन। सुरक्षाकर्मीहरूलाई खदेडेपछि पनि घरका छत र गल्लीहरूबाट ढुंगामुढा जारी रह्यो। 

टियर ग्यास र हवाई फायरिङ शुरू भयो। एक घण्टामा दिल्ली पुलिसका आठ कम्पनी र सीमा सुरक्षा बलको एक कम्पनी ओरालियो। साढे २ बजे सुरक्षाकर्मीले गोली चलाउन थाले। प्रदर्शनकारीले हानेको एउटा ढुंगा लागेपछि फिल्ड कमान्डर, डीआइजी पिएस भिंडरले एक जना जवानको राइफल खोस्न खोजे। जवानले राइफल त दिएनन्, प्रदर्शनकारीउपर गोली दाग्ने आदेशचाहिँ पालन गरे। टियर ग्यास/गोलीबाट जोगिन प्रदर्शनकारी फैज–ए–इलाही मस्जिदको शरणमा परे। सुरक्षाकर्मी मस्जिदकै ढोका फोरेर भित्र घुस्यो। मस्जिदको आँगन रगतले लतपत भयो।

साढे ४ मा घोषणा भएको कर्फ्यु आदेश १३ मे सम्म कायम थियो। सुरक्षाकर्मीहरू घर–कारखानामा घुस्दै स्थानीयलाई कुट्न थाले। महिलाउपर दुर्व्यवहार भयो। सरकारले गोलीबाट छ जना मरेको पुष्टि गर्‍यो। अरू एजेन्सीहरूले सरकारले भने भन्दा मृतक संख्या कम्तीमा दोब्बर रहेको अनुमान गरे। पत्रकार कुलदीप नैयरले त ‘द जजमेन्ट’ मा १५० जना मारिएको दाबी गरिदिए।  

सुरक्षाकर्मीको ‘रक्तरञ्जित विजय’ पश्चात् बुल्डोजरका आवाज गडगडाउन थाले। १६ वटा बुल्डोजर प्रयोग गरी रातभर घर भत्काइयो। घर भत्काउने क्रम २२ अप्रिलसम्म अनवरत चल्यो। प्रतिकार भएन र मात्रै, नत्र १९ अप्रिलको घटना ५० वर्षपछि काठमाडौँमा २५ अप्रिल (थापाथाली र सिनामंगलमा डोजर चलेको दिन) मा दोहोरिनसक्थ्यो। 

सञ्जय झोपडपट्टीलाई शहरबाट नामेट गर्न चाहन्थे। झोपडपट्टीप्रति उनमा घृणा थियो। उनका दृष्टिमा ती कुरूप थिए, रोग र अपराधको घर थिए अनि सार्वभौम–स्वतन्त्र राष्ट्रका निम्ति धब्बा वा अपमानसूचक थिए। ‘मानिसहरू गरिबीका कारण हैन, अल्छी भएकाले झोपडपट्टिमा बस्छन्,’ उनको विश्वास थियो, ‘तिनलाई यस्तै जीवन मन पर्छ। यसै छाड्दियो भने उनीहरू सधैँ त्यही दुर्गन्ध र अभावपूर्ण जीवन बाँचिरहन्छन्।’ त्यसैले, सरकारले कठोर बाटो समात्नुपर्छ भन्नेमा उनी ढुक्क थिए। 

सुकुमवासीलाई डाँडा कटाएरै सही, सञ्जय झोपडपट्टि समस्याको उन्मूलन चाहन्थे। ती कतै बिरानो ठाउँमा जाऊन्, जहाँ कसैले देख्न नपरोस् भन्ठान्थे।। त्यसपछि उनी भन्न सक्थे– उनले दिल्लीलाई ‘सुन्दर’ बनाएका छन्। (द सञ्जय स्टोरी) 

जगमोहन त्यतिवेला दिल्ली विकास प्राधिकरणका उपाध्यक्ष थिए। ‘कुरूप र गन्धा शहर’ पेरिसलाई शानदार, गतिशील र सांस्कृतिक शहर बनाउने बेरन हाउसम्यान उनका आदर्श थिए। हाउसम्यानको आत्मा उनीभित्रै भट्किरहेको छ जस्तो लाग्थ्यो। जगमोहनका लागि झोपडपट्टीले दिल्लीलाई बिरामी र आत्माविहीन बनाइराखेको थियो। यसलाई सफा बनाउन लोकतान्त्रिक प्रक्रियाहरू अवरोध थिए। हर कदममा माथिको स्वीकृति, पुनर्वास योजना बनाउनु र जनप्रतिनिधि/राजनीतिक कार्यकर्तासँग सम्झौता गर्नु उनलाई समयको सत्यानाश र झिजो लाग्थ्यो। जगमोहन कम्युनिस्टहरूले शांघाई बनाएको रफ्तारमा दिल्ली बनाउन चाहन्थे। भारतीय काम गर्ने गतिमा उनको आपत्ति थियो। (इण्डिया आफ्टर नेहरू) 

प्रधानमन्त्री बालेन्द्र पनि विधि–प्रक्रिया झिजो लाग्ने सुनिन्छन्। पुनर्वास योजना सोच्दै नसोचीकन डोजर त चलाइहाले नै। आफ्नो घर भत्किँदै गर्दा रोइरहेका बालबालिकासहितको चित्कारमा नपग्लिने सञ्जय र बालेन्द्रको मन अनि शहरी सौन्दर्यीकरणप्रति तिनको प्यास ‘सेम–सेम’ सुनिन्छ।  

‘सुपर प्राइममिनिस्टर सञ्जय’
इलाहाबाद उच्च न्यायालयले २४ जुन १९७५ मा श्रीमती गान्धीले रायबरेलीबाट सन् १९७१ मा जितेको निर्वाचनलाई नै अवैध घोषित गरी ६ वर्ष चुनाव लड्न नपाउने फैसला गरिदिएपछि राजीनामा नगरी इमर्जेन्सीकाल घोषणा गरेर अघि बढ्न सुझाउनेमध्ये सञ्जय प्रमुख थिए। इमर्जेन्सीकालमा उनको ‘तूती’ बोल्थ्यो। श्रीमती गान्धीले पूर्वराजाहरूको पेन्सन (प्रिवी पर्स) खारेज गर्ने कानून ल्याउँदा ‘जन्म होइन, कर्मले प्रतिष्ठा आर्जन गर्नू’ भनेर नसिहत दिएकी श्रीमती गान्धी नै जन्मको आधारमा छोरालाई सर्वशक्तिमान् बनाउन सक्रिय थिइन्। 

एउटा उदाहरण, कुनै औपचारिक ओहोदामा नरहेका सञ्जय सूचना तथा प्रसारणमन्त्री इन्दरकुमार गुजराललाई सरकारी प्रसारण संस्था आकाशवाणी/दूरदर्शनको बुलेटिन प्रसारणअघि आफ्नो टेबलमा पुग्ने चाँजोपाँजो मिलाउन आदेश दिन्छन्। गुजराल त्यसलाई इन्कार गर्छन्। भोलिपल्ट ‘मन्त्रालय ठिक ढंगले चलाउन नसकेको’ भन्दै थर्काउन खोज्दा गुजराल सञ्जयसँग झोक्किन्छन् र कुनै अधिकारप्राप्त ओहोदामा नरहेको सम्झाउन खोज्छन्। ‘प्रधानमन्त्रीसँग त तिमी जन्मिनु अघिदेखि मेरो सहकार्य छ’ भन्छन्।

त्यसको भोलिपल्ट सञ्जयका निकटस्थ मोहम्मद युनुसले गुजराललाई फोन गरी बीबीसीको दिल्ली अफिस बन्द गरी त्यसका प्रमुख मार्क टलीलाई पक्रिने फर्मान गर्छन्। कारण, मन्त्रीद्वय जगजीवन राम र स्वर्ण सिंह घरमा नजरबन्द रहेको झुटा खबर बीबीसीले प्रसारण गर्‍यो भन्ने। ‘पक्रिएपछि टलीको पाइन्ट खोलेर पिछवाडामा उसैको बेल्टले कुटेर जेलमा ठुस्दिनू,’ युनुसको आदेश हुन्छ। 

‘विदेशी संवाददाता पक्रिने, थुन्ने काम सूचना तथा प्रसारण मन्त्रालयको होइन,’ गुजराल युनुसलाई मुख फर्काउँछन्, ‘त्यो पुलिसको काम हो।’ 

सञ्जयलाई उपद्रोहरूमा साथ दिने स्कुले साथी आदिल सहरियारको बुवा भएकै कारण मोहम्मद युनुस मन्त्रीहरूलाई आदेश दिने हैसियतमा थिए। 

तैपनि मन्त्रीले बीबीसीको ‘मनिटरिङ रिपोर्ट’ नै मगाएर हेर्छन् त बीबीसीमा स्वर्ण सिंह र जगजीवनराम नजरबन्दमा रहेको भनिएको समाचार प्रसारण भएकै थिएन। उनी यो जानकारी प्रधानमन्त्री गान्धीलाई त दिन्छन्, तर श्रीमती गान्धीले मन्त्रालय कडा हातबाट चलाउनुपर्ने भयो भन्दै सूचना तथा प्रसारण मन्त्रालयको जिम्मेवारी विद्याचरण शुक्लालाई दिएको सुनाउँछिन्। नेहरू मन्त्रिमण्डलमा काम गरिसकेका स्वर्ण सिंहलाई हटाएर वंशीलाललाई यसकारण रक्षामन्त्री बनाइयो कि सिंह इमर्जेन्सीबाट उत्साहित थिएनन्। 

बिहान ८ बजे सक्रिय हुने सञ्जय, चण्डाल चौकडीसँग बैठक गरी आफ्नो काम शुरू गर्थे। चण्डाल चौकडीमा नविन चावला (दिल्लीका उपराज्यपालका पीए), डीआइजी पीएस भिन्डर, युवा कंग्रेस अध्यक्ष अम्बिका सोनी र रुखसाना सुल्ताना थिए। यही टिम बिहानै सञ्जयको अफिसमा बैठक गरी आदेश तामेल गर्ने प्रगति विवरण लिने गर्थ्यो। सरकार र सञ्जयको टिमलाई ‘ब्रिजिङ’ गर्ने काम प्रधानमन्त्रीका स्टेनोग्राफर आरके धवनले गर्थे। यी सबैलाई ज्ञान दिन अघि सर्ने ज्ञानचन्द थिए, धिरेन्द्र ब्रह्मचारी। लाइसेन्स खोज्ने व्यापारी, कर माफी चाहने व्यापारीदेखि मन्त्री बन्न चाहने सांसद यही चौकडीसँग सम्पर्क गर्थे। (रामचन्द्र गुहा)

आवश्यक परे विश्वासपात्र सरकारी अफिसरहरूबाट ब्रिफिङ लिन्थे। बैठकहरूमा सञ्जय दो टूक (एकाध वाक्य) बोल्थे। त्यसपछि ‘ड्रिम प्रोजेक्ट’ मारुतीको निर्माणाधीन कारखाना गुडगावँतिर लाग्थे। उनी ड्राइभिङ र तेज रफ्तारका पनि सौखिन थिए। दिल्लीमा रहँदा प्रधानमन्त्रीको सपरिवार साथसाथै खाना खाने रुटिन थियो, यसका लागि उनी दिउँसो १२.४५ मा घर आइपुग्थे। २ बजे शुरू हुने भेटघाटमा उनलाई भेट्न केन्द्रीय मन्त्री, मुख्यमन्त्रीहरू र युथ कंग्रेसका नेताहरूको लाइन लाग्थ्यो। उनले दिने समय अजिबको हुन्थ्यो, जस्तै ४ बजेर ७ मिनेटमा, ३ बजेर ११ मिनेट, २ बजेर १९ मिनेटमा। भेट्न छिर्ने पाहुनालाई स्वागत गर्न, बिदाइ गर्न ढोकासम्म त पुग्दैनथे नै, बसेको ठाउँबाट उठ्दा पनि उठ्दैन थिए। (बीबीसी हिन्दी)

गाडी ड्राइभिङमा सौखिन त प्रधानमन्त्री बालेन्द्र पनि सुनिन्छन्, सञ्जय झैँ तेज रफ्तारका पनि सौखिन चाहिँ छन्/छैनन् थाहा भएन। सञ्जय लाइसेन्सप्राप्त पाइलट पनि थिए, जसकै कारण उनले युवावयमै ज्यान गुमाए। सायद बालेन्द्र पाइलटचाहिँ परेनन्।  

सत्ताको केन्द्रमा रहेका उनी जयपुर जाँदा राजस्थानका मुख्यमन्त्री नै ‘रिसिब’ गर्न एयरपोर्ट पुगे नै, ५०१ तोरणद्वार पार गराउँदै शहर प्रवेश गराइयो। उत्तरप्रदेशमा त हदै भयो, विमानबाट उत्रिएर गाडीतिर अघि बढ्दैगर्दा सञ्जयको खुट्टाबाट खुस्किएको चप्पल समातेर खुट्टामा छिराइदिन स्वयम् मुख्यमन्त्री अघि सर्छन्। (रामचन्द्र गुहा) 

उनले भनेपछि ब्रह्मवाक्य हुन पुग्थ्यो, फरक मत राख्न कसैले सक्तैनथे। चिया, सफ्ट ड्रिंक, पान–सुपारीसमेत रुचाउन्नथे। अरूलाई पनि नखान भन्थे, ‘मेरो साथ नहुनुको मतलब मेरो खिलाफमा छौ’ भन्नेखाले। तटस्थ हुनु गल्ती थियो। 

दुई एडमिडरलमध्ये कसलाई नौसेना प्रमुख बनाउने भन्ने निधो गर्न रक्षामन्त्री दुवै जनरललाई लिएर सञ्जय गान्धीकहाँ पुग्छन्, गान्धी दुवैको अन्तर्वार्ता लिएर टुंगो लगाइदिन्छन्।

नेहरू–इन्दिरा शासनमा वर्चस्व जमाएका कश्मिरी अधिकारीहरूलाई ‘कश्मिरी माफिया’ भनिन्थ्यो। नेहरूको पुर्ख्यौली थातथलो नै कश्मिर भएकाले कश्मिरी अधिकारीहरू शक्तिशाली बन्नपुगेका थिए। सञ्जयको वरपरचाहिँ ‘पन्जाबी’ माफिया बनेको थियो। सञ्जयपत्नी मेनका पन्जाबी भएकाले पन्जाबी पृष्ठभूमिको चौकडी बनेको थियो। फरक के थियो भने कश्मिरी माफिया ‘नरममिजास’ थिए भने पन्जाबीहरू चर्का। अर्को कुरा, कश्मिरी माफिया नेहरू–गान्धी परिवारका साथै समाजवादी विचारधाराप्रति पनि प्रतिबद्ध थिए, पन्जाबी माफिया सञ्जयप्रति मात्रै प्रतिबद्ध।

बालेन्द्र सरकारमा मन्त्रीहरूउपर प्रधानमन्त्रीको सचिवालय हाबी सुनिन्छ। सचिवालयमा मेयर छँदाकै टिम छ। मन्त्रीहरूले सचिवालयलाई नसोधीकन महत्त्वपूर्ण निर्णय मात्र होइन, कार्यक्रममा जान पनि नसक्ने सुनिँदै छ। 

बदलाको भावना: उता पनि, यता पनि 
ती पिएन हक्सर इलाहाबाद विश्वविद्यालयमा छात्र छँदा आनन्द भवन पुग्ने गर्थे, चर्चित वकिल मोतिहाल नेहरूलाई भेट्न। त्यही आवतजावतमा उनको दोस्तीयारी छोरा जवाहरलाल नेहरूसँग हुन्छ। परिवारैसँग निकट हुनेक्रममा उनको दोस्ती उमेरमा केही साना फिरोज गान्धीसँग हुन्छ, जो पछि नेहरूको ज्वाईं बन्छन्। नेहरूकी छोरी इन्दिरासँग निकटता त स्वाभाविकै भइहाल्यो। तिनै हक्सर इमर्जेन्सीकालमा योजना आयोगको उपाध्यक्षको रूपमा मन्त्रिपरिषद् बैठकमै सहभागी भइरहेका वेला आफ्नै वृद्ध काकालाई पुलिसले गिरफ्तार गरेको खबर पाउँछन्। 

सन १९६५ मा उनी लन्डनमा हाइकमिश्नर रहँदा तत्कालीन सूचना तथा प्रसारणमन्त्री इन्दिरा गान्धीसँग नियमित सम्पर्कमा थिए। इन्दिराका दुवै छोरा राजीव र सञ्जय लन्डनमै थिए। राजीव प्राविधिक पढाइमा थिए, सञ्जय कार निर्माता ‘रोल्सरोयस’ मा चार वर्षे सिकाई (अपरेन्टिस) मा थिए।

सञ्जयले ‘सिक्नपर्ने कुरा एक वर्षमा सबै सिकें, अब त्यही सिकाई दोहोर्‍याइरहनु समयको सत्यानाश हो’ भन्दै घर फर्किन आमाको अनुमति माग्छन्। श्रीमती गान्धीले ‘सञ्जयलाई के भनूँ?’ भनेर सल्लाह माग्दा हक्सर शैक्षिक उपाधि नहुँदा भारतीय समाजमा स्वीकार्य हुन गाह्रो पर्ने व्याख्या गरी कोर्स पूरा गराउन सुझाउँछन्।   

प्रधानमन्त्री बनेपछि श्रीमती गान्धीकै अनुरोधमा हक्सर दिल्ली फर्किई प्रधानमन्त्रीको प्रमुख सचिवको रूपमा काम थाल्छन्। श्रीमती गान्धीलाई लोकप्रिय बनाउने आर्थिक खाका बनाउने हक्सर नै थिए। बैंकहरूको राष्ट्रियकरण, प्रिवी पर्स खारेजी जस्ता नीति माक्र्सवादी विचारधाराका हक्सरकै थियो। सरकारी सेवाबाट अवकाश पाएपछि उनी योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए। उनका काकालाई दोकानमा मूल्यसूची सही तरिकाले नराखेकोमा गिरफ्तार गरिएको थियो। सञ्जयकै आदेशमा गिरफ्तारी भएको थियो। कारणचाहिँ, काकाभन्दा पनि उनै पिएन हक्सर थिए। 

लण्डनबाट फर्किन खोज्दा ‘कोर्स पुरा गर्नपर्छ भनेर आमालाई उचाल्नु’ उनको ‘अपराध’ थियो। काकालाई छोडाउन हक्सर त सक्रिय भएनन्, कंग्रेस नेता डीपी सिंहले उपराज्यपाल किशनचन्द अग्रवाललाई भेटी जमानतको मागमा विरोध नगर्न मनाई जमानतमा छोडाएका थिए। गिरफ्तारीपछि सञ्जयले ‘त्यो बूढो मलाई कोर्स पुरा गराउन खोज्ने’ भन्दै चण्डाल चौकडीसँग अट्टहास गरेका थिए। (लल्लनटप, युट्युब) 

हक्सरचाहिँ कस्ता थिए भने, सन् १९७४ मा प्रधानमन्त्री सचिवालयबाट बिदा हुनेक्रममा उनलाई श्रीमती गान्धीले पद्मविभूषणले सम्मानित गर्ने प्रस्ताव गर्दा ‘गर्नैपर्ने कर्तव्यपालनका लागि कुनै सम्मान/पुरस्कार ग्रहण गर्नु लज्जास्पद हुन्छ’ भन्दै अस्वीकार गरेका थिए।

प्रधानमन्त्री भएपछि प्रदेशसभा सदस्य रेखा शर्माको गिरफ्तारीमा दिएको प्राथमिकता हेर्दा बालेन्द्रमा पनि पुरानो तुष पाल्ने बानी छ जस्तो लाग्छ। यातना पाएकी भनिएकी नाबालिग बालिकालाई काठमाडौँ महानगरले उद्धार गरे पनि घरधनी शर्माउपर मुद्दा चलाउने बालेन्द्रको योजनाचाहिँ सरकारी वकिलले मुद्दा नचल्ने निर्णय गरी तुहाइदिएका थिए। २९ माघ २०८१ मा फेसबुकमा ‘सरी नानू, तिम्रा पीडकविरुद्ध मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनू। समय आउनेछ’ लेखेका तत्कालीन मेयर बालेन्द्रले चैत १३ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि १६ गते तै शर्मा पक्राउ परिन्। तर २०८२ जेठ १६ गते नै महान्यायाधिवक्ता कार्यालयबाटै सदर भइसकेको मुद्दा नचल्ने निर्णय कानूनसम्मत ठहर्‍याउँदै शर्मालाई थुनामुक्त गर्ने आदेश चैत २२ गते जिल्ला अदालतले दिएको थियो। शर्माउपर विधिवत् कारबाही चलाउने भन्दा पनि उनको उद्देश्य एकाध दिन थुनेर पुरानो झोँक शान्त पार्ने खालको देखिन्छ।  

नदीकिनारका बस्ती भत्काउने क्रममा डोजर लगाइएको काठमाडौँ–१० धोबिखोला किनारको इन्द्र चाम्लिङको घरमा पनि मेयर शाहले २०७९ मै डोजर लगाउन खोजेका थिए। नम्बरीमा सार्वजनिक जग्गासमेत अतिक्रमण गरी चार तलाको नक्सा पास गरी आठ तला निर्माण गरिएको घरमा डोजर लगाउने मेयरको योजनालाई चाम्लिङले पावर लगाएरै निस्तेज पारेका थिए। धोबिखोला किनारका अरू त्यस्तै घर वास्ता नगरी त्यसैमा डोजर कुदाइहाल्नुमा पनि पुरानै रिसले पनि काम गरेको अनुमान गर्न सकिन्छ। (त्यो घरमा डोजर लगाउनु गलत भन्न खोजिएको हैन)           

‘ब्रान्ड सञ्जय’ बनाउने प्रयास 
सञ्जयलाई भावी प्रधानमन्त्रीको रूपमा प्रोजेक्ट गर्न काफी काम गरिएको थियो। सरकारी मिडिया त थिए नै, निजी मिडिया/पत्रकारहरूले पनि नाइटैदेखिको बल लगाएका थिए। उनलाई ‘म्यान अफ एक्सन’ का रूपमा ब्राण्डिङ गरिएको थियो। बालेन्द्रजस्तै आमसभाहरूमा बोल्दै–नबोल्ने त थिएनन्, सञ्जय। लामो–लामो भाषण गर्न सक्ने उत्कृष्ट वक्ता पनि थिएनन्। बैठकहरूमा पनि दो टूक बोल्ने, आदेश दिने शैली थियो। त्यसैले उनी ‘कम बोल, धेरै काम गर’ भन्नेगर्थे। भक्तजनले कम बोल्ने, धेरै काम गर्ने नेताको रूपमा ब्राण्डिङ गरेका थिए। 

प्रधानमन्त्री बालेन्द्रको कमजोरीलाई पनि उसैगरी ‘नबोल्ने, काम गर्ने’ भनेर ब्राण्डिङ गरिएको छ। जबकि समस्या वक्तृत्वकला नहुनु हो, जो नेताका लागि अपरिहार्य मानिन्छ। यहाँ वक्तृत्वकला नहुनु नै सबल पक्ष जसरी ‘न्यारेटिभ’ गढिएको छ, जसरी सञ्जयका लागि गरिएको थियो।  

खुशवन्त सिंह सञ्जयको सबैभन्दा उच्चस्तरको प्रशंसकको अवतारमा उत्रिए। काम गर्ने ‘जुनून’ भएको नेता बनाए। उनको सम्पादकीय नेतृत्वको ‘इलस्ट्रेटेड विक्ली अफ इन्डिया’ ले सञ्जयलाई ‘इन्डियन अफ द इयर’ घोषणा गरेको थियो। सञ्जय–मेनकाको जोडीलाई कभर बनाएको थियो। ‘प्रतिबद्धता छ, न्यायको भावना छ, जोखिम मोल्ने क्षमता छ, डर नामको चीज छैन,’ खुशवन्तले पं्रशसामा लेखेका थिए, ‘सञ्जयले राजनीतिमा नयाँ आयाम थपेका छन्, दोगला र चम्चा टाइप मान्छेलाई ढिम्किनै दिँदैनन्। दारु चुरोट नलिने सादा जीवन त भइहाल्यो। उनका प्रत्येक शब्दको गहिरो गतिविधि हुन्छ।’ 

अल इन्डिया रेडियोको दिल्ली स्टेसनले एक वर्षमा सञ्जयउपर १९२ खबर चलायो। दूरदर्शनले २६५ खबर चलायो। आन्ध्र प्रदेश दौरा गर्दा सूचना तथा प्रसारण मन्त्रालयको फिल्म डिभिजनले डकुमेन्ट्री ‘अ डे टू रिमेम्बर’ बनाइदियो। (रामचन्द्र गुहा)

मिडियाले पनि दबाब र प्रभावमा इन्दिरा गान्धीको इमर्जेन्सी र सञ्जयका गतिविधिलाई सहयोग गरे। उनलाई उद्धारकर्ताको रूपमा व्याख्या गरे। उनीबारे लेखिएका वा भनिएका सबै विवरणलाई आधार मान्ने हो भने त सञ्जयसँग सुकरातको बुद्धिमत्ता, केनेडीको आकर्षण, गान्धीको नैतिकता, नेहरूको देशभक्ति र आफ्नी आमाको व्यावहारिकता— सबै गुण एकैसाथ रहेको मान्नपर्ने हुन्थ्यो। श्रीमती गान्धीले आफ्ना छोरालाई सार्वजनिक जीवनमा अघि बढाउन स्वयम् सक्रिय रहेको र उनको राजनीतिक भविष्य निर्माणमा चासो राखेको संकेत दिनेबित्तिकै मिडियाले सञ्जयलाई जुरुक्कै उचालिहाले। (द सञ्जय स्टोरी) 

इमर्जेन्सीको छ हप्तापछि सञ्जयले दिल्लीबाट प्रकाशित हुने ‘सर्ज’ लाई लामो अन्तर्वार्ता दिएका थिए। 

अन्तर्वार्तामा प्रधानमन्त्री तपाईंले भनेको कुरा भुईंमा खस्न नपाई  मानिहाल्नु हुन्छ रे त भनेर सोध्दा सञ्जय भन्छन्, ‘हो, आमाले म पाँच वर्षकै छँदा पनि मैले भनेको मान्नुहुन्थ्यो।’ 

अन्तर्वार्तामा दारु, चुरोट नलिने आफ्नो बानी सुनाउँदै उनी १२–१४ घण्टा काम गर्ने गरेको अनि भारतीय बजारमा ‘फिएट’ र ‘एम्बेस्डर’ कारलाई विस्थापित गर्ने कारको निर्माण गर्न दिनरात खटिरहेको सुनाउँछन्।  

निर्बाध उद्योग स्थापनाको पक्षमा सुनिएका उनी कहिले, कहाँ, कसरी उद्योग लगाउने भन्ने उद्योगपतिलाई छाड्दिनपर्छ, सरकारले यसमा शर्तहरू थुपार्न हुँदैन भन्छन्। ‘लोकतन्त्रको मतलब देश निर्माणको आजादी हो,’ लोकतन्त्रबारे उनले भनेका थिए, ‘मतलब यो होइन कसैले कुनै चीजलाई आफ्नो मर्जीले बर्बाद गर्दिनू।’  

अन्तर्वार्तामा कांग्रेस कार्यकर्ता आधारित (क्याडर बेस्ड) पार्टी हुनपर्छ भन्ने सञ्जय भारतीय जनसंघ र कम्युनिस्ट पार्टी क्याडर बेस्ड त हुन् नि भनेर सोध्दा ‘फाइदाको आधारमा बनेको पार्टी’ भनेर जनसंघलाई खारेज गर्छन्। ‘कम्युनिस्ट पार्टीमा त तल्लो तप्कादेखि मध्यम तह र शीर्ष नेतृत्वमा भ्रष्ट र धनी अरूमा छैनन्,’ उनको गम्भीर आरोप थियो।  

उनी अन्तर्वार्ता दिँदै हिँड्नेवाला थिएनन्। यसैले कम चल्तीको सर्जले यो अन्तर्वार्ता अनेकन् एजेन्सीहरूलाई बेचेको थियो। 

खुला बजार अर्थतन्त्रको पक्षमा सञ्जयले बोलेका कुरा देशी–विदेशी सबै सञ्चारमाध्यमका लागि हेडलाइन बने। किनकि उनको विचार श्रीमती गान्धीको समाजवादी विचारको उल्टो थियो। श्रीमती गान्धीको सहयोगीको रूपमा रहँदै आएका कम्युनिस्टहरूलाई सबैभन्दा भ्रष्ट भन्दिनु पनि ‘एक्सक्लुसिभ’ नै भयो। 

रफ्फू भर्न प्रधानमन्त्रीका सचिव पीएन धरि सक्रिय हुनुपर्‍यो। सर्जमा प्रकाशनको तयारीमा रहेको अन्तर्वार्ताको दोश्रो भाग प्रकाशनमा रोक लगाइयो। सञ्जयलाई ‘जनसंघीहरू त कम्युनिस्टभन्दा पनि भ्रष्ट छन् र सरकारको प्रगतिशील नीति, गरिबहितका कार्यक्रमको समर्थन गरेकोमा कम्युनिस्टहरूको तारिफ गर्नपर्छ’ भन्न लगाएर ‘ड्यामेज कन्ट्रोल’ गर्न परेको थियो।   

‘इलस्ट्रेटेड विक्ली अफ इन्डिया’ ले पत्रकारिताउपर सेन्सरबारे सोध्दा उनी भन्छन्, ‘अपमानजनक र झुठो खबर फैलाउने प्रेसको दुस्साहस रोक्न सेन्सरशीप नै औषधि हो।’ प्रेसले विना अधिकार सरकारी काममा दखलन्दाजी अनि राम्रो काममा अवरोध गर्‍यो भन्ने उनको आरोप हुनेगथ्र्यो। ‘सकारात्मक प्रेस’ को आवश्यकता औँल्याउँदै उनले सरकारी विज्ञापन र बिजुली काटेर त्यो अवधारणा लागू गर्न खोजे। यदि अखबारहरूले उनको आलोचना गरे भने तिनलाई खराब, ‘कम्युनिस्ट’को ट्याग लगाए र बल प्रयोग गरे। (द सञ्जय स्टोरी) 

प्रेसबारे प्रधानमन्त्री बालेन्द्र पनि सञ्जय भन्दा फरक सुनिँदैनन्। उनका लागि मूलधारे मिडिया भनेको सम्भवतः झूठो खबरको कारखाना अनि विकासको अवरोधभन्दा माथि केही होइन। उनी प्रधानमन्त्री बन्नसाथ सरकारी विज्ञापन निजी मिडियामा नजाओस् भनेर नाकाबन्दी लगाइसकिएकै छ।  

पेलेर भएनन्–भइँदैन सफल    
नोइडा निर्माणको शुरूआत पेलेरै गरेको भए पनि नतिजा त आयो नि भन्ने लाग्न सक्छ, अहिलेको नोइडा हेरेर। त्यस्तो होइन। इमर्जेन्सी अन्त्य भएसँगै जनता पार्टी सत्तामा आएपछि नोइडाको निर्माण पनि इमर्जेन्सीको ज्यादती छानबिन गर्न गठित शाह आयोगको छानबिनको दायरामा पर्‍यो। किसानहरूले मुआब्जा नपाएको, कम पाएको जस्ता अनेकन् उजुरीहरू आयोगसमक्ष परे। जनता पार्टीको सरकार गिरेपछि सन १९८० मा श्रीमती गान्धी पुनः सत्तामा फर्किइन्। केही समयपछि सञ्जय हवाई दुर्घटनामा बिते। रुग्ण प्रोजेक्ट बनिसकेको नोइडालाई छोराको सपनाको रूपमा श्रीमती गान्धीले प्राथमिकता दिइन्। सन् १९८४ मा आएर बल्ल नोइडा सफल प्रोजेक्टको रूपमा देखिन थाल्यो। 

भारतमा मध्यमवर्गीयसँग एउटा कार हुनुपर्छ भन्ने सपना देखेर सञ्जयले शुरू गरेको मारुती पनि उनको जीवनकालमा सफल हुन सकेन। छोराको सपना साकार पार्न श्रीमती गान्धीले कम्मर कसेपछि सफल भयो। उनी मारुती ८०० अधुरै छाडेर गए, आज यो एउटा ग्लोबल ब्रान्ड बनेको छ।  

जनसंख्याविद्ले भारतमा १९५० तिरै सामूहिक नशबन्दी नगरे भोकमरीको भयानक संकटको भविष्यवाणी गरिदिएका थिए। अभियान शुरू त गरियो, फेल भयो। जनसंख्या बढेको बढ्यै भयो। सन् १९७२ मा भोकमरी भोगेको भारतमा सन १९७३ मा कच्चा तेलको मूल्य तेब्बर बढ्दा महँगी बढ्यो। महँगीको कारण सरकार अलोकप्रिय भई श्रीमती गान्धीविरुद्ध सडक आन्दोलन भएको बुझेका सञ्जय नशबन्दी अभियान शुरू गर्न अघि बढ्नु स्वाभाविकै भए पनि शैली आपराधिक भयो।  

यसैले सन् १९७७ मा भएको आमचुनावमा आजाद भारतमा कांग्रेसले हार्दा पहिलोचोटि चुनावी प्रतिस्पर्धामा उत्रिएका सञ्जय पराजित भए नै, प्रधानमन्त्री गान्धी स्वयम् हारिन्। इमर्जेन्सीको मारमा परेको उत्तर भारतमा कांग्रेसको सफाया भयो।

सञ्जयले बुझेको ‘विकास’मै समस्या थियो, जसले उच्च र मध्यमवर्गीय जनतालाई नै केन्द्रमा राख्थ्यो। उच्च र मध्यमवर्गका लागि चौडा सडक, हरियाली, उद्यान भएको शहर र मध्यमवर्गको पहुँचमा हुने कार निर्माणको हुटहुटी त हुने तर सबैभन्दा विपन्न वर्गको चित्कार नसुन्ने। अर्कातिर अधिकारसम्पन्न निकाय/अधिकारीलाई नै पङ्गु बनाएर शक्तिलाई आफ्नो वरिपरि केन्द्रीकृत गरी ओहोदामै नरहेका गैरजवाफदेही मण्डलीहरूमार्फत आफ्ना लक्ष्य भेदन गर्न खोज्ने।  

प्रधानमन्त्री बालेन्द्रबाट यस्तो गल्ती नहोस्। देश सुकिला–मुकिलाको मात्रै होइन। प्राथमिकतामा सबैभन्दा भुईं तहका नागरिक नै परुन्। मन्त्रीहरूलाई अधिकारबिहीन बनाई दरबारका सचिवहरूलाई शक्तिमान बनाउने तत्कालीन राजा वीरेन्द्रको अभ्यासले पञ्चायतकै आयु छोट्यायो। प्रधानमन्त्रीले मन्त्रीहरूलाई अधिकारसम्पन्न बनाई कार्यसम्पादनमा उत्प्रेरित गरुन्, अनियमिततामा निगरानी गरुन्। प्रधानमन्त्री सचिवालयसँग त्राहिमाम् मन्त्रीहरूबाट अब्बल कार्यसम्पादन अपेक्षित हुँदैन।