साफ महिला च्याम्पियनसिपमा बांग्लादेशसँग नेपाल पराजित

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बांग्लादेशसँग २-१ गोलअन्तरले पराजित भएको छ।

काठमाडाैँ– साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बांग्लादेशसँग २-१ गोलअन्तरले पराजित भएको छ।

भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले शुरूआति अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा सेमिफाइनलबाटै बाहिरिएको हो।

नेपालका लागि गीता रानाले २२औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन्। तर बांग्लादेशकी रितु पवर्ना चक्माले पहिलो हाफको अतिरिक्त समयमा कर्नरबाट गोल गर्दै खेललाई १/१ को बराबरीमा ल्याइन्। दोस्रो हाफको अतिरिक्त समयमा मोसम्मत सागोरिकाले गोल गर्दै बांग्लादेशलाई जित दिलाइन्।

यो जितसँगै फाइनलमा स्थान बनाएको बंगलादेशले घरेलु टोली भारत र भुटानबीचको विजेतासँग उपाधिका लागि भिड्नेछ।

साफमा दोस्रोपटक सेमिफाइनलबाटै बाहिरिएको नेपाल पछिल्ला तीनवटा संस्करणमा बांग्लादेशसँगै पराजित भएको छ। यस संस्करणका अघिल्ला खेलमा नेपालले भुटानलाई १–० र श्रीलंकालाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। तर साफ विजेता बन्ने नेपालको लक्ष्य यस पटक पनि अधुरै रहेको छ।