Sunday, April 28, 2024

-->

पञ्चायतका ‘शेरे धनुषा’ सम्झाउने रघुवीर र जुलीको उम्मेदवारी

‘शेरे धनुषा’ पञ्चायतकालका यस्ता नेता थिए, जसले २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा आफू मात्र नभइ श्रीमतीलाई समेत उम्मेदवार बनाएर जिताएका थिए।

पञ्चायतका ‘शेरे धनुषा’ सम्झाउने रघुवीर र जुलीको उम्मेदवारी

काठमाडौँ– २०३८ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा धनुषाबाट हेमबहादुर मल्ल निर्वाचित भएका थिए। दुई लाख २७ हजार १३ मतदाता रहेको धनुषामा उनले ७६ हजार २७० मत पाएका थिए। 

जिल्लाको प्रभावशाली नेता रहेका उनलाई 'शेरे धनुषा' उपनामले चिनिन्थ्यो। २०३८ सालको चुनावपछि उनले यो उपनाम पाएका थिए। २०४३ सालको निर्वाचनमा आफ्नो मत झनै बढाए। मल्लले ९३ हजार १४९ मत पाएका थिए। 

राष्ट्रिय पञ्चायतमा धेरै मतदाता भएको जिल्लाबाट दुई जना चुनिने व्यवस्था थियो। धनुषाबाट २०४३ सालमा मल्ल मात्र निर्वाचित भएनन् कि श्रीमतीलाई पनि विजयी गराए। उनकी श्रीमती शारदाले ५३ हजार ९९६ मत पाएकी थिइन्।

मल्ल दम्पतीले त्यतिखेर सत्ताको प्रभावले चुनाव जितेको अर्थशास्त्री डा. भोगेन्द्र झा सम्झन्छन्। पञ्चायतकालमा हेमबहादुर मल्ल पटकपटक मन्त्री भएका थिए। “अहिले ‘मनी पावर’को जुन पुनरावृत्ति भइरहेको छ, त्यही मनि पावर त्यतिखेर हेमबहादुर मल्लले प्रयोग गर्नुभएको थियो”, झा भन्छन्, “सत्ता र पैसा दुइटै पावर थियो उहाँसँग।”

पाँच दशकदेखि धनुषाको राजनीतिलाई नजिकबाट नियाल्दै आएका रामनारायण झा पनि पञ्चायतकालमा हेमबहादुर मल्लको एकछत्र राज रहेको बताउँछन्। “उनीविरुद्ध उम्मेदवार बन्ने गरेका लोकप्रिय नेता मकेश्वर सिंह धेरै पछि पर्थे। मल्लका निकटतम प्रतिस्पर्धी हुने देवनारायण यादव र मदन गिरी थिए। तर, मल्ललाई उनीहरूले कहिल्यै जितेनन्”, झा भन्छन्, “मल्लका साथमा शासन र प्रशासन दुइटै थियो, त्यही भएर मल्ल दम्पतीलाई निर्वाचन जित्न सहज भएको थियो।”

पञ्चायती व्यवस्था पतन भएको दशकौँपछि धनुषाको राजनीतिमा पुनः श्रीमान-श्रीमतीको उम्मेदवारी देखिएको छ। आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनुषा ४ बाट रघुवीर महासेठ उम्मेदवार छन् भने धनुषा ३ बाट उनकी श्रीमती जुली महतोले उम्मेदवारी दिएकी छन्। उनीहरू दुवै एमाले उम्मेदवार हुन्। यसअघि महासेठ प्रत्यक्षबाट निर्वाचित सांसद थिए। पत्नी महतो समानुपातिक सांसद थिइन्।

जुली महतो उपेन्द्र महतोकी बहिनी हुन्। रघुवीर महासेठले पैसाको बलमा एमालेमा पहुँच बढाउँदै लगेको आरोप लाग्ने गर्छ। उनलाई पैसाकै बलमा चुनाव जित्न प्रयास गर्ने नेताको रूपमा बुझ्ने धेरै छन्। त्यसैले उनलाई हेमबहादुर मल्लसँग तुलना गर्न थालेका छन्।

यद्यपि, दम्पती नै विजयी हुने धनुषाको राजनीतिक इतिहास दोहोर्‍याउन महासेठ दम्पतीलाई मुस्किल हुने डा. झाको भनाइ छ। उनी भन्छन्, “तत्कालीन समाजले मल्ल दम्पतीलाई स्वीकार्‍यो तर अहिलेको समाजले रघुवीर र जुलीलाई स्वीकार्ने स्थिति छैन। त्यो आजभन्दा चार दशकअघिको कुरा थियो।"

कोही पनि राजनीतिक चेत भएको मान्छे दम्पती नै उम्मेदवार नबन्ने उनी बताउँछन्। "महासेठसँग राजनीतिक चेत भएको भए दुवै जना निर्वाचनमा उठ्ने नै थिएनन्। यद्यपि, पैसा खर्च गरेर चुनाव जित्न पनि सक्छन्।”

मल्ल दम्पतीले पञ्चायतमा वर्चस्व जमाएजस्तै महासेठ दम्पतीले पनि गणतन्त्रमा वर्चस्व जमाउने प्रयासमा लागेको लेखक तथा विश्लेषक रोशन जनकपुरीको मत छ। “मल्ल दम्पतीको प्रभाव जनतामा पनि थियो र सत्तामा पनि थियो। उनीहरू उस्तै परे बुथै कब्जा गरेर पनि जित्थे”, जनकपुरी भन्छन्, “आफू शक्तिशाली भएकै कारण यसअघि महासेठले श्रीमतीलाई पनि समानुपातिकबाट सांसद बनाउन सफल भएका हुन्।”

धनुषा-४ मा एमाले र जसपाको छैन गठबन्धन
२०७० सालको संविधानसभा निर्वाचमा पराजित भएका महासेठ २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी बनेका थिए। उनको २२ हजार ५३२ मत आउँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र यादवले १९ हजार ९९१ मत थियो। 

यादव २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा समानुपातिक सांसद थिए भने २०७४ सालको निर्वाचनअघि खानेपानी मन्त्रीसमेत बनेका थिए। उनी अहिल नेपाली कांग्रेसको सहमहामन्त्री छन्।

यसपटकको निर्वाचनमा धनुषा-४ मा महासेठको प्रतिस्पर्धा गठबन्धनबाट उम्मेदवार बनेका उनै यादवसँग हुँदैछ। यसपटक महासेठलाई नेकपा माओवादी केन्द्रको साथ भने छैन। माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गरेको छ। जसपाले पनि आफ्नै उम्मेदवार उठाएका कारण एमाले एक्लै प्रतिश्पर्धामा छ। जसपाबाट महाजन यादव उम्मेदवार छन्।

यसअघि २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा महासेठ पराजित भएका थिए। २०६४ सालको उपनिर्वाचनमा भने जित हासिल गरेका थिए। 

महेन्द्र यादवका निकट सहयोगी मानिएका सन्तोषा यादव एमाले प्रवेश गरेका कारण उनलाई केही सहज हुनसक्ने विश्लेषकहरू बताउँछन्। कांग्रेसको पछिल्लो जिल्ल अधिवेशनमा उनी सभापतिका प्रत्यासी थिए।

क्षेत्र नं ४ मा रघुवीर महासेठको अवस्था बलियो भएको एमाले जिल्ला अध्यक्ष राजकिशोर यादव बताउँछन्। “रघुवीर महासेठ आफ्नो क्षेत्रमा अग्रस्थानमै हुनुहुन्छ, उहाँको जीत पनि सुनिश्चित छ,” उनले भने, “हाम्रो प्रमुख प्रतिस्पर्धी गठबन्धनकf महिन्द्र यादव हो।”

धनुषा-३ मा जुली महतोसँग लोसपाका झा प्रतिश्पर्धी
धनुषा–३ मा पनि यसपटक रोचक प्रतिस्पर्धा हुने भएको छ। एमाले-जसपाको साझा उम्मेदवारका रूपमा जुली महतो छिन् भने पाँच दलीय गठबन्धनबाट लोसपाका अनिलकुमार झा उम्मेदवार छन्। महतो यसअघि २०७० सालमा यही क्षेत्रबाट कांग्रेस नेता विमलेन्द्र निधिसँग पराजित भएकी थिइन्। 

झा भने २०७४ सालको निर्वाचनमा रौतहट–१ बाट निर्वाचित भएका थिए। धनुषा-३ मा उनको यो पहिलो निर्वाचन हो। दुवै प्रतिस्पर्धी पूर्वमन्त्रीसमेत हुन्।

एमाले जिल्ला अध्यक्ष यादव जुली महतो बलियो उम्मेदवार भएको दाबी गर्छन्। “जुली महतोको विजय घोषण गर्न मात्र बाँकी छ। अनिल झा एकदमै कमजोर प्रतिस्पर्धी हुन्,” यादवले भने। 

लोसपा जिल्ला अध्यक्ष परमेश्वर साह भने अनिलकुमार झाको पक्षमा बिस्तारै माहोल बन्दै गएको बताउँछन्। “उहाँ धनुषा-३ मा नयाँ हुनुहुन्छ, उहाँको पक्षमा माहोल बढ्दै गएको छ,” साहले भने, “धनुषामा जुलीजी पुरानो नेतृ हुनुहुन्छ, अनिलजी भरखर आउनुभएकोले प्रतिस्पर्धा त कडा नै हुने देखिन्छ।”


सम्बन्धित सामग्री