Monday, April 29, 2024

-->

११ महिनामा प्रधानमन्त्री दाहाल ३३ दिन विदेशमा

प्रधानमन्त्री पुष्पकमल दाहाल गएको असोजमा १३ दिन विदेशमा थिए। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका उनी त्यहाँबाट सिधै चीन पुगी मानसरोवर र कैलाश पर्वत घुमघाममा केही दिन बिताएका थिए।

११ महिनामा प्रधानमन्त्री दाहाल ३३ दिन विदेशमा
फाइल तस्वीर

काठमाडौँ– संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार दोहा हुँदै संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछन्। ११ महिनाअघि प्रधानमन्त्री बनेका दाहालको यो छैटौँ विदेश भ्रमण हो।

दाहालले यूएईमा हुने उक्त सम्मेलनलाई मंसिर १६ गते सम्बोधन गर्ने कार्यक्रम छ। त्यसको अघिल्लो दिन मात्र यूएई जाँदा हुने भए पनि दाहालकै रुचिमा दुई दिनअघि नै यूएईको राजधानी आबुधाबी जाने कार्यक्रम तय भएको एक सरकारी अधिकारी बताउँछन्। 

प्रधानमन्त्री दाहाल मंसिर १६ र १७ गते यूएईमा सम्मेलनका क्रममा आयोजना गरिने विभिन्न छलफलमा सहभागी हुने छन्। प्रधानमन्त्री कार्यालयका अधिकारीहरूका अनुसार दाहाल कुनकुन छलफलमा सहभागी हुने भन्ने तय भइसकेको छैन। 

पाँच दिन लामो भ्रमण पूरा गरेर उनी मंसिर १७ गते स्वदेश फर्कने छन्। यो सम्मेलन प्रधानमन्त्री जानै पर्ने महत्त्वको नभएको र अन्य अधिकारीले प्रतिनिधित्व गर्दा पनि हुने कार्यक्रम भएको प्रधानमन्त्री कार्यालयका एक अधिकारी बताउँछन्। प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो पनि सहभागी हुनेछन्।

प्रधानमन्त्री दाहालको सचिवालयले दिएको जानकारीअनुसार भ्रमण टोलीमा उनको सचिवालयबाट मात्र आठ जना सहभागी छन्। जसमा प्रधानमन्त्रीपुत्री गंगा दाहाल, निजी सचिव रमेश मल्ल, वातावरणविज्ञ डा. पपुलर जेन्टललगायत छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्याल, वनसचिव दीपक खरेल, अर्थसचिव कृष्णहरि पुष्कर, परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी पनि भ्रमण दलमा छन्।

दुई सैनिक अधिकृत र प्रहरी गरी तीन सुरक्षाकर्मी पनि टालीमा छन्। केही दिनअघिको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीमा जानेको नाम स्वीकृत गरेको थियो। टोलीमा सरकारी सञ्चारमाध्यमका तीन पत्रकार पनि छन्। प्रधानमन्त्रीसँग नेपाल टेलिभिजनका सम्पादक शालिग्राम सुवेदी र भिडियोग्राफर नवराज दाहाल तथा राससका फोटो पत्रकार प्रदीपराज वन्त पनि जानेछन्। वन्त प्रधानमन्त्रीको सचिवालयमा काजमा कार्यरत छन्।

सात महिनामा पाँच राष्ट्रको भ्रमण
प्रधानमन्त्री दाहाल पछिल्लोपटक चीन भ्रमणमा गएका थिए। गएको असोज १३ गते मात्र उनी चीनबाट फर्किएका हुन्। प्रधानमन्त्री भएको सात महिनामा चीनसहित उनी पाँच राष्ट्र पुगेका थिए। छैटौँ देशका रूपमा उनी यूएई पुग्न लागेका हुन्। प्रधानमन्त्रीमा नियुक्त भएयता ११ महिनामा दाहालले ३३ दिन विदेश भ्रमणमा बिताएका छन्।

दाहालले २०७९ पुस ११ गते प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएपछि पहिलो विदेश भ्रमण कतारको थियो। उनी विकाससम्बन्धी सम्मेलनमा भाग लिन फागुन २० गते त्यता गएका थिए। उनले दोहामा तीन दिन बिताएका थिए। 

उनको दोस्रो विदेश भ्रमण भारतको थियो। चार दिने भ्रमणका लागि उनी गएको जेठ २० मा नयाँ दिल्ली प्रस्थान गरेका थिए। 

प्रधानमन्त्री दाहाल एशियाभन्दा बाहिरको भ्रमणमा गएको साउन ६ गते इटली गएका थिए। उनले संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को मुख्यालय रोममा आयोजित युनाइटेड नेशन्स फुड सिस्टम्स २०२३, स्टकिङ मोमेन्टमा भाग लिएका थिए। उक्त कार्यक्रम साउन ८ देखि १० गतेसम्म आयोजना गरिएको थियो। त्यहाँबाट उनी साउन १२ गते स्वदेश फर्किएका थिए।

त्यसैगरी, संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन दाहाल गत भदौ ३० गते अमेरिकाको न्यूयोर्क गएका थिए। उक्त विदेश भ्रमण दाहालको प्रधानमन्त्रीको रूपमा अहिलेसम्मकै लामो हो। उनले लगातार १४ दिन विदेशमै बिताएका थिए। न्यूयोर्कमा ६ दिन बिताएपछि असोज ५ गते सिधै चीन पुगेका थिए। चीनमा एक हप्ता बिताएपछि दाहाल असोज १३ गते स्वदेश फर्केका थिए। चीनमा रहँदा उनले द्विपक्षीय भेटघाट कम र तिब्बत तथा मानसरोवर र कैलाश घुमघाममा बढी समय बिताएका थिए।

‘उपलब्धिको लेखाजोखा नै हुँदैन’
संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वराजदूत जयराज आचार्य मुलुकको प्रमुख कार्यकारी पदमा आसिन व्यक्तिले देशलाई प्राथमिकतामा राखेर अन्य कार्यक्रम तय गर्नुपर्ने बताउँछन्। “हाम्रा प्रधानमन्त्रीहरू हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न जान्छन्। पञ्चायतकालमा एक जना प्रधानमन्त्रीले महासभालाई सम्बोधन गरेनन्। राजाले त गर्दै गरेनन्,” आचार्य भन्छन् “अहिलेसम्मका भ्रमणबाट के उपलब्धि भयो? उपलब्धि महत्वपूर्ण कुरा हुन्। नगए पनि हुने ठाउँमा जाने हाम्रो प्रचलन देखिएको छ।”

संयुक्त राष्टसंघका हरेक महासभामा सार्क देशका परराष्ट्रमन्त्रीहरूको ‘ब्रेकफास्ट’ हुने गरेको भए पनि यो वर्षदेखि त्यो परम्परा तोडिएको उनी बताउँछन्।  “प्रधामन्त्रीको साइडलाइनमा कुन महत्त्वपूर्ण नेतासँग उहाँको भेट भयो? म त त्यस्तो केही देख्दिनँ,” आचार्य भन्छन्।

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल देशको प्रमुख कार्यकारी भ्रमणमा जानै हुँदैन भन्ने मान्यतामा आफू नभए पनि भ्रमणबाट प्राप्त उपलब्धिबारे लेखाजोखा हुन जरुरी भएको बताउँछन्। “सबै ठाउँमा एक्टिभ रोल हुन्छ भन्ने होइन। कतिपय ठाउँमा सेरेमोनियल भूमिकामा पनि जानुपर्छ। त्यसले देशको उपस्थितिलाई प्रतिनिधित्व गर्छ,” उनी भन्छन्, “खासै काम नहुँदा पनि भारत चीन जाने प्रचलन त्यसकै उदाहरण हो।” 

डा. रिजाल उच्चस्तरीय भ्रमणमा बोकिनसक्नुको जमात बोकेर हिंड्ने चलन ठीक नभएको बताउँछन्। “जाने कुरामा म उदार छु। तर जाँदा भएभरका सबै जन्ती नै भएर जान्छन्। यो चाहिँ भएन। आफ्नै खर्चमा जान्छु भन्नेलाई पनि आवश्यकबाहेक अरुलाई सहभागी गराउनुहुन्न,” रिजाल भन्छन्।


सम्बन्धित सामग्री