Tuesday, July 23, 2024

-->

क्यान्सर घोषणापश्चात् पहिलो पटक सार्वजनिक कार्यक्रममा वेल्सकी राजकुमारी केट

वेल्सकी राजकुमारी केटले क्यान्सर पत्ता लागेपश्चात् पहिलो पटक शनिबार मध्य लन्डनमा आयोजित ‘ट्रूपिङ द कलर सैन्य परेड’को अवलोकन गरेकी छन्।

क्यान्सर घोषणापश्चात् पहिलो पटक सार्वजनिक कार्यक्रममा वेल्सकी राजकुमारी केट
कान्छो छोरा प्रिन्स लुइस अफ वेल्सका साथमा रहेकी वेल्सकी राजकुमारी केटले ट्रुपिङ द कलर समारोहमा भाग लिने क्रममा भीडलाई हल्लाउँदै। तस्वीर : अल्बर्टो पेज्जली/एपी

वेल्सकी राजकुमारी केटले क्यान्सर पत्ता लागेपश्चात् पहिलो पटक शनिबार मध्य लन्डनमा आयोजित ‘ट्रूपिङ द कलर सैन्य परेड’को अवलोकन गरेकी छन्। उनले बकिंघम प्यालेसको बाल्कोनीबाट सैनिक परेड अवलोकन गरेपछि सर्वसाधारणलाई हात हलाएको सञ्चारमाध्यम रोयटर्सले उल्लेख गरेको छ। 

गत वर्ष डिसेम्बरमा क्रिसमस डेका दिन केट सार्वजनिक कार्यक्रममा देखिएकी थिइन्। ४२ वर्षीया राजकुमारी केटको गत जनवरीमा पेटको शल्यक्रिया भएको थियो। त्यसपछि उनले दुई हप्ता अस्पतालमा बिताएकी थिइन्। 

त्यसको दुई महिनापछि मार्चमा एक भिडियो सन्देशमार्फत परीक्षणबाट क्यान्सर पत्ता लागेकाले आफूले रोकथामका लागि केमोथेरापी लिइरहेको खुलासा गरेकी थिइन्। 

अहिले पनि उनको उपचार जारी रहेको छ। तर उनको स्वास्थ्यमा सुधार आएका कारण डिसेम्बरपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएकी हुन्।

बेलायती राजा चाल्सको जन्मदिनका अवसरमा आयोजित सैन्य परेड ‘ट्रुपिङ द कलर’ अवलोकन गर्न राजकुमारी केट आफ्ना तीन सन्तानसहित बग्गीमा आएकी थिइन्।

तस्वीर : बीबीसी

भारी वर्षाको बाबजुद उनलाई हेर्न ठूलो संख्यामा सर्वसाधारणको भिड लागेको थियो। उनलाई देखेर उनीहरूले हात हल्लाउँदै खुशी मनाएका थिए। 

केटले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत उपचारबाट आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको र पूर्ण सुधार हुन अझै केही समय लाग्ने जानकारी गराएकी थिइन्।


सम्बन्धित सामग्री