उच्चपदस्थ महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै कारबाही स्वरूप थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गर्ने राष्ट्र बैंकको निर्णयलाई प्रशासकीय अदालतले बदर गरेको छ।
काठमाडौँ– प्रशासकीय अदालतले थानेश्वर आचार्यलाई निर्देशकबाट बर्खास्त गर्ने नेपाल राष्ट्र बैंकको निर्णय बदर गरेको छ। अदालतका अध्यक्ष डिल्लीराज घिमिरे, सदस्यद्वय रिता मैनाली र कृष्णप्रसाद पौडेलको इजलासले मंगलबार आचार्यलाई सेवाबाट बर्खास्त गर्ने राष्ट्र बैंक सञ्चालक समितिको निर्णयलाई बदर गर्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ।
बैंकमा कार्यरत एक उच्च पदस्थ महिलामाथि यौन दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै आचार्यलाई बैंकको सञ्चालक समितिको बैठकले २०८० चैत ६ गते भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।
तर बैंकको निर्णय बदर गरी पाउँ भन्दै आचार्यले असार २ गते सिंहदरबारस्थित प्रशासकीय अदालतमा मुद्दा दर्ता गरेका थिए। प्रशासकीय अदालतले आफ्नो निर्णय बदर गरेपछि बैंकको सञ्चालक समिति त्यसविरुद्ध पुनरावेदनमा जाने योजनामा रहेको बैंकका एक कर्मचारीले बताए।
“लामो अनुसन्धानपछि महिला हिंसामा दोषी ठहराएर उहाँलाई (थानेश्वर आचार्य)लाई सेवाबाट हटाउने निर्णय बैंकको सञ्चालक समितिबाट भएको थियो,” ती कर्मचारीले भने, “तर यस्तो निर्णय पनि अदालतबाट बदर भएछ। यसविरुद्ध बैंकको सञ्चालक समिति पुनरावेदनमा जानेछ।”
नगरकोटस्थित होटल माउन्टेन मिस्टिकमा २०८० पुस २७ गते बैंकद्वारा आयोजित तनाव व्यवस्थापनसम्बन्धी कार्यक्रमका क्रममा हलमा खाजा खाइरहेका बेला आचार्यले यौन दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ। पीडित महिलाले आफूलाई दुर्व्यवहार गर्ने बेला आचार्यसँगै बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र तथा कार्यकारी निर्देशक देवकुमार ढकाल पनि रहेको बताउँदै आएकी छन्।
तर आफूमाथि अत्यधिक तनावमा रहेकाले आचार्यको मात्रै नाम लेखेर बैंकमा उजुरी दर्ता गरेको उनको भनाइ छ। राष्ट्र बैंक सञ्चालक समितिले यौन दुर्व्यवहारमा आचार्य संलग्न रहेको निष्कर्ष निकाल्दै पदबाट हटाउन निर्णय गर्दा उजुरीमा नाम नभएको भन्दै मिश्र र ढकाललाई स्पष्टीकरणसमेत सोधेको थिएन।
महिला आयोगबाट मिश्र र ढकाल पनि दोषी ठहर
पीडित महिलाले आफूमाथि यौन दुर्व्यवहार गर्ने आचार्यलाई कारबाहीको माग गर्दै गत वर्ष माघ २९ गते राष्ट्रिय महिला आयोगमा पहिलो पटक उजुरी दर्ता गरेकी थिइन्। त्यसपछि वैशाख १७ गते उनले आफूमाथि दुर्व्यवहार गर्न आचार्यलाई उक्साउने मिश्र र ढकाललाई पनि कारबाही गरी पाउँ भन्दै आयोगमा पूरक निवेदन दिएकी थिइन्।
उकालोलाई प्राप्त महिला आयोगको छानबिन प्रतिवेदनमा आचार्यले आयोगसँग ती पीडित महिलालाई आफूले नमस्कार र अंकमाल मात्रै गरेको भनी बयान दिएको उल्लेख छ। तर त्योबेला मिश्र र ढकाल पनि सँगै रहेको बताएको प्रतिवेदनमा खुलाइएको छ। मिश्र र ढकालले भने घटना हुँदा आफूहरू त्यहाँ नभएको बयान दिएको प्रतिवेदनबाट खुल्छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार आयोगले पीडित महिलासँग घटनाबारे थप जानकारी लिनुका साथै घटनास्थलमा रहेका अन्य कर्मचारीसँग पनि सोधपुछ गरेको थियो।
आयोगले ती महिलामाथिको यौन दुर्व्यवहारमा आचार्यलाई मुख्य दोषी, साथै मिश्र र ढकालको पनि संलग्नता रहेको ठहर गरेको छ। “आरोपित कार्यकारी निर्देशक देवकुमार ढकाल र बमबहादुर मिश्रको स्वच्छ मनसाय नदेखिएकोले निजहरूको पनि उक्त घटनामा संलग्नता देखिएको छ,” प्रतिवेदनमा भनिएको छ।
आयोगले प्रतिवेदनमा आचार्यलाई राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले नै सेवाबाट बर्खास्त गरेको उल्लेख गर्दै उनीहरूविरुद्ध कानूनी (अदालती) प्रक्रियामा जान प्रतिवेदनमा सुझाव दिइएको छ। “निवेदकलाई कानूनी (अदालती) प्रक्रियामा जानका लागि अगाडि बढ्न सुझाव दिन उपयुक्त देखिएको,” प्रतिवेदनमा भनिएको छ।
यो पनि :
राष्ट्र बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपित निर्देशकलाई सोधियो तेस्रो स्पष्टीकरण
सहकर्मीमाथि यौन दुर्व्यवहार गर्ने राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त
राष्ट्र बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार, घटना १ महिनादेखि ‘आन्तरिक छानबिन’मै
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
