Saturday, June 15, 2024

-->

दाइजोका कारण मनीषाको हत्या भएको माइती पक्षको दाबी, प्रहरी भन्छ- अनुसन्धान हुँदैछ

गएको जेठ ५ गते आफ्नै घरमा मृत भेटिएकी वीरगन्ज–१२ मुर्लीकी मनीषा साहलाई दाइजोको निहुँमा कुटपिट र यातना दिने गरिएको माइती पक्षको भनाइ छ।

दाइजोका कारण मनीषाको हत्या भएको माइती पक्षको दाबी प्रहरी भन्छ- अनुसन्धान हुँदैछ

काठमाडौँ– वीरगन्ज–१२ मुर्लीस्थित घरको आफ्नै कोठामा जेठ ५ गते मनीषा साह (२१) को शव भेटियो। झुण्डिएर ओछ्यानमा शरीर लत्रिएको अवस्थामा शव भेटिएको थियो। उनको विवाह छ महिनाअघि २०८० मंसिर २१ गते रवि साह कानूसँग भएको थियो।

धोबिनी–३ हरिहरपुरस्थित माइती पक्षले भने विवाहअघि भनिए अनुसार दाइजो नपाएको भन्दै मनीषालाई श्रीमान् रवि साहले दुर्व्यवहार गर्ने गरेको दाबी गरेका छन्। मनीषाको मृत्यु शंकास्पद भए पनि प्रहरीले अनुसन्धान गर्न चासो नदिएको उनका बाबु नरेश साहको गुनासो छ।

“कसैले कसैलाई कुटपिट गर्दा त प्रहरीले कारबाही गर्छ, मेरो छोरीलाई हत्या गरेर झुण्ड्याइएको मुद्दामा प्रहरीले कारबाही बढाएन,” नरेशले भने, “अघिल्लो दिन साँझ ४ बजे छोरीले आफनो भाउजुलाई फोन गरेर जरुरी कुरा गर्नछ भन्दैगर्दा उसको मोबाइल खोसेर अफ गरिएको थियो, भोलिपल्ट बिहान ४ बजे छिमेकीले फोन गरेर त्यस्तो घटना भएको जानकारी दिए।”

दाइजोकै कारण मनीषाको हत्या भएको माइती पक्षको दाबी छ। नरेशका अनुसार बिहेको केही दिनपछि नै रविले सुनको सिक्री र वासिङ मेसिन नपाएको भन्दै मनीषालाई दुःख दिन थालेका थिए। करिब २० दिनअगाडि पनि राति कुटपिट गरेर घरबाट नै निकालेपछि आफू तत्कालै गएर बिन्ती गरी घरमा राख्न लगाएको उनी बताउँछन्। उनका अनुसार मनीषा दुई महिनाको गर्भवती थिइन्।

विवाहपछि सासू सीमा देवी र ससुरा बद्री साहले पनि दाइजोको लागि दुःख दिने गरेको नरेशको भनाइ छ। पछिल्लो समय रविका मामा दुर्गा साहले पनि दाइजो माग्न उक्साउने गरेको उनले बताए। घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय, पर्सामा दिएको जाहेरी प्रहरीले दर्ता गर्न नमानेको बाबु नरेश बताउँछन्।

यता प्रहरीले जाहेरी दर्ता गरेर घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जाहेरी लिएर अनुसन्धान अगाडि बढाइएको तर कसैलाई पक्राउ नगरिएको बताए। “मान्छे मरेको घटना हो यो, जाहेरी दर्ता नगर्ने कुरै छैन। शवको पोष्टमार्टन रिपोर्ट आउन बाँकी छ।  रिपोर्ट आएपछि मात्र आत्महत्या हो कि हत्या गरिएको हो थाहा हुन्छ,” उनले भने। 

दाइजोका कारण भएको उत्पीडनबाट ज्यान गएका कारण त्यही कोणबाट अनुसन्धान हुनुपर्ने पर्साकी महिला अगुवा रम्भा मिश्राले बताइन्। उनले भनिन्, “मधेशमा हाम्रा छोरीचेलीले ज्यान गुमाउने घटनाको शृंखलामा आज मनीषाको नाम छ। हिजो अर्कै नाम थियो, भोलि फेरि अर्को घटनामा फरक नाम आउला। साझा विषय त दाइजो हो, यसमा किन अनुसन्धान हुँदैन?”


सम्बन्धित सामग्री