Friday, April 26, 2024

-->

नेपालमा कहिले आउला मस्कको कम्पनी स्टारलिंकको इन्टरनेट?

ताररहित इन्टरनेट उपलब्ध गराउन स्टारलिंकले स्याटेलाइटको नेटवर्कको मद्दत लिनेछ। यी स्याटेलाइटलाई पृथ्वीको सतहभन्दा ५५० देखि १२०० किलोमिटर माथि लोअर अर्थ अर्बिट (एलईओ) मा स्थापित गरिएको छ।

नेपालमा कहिले आउला मस्कको कम्पनी स्टारलिंकको इन्टरनेट
तस्वीर : टेलिग्राफ

काठमाडौँ- संसारकै सबैभन्दा धनी व्यक्ति एलन मस्कको कम्पनी स्टारलिंकको भू-उपग्रह (स्याटेलाइट)मा आधारित इन्टरनेट सेवा नेपालमा पनि उलब्ध हुने भएको छ। नेपालमा सन् २०२३ भित्रमा स्टारलिंकको स्याटेलाइट इन्टरनेट उपलब्ध हुने भएको हो।

स्टारलिंक स्याटेलाइट इन्टरनेट विश्वभर तीव्र गतिमा बिस्तार भइरहेका छ। कम्पनीका अनुसार हालसम्म विश्वका ३२ वटा देशमा स्टारलिंकको इन्टरनेट सुविधा उपलब्ध छ।

स्टारलिंकको मातृ कम्पनी स्पेस एक्सप्लोरेसन टेक्नोलोजिज कोर्प (स्पेसएक्स)ले केही समयअघि आगामी वर्ष इन्टरनेट उपलब्ध हुने देशको नक्सा सार्वजनिक गरेको थियो। नक्सालाई इन्टरनेट उपलब्ध भइसकेका मुलुक, चाँडै बिस्तार हुने र भविष्यमा बिस्तार गर्नेगरि तीन भागमा वर्गीकरण गरिएको छ। 

वर्गीकरणअनुसार अमेरिका, युरोप, न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अमेरिकालगायत देशमा स्टारलिंकको इन्टरनेट पूर्णरूपमा बिस्तार भइसकेको छ। यस्तै, चाँडै बिस्तार हुनेमा अफ्रिकी महादेश, अमेरिकाका केही स्थान, भारतलगायतका देश छन्। नेपालसहित अन्य दक्षिण एसियाली मुलुक पनि यसै वर्गीकरणमा रहेका छन्। कम्पनीका अनुसार यी देशमा सन् २०२३ भित्रै इन्टरनेट उपलब्ध गराइने छ।

कम्पनीले यी क्षेत्रमा गत वर्ष नै इन्टरनेट बिस्तार गर्ने बताए पनि विभिन्न कारणले ढिलाइ भएको जनाएको छ। तर, दक्षिण एसियामा सन् २०२३ भित्रै स्टारलिंकको इन्टरनेट सेवा बिस्तार हुने आकलन गरिएको छ।

ताररहित इन्टरनेट उपलब्ध गराउन स्टारलिंकले स्याटेलाइटको नेटवर्कको मद्दत लिनेछ। यी स्याटेलाइटलाई पृथ्वीको सतहभन्दा ५५० देखि १२०० किलोमिटर माथि लोअर अर्थ अर्बिट (एलईओ) मा स्थापित गरिएको छ।

मस्कको क्यालिफोर्नियामा रहेको रकेट कम्पनी स्पेसएक्सले हजारौँ स्याटेलाइटलाई एलईओमा प्रक्षेपण गरिरहेको छ। ती परम्परागत उपग्रहभन्दा पृथ्वीको ६० गुणा नजिक छन्। कम्पनीको भनाइअनुसार यसको स्याटेलाइट नेटवर्कले प्रयोगकर्तालाई उच्च-गतिको इन्टरनेट प्रदान गर्नेछ।

स्याटेलाइट प्रविधिमार्फत विश्वभर इन्टरनेट सुविधा बिस्तार गर्ने स्टारलिंकको उद्देश्य छ। विशेषगरि इन्टरनेटको सुविधा नभएका र इन्टरनेट अस्तित्वमै नरहेका ग्रामीण र भौगोलिक रूपमा विकट क्षेत्रमा यो प्रणालीमार्फत इन्टरनेट बिस्तार गर्ने कम्पनीले लक्ष्य लिएको छ।

स्टारलिंकको सुविधा लिन सबैभन्दा पहिला सम्बन्धित मुलुकको सरकारी टेलिकम्युनिकेसन संयन्त्रको अनुमति चाहिन्छ। नेपालमा स्टारलिंकको सुविधा बिस्तार गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल टेलिकमको अनुमति आवश्यक पर्छ। त्यसपछि मात्र इच्छुक व्यक्तिले सुविधा लिन पाउनेछन्। भारतमा भने त्यहाँको नियामक डिपार्टमेन्ट अफ टेलिकम्युनिकेसनसँगको विवादका कारण समस्या देखिएको छ। भारतको समस्या समाधान हुने/नहुने यकिन छैन।

स्टारलिंकको बिस्तारलाई विश्वव्यापी बनाउने तयारी गरिरहेका मस्कले यो सेवालाई विभिन्न परोपकारी कार्यमा पनि प्रयोग गर्दै आएका छन्। मस्कले युद्धका बेला युक्रेनी जनतालाई सघाउन स्टारलिंक इन्टरनेट सेवा उपलब्ध गराएका थिए।

यस्तै, इरानको सरकारविरोधी प्रदर्शनका क्रममा सरकारले इन्टरनेट काटेर त्यहाँका गतिविधिमाथि अन्तर्राष्ट्रिय पहुँच सीमित गर्न खोजेपछि मस्कले नि:शुल्क इन्टरनेट सेवा दिएका थिए। उनका यी निर्णयको धेरैले स्वागत गरेका थिए।

मस्कका विभिन्न निर्णय र गतिविधिले बेलाबेला राजनीतिक वृत्तमा पनि तरंग ल्याइदिने गरेको छन्। विश्व राजनीतिलाई प्रभाव पार्ने खालका उनका निर्णय र विवादित विषय उत्तिकै चर्चा हुने गर्छन्। निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय पनि यस्तै प्रकारको थियो।


सम्बन्धित सामग्री