Sunday, April 28, 2024

-->

वडाध्यक्षका नमूना काम : भूकम्पपीडितलाई बासको ठेगान, भैँसीलाई सुत्केरी भत्ता

बद्री पन्त वडाध्यक्ष बन्नु आकस्मिक घटना थियो। त्यही घटनाले नलगाड वडा नं. ४ बदलिएको छ। खानेपानी, स्वास्थ्य र सिँचाइमा काम भएको छ। पन्तले किसानका लागि ‘भैँसीलाई सुत्केरी भत्ता’को व्यवस्था गरेका छन्।

वडाध्यक्षका नमूना काम  भूकम्पपीडितलाई बासको ठेगान भैँसीलाई सुत्केरी भत्ता

काठमाडौँ– करिब दुई वर्ष अघिसम्म जाजरकोटका बद्री पन्तको दैनिकी फरक थियो। समाचार खोज्दै गाउँगाउँ पुग्थे। रेडियो, टीभी र पत्रिकाका लागि समाचार लेख्थे। 

“मोफसलमै बसेर पत्रकारिता गरेँ। गाउँका बुढापाका र युवा साथीहरू ‘कति पत्रकारिता गर्छस्, अब नेता बन्नुपर्‍यो’ भनेर जिस्क्याउँथे। पत्रकारिता गरेर पनि समाजमासेवा गरिएकै छ भन्ने लाग्थ्यो,” बद्री भन्छन्। 

तर तिनै बुढापाका र साथीभाइले भनेजस्तो अहिले उनले समाजसेवाको नयाँ बाटो समातेका छन्। समाचार लेख्न छाडेर राजनीतिमा लागेका उनी वडाध्यक्ष भएका छन्। उनी वडाध्यक्ष बन्नु एउटा आकस्मिक घटना थियो।

स्थानीय तहको चुनावी सरगर्मी बढिरहेको थियो। जाजरकोटबाट रेडियो नेपालमा काम गरिरहेका बद्री विभिन्न गाउँ पुग्थे र समाचार बनाउँथे। यही क्रममा २०७९ वैशाख २३ गते रिपोर्टिङका लागि नलगाड पुगे। उनी त्यही नगरपालिका वडा नं. ४ को स्थानीय बासिन्दा हुन्। 

त्यहाँ नेपाली कांग्रेसले वडाध्यक्षको उम्मेदवार छान्न भेला बोलाएको थियो। भेलामा वडाध्यक्ष उम्मेदवारका लागि १३ जना आकांक्षी थिए। तर त्यहाँ उपस्थित कांग्रेस कार्यकर्ता भने उनको नाम लिइरहेका थिए।

बद्री आफैँ पनि कांग्रेस निकट पत्रकारहरूको संगठन प्रेस युनियनमा आबद्ध थिए। १३ जना आकांक्षी हुँदा उनी आफूलाई उम्मेदवार बन्न पाउँला भन्ने विश्वास भएन। “१३ जना आकांक्षी हुँदा म कहाँ उम्मेदवार बन्नु भनेर बाहिर निस्किएँ। साथीहरूले मान्दै मानेनन्। मलाई नै उम्मेदवार बनाउन जिद्दी गरे। पछि ठिकै छ भन्ने लाग्यो,” उनी भन्छन्।

बद्रीलाई उम्मेदवार बन्न जोडबल हुनुको कारण त्यो वडाको राजनीतिक पृष्ठभूमिले थप प्रष्टयाउँछ। २०७४ सालको स्थानीय निर्वाचनमा मेयरमा विजयी टेकबहादुर रावल, जिल्ला समन्वय समिति प्रमुख भएका मनबहादुर रावललगायत माओवादी नेताहरूको घर त्यही वडामा थियो। अघिल्लो पटक वडाध्यक्षमा माओवादीकै उम्मेदवार लक्ष्मीबहादुर रावत विजयी भएका थिए। यो वडालाई माओवादीको किल्ला मानिन्थ्यो।

तर स्थानीय कांग्रेस कार्यकर्ताले अड्डी कसेपछि रिपोर्टिङमा पुगेका बद्री नै वडाध्यक्षको उम्मेदवार बन्ने भए। चुनाव प्रचारका लागि एक हप्ताको मात्र समय थियो। वडामा पाँच वटा ठूला टोल थिए। साना टोल धेरै थिए। भौगोलिक विकटताका कारण उनी सबै टोलमा पुग्न सकेनन्। जति टोलमा पुगे उत्साही भए। “म उम्मेदवार भएपछि गाउँलेहरू यसरी खुशी भएका छन्, चुनाव जित्छु भन्नेमा ढुक्क भएँ,” उनी सम्झिन्छन्।

बद्रीले मात्र होइन उनको टिमले नै चुनाव जित्यो। उनले ५०४ मत पाउँदा निकटतम् प्रतिस्पर्धी बनेका माओवादी केन्द्रका गुमान रावलले ३४३ मत पाए। एमालेका मानबहादुर रावलले जम्मा ५१ मत पाए।

घरघरमा पानी, भैँसीलाई सुत्केरी भत्ता
वडाध्यक्ष निर्वाचित भइसकेपछि बद्रीले पहिला गाउँका आवश्यकताको पहिचान गरे। त्यसका लागि विभिन्न ठाउँका स्थानीयसँग छलफल गरे। पहिलाका जनप्रतिनिधिहरूले अगाडि बढाएका केही योजनालाई निरन्तरता दिए। केही नयाँ योजना पनि बनाए।

वडामा ४५० भन्दा धेरै घरधुरी छन्। कतिपय वस्तीमा खान र खेती गर्न पानी थिएन। कात्तिक १७ गतेको भूकम्पले जमिन भासिएर मुहान नै हराएका पनि छन्। खानेपानी नहुँदा चाँधनमुरा टोलका तीन वटा घरलाई सास्ती थियो। सिमाऔलको आमा टोल, खालचौरको माझगाउँमा पनि खानेपानीको दुःख थियो। अहिले यी सबै टोलमा खानेपानीको बन्दोबस्त भइसकेको छ।

उनले प्रदेश र जिल्लातिरका नेताहरूलाई आग्रह गरेर मानचौरमा ‘एक घर एक धारा’ योजना लागू गरे। अहिले त्यहाँका २० घरमा धारा जोडिएको छ। “दुर्गम ठाउँ भएकाले भौगोलिक रूपमा घरहरू निकै टाढा छन्। २–३ घर, ५–६ घरलाई भनेर पहिला योजनाहरू नै बनाइएन। तर मैले तिनै बस्तीका लागि योजना बनाएर पानी पुर्‍याएँ। अहिले उनीहरूले घण्टौँ हिँडेर पानी बोक्नुपर्दैन,” उनी भन्छन्।

त्यसपछि उनले जनताको घरदैलोमा नै पुगेर केही सेवा प्रवाह गर्ने योजना बनाए। जन्मदर्ता, मृत्युदर्ता र अन्य सिफारिसहरू सेवाग्राहीले चाहेको स्थानमै दिने व्यवस्था भएको उनी बताउँछन्। “दुर्गममा राजनीति बढी भयो। जनताले भनेको पूर्णरूपमा गर्न नसकिएला तर उनीहरूसँगै रहेर काम गर्दा खुशी हुन्छन्,” उनी भन्छन्।

उनले वडामा ल्याएको नयाँ योजना हो भैँसीलाई सुत्केरी भत्ता। भैँसी ब्याएपछि किसानलाई १ हजार रुपैयाँ दिने निर्णय भयो। अहिले यो योजनाबाट ८३ किसानले लाभ लिइरहेको उनी बताउँछन्।

त्यसैगरी, दुर्गम मानिएको बाउसेखोलाका स्थानीय पिठो पिस्न ४–५ घण्टा हिँडेर कालिमाटी बजार आउँथे। उनले गाउँमै विद्युतबाट चल्ने घट्ट बनाइदिए। त्यहाँ स्वास्थ्य सेवा पनि पुगेको थिएन। अनमी राखेर स्वास्थ्य सेवा दिनका लागि अहिले भवन निर्माण हुँदै गरेको उनी बताउँछन्।

वडाको स्वास्थ्य चौकी लहमा एम्बुलेन्ससमेत सञ्चालनमा आउँदैछ। विभिन्न ठाउँबाट सहयोग जम्मा गरेर ‘ख’ वर्गको एम्बुलेन्स ल्याउन लागेको बद्री बताउँछन्। एम्बुलेन्स ल्याउन प्रदेश सरकार र युवाहरूको अभियानले पनि साथ दियो। त्यहाँका युवाले एक वर्ष अघिबाटै अभियान थालेका थिए। 

उनले गाउँमा सुधारिएको आरनहरू बनाउने योजना शुरू गरेका छन्। १० वर्षसम्म उत्खनन नभएको पिपलचौर गुर्छेखोला कुलो पनि चलाएका छन्। कालिमाटीलगायत बारेकोट जोड्ने सडकले पूर्णरूपमा तहसनहस गरेको कुलो पुनर्निर्माणपछि किसानलाई सिँचाइको लाभ मिलेको उनको भनाइ छ।
भैँसीखोर कुलोलगायत सिँचाइसम्बन्धी योजना विभिन्न निकायसँग समन्वय गरेर अगाडि बढाएका छन्। विश्व खाद्य कार्यक्रम, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमलगायतसँग सहकार्य गरेर कुलोहरू निर्माण गरिएको उनको भनाइ छ। 

गत कात्तिक १७ गतेको भूकम्पपछि उनले वडामै स्वास्थ्य शिविर चलाए। गाँस, बास र कपासका लागि समन्वय गरे। युनिसेफ, सोकेक, डब्लूएफपीलगायत संघसंस्था र विभिन्न स्थानीय तहको समन्वयमा राहत तथा पुनर्निर्माणका काम गरिरहेका छन्। अहिले वडामा अस्थायी शौचालय निर्माण भइरहेको छ। वडामा ४० घर पूर्णरूपले ध्वस्त छन्, अन्य धेरै घर बस्न लायक छैनन्। मान्छेहरू सबैले अस्थायी टहरा निर्माण गरिसकेका छन्।

यो वडामा तोरीको सम्भावना भएको कारण तोरी पेल्ने मेसिन राख्ने योजना पनि बनाएका छन्। त्यसैगरी, बालविवाह रोकथाम, बालमैत्री वडा, छुवाछुत अन्त्यलगायत अभियान सञ्चालन भइरहेको उनी बताउँछन्।

नगरपालिकाले गत आर्थिक वर्ष वडालाई १ लाख ४८ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएको थियो। तर वडाले ३ लाख ५० हजार उठाएको थियो। शिक्षा, स्वास्थ्य र विभिन्न सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको कारण नलगाडका १३ मध्ये वडा नं. ४ लाई उत्कृष्ट ठहर गरेर नगरपालिकाले उनलाई सम्मान पनि गरेको छ।

पत्रकारिताका ती दिन
बद्रीले जाजरकोटबाट विभिन्न मिडियामा रिपोर्टिङ गर्न थालेको डेढ दशकभन्दा बढी भइसकेको थियो। उनले ‘जाजरकोट सन्देश’ पत्रिकामार्फत २०६३ सालमा पत्रकारिता शुरू गरे। विश्व खाद्य कार्यक्रमले जाजरकोटका विभिन्न ठाउँहरूमा बाटो निर्माण गरिरहेको थियो। उनले पहिलोपटक कालिमाटीदेखि खारासम्मको बाटोको समाचार लेखेका थिए।

जाजरकोट सन्देशमा करिब दुई वर्ष काम गरेपछि दाङको रेडियो देउखुरी पुगे। नेपालगञ्जको बागेश्वरी एमफएम, सल्यानको रेडियो सल्याल, नेपालगञ्जको कृष्णसार एफएम, सुर्खेतको भेरी एफएमलगायतमा पनि काम गरे। २०६४ सालदेखि सगरमाथा टेलिभिजनसँग जोडिए।

वडा कार्यालय।

उनले २०७० सालदेखि भने रेडियो नेपालमा काम शुरू गरे, टीभी रिपोर्टिङलाई पनि जारी राखे। काठमाडौँका विभिन्न पत्रपत्रिकाहरूमा समेत लेखे। सगरमाथा टीभीमा २०७९ फागुनसम्म काम गरे। वडाध्यक्षको उम्मेदवार बनेपछि भने रेडियो नेपाललाई मात्र होइन पत्रकारितालाई नै छाडिदिए। 

पत्रकारितासँगै आफूले समाजसेवा समेत गरेको कारण राजनीतिमा आउन सहज भएको उनको भनाइ छ। “मैले पत्रकारिता मात्र गरिनँ। जे गरेँ सेवा नै धर्म हो भन्ने मुख्य उद्देश्यले गरेँ,” उनी भन्छन्।

कोरोना महामारीको बेला पनि उनले संक्रमितलाई बचाउन भूमिका खेलेका थिए। संक्रमितको सेवामा जाजरकोट अस्पतालमा दुई महिनाभन्दा बढी समय बिताएका थिए। संक्रमितलाई गाउँबाट अस्पतालसम्म लैजाने काम गरे। कति संक्रमितलाई आफ्नै खर्चमा उपचार गराए। 

“दुर्गमको दुःखदर्द बुझ्नु, गाउँ समाजको साथमा रहेर काम गर्नु मेरो कर्म हो। यसैमा ठीक छु,” बद्री भन्छन्।


सम्बन्धित सामग्री