Thursday, May 02, 2024

-->

सरकारी अस्पतालका अनलाइन टिकट प्रणालीबारे सेवाग्राहीलाई छैन सूचना

सरकारी अस्पतालमा अनलाइन टिकट प्रणाली छ भन्ने थाहा नपाएको बिरामीको गुनासो छ। अस्पतालका कर्मचारी भने ‘टिकट काट्न सक्ने क्षमताको मान्छे नै नआउने’ दाबी गर्दै सोधपुछ काउन्टरसमेत खाली राखेर बसेका भेटिन्छन्।

सरकारी अस्पतालका अनलाइन टिकट प्रणालीबारे सेवाग्राहीलाई छैन सूचना
वीर अस्पतालकाे टिकट काउन्टर। तस्वीर : पुष्पा विष्ट/उकालो

काठमाडौँ– वीर अस्पतालमा देशका अन्य अस्पतालको तुलनामा सबैभन्दा बढी बिरामी पुग्छन्। सार्वजनिक बिदा बाहेकको हरेक दिन टिकट लिन लामबद्ध बिरामीहरूले अस्पताल परिसर खचाखच भरिएको हुन्छ। टिकट काउन्टरकै बाहिर ‘अनलाइन टिकटबारे सोधपुछ’ बुथ राखिएको पनि छ। तर दैनिकजसो धाउँदा पनि बुथमा कुनै कर्मचारी भेट्न सकिँदैन। 

अस्पतालमा कार्यरत कर्मचारीलाई सोध्दा आफूलाई त्यसबारे जानकारी नभएको जवाफ दिन्छन्। टिकट लिन लाइनमा पालो कुरिरहेका बिरामी र तिनका आफन्तलाई सोध्दा अनलाइन टिकटबारे जानकारी दिने कोही नभेटिने अनुभव सुनाउँछन्।  

काठमाडौँ, रामशाहपथबाट आएको बताउने ५२ वर्षीया प्रतिमा थापा बिहान १० बजेतिर काउन्टरको लाममा उभिइरहेकी थिइन्। करिब एक घण्टा कुर्दा पनि टिकट लिने पालो नआएको बताउने उनले अनलाइनबाट समेत टिकट लिन सकिन्छ भन्ने सुने पनि कसरी लिने भनेर अस्पतालले जानकारी नदिँदा दुःख पाउनुपरेको गुनासो गरिन्। 

“यहाँ अनलाइनबाट टिकट काटिन्छ भन्ने चाँहि सुनेकी छु। तर जानकारी लिने ठाउँ भनिएको बुथमा सोध्न खोज्दा कोही कर्मचारी हुँदैनन्। जहिले पनि खाली हुन्छ,” थापाले भनिन्। ।

अन्य बिरामीको पनि उस्तै गुनासो छ। थानकोेटका २८ वर्षीय भोजराज तामाङ उपचारका लागि प्रायः वीर अस्पतालमै आइपुग्छन्। टिकटको लामो लाममा ठेलमठेल गरेर कुर्दा अप्ठ्यारो हुने उनको अनुभव छ। अस्पतालमा अनलाइनबाट टिकटको सुविधा भए पनि लिने तरिका थाहा नपाउँदा सुविधाबाट बञ्चित हुनुपरेको उनले बताए। 

‘अनलाइन’ टिकट हुन्छ भनेर थाहा छ। तर सिकाउने मान्छे पाइँदैन। सोधपुक्ष डेस्कमा सोध्न गयो भने बाहिर गएर बुझ्नुस् भन्छन्। बाहिर बुथ खाली छ,” उनले भने।  

अनामनगरबाट श्रीमतीलाई लिएर वीर अस्पताल गएका शक्ति श्रेष्ठ श्रीमतीलाई गाह्रो भएकाले आफैँ टिकट काट्न लाम बस्ने तरखर गर्दै थिए। अनलाइन टिकट प्रणालीको बारेमा बताइदिने मानिस बुथमा नभएर ‘बिजोग भएको’ उनले सुनाए। “अनलाइन टिकट पनि हुँदोरहेछ। बाहिर बुथमा लेखेको देखेर थाहा भयो। अर्को पटक आउँदा सहज हुन्छ भनेर तरिका सोध्न गएँ। तर यसो गर्नुपर्छ भनेर सिकाउने मान्छे नै बसेका छैनन्।”

वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेललाई यसबारे सोध्दा अस्पताल आउने अधिकांश बिरामी अनलाइन टिकट काट्न सक्ने क्षमताकै नभएको बताउँछन्। “अनलाइन मार्फत टिकट काटेर आउनेलाई पहिलो प्राथमिकता दिएका छौँ। तर हाम्रो अस्पतालमा शैक्षिक क्षमता कमै भएका बढी आउँछन्। त्यसैले दिनमा बल्ल बल्ल तीन वा चार जनाले मात्र अनलाइन टिकट लिएका हुन्छन्,” उनले भने।

वीरजस्तै अन्य सरकारी अस्पतालमा पनि अनलाइन टिकट प्रणालीको सुविधा हुँदाहुँदै पनि त्यसबारे जानकारी नपाउँदा अनलाइनबाट टिकट काट्नेको संख्या नगण्य छ। 

कान्ति बाल अस्पतालमा २०७९ वैशाख १३ गतेदेखि नै अनलाइन प्रणाली शुरू भएको थियो। आफनो बच्चाको उपचार गराउन अधिकांश मानिस कान्तिमै पुग्ने गर्छन्, जसले टिकट काट्ने मानिसहरूको भिड मात्र बढाइरहेको छ। अनलाइनबाट काट्न सकिने टिकटको बारेमा भने जानकारीसमेत नभएको त्यहाँ बच्चा लिएर आएकी एक महिलाले बताइन्। 

अनलाइन प्रणालीबाट कति टिकट काटिएका छन् र अनलाइन टिकट लिनेमध्ये कति बिरामी अस्पताल आएका छन् भन्ने विवरण जानकारी नहुने अस्पताल प्रशासनअन्तर्गत अभिलेख शाखाकी कर्मचारी सुनिता पोखरेलले बताइन्। 

त्यस्तै, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल थापाथलीमा पनि आठ वर्षअघि २०७२ सालमै ‘प्रभु पे’ सँगको सहकार्यमा अनलाइन टिकट प्रणाली शुरू गरिएको थियो। सर्भरमा समस्या आएका कारण बेला–बेला सुविधा बन्द गर्ने र पुनः सञ्चालन गर्ने गरिएको अस्पतालकी प्रवक्ता रानु थापाले बताइन्।  

उनका अनुसार यही वर्षको भदौ २५ देखि अस्पतालको आफ्नै वेबसाइटमार्फत अनलाइन टिकट काट्न मिल्ने बनाइएको छ। अस्पतालका सूचना प्रविधि (आईटी) विभागका राज श्रेष्ठले अनलाइनबाट टिकट काटेर आउनको संख्या थोरै भएको बताए ।

“भदौदेखि हालसम्म जम्मा ३८३ जना बिरामी मात्र अनलाइनबाट आएका छन्। धेरै जनालाई टिकट काट्न आउँदैन पनि। यो संख्या बढाउन बुथ राखेरै सिकाउने योजना ल्याउँदै छौँ,” उनले भने।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अनलाइन प्रणालीबाट टिकट काटेर आउने बिरामीको संख्या निकै कम भएको अस्पतालका सूचना अधिकारी पुरण गुरुङले बताए। उनका अनुसार गत साउन १४ गतेबाट शुरू गरिएको अनलाइन टिकट प्रणालीबाट आठ महिनामा जम्मा तीन हजार २९६ जनाले मात्र सेवा लिएको अभिलेख छ। 


सम्बन्धित सामग्री