Saturday, April 27, 2024

-->

नेपाली डाक्टरले दिएको फर्जी मेडिकल रिपोर्ट भारतीय अदालतमा पुगेको भन्दै काउन्सिलमा उजुरी

हाल कोल्टी अस्पताल बाजुरामा कार्यरत डा. रञ्जितकुमार साहले धनुषा अस्पतालको इमर्जेन्सी टिकट प्रयोग गरेर बनाएको फर्जी रिपोर्ट एक महिलाले घरेलु हिंसाको प्रमाण भन्दै भारतको सितामढी अदालतमा पेश गरेकी हुन्।

नेपाली डाक्टरले दिएको फर्जी मेडिकल रिपोर्ट भारतीय अदालतमा पुगेको भन्दै काउन्सिलमा उजुरी 

काठमाडौँ– माघ १२ गते बिहान १० बजे भारतीय नम्बर प्लेटको एउटा गाडी नेपाल मेडिकल काउन्सिल (एनएमसी) अगाडि घ्याच्च रोकियो। भारतको सितामढीबाट जनकपुरधाम हुँदै काठमाडौँसम्म आएको गाडीबाट ओर्लेका अरुणकुमार काउन्सिलको गेटअगाडि चिन्तित मुद्रामा देखिन्थे। हातमा केही थान कागजातको फाइल बोकेका उनी सोझै उजुरी फाँटमा गई उजुरी दिएर बाहिरिए।

अरुण बिहार राज्यको सितामढी जिल्लामा पर्ने फतेहपुरका वासिन्दा हुन्। उनीसँगै उनको सिंगो परिवारमाथि सितामढी जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। मुद्दामा उनीहरूमाथि भ्रुण हत्या र दाइजो लिएको आरोप छ। तर आफूहरूमाथि झूटा मुद्दा लगाएर फसाउने काम भइरहेको उनको दाबी छ।

“हामीले त्यस्तो केही गरेका छैनौँ । हुँदै नभएको मेडिकल रिपोर्ट बनाएर नेपालका डाक्टरले हामीलाई थप पीडा दिने काम गरे। त्यस्तो झूटो रिपोर्ट बनाउने डाक्टरलाई कारबाही गराउन यहाँको मेडिकल काउन्सिलमा उजुरी दिएको हुँ,” उनले भने।  अरुणले बताएअनुसार उनकै भाइ जितेन्द्रकुमारकी श्रीमती अनिताकुमारीले सिंगो परिवारविरुद्ध अदालतमा मुद्दा दिएकी हुन्। 

उनले सितामढी अदालतमा नेपाली डाक्टर रञ्जित साहले बनाइदिएको रिपोर्ट पेश गरेकी छन् जसमा उनको गर्भाशयमा घाउचोट देखिएको र गर्भ नरहेको उल्लेख छ। डा. साहले बनाएको रिपोर्ट जनकपुरस्थित धनुषा अस्पताल प्रालिको हो। तर सो अस्पतालले डा. साह त्यहाँ कहिल्यै कार्यरत नरहेको जानकारी अरुणको परिवारलाई दिएको छ।

डाक्टरको नियतमाथि आशंका 
डा. साहले सन् २०१८ मा धनुषा अस्पतालको इमर्जेन्सी टिकट प्रयोग गरेर बनाएको स्वास्थ्य परीक्षण रिपोर्ट उकालोलाई प्राप्त भएको छ। सोही रिपोर्ट आफूमाथि परिवारबाट भएको हिंसाको प्रमाणका रूपमा अनिताले सितामढी अदालतमा पेश गरेकी हुन्। तर उक्त रिपोर्ट वैधानिक नभएको अस्पतालले जनाएको छ। रिपोर्टको खण्डन गर्दै अस्पतालले सन् २०१८ मा अनिता नामको बिरामी उपचार लिन नआएको र डा. साह पनि त्यसबेला त्यहाँ कार्यरत नरहेको दाबी गरेको छ।  

“मिति २०१८-५-१२ मा अनिताकुमारी महतो, वर्ष ३२, घर लक्ष्मीपुर भुतही (सोनबर्सा) ले यस अस्पतालमा चेकजाँच नगराएको र डा. रञ्जितकुमार साह एमबीबीएस (एनएमसी १५०७८) भएको डाक्टर यस अस्पतालमा सो मितिदेखि अहिलेसम्म कार्यरत नरहेको व्यहोरा जानकारी गराइन्छ,” अस्पतालका प्रबन्ध निर्देशक रामबाबु रमन जयसवालले लेखेको पत्रमा भनिएको छ।

अनिता भने आफूले धनुषा अस्पतालमै स्वास्थ्य जाँच गराएको दाबी गर्छिन्। अस्पतालले त्यसको खण्डन गर्नुको कारण आफूलाई थाहा नभएको उनले बताइन्। “मैले शुरूमा सितामढीमै उपचार गराएको थिएँ। तर त्यहाँका डाक्टरले अरू डाक्टरकहाँ देखाउनू भनेपछि म जनकपुर आएर धनुषा अस्पतालमै चेक गराएको हुँ,” उनी भन्छिन्, “डा. रञ्जितले नै मेरो उपचार गर्नुभएको हो। उहाँ आफैँले पनि उपचार गरेको कुरा सितामढी अदालतमा गवाही दिसक्नुभएको छ।” 

डा. साह भने उक्त रिपोर्टबारे तत्काल केही नबोल्ने बताउँछन्। यो गम्भीर विषय भएकाले यसबारे पछि स्पष्ट पार्ने बताउँदै उनले उकालोसँग भने, “म यस विषयमा पछि कुरा गर्छु।” 

उनी हाल सुदूरपश्चिम प्रदेशस्थित बाजुराको कोल्टी अस्पतालमा कार्यरत छन्। एनएमसीका अनुसार अनितालाई स्वास्थ्य परीक्षण रिपोर्ट दिएको मितिमा उनले भर्खरै मात्र अस्थायीबाट चिकित्सकको स्थायी लाइसेन्स पाएका थिए। त्यसबखत उनीसँग कुनै विशेष विधामा विशेषज्ञता थिएन। 

भारतको फत्तेहपुरबाट आएका अरुणकुमारले नेपाली डाक्टर रञ्जितकुमार साहका विरुद्ध नेपाल मेडिकल काउन्सिलमा दिएको उजुरी।

सितामढीका डाक्टर अरुणकुमार सिंह (एमबीबीएस) ले आफूसँग स्त्री तथा प्रस्तूती रोग विशेषज्ञता नभएको कारण सम्बन्धित डाक्टरलाई देखाउनू भनेर ‘रिफर’ गरिदिएको उनको रिपोर्टमा उल्लेख छ। तर अनिताले त्यसो नगरेर पुन: एमबीबीएस पृष्ठभूमिका डा. साहबाट उपचार गराएको देखिन्छ। अरुणका अनुसार डा. साह अनिताकी आफन्त (मामाको छोरा) हुन्। 

काउन्सिलको नियमअनुसार डा. साहले चिकित्सक आचार संहिताको गम्भीर उल्लंघन गरेको देखिएको छ। नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ को नियम २२ मा चिकित्सक आचारसंहिताको व्यवस्था छ, जसको उपनियम १ (ज) मा ‘कसैलाई बिरामी वा निरोगिताको झूटा प्रमाणपत्र नदिने, कसैको पक्षमा वा विपक्षमा झूटा साक्षी नबक्ने, प्रमाण नदिने वा वक्तव्य नदिने’ उल्लेख छ।  

सोही नियमावलीको नियम २३ मा सजाय र अन्य कारबाहीको व्यवस्था छ। त्यसको उपनियम (१) मा आचार संहिता उल्लंघन गर्ने र आफ्नो अपराध ढाँट्ने चिकित्सकको नाम काउन्सिलको दर्ता रजिस्टरबाट हटाउनेसम्मको अधिकार काउन्सिललाई छ। तर उपनियम (२)  ले त्यस्तो कारबाही गर्नुअघि सम्बन्धित चिकित्सकलाई सफाइको प्रमाण पेश गर्ने मौका दिएको छ।  

उजुरीमाथि छानबिन गरेर किर्ते गरेको प्रमाणित भएमा आरोपित डाक्टरलाई कारबाही गरिने काउन्सिलका निमित्त रजिस्ट्रार विश्व दवाडी बताउँछन्। “डाक्टरले फर्जी रिपोर्ट बनाएको घटना पहिला पनि काउन्सिलमा आएको हो। यस्तो अवस्थामा हामी घटनाको वजनअनुसार चेतावनी, निश्चित अवधिको लागि लाइसेन्स खारेज लगायतका उपयुक्त कारबाही गर्छौं,” उनले उकालोसँग भने।

पतिपत्नीको आपसी कलह
भारतीय नागरिक जितेन्द्रकुमारसँग पर्सा गाउँपालिका, सर्लाहीकी अनिताको विवाह सात वर्षअघि भएको थियो। अरुणका अनुसार विवाह भएको तीन-चार महिनासम्म उनीहरू खुशीसाथ नै बसेका थिए। पेशाले सिभिल इन्जिनियर रहेका जितेन्द्र सरकारी जागिरका लागि भारतको अरुणाचल प्रदेश गएपछि पतिपत्नीबीच खटपट शुरू भयो। अरुणले बताएअनुसार उनका भाइलाई बुहारी अनिताले नेपालमै ल्याउन चाहेकी थिइन्। तर भारतमा नाम निकालेर पाएको सरकारी जागिर जितेन्द्रले छाड्न नमान्दा उनीहरूबीच दूरी बढ्दै गयो। 

अनिताका दाजु गगनदेव महतो भने जितेन्द्रको परिवारले आफ्नी बहिनीमाथि अत्याचार गरेपछि मुद्दामामिलामा गएको बताउँछन्। जितेन्द्रको परिवारले दाइजो अपुग भएको भन्दै बहिनीलाई शारीरिक तथा मानसिक पीडा दिएको उनको दाबी छ। अनिताले सितामढीस्थित सोनबर्सा थानामा दर्ता गराएको जाहेरी निवेदन (एफआईआर) मा १५ लाख रुपैयाँ खर्च गरेर बिहे भएको उल्लेख छ। 

“हामीले उनीहरूलाई बिहेअघि मागेजति सारा कुरा र नगद पनि दियौँ। तर पनि मेरी बहिनी खुशीसाथ बस्न पाइनन्। उनीहरूले कुटपिट मात्र गरेनन्, पेटमा भएको बच्चा पनि औषधि खुवाएर मारिदिए,” गगनदेव भन्छन्, “तापनि हामी मिलेर जाऔँ भनिरहेका छौँ। तर उताबाट कुनै मतलब गरिरहेका छैनन्।” 

अनिता सात वर्षदेखि सर्लाहीस्थित माइतमै बसिरहेकी छन्। श्रीमान् र परिवारले उनलाई स्वीकार्न नसकिने बताए पनि अनिता भने यो मुद्दा मामिला सल्टाएर पुन: घर फर्किन चाहेको बताउँछिन्। “म पहिला पनि बस्न गएकी थिएँ, तर बस्न दिइएन। श्रीमान‍्का दाइहरू राति रक्सी खाएर घर आउँथे अनि ममाथि कुटपिट गर्थे। त्यसपछि मलाई त्यहाँ बस्न डर लाग्न थाल्यो,” उनी भन्छिन्, “मेरो पेटमा भएको बच्चा नमारिएको भए म बच्चासँगै बस्थे। अहिले म कतैको हुनसकेको छैन। कहाँ जाऊँ के गरूँ केही फुरिरहेको छैन। ”


सम्बन्धित सामग्री