काठमाडौँ– करिब दुई महिनाअघि एक जना बालकले मःमको डल्लो बोकेर भागिरहेको र आमाले लखेटेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो। त्यसपछि चियाका रमाइला तस्वीरहरू धमाधम आए। वास्तविकझैँ देखिने यी कुनै पनि तस्वीर मान्छेले खिचेका वा बनाएका थिएनन्।
त्यसको केही दिनपछि नेपालका विभिन्न अनलाइन सञ्चारमाध्यमले पनि त्यस्तै खाले कभर तस्वीर राखेर समाचार प्रकाशन गरे। ती तस्वीर वास्तवमा कम्प्युटरको सहयोगमा ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई)ले बनाएको थियो। आँखाले खुट्याउनै मुस्किल हुने गरी एआई प्रयोग गरेर ‘फोटो जेनेरेट’ गर्ने क्रम अहिले तीव्र छ। नेपाली सञ्चारमाध्यमले पनि प्रयोग गरिरहेका त्यस्ता तस्वीर बनाउन ग्राफिक डिजाइनरलाई घण्टौ लाग्न सक्छ।
ओपन एआईकै एक उत्पादन ‘च्याट जीपीटी’ प्रयोग गरेर विद्यार्थीहरूले गृहकार्य गर्ने विषयमा विश्वव्यापी रूपमा बहस नै छेडिएको छ। डिजिटल घडीमा सेट गरिएको एआईले सम्बन्धित व्यक्ति कति पाइला हिँड्यो भन्नेदेखि नाडीको चाल र मुटुको धड्कनसमेत नापिदिन्छ। त्यति मात्रै होइन, एआईले नयाँ औषधि नै पत्ता लगायो भन्ने खबर प्रमुख हेडलाइन बनेर आउन थालिसके।
यसरी बिस्तारै मान्छेको जीवनशैलीमा घुस्दै गएको एआई के हो त?
एआईलाई नेपालीमा कृत्रिम प्रज्ञा/बुद्धिमत्ता भनेर पनि चिनिन्छ। ब्रिटानिका डिक्सनरीले एआईलाई ‘डिजिटल कम्प्युटर वा कम्प्युटर नियन्त्रित रोबोटको क्षमता, जसले बौद्धिक प्राणीहरूसँग सम्बन्धित काम गर्छ’ भनेर अर्थ्याएको छ।
“एआई प्रायः मानिसको बौद्धिक प्रक्रियाहरू जस्तै– तर्क गर्ने, अर्थ पत्ता लगाउने, सामान्यीकरण गर्ने वा विगतको अनुभवबाट सिक्नेलगायत मानिसको बौद्धिक प्रक्रियाको विशेषताले सम्पन्न विकास प्रणालीको क्षेत्रमा लागू हुन्छ,” ब्रिटानिकाले एआईबारे थप प्रष्ट पार्दै लेखेको छ, “केही एआई प्रोग्रामहरूले निश्चित विशिष्ट कार्यहरू गर्नमा मानव विशेषज्ञ तथा पेशेवरहरू समान पनि कार्य प्रदर्शन गरेका छन्। एआईलाई रोगको निदान, कम्प्युटर सर्च इन्जिन, आवाज वा हस्तलेखन पहिचान तथा च्याटबटलगायत विविध अनुप्रयोगहरूमा पनि प्रयोग गरिएको छ।”
माथिको परिभाषामा भनिएझैँ, एआईले मानव विशेषज्ञ र पेशेवरहरू समान पनि कार्य गर्नसक्छ। यस्ता कुराले केही त्यस्ता पेसाकर्मीहरूलाई त्रसित बनाइरहेको छ, जो कतै न कतै प्रविधि तथा एआईसँग जोडिन्छन्। ‘सबै काम एआईले गरे हाम्रो रोजगारी के हुन्छ’ भन्ने प्रश्न विश्वव्यापी रूपमै बहसको विषय बनेको छ।
एआईको जोखिममा रहेका जागिर
सन् २०२२ नोभेम्बरमा ओपन एआईको च्याट जीपीटी लन्च भएदेखि अधिकांश क्षेत्रमा यसकै चर्चा छ। प्रविधि क्षेत्रदेखि वित्तीय क्षेत्रसम्म हरहिसाब तथा विश्लेषणलाई दुरुस्त राख्न सक्ने च्याट जीपीटीकै आडमा कतिपय कम्पनीले कामदारको संख्या कटौती गरिरहेका छन्।
बिजनेस इनसाइडरले एआईको जोखिममा रहेका प्रमुख १० जागिरमा प्रविधि क्षेत्र (कोडर, कम्प्युटर प्रोग्रामर, सफ्टवेयर इन्जिनियर), कानूनी क्षेत्रको रोजगार, बजार विश्लेषक, शिक्षक, वित्तीय क्षेत्र, धितो दलाल, ग्राफिक डिजाइनर, अकाउन्टेन्ट र कस्टुमर सर्भिस एजेन्टलाई औँल्याएको छ। यीलगायत क्रिएटिभ राइटिङ, पत्रकारिता, फोटोग्राफी, चित्रकला, मेडिकल रिसर्चर आदिजस्ता जागिरमाथि पनि चुनौती छ।
विभिन्न अनुसन्धानले सन् १९८० को दशकदेखि सूचना तथा प्रविधिका क्षेत्रमा आएको परिवर्तनले रोजगारी सृजना गर्नुभन्दा छिटो कामदारहरूलाई विस्थापित गरेको देखाएको छ। ती अध्ययनअनुसार अहिले विश्वभर ६० प्रतिशत कामदार सन् १९४० मा नभएका पेसाहरूमा आबद्ध छन्। अर्थात् अधिकांश सूचना/प्रविधिसँग जोडिएका काम गरिरहेका छन्। अहिलेको ‘जेनेरेटिभ एआई’ अघिल्लो सूचना प्रविधिको प्रगतिजस्तै भएको ती अध्ययनको ठम्याइ छ।
त्यसैले निकट भविष्यमा एआईले रोजगारीका तमाम क्षेत्र, विशेषगरी रचनात्मक कार्यमा प्रभाव पार्ने विज्ञहरू बताउँछन्। अक्सफोर्ड विश्वविद्यालय अन्तर्गत ‘फ्युचर अफ वर्क’ कार्यक्रमका निर्देशक कार्ल बेनेडिक्टले बीबीसीसँग भनेका छन्, “आगामी केही वर्षहरूमा एआईले रचनात्मक कार्यहरूको फराकिलो दायरामा समान प्रभाव पार्ने सम्भावना छ।”
एआई र हलिउड हडताल
एआईले रोजगारी कटौती गर्नेबारे बहस हुँदा बिर्सिनै नहुने घटना हो, हलिउड हडताल। स्क्रिप्ट लेखनदेखि जीवित तथा मृत अभिनेतालाई पर्दामा उभ्याइदिनेसम्मका काम एआईले गर्न थालेपछि हलिउडका लेखक तथा कलाकारहरूले अघिल्लो वर्ष महिनौँसम्म हडताल गरे। हलिउडको भिडियो स्ट्रिमिङ प्लेटफर्म र फिल्म तथा टेलिभिजन स्टुडियोहरूविरुद्ध करिब १२ हजार सदस्य रहेको लेखकहरूको संगठन ‘राइटर्स गिल्ड अफ अमेरिका’ (डब्लूजीए)ले गरेको हडतालमा पछि कलाकारहरू पनि जोडिए। यसले हलिउड लगभग ठप्प पारेको थियो।
सन् २०२३ मे २ देखि शुरू भएको हड्ताल अक्टोबर ९ मा सहमति भएर टुंग्गियो। एआईको प्रयोग गरिए पनि कलाकार तथा लेखकहरू त्यसको फाइदाको भागिदार हुनेलगायत विषयमा स्टुडियोहरूसँग सहमति भएको थियो। द गार्डियनले यसलाई हलिउडमा सबैभन्दा लामो समयसम्म चलेको श्रमिक हडताल भनेको छ। यसलाई एआईबाट जोगिन पेसाकर्मीहरूले गरेको पहिलो सशक्त आन्दोलनको रूपमा पनि चित्रण गरिएको छ।
केही वर्षयता चर्चित कम्पनीहरूले कामदार कटौती गर्ने क्रम बढिरहेको छ। अघिल्लो वर्ष मात्रै विश्वका ५० भन्दा धेरै ठूला कम्पनीहरूले कामदारको संख्यामा व्यापक कटौती गरे। एक रिपोर्टअनुसार मेटाले १३ प्रतिशत, ट्विटरले १० प्रतिशत, वासिंटन पोस्टले ९ प्रतिशत, ल्यापटप उत्पादन कम्पनी डेलले ५ प्रतिशत कर्मचारी कटौती गरे। नोकियाले १६ प्रतिशत, पे–पलले ७ प्रतिशत, गुगलअन्तर्गतको कम्पनी अल्फाबेटले ६ प्रतिशत, माइक्रोसफ्टले ५ प्रतिशत र अमेजनले २ प्रतिशत कमैचारी घटाए। त्यो क्रम २०२४ मा पनि जारी छ। यो वर्षको शुरूमै अमेजन ट्विचले ३५ प्रतिशत, सफ्टवयर कम्पनी युनिटीले २५ प्रतिशत कामदार बिदाइ गरेका छन्। त्यस्तै, एनिमेसन स्टुडियो पिक्सरले २० प्रतिशत, एनबीसी न्युजले ३ प्रतिशत, गुगलले १ प्रतिशत कर्मचारी घटाएका छन्।
अर्को रिपोर्टमा एआईलाई ‘फोकस’ गर्दै ९० भन्दा धेरै प्रविधि कम्पनीले यो वर्षको शुरूमै २४ हजार भन्दा धेरै कर्मचारी कटौती गरिसकेको उल्लेख छ। कोरोना महामारीपछि बढीरहेको आर्थिक संकट साथै जेनेरेटिभ एआईको उदयले रोजगारीका क्षेत्रमा पहिरो गएको अध्ययनले जनाएको छ।
नेपालमा कस्तो असर परिरहेको छ?
एआईले विश्वका विकसित देशका रोजगारीमा जति धेरै असर पार्नेछ, त्यति नै कम विकसित वा विकासशील देशमा पार्ने विभिन्न सर्भेक्षणले देखाएका छन्। नेपाल पनि रोजगारी गुम्ने हिसाबले त्यति धेरै प्रभावित हुने छैन। तर रचनात्मक कार्य तथा आईटीको क्षेत्रमा रोजगारी गुम्ने चुनौती अहिलेदेखि नै सामना गरिरहेको सम्बन्धित क्षेत्रका व्यक्तिहरू बताउँछन्।
कान्तिपुर मिडिया ग्रुपमा कार्यरत चित्रकार तथा 'इलुस्ट्रेटर' दीपक गौतम रचनात्मक क्षेत्रमा यसको असर देखिइसकेको बताउँछन्। “नेपालमा एआईको प्रयोग गरेर चिया लिएर कुदाउने, मःम लिएर कुदाउने जस्ता तस्वीर बनाएर यसलाई हलुका बनाइए जस्तो यो छैन, यसको कारण धेरै मात्रामा रोजगारी गुमाउने देखिन्छ। कलाकारलाई निकै असर पार्छ,” उनले भने।
पछिल्लो समय ‘एआईले बनाउन थालिसक्यो, चित्रकार, ग्राफिक डिजाइनरको के काम’ जस्ता कुरा सुनिने गरेको पनि गौतम बताउँछन्। यसको प्रयोग बढे पनि कलाकारहरूले एआईलाई चुनौतीभन्दा अवसर ठानेर चल्नुपर्ने र सरकारले पनि त्यहीअनुसार मापदन्ड बनाउनुपर्ने उनको भनाइ छ।
गौतम भन्छन्, “एआईले हाम्रै कामलाई पनि सजिलो बनाएको छ, यसलाई कसरी प्रयोग गर्ने र काम सजिलो पार्ने भनेर सोच्नुपर्ने छ, तर यसको प्रयोगको लागि सरकारले नै केही मापदण्ड तोक्नुपर्छ ताकि वास्तविक कलाकारहरूले आफ्नो कलाको मूल्य गुमाउन नपरोस्।”
कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान)का महासचिव चिरन्जिवी अधिकारी नेपालमा एआईले रोजगारीमा केही हदसम्म प्रभाव पार्ने बताउँछन्। अहिले आईटीको क्षेत्रले एआईलाई धेरै चिनेका कारण उक्त क्षेत्रमा रोजगारी कटौती शुरू भइसकेको उनको भनाइ छ।
“नेपालका ठूला ५/६ वटा सफ्टवेयर कम्पनीमा भ्रमण गर्दा एआईकै कारण ३० प्रतिशत रोजगारी कटौती भइसकेको पाइयो,” अधिकारी भन्छन्, “आईटीमा प्रयोग हुने कोडहरू पनि एआईको प्रिमियम टुल्सबाटै आउँछन् जुन कोड क्रिएट गर्न हामीले ७/८ जना मान्छे राख्नुपर्थ्यो। अहिले त्यो काम एआईले १०/१२ डलरमै गरिदिन्छ।”
यस्तै, एआईका कारण बैंकिङ क्षेत्रमा पनि १० प्रतिशत रोजगारी कटौती भएको अधिकारीको भनाइ छ। बैंकिङसम्बन्धी ‘डाटा कस्टुमाइज’ गर्ने मान्छे त्यही विषयमा जानकार भएको हुनुपर्ने भएकाले अहिले केही कम मात्रामा रोजगार कटौती भएको छ। तर डाटा कस्टुमाइज गर्नसक्ने प्रविधि आएपछि रोजगारी कटौतीको सम्भावना धेरै हुने उनी बताउँछन्।
बिस्तारै अन्य क्षेत्रमा पनि एआईको विश्वसनीयता बढ्दै गए रोजगारी घट्दै जाने देखिएको तर त्यसबारे सोचेर चिन्तित भइहाल्न नहुने अधिकारीको भनाइ छ। “एआईको ब्युटी स्टेज थाहा भएपछि केही हदसम्म रोजगारी कटौती हुन्छ। तर यही समय एआईले आफैँ अवसर पनि खोजिरहेको छ,” उनी भन्छन्, “त्यसैले सरकारले अहिले नै छलफल गर्ने र भविष्यमा हुने सम्भावित जोखिमलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर नीतिगत छलफल गर्नुपर्छ।
सर्वेक्षणले के भन्छ?
यो वर्ष स्विटजरल्यान्डको डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ)को ५४औँ वार्षिक बैठकको केन्द्रविन्दु नै एआई बन्यो। जनवरी १५ देखि १९ सम्म चलेको बैठकमा एआईले पार्ने प्रभावका विषयमा विश्व अर्थ र प्रविधि क्षेत्रका विज्ञहरूबीच छलफल भयो।
उक्त बैठकमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले एआईका कारण विश्वव्यापी रूपमा करिब ४० प्रतिशत रोजगारीलाई असर गर्ने चेतावनी दिएको छ। यसमा उच्च दक्ष कामहरू पनि छन्। विकसित अर्थतन्त्रमा रोजगारी गुमाउने मात्रा ६० प्रतिशतसम्म हुन सक्छ। तर उदयीमान र विकासशील अर्थतन्त्रहरूले भने तत्काल एआईको कारण अलि कम समस्याहरूको सामना गर्ने आईएमएफको प्रक्षेपण छ।
यद्यपि आईएमएफले चेतावनी दिएको छ कि यीमध्ये धेरै देशहरूले पूर्वाधार र दक्ष कामदारको अभावका कारण एआईका फाइदाहरू प्रयोग गर्न संघर्ष गर्नेछन्। यसले एआईका कारण भविष्यमा देशहरूबीच असमानता बढ्ने जोखिम बढाउनेछ।
डब्लूईएफको वार्षिक बैठकको शुरूआतमा आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाले भनिन्, “एआईले असमानतालाई अझ खराब बनाउने धेरै सम्भावना छ। यो एउटा स्तब्ध पार्ने अवस्था हो जसलाई नीति निर्माताहरूले सम्बोधन गर्न आवश्यक छ।”
म्याकिन्से ग्लोबल इन्स्टिच्युटले ४६ देशमा विभिन्न ८०० पेसाको अध्ययनपश्चात विश्वव्यापी रूपमा पाँच भागको एक भाग रोजगारी प्रभावित हुने प्रतिवेदन सार्वजनिक गरेको थियो। सन् २०१७ मा सार्वजनिक उक्त प्रतिवेदनमा सन् २०३० सम्म विश्वव्यापी रूपमा ८० करोड कामदारले जागिर गुमाउने उल्लेख छ। श्रमिकको स्थान एआई तथा रोबोट स्वचालनले लिनेछन्।
‘हिरो विरेड’को द च्यान्जिङ ल्यान्डस्केप अफ स्किल्स २०२४ शीर्षकको प्रतिवेदनले उदयीमान प्रविधिका कारण रोजगारी गुम्ने सम्भावित क्षेत्रमा कार्यरत पेसाकर्मीहरूको चिन्तालाई उजागर गरेको छ। विद्यार्थी, विभिन्न पेसा र शिक्षाविद्लगायत दुई लाख व्यक्तिलाई समावेश गरेको उक्त अध्ययनले अन्तर्वार्ताका क्रममा ८२ प्रतिशत कार्यरत पेसाकर्मीले रोजगारी सुरक्षामा विकसित प्रविधिको प्रभावबारे चिन्ता व्यक्त गरेका छन्।