Saturday, April 27, 2024

-->

स्वतन्त्र पार्टीका नवनिर्वाचित ७ सांसद : एमाले राजनीतिमा सक्रियदेखि व्यवसायीसम्म

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाहरू कोही एमालेको राजनीतिबाट आएका छन् भने कोही विभिन्न व्यवसायमा संलग्नहरू छन्।

स्वतन्त्र पार्टीका नवनिर्वाचित ७ सांसद  एमाले राजनीतिमा सक्रियदेखि व्यवसायीसम्म

काठमाडौं– चार महिनाअघि निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा धेरैले नसोचेको ‘चमत्कारिक’ नतिजा ल्याएपछि  चर्चामा छ। र, चर्चामा यो पार्टीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरू पनि छन्।

अहिलेसम्म यो पार्टीका सातजना उम्मेदवार प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्, एक जनाले अग्रता लिइरहेका छन्। टेलिभिजन पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवि लामिछाने नेतृत्वको पार्टीले काठमाडौं, ललितपुर र चितवनमा प्रमुख पार्टीका उम्मेदवारलाई पाखा लगाएर जित हात पार्दा लामिछाने स्वयं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन्। लामिछानेले ४९ हजार २६४ मत प्राप्त गर्दा उनका मुख्य प्रतिस्पर्धी, वर्तमान सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत मात्र प्राप्त गरे। त्यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत पाए। लामिछानेले दुई प्रतिस्पर्धीको जम्मा मत जोडेर पनि १९ हजार ६३४ मत बढी ल्याए।

काठमाडौं क्षेत्र नम्बर २ बाट रास्वपाकै उम्मेदवार सोबिता गौतम १५ हजार २२९ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरे। सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्ती तेस्रो भइन्।

काठमाडौं–६ बाट रास्वपाकै शिशिर खनाल १४ हजार २०४ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत पाए। सत्ता गठबन्धनका उम्मेदवार भीमसेनदास प्रधान तेस्रो भए। काठमाडौं–७ मा पनि रास्वपाका गणेश पराजुली ८ हजार ७४३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८०० मत प्राप्त गरे। सत्ता गठबन्धनकी उम्मेदवार अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ६ हजार ६३ मत प्राप्त गरिन्। काठमाडौं–८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका सुमन सायमीले ५ हजार ८८९ मत ल्याए।

ललितपुर क्षेत्र नम्बर ३ बाट रास्वपाकै डा. तोसिमा कार्की ३१ हजार १३६ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खडकाले १२ हजार ९६३ मत ल्याए। सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ८ हजार ७६९ मतमा सीमित बनिन्। 

चितवन–१ बाट रास्वपाकै हरि ढकाल ३४ हजार १८१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत पाए। सुनसरी–१ मा रास्वपा उम्मेदवार गोमा तामाङले अग्रता लिइरहेकी छन्। यहाँ हामीले रास्वपाबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित उम्मेदवारहरूबारे खोतल्ने प्रयास गरेका छौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि उल्लेख्य मत ल्याएको छ। अहिलेसम्मको गणनामा चौथो स्थानमा रहेको रास्वपाले करिब ८ लाख मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य को हुन तिनका बारेमा विवरण तयार पारेका छौँ।

१. रवि लामिछाने
चितवन–२ बाट फराकिलो मतान्तरले निर्वाचित लामिछाने पूर्वसञ्चारकर्मी हुन्। पहिले ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ चलाएका उनी ‘सिधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रमबाट चर्चामा आएका हुन्। त्यही कार्यक्रमबाट उनले आफूलाई भ्रष्टाचारविरोधी र आमनागरिकका समस्या सम्बोधन गर्न पहल गर्ने पात्रका रूपमा स्थापित गरेका हुन्। यसले सामाजिक सञ्जालदेखि धेरैतिर उनका समर्थको संख्या ह्वात्तै बढाइदियो।

लामिछानेको राजनीतिक यात्राको सम्बन्ध उनकै पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दासँग जोडिन्छ। २०७६ साउन २० गते चितवनको होटेल कंगारूमा पुडासैनी मृत अवस्थामा फेला परेका थिए। साउन ३० गते लामिछाने ‘सालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन’ मुद्दामा पक्राउ परे। ११ दिन न्यायिक हिरासतमा बसेर धरौटीमा छुटेको अर्को दिन २०७६ भदौ १० मा पत्रकार सम्मेलन गर्दै लामिछानेले आफू राजनीतिमा जाने संकेत गरेका थिए। चितवनमा आयोजित पत्रकार सम्मेलनमा ‘राजनीतिमा आउने सम्भावना’ बारे सोधिएपछि उनले भनेका थिए– “सम्भावनाको ढोकामा चुकुल मात्र लागेको छ, ताल्चा लागेको छैन।”

उनले यसो भनेको तीन वर्षपछि पूर्णकालीन राजनीतिमा आउने घोषणा गरे। २०७९ असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी खोल्ने र त्यसको सभापति आफैँ हुने घोषणा गरेका उनले सोही दिन निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए। असार १७ गते आयोगमा लामिछानेको नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता भयो। स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारप्रति आकर्षण देखिएका बेला पार्टीको नाममा पनि त्यसलाई भजाउन खोजेको भनेर उनको आलोचना पनि भयो। तर, त्यही नामको पार्टीबाट चमत्कारिक नतिजा निकालेका लामिछाने पहिलो प्रयासमै संघीय संसद् प्रवेश गर्दै छन्।

२. विराजभक्त श्रेष्ठ
२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विवेकशील साझा पार्टीबाट समानुपातिक सूचीमा परेका बिराज पछि प्रदेशसभा सदस्य बनेका थिए। राजनीतिमा लागेको ६ महिनाको छोटो अवधिमा सांसद पद प्राप्त गरेकोमा उनी आफूलाई भाग्यमानी ठान्छन्। यसपटक तिनै बिराज राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र–८ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

काठमाडौँका रैथाने बिराजका बुवा व्यवसायी हुन्। बिराज पनि राजनीतिमा आउनुअघि पर्यटन व्यवसायमै थिए। राजनीतिमा उनको यात्रामा २०७२ को भूकम्पले भूमिका खेलेको देखिन्छ। वैशाख १२ मा भूकम्प गएको दिन उनी घरमा गर्भवती श्रीमतीलाई छाडेर बुवालाई इन्द्रचोक पुर्‍याउन गएका थिए। भूकम्प गएलगत्तै उनी साथीहरूसहित उद्धारमा लागे। त्यसपछि अघोषित रूपमै सामाजिक सेवामा लागेका उनको टोली चोरी भएका र हराएका मूर्ति फिर्ता ल्याउने, गुठी विधेयक फिर्ता गराउने, सम्पदा जोगाउने लगायतका अभियानमा केन्द्रित भयो। पर्यटन व्यवसायमा भोगेका समस्याका कारण पनि उनलाई राजनीतिमा लाग्न टेवा मिलेको हो।

काठमाडौं उपत्यकामा लोडसेडिङ चुलिएका बेला उनले हिटीबाट स्कुटरमा जारको पानी ओसारेरै उनले होटेल सञ्चालन गरेका थिए। त्यस्तै भारतले लगाएको अघोषित नाकाबन्दीका बेला उनले पर्यटकलाई रिक्सामा विमानस्थल पुर्‍याउने काम पनि गरे। आपत‍्विपद्‍का बेला काम नलाग्ने राज्य के को लागि, अनि उठाइने कर के को लागि, नागरिकता के को लागि भन्ने विषय मानसपटलमा घुम्दा उनले राजनीतिलाई कर्म बनाउने निधो गरे। “आपत् परेको बेला पनि राज्यको उपस्थिति नहुँदा राजनीतिमा होमिएरै यो बेथिति सुधार्नु पर्छ भन्ने लाग्यो”, बिराज भन्छन्, “क्रान्तिको खोजीमा म कुनै समय माओवादी पनि छिर्न नखोजेको होइन। त्यहीबेला विवेकशील साझाका संस्थापक उज्ज्वल थापासँग भेट भयो। थापाको सु–संस्कृत राजनीतिक सिद्धान्तबाट म निकै प्रभावित भएँ।”

त्यसलगत्तै उनले विवेकशील साझा पार्टीको सदस्य लिए। ६ महिनापछि प्रदेश सभा सदस्य नै बने।

बागमती प्रदेशसभा सदस्य हुँदा बिराज उद्योग, पर्यटन तथा वातावरण समितिको सदस्यका रूपमा पनि काम गरे। “मिल्यो भने प्रतिनिधिसभाको अर्थ समितिमा रहेर काम गर्ने इच्छा छ”, उनले भने।

३. डा. तोसिमा कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित तोसिमा कार्की पेसाले चिकित्सक हुन्। २०४६ जेठ ७ गते नवलपरासी बर्दघाट सुस्ता पूर्वमा जन्मिएकी तोसिमा रास्वपामा आबद्ध हुनुअघि उनी नेकपा एमालेसँग नजिक थिइन्। २०७८ पुस २ गते चार वर्षका लागि मेडिकल काउन्सिलको सदस्यमा निर्वाचित हुँदा उनको त्यही आबद्धताले काम गरेको थियो।

तोसिमालाई राजनीतिमा तान्ने परिघटना रोचक छ। डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको मागसहित शुरु गरेको सत्याग्रहमा ऐक्यबद्धता जनाएर अप्रत्यक्ष रूपमा राजनीतिक गतिविधिमा लागेकी उनले त्यहीँबाटै आफ्नो परिचयको दायरालाई फराकिलो बनाएकी हुन्। कार्यक्षेत्रमा चिकित्सक, नर्स लगायतमाथि हुने हमला र दुर्व्यवहारका विषयमा ‘मेडिकल भ्रातृत्व अभियान’को नेतृत्व गर्दै उनले विभिन्न कार्यक्रम गरेकी थिइन्। ‘जाडोमा न्यानो’, २०७२ सालको भूकम्पमा राहत शिविर, कोभिडको समयमा पनि होम आइसोलेसन सेवा तथा स्वास्थ्यकर्मीलाई परीक्षा सेवा लगायतका कार्यक्रम पनि उनले सञ्चालन गरेकी थिइन्।

पाटनमा अस्पतालमा जनरल सर्जनका रूपमा कार्यरत रहेकी तोसिमाले यसपालि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएकी थिइन्। उम्मेदवारी दिएपछि उनले धेरै नै  उतारचढाव सामना गर्नुपर्‍यो। कात्तिक १२ गते निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेपछि उनी थप चर्चामा आइन्। नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भएर लाभको पदमा बसेको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।

तर, तोसिमाले आयोगको निर्णयलाई कानूनी चुनौती दिइन्। त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिन्। उनले सर्वोच्चमा दायर गरेको रिटमा आफूले आयोगलाई उम्मेदवारी दिँदा नै आफ्नो पद र उम्मेदवारीका विषयमा जवाफ माग गरेर पत्र पठाउँदा पनि जवाफ नदिएको र अहिले उम्मेदवारी खारेज गरिएको भन्दै आयोगको निर्णय बदर गर्न अन्तरिम आदेशको माग गरेकी थिइन्। आयोगले उनको मागबमोजिम अन्तरिम आदेश दियो। त्यसविरुद्ध आयोग फेरि सर्वोच्च पुग्यो। कात्तिक १५ गते सर्वोच्च अदालतले तोसिमाकै पक्षमा निर्णय मात्र सुनाएन, आयोगसँग लिखित जवाफसमेत माग गर्‍यो।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि महिला सशक्तीकरण, घरघरमा स्वास्थ्य तथा प्राविधिक शिक्षा र युवालाई रोजगारीको पहुँचमा पुर्‍याउनेलगायत अजेण्डा अघि सार्ने उनको योजना छ। 

४. शिशिर खनाल
काठमाडौं–६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित खनाल दूर दराजमा शिक्षाको स्तर उकास्न काम गरिरहेको ‘टिच फर नेपाल’का संस्थापक हुन्। यो जित हात पार्न उनले पूर्वप्रहरी महानिरीक्षक रहेका एमालेका सर्वेन्द्र खनाल र पटक पटक सांसद भइसकेका पूर्वमन्त्री भीमसेनदास प्रधानलाई पाखा लगाए।

४३ वर्षीय शिशिर खनाल तनहुँमा जन्मेका हुन्। टिच फर नेपालसँगै उनी अर्को संस्था ‘पिक एन्ड ड्रप’का पनि सह–संस्थापक हुन्। व्यवसायमा समेत रहेका खनालले विभिन्न शैक्षिक आन्दोलनमा अग्रणी भूमिका खेल्दै आएका छन्। सन् २०१९ मा उनी युवा सिइओ अवार्डबाट समेत सम्मानित भएका थिए। काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलबाट एसएलसी गरेका खनालले अमेरिकाको ब्रिजपोर्ट विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा स्नातक र सामाजिक नीतिमा स्नातकोत्तर गरेका छन्।

अमेरिकामा रहँदा कनेक्टिकट राज्य सभा (प्रान्तीय संसद्) का सिनेटरसँग काम गरी अमेरिकी संसदीय अभ्यासहरूको बारेमा सिक्दै सिनेटरलाई नीति र निर्वाचनका क्षेत्रमा सहयोग गरेको अनुभव पनि उनीसँग छ।

५. गणेश पराजुली
रास्वपाबाट काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पराजुली पार्टीको केन्द्रीय सदस्य हुन्। उनको आबद्धता यसअघि लायन्स क्लबमा थियो। हस्तकला व्यवसायीसमेत रहेका पराजुली हिमालयन ह्यान्डिक्राफ्टका सञ्चालक हुन्।

उनी लामो समयदेखि प्राकृतिक रेसाजन्य उत्पादनबाट कपडा उत्पादन गरी बाह्य मुलुकहरूमा निर्यात गर्ने काममा संलग्न थिए। राजनीति उनको नयाँ भूमिका हो। 

६. सोबिता गौतम
काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित २७ वर्षीया सोबिता रास्वपाको केन्द्रीय सदस्य हुन्। दोलखामा जन्मेकी निम्न मध्यमवर्गीय परिवारकी सोबिताको पृष्ठभूमि राजनीति होइन। पारिवारिक पृष्ठभूमि पनि राजनीतिक थिएन। भक्तपुरको गठ्ठाघरस्थित विद्यादायनी विद्यालय (हाल नाम परिवर्तन) बाट एसएलसी उतीर्ण गरेकी सोबिताले नेशनल ल कलेजबाट कानूनमा स्नातक तथा त्रिभुवन विश्वविद्यालयबाट इतिहास र पोलिटिकल साइन्समा पनि स्नातक गरेकी छन्।

युवा संस्था सञ्जाल (आयोन) मा आबद्ध भएर युवा अभियन्ताको रूपमा काम गरेकी सोबिता पेसाले अधिवक्ता हुन्। नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रूपमा पाँच वर्ष काम गरेकी सोबितासँग विभिन्न सामाजिक भूमिकामा जोडिएको अनुभव पनि छ। उच्चशिक्षा अध्ययनका लागि छात्रवृत्तिमा बेलायत जाने तयारी गरिरहेकी उनी त्यहीक्रममा राजनीतिमा लागेकी थिइन्।

उनको रास्वपासँगको आबद्धता पनि रोचक छ। राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा हुँदा उनलाई कार्यक्रम उद्घोषकको रूपमा बोलाइएको थियो। तर, त्यहाँ उनले देखाएको वाककौशल र शैक्षिक पृष्ठभूमिका कारण पनि उनलाई सदस्य बन्न ‘अफर’ आयो। युवामा हुनुपर्ने राजनीतिक चेत आफूमा रहेको ठान्ने सोबितालाई त्यसले तरंगित बनायो। “जनताका दैनिक जीवनसँग जोडिएका विषयमा समेत राज्यका निकायले गर्ने बेवास्तालाई देखिरहेकै थिएँ”, उनले भनिन्, “समाजमा व्याप्त बेथिति रोक्न र समाजलाई नयाँ दिशा दिन सकिन्छ कि भनेर मैले राजनीतिमै लाग्ने निधो गरेँ र रास्वपामा आबद्ध भएँ।”

अब संसद्मा आफ्नो भूमिका पार्टीले गर्ने निर्णयमा भर पर्ने उनको बुझाइ छ।

७. हरि ढकाल
चितवन–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित ३९ वर्षीय हरि ढकाल सेयर बजारका लगानीकर्ता हुन्। पुँजीबजार तहसनहस हुने अवस्था आएपछि त्यसविरुद्ध आन्दोलनमा समेत लागेका उनी सेयर बजार लगानीकर्ता दबाब समूहका अध्यक्ष पनि हुन्। गत वर्ष पुँजीबजारको विकास तथा विस्तारका लागि थालिएको आन्दोलनका क्रममा उनी अनसन पनि बसेका थिए। उनको आबद्धता सामाजिक काममा पनि छ। ‘क्यान्सर फ्री सोसाइटी’का सचिवसमेत रहेका ढकाल १८ वर्षकै उमेरदेखि व्यापारमा लागेका थिए।

काठमाडौंमा एक चकलेट कम्पनीको ‘सबडिलर’ लिएका उनले चितवनमा ७–८ वर्षसम्म कपडाको होलसेल व्यापार पनि गरे। ठमेलमा क्याफे र गार्मेन्ट व्यवसाय सञ्चालन गरे।

रास्वपामा आबद्ध हुनुअघि उनी एमालेमा आबद्ध थिए। विद्यार्थी जीवनमा उनले अनेरास्ववियुको कमिटीमै रहेर काम गरेका थिए। २०६६ मा चितवनको शहीद स्मृति बहुमुखी क्याम्पसको स्ववियु सभापति बने। तर, एमाले नेतृत्वको सरकारका अर्थमन्त्रीले लिएको पुँजीबजारसम्बन्धी नीतिका कारण आफू एमालेबाट टाढिएको उनले बताउने गरेका छन्।

रास्वपामा आबद्ध हुनुअघि उनले चितवन–१ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए। त्यसपछि उनी पार्टीमा आबद्ध भएका हुन्। वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उनी काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहको चुनावी अभियानमा संलग्न थिए।


सम्बन्धित सामग्री