Sunday, May 12, 2024

-->

संस्मरण
राजा भनेका सिपाही पो रहेछन्!

राजाको सवारी हेर्न मामा त लेगुवाघाट नै पुगेका रहेछन्। माझीहरूले घण्टौँ लगाएर लेगुवाघाटबाट सवारी टोलीलाई अरुण नदी तारेछन्। राजाका लागि छुट्टै डुंगा। घोडाहरू चाहिँ आफैँ पौडेर नदी तर्दा रहेछन् रे।

राजा भनेका सिपाही पो रहेछन्

‘राजाको सवारी हुन्छ रे!’

गाउँसम्म हल्ला आइपुगेको थियो। ओहो! राजा कस्ता होलान्? मान्छेहरू कौतुहल थिए। जताततै राजाकै बारे कुरा हुन थालेको थियो। त्यतिबेला महेन्द्र शाह राजा भएको भर्खर दुई वर्ष पुग्दै थियो।

माघको महिना आकाश खुलेको भए पनि हाम्रो गाउँको सिधै उत्तरमा पर्ने गुराँसे र धजे डाँडाबाट आउने चिसो हावाले सेक्न थालेको थियो। आमाहरूले बेँसीबाट पराल खेप गरेर बीचमा पर्ने आत्मारा भन्ने ठाउँमा थुपारेका थिए। बाले बेँसीबाट गाईगोठ गाउँ उकालीसकेका थिए। बर्खाको लागि दाउरा काट्ने काम बाँकी थियो। आमाले बारीमा मल बोल्ने काम थालेकी थिइनन्। पराल बोकिसकेर बारीमा मल थुपारी सकेपछि आमासँगै मावल जान पाइने आशाले म फुरुङ्ग थिएँ। 

आमा दिनै खोल्सा डिलको पैयूँको रूखतिर आँखा लगाउँथिन्। हजुरआमाले भन्नुहुन्थ्यो रे– आफ्नो काम सिध्याउने पैयूँ फुलेपछि माइत जाउला। म पनि आमासँग मावल जान पाउथेँ। 

पैयूँ फुल्यो, आमाको अनुहार उज्यालो भयो। म मावल जाने दिन सोधेर हैरान पार्न थालेँ। दिदी चाहिँ रुन्चे अनुहार लाउँथिन्।

त्यस वर्ष राजाको सवारी हुने चर्चा बा र काकाहरूले पनि गर्न थालेका थिए। मलाई पनि राजा हेर्ने रहरले खुब सताउन थालेको थियो। राजाको गुणगान त सुनिएकै थियो, देख्ने रहर उधुमै भयो। 

केही वर्ष अघिसम्म राणाहरूलाई नै राजा भनिन्थ्यो। नारायणहिटीका राजा त बाहिर नै निस्किँदैन थिए। राणा शासन ढलेको ६ वर्षपछि नै राजा धनकुटा आउँदै थिए। तर राणा शासन ढाल्न भूमिका खेलेका भनिएका राजा त्रिभुवनको मृत्यु भइसकेको थियो। २००७ सालमा प्रजातन्त्र आएपछि उनी चार वर्ष मात्र राजा हुन पाए। उनी राजा हुन्जेल पनि सरकारले स्थायित्व पाएन।

प्रजातन्त्र आएपछि पहिलोपटक धनकुटा पुग्ने राजा महेन्द्र नै थिए। उनकै सवारीको तयारी र चर्चा चलेको थियो।

त्यति बेला सडक थिएन, गाडीको कल्पनै हुँदैन थियो। राजा कसरी आउँछन्! के बोल्छन्! के खाँदा हुन्! सबैको चासो थियो।

मावल पनि जाने र राजा पनि हेर्ने दुवै कुरा मेरा लागि महत्त्वका थिए। साथीभाइसँग म खुब गुड्डिन थालेको थिएँ। आमाको कोखबाट हामी पाँच सन्तान जन्मिसकेका थियौँ। दिदी १४ वर्ष पुगेकी थिइन्। म १० वर्षको थिएँ। माइलो भाइ ७ वर्षको, माइली बहिनी ४ वर्षकी र आमाको काखमा १ वर्षको सानु भाइ थियो।

राजाको सवारी १६ गते (२०१३ माघ) हुने भनेर हजुरआमा, आमा र काकीहरूले चर्चा गर्न थालेको सुन्थेँ। सवारी हेर्न जाने सबैको सल्लाह थियो। मेरी ठूली दिदीले भने भाइ बहिनी हेर्ने र घर कुर्ने जिम्मा पाएकी थिइन्। त्यसैले राजा हेर्न जान नपाएकोमा उनी पिलपिल रुने गर्थिन्।

अघिल्लो दिन माघ १५ गते हल्ला चल्यो– राजा पाख्रिबास बजार आएर बसेका छन् रे। त्यसबेला सूचना संचारको साधन भनेको मान्छे र हुलाकीले महिनौँ लगाएर ल्याउने चिठी मात्र हुन्थ्यो। राजा पाख्रिबास आएर बसेको चर्चा भने हुरी जत्तिकै फैलिएर आयो। कसिएर हिँड्नेलाई धनकुटा र पाख्रिबासको दूरी पुगनपुग साढे दुई घण्टाको हुँदो हो।

माघ १६ गते आयो, सवारी हेर्न जान मसँगै तल्लो घरको भाइ र मेरो माइलो भाइ पनि उफ्रिँदै हिँडे। जान नपाएकोमा बहिनी धेरै रोई, दिदीले पनि रुन्चे अनुहार लगाउँदै भाई बोकेर बहिनीलाई डोहोर्‍याउँदै गल्लीसम्म आएर हामी नछेल्लिएसम्म हेरिरही। अरू बेला बिरलै घरबाट निस्किने आमाहरू पनि राजा हेर्न जान निस्किएका थिए। ठूलाबडासँगै हामी केटाकेटी पनि कागते डाँडातिर लाग्यौँ। राजा झर्ने बाटो पाख्रिबासबाट हिले, निकाले, कागते हुँदै धनकुटा बजार पुग्थ्यो।

धनकुटा बजारभन्दा माथि डाँडामा पर्छ कागते। त्यो सानो बस्तीमा टेकबहादुर साहुजीको ठूलो पसल थियो। हाम्रो गाउँका सबैले सामान ल्याउने पसल त्यही थियो। छिमेकी गाउँले बाहुनी बज्यै र केटाकेटीहरूलाई साहुजीले आफ्नो बरण्डामा बसेर सवारी हेर्ने अनुमति दिए। बाटामा तैनाथ सैनिकहरूले भने बरण्डाबाट हामीलाई झार्न खोजेका थिए। तर साहुले सम्झाएपछि हल्ला नगर्ने शर्तमा छाडिदिए।

हामी सवारी कुरेर बसिरह्यौँ, तर आइपुगेन। घामको छायाँ निबुवा खोला तरिसक्दा पनि सवारी आएन। आमाहरू दिक्क मानेर कुरा गर्न थाले। म पनि धैर्य भएर बसिरहन सकिनँ। आमाको आँखा छल्दै भर्‍याङ ओर्लिएर बाटोछेउको कागते पाटीतिर दौडिएँ। त्यो ठूलो पाटी राणकालमा नै बनेको भन्थे। त्यहाँ भरियाहरू बास बस्थे। म त्यही पाटीछेउ पुगेर हेर्न थालेँ।

“ए केटा छेउ लाग!” एउटा सिपाहीले मेरो सातो खायो।

तर म अझ अगाडि दौडिएँ। बाटोको दुवै किनारमा उभिएका मानिसहरू टिनले बनेको ढ्वाङ मुखमा लगाएर नारा लगाइरहेका थिए। तिनले पार्टीको नारा लगाएको सुनिन्थ्यो। धेरैले ‘नेपाली कांग्रेस– जिन्दावाद’ भनेको सुनिन्थ्यो। ठाउँ ठाउँ ‘गोर्खा परिषद्– जिन्दावाद’ भन्थे। तिनीहरूसँगै नारा लगाउँदै म पनि उकालो लागेँ। म रमाइलोका लागि नारा लगाउँदै कुदेको थिएँ।

अलि माथि भाटामा नारा लेखिएका कागज टाँसेर बनाइएका ‘प्ला कार्ड’ बाँड्दै रहेछन्। त्यो मेरा लागि नौलो थियो। अनौठो लागेर बाँड्ने मान्छेको छेउमा उभिन पुगेँ।

“ए फुच्चे, बोक्छस्! ला...,” एउटाले मलाई पनि दियो।

त्यहाँ मान्छेहरू ‘महाराजको जय’ भनेर कराइरहेका थिए। म तिनीहरूसँगै कराउँदै उकालै लागेँ। नारा लगाउनेहरूसँग मिसिएर म हिले बजारभन्दा तल निगाले पुगेँ। त्यहाँबाट माथि जान सिपाहीहरूले रोके। निगालेको चिप्लेटीमा भिडभाड धेरै थियो। नारा पनि जोडतोडसँग लाग्दै थियो। सिपाहीहरूले मान्छेलाई बाटाको किनारातिर ठेल्दै थिए। मलाई झण्डै डिलबाट खसालेनन्।

त्यति बेलासम्म घाम धनकुटाको पश्चिमतर्फको बेलहारा डाँडातर्फ ढल्किसकेको थियो। माथिबाट बुङ्बुङ्ती धूलो उठेको देखियो। धूलोभन्दा अघिअघि घोडा चढेका सिपाहीहरू झर्दै थिए।

‘सवारी भो, सवारी भो,’ भन्दै मान्छेहरू चिच्याउन थाले। त्यसपछि ठेलमठेल भयो। बोकेको झण्डालाई च्यापिरहन सकिनँ, कता हरायो, हरायो! 

अब भने म आत्तिएँ, अनि बेतोडले पहिला आएकै बाटोतिर दगुर्न थालेँ। बत्तिएर अघि उक्लिएको बाटो एकैछिनमा पार भएँ। म टेकबहादुर साहुजीकै बरण्डामा गएर लुसुक्क बसेँ। म भागेपछि आमाले धेरै पिर गरिरहेकी रहिछन्। पुगेपछि हप्काएजस्तो गरे पनि खुशी भइन्।

साहुजीको बरण्डाबाट निगाले डाँडो छर्लंगै देखिन्थ्यो। धूलो उडाउँदै कुडुलो परेर मान्छेको भीड झरेको पनि देखियो। आमाहरुले भन्नुभयो– सवारी निगालेबाट झर्‍यो।

उत्सुकताले होला सबैका अनुहार रातो रातो देखियो। हेर्दाहेर्दै सिपाहीहरूको एउटा लस्कर आयो। बन्दुक भिरेका थिए। हामी सास रोकेझैँ गरेर बस्यौँ। आदेश त्यस्तै थियो।

सिपाहीको लस्कर पछिपछि बाघ, मृग, जरायो, वनेलजस्ता जनावर राखिएका खोरहरू बोकेका मान्छे आए। म बेँसीको खेतमा बस्दा बाघ गर्जेको सुनेको थिएँ, तर देखेको थिइनँ। खोरमा बाघ देख्दा मेरो शरीर जिरिङ्ग भयो। त्यसपछि ओलिङकाठमा रानी, मैय्यासाहेब र राजकुमारीहरू आए। तिनका ओलिङकाठ बोक्नेहरू चुईं....चुईं.... गर्दै झरे। अनि, अघिपछि दशबाह्र घोडचढी सेनाको बीचमा हिँडिरहेको एउटा पुणे घोडा देखियो। त्यो घोडालाई दुईतिरबाट सिपाहीले पक्रेका थिए। त्यसमा चढ्नेले मिलिटरी ड्रेस लगाएका थिए र टोप ढल्काएका थिए। ती राजा महेन्द्र रहेछन्।

सबैले जयजयकार गर्दै चिच्याउन थाले। कराउन पाइनेरहेछ भन्ने भएपछि हामी पनि करायौँ। ‘राजा कस्तो होला भनेको त सिपाहीजस्तो पो रहेछ,’ मेरो मनले आफैँसँग संवाद गर्‍यो। तर बक फुटाइनँ। घोडा चढेका राजा धूलो उडाउँदै तलतिर झरे। भीड राजाको पछि लाग्यो। राति राजाको बास धनकुटा गौँडामा हुन्छ भन्थे।

अब मान्छेहरू घट्दै गए र छिरलिए। भोक र जाडोले सताइरहेको थियो। हामी पनि आमाहरूसँगै ओरालो लाग्यौँ। राजा गएको ओरालो र हामी झरेको आरोलो भने फरक दिशामा पर्छ।

मैले राजा हेर्न आएका जति मान्छे बाटोमा देखेँ, प्रायः ती सबैले फाटेका वा फाटेर टालेको लुगा लगाएका थिए। जुत्ता लगाउने त फाट्टफुट्ट मात्र थिए। हामी गाउँतिर झर्दा हजुरआमाहरूको बुढ्यौली शरीर थरथर कामिरहेको थियो। हजुरआमा र आमाहरू भन्दै थिए– आज साक्षात् विष्णुको दर्शन गरियो।

घरमाथि गल्लीमा पुग्नेबित्तिकै सानुभाइ रोइरहेको सुनियो। आँगनमा पुगेपछि बहिनी कुदेर आमासँग लुटपुटिन आइपुगी। आमाले हातगोडा धोएर अगेनोमा आगो छोएपछि भाइलाई काखमा लिएर दुध खुवाउन थालिन्। 

मैले आमालाई सोधेँ, “विष्णु भनेका पनि राजाजस्तै सिपाही नै हुन्?”

मेरो प्रश्नले सायद आमा डराइन्। अनि मलाई सम्झाइन्, “नानी, हामीले राजाको धेरै कुरा गर्नुहुँदैन।”

राजा दुईचार दिन धनकुटामा नै बस्ने भएछन्। माथिल्लो टुँडिखेलमा राजाको सवारी क्याम्प बस्ने हल्ला सुनियो। बिन्तीपत्र चढाउने र दर्शनभेट गर्ने भन्दै काका बाहरू दिनदिनै जान्थे र ठूलाबडाले मात्रै दर्शन पाएको गुनासो गर्दै फर्कन्थे। राजाको सवारीपछि महिनौँसम्म घरगाउँमा गोठाला, खेताला, बिहे बटुलो, हाटबजारमा त्यसैको चर्चा चलिरह्यो। 

एक दिन घिमिरे गाउँ (पल्लो गाउँ)का एक जना दाइले गफ दिएको सुनेँ– राजालाई सबभन्दा नजिकबाट नडराइ हेरेँ मैले।

राजालाई नजिकबाट हेर्नु, छुनु पनि सानको कुरा रैछ गाँठे! 

म जिद्दी गरेर बासँग बिहीबारे हटिया गएको थिएँ। उहाँलाई भेटेका एक जना बुढाले राजाको प्रसंग निकालेर गफिन थाले। उनी भन्दै थिए, “गार्डले घोक्य्राए पनि जबर्जस्ती छिरेर मैले घोडामा चढेका राजाको गोडा छोएँ, मेरो जीवन धन्य भयो।”

बुढा गद्गद् देखिन्थे। हाट भर्न आएका चिनेजानेकालाई राजाको गोडा छोएको आफ्नो ‘पराक्रम’ सुनाउँदै हिँडेका रहेछन्।

एक बेलुका हाम्रा घरमा काकाहरू जम्मा भए। गफको विषय राजाको सवारीकै थियो। पल्लाघर काकाले गुड्डी हाँकेर सुनाउँदै थिए, “दाइ थाहा पायौ! राजाको सवारीमा खाद्य सामग्रीको व्यवस्था कसरी गरेको रहेछ? मैले ठूलै हाकिमले भनेको सुनेँ। मुगाली थापा, सिबुवाका रिजाल, आचार्य, भिरगाउँ र हात्तीखर्कका बस्नेत र फलाँटेका कार्कीहरूलाई चामल, छाटाको दाल, घिउ, तेल, कुराउनी, खसी र आ–आफ्नो भागमा परेको सामान बन्दोबस्त गर्न उर्दी थियो रे। अनि चौबिसेका सुब्बाहरूलाई पनि उर्दी थियो रे क्या! यसरी पो सवारीको बन्दोबस्त चल्दो रैछ।”

बाले भने, “त्यत्रो लावालस्कर सेनामेनालाई कति खर्च भयो होला!”

काकाहरू र बाबीच अगेनाको डिलमा बसेर पातले बेरेको सुर्तीको धुवाँ पतपती उडाउँदै यस्ता अनेक गफ भए। मैले ननिदाउन्जेल त्यो रोचक कुराकानी सुनिरहेँ।

माघ अन्तिम हुन लागेको थियो। आमाको साथी भएर म मावल जान हिडेँ। आमाले भनिन्, “जाडोको समय छ, तल्लो बाटो जानुपर्छ।”
तल्लो बाटो भनेको अरुण नदी किनारको बाटो थियो।

मध्याह्न हुँदा हामी दियालेको आरोलो झर्‍यौँ। बाटोभरि जाने र आउने भरियाहरूको ताँती थियो। कति त गीत रन्काउँदै हिँडेका थिए। महिलाहरू पनि लोग्नेमान्छे सँगसँगै सेखासेख ढाकरमा सामान बोकेर हिँडेका थिए। आमाले भनिन्, “कोही भोजपुर, कोही चैनपुर, खाँदबारी जाने हुन्। साहुका भारी बाकेका छन्।”

हामी अरुणको गडतिर हिँड्दै बेल्टारबाट सिकर कटेरीको उकालो चढ्यौँ। छोटा दिन भएकाले घाम ढल्किसकेको थियो। झिमिक्क साँझमा डाँडागाउँ मावल पुग्यौँ।

मावलमा पनि राजाको सवारीकै चर्चा रहेछ। उबेला काठमाडौँबाट पूर्व १ नम्बर रामेछाप, ओखलढुंगा, खोटाङ, भोजपुर हुँदै लेगुवाघाटमा अरुण तरेर पाख्रिबासको बाटो धनकुटा पुगिन्थ्यो। राजाको सवारीमा सयौँ मानिस थिए। काठमाडौँबाट कति हो कति सामान लिएर गएका थिए होलान्। घोडाहरू थिए।

मामा त राजाको सवारी हेर्न लेगुवाघाट नै पुगेका रहेछन्। माझीहरूले घण्टौँ लगाएर लेगुवाघाटबाट सवारी टोलीलाई अरुण नदी तारेछन्। राजाका लागि छुट्टै डुंगा। घोडाहरू चाहिँ आफैँ पौडेर नदी तर्दा रहेछन् रे। मामा भन्दै थिए, “राजाको मज्जाले दर्शन गर्न पाइयो। शास्त्रमा राजालाई विष्णुको रूप भन्या छ। साक्षात् भगवानको दर्शन पाइयो।”

आमाले पनि धनकुटाको सवारीको चर्चा गरिन्। म त थाकेर गएको थिएँ। गफ चल्दाचल्दै भुसुक्कै भएँछु।

सवारीकै वर्ष फागुनमा मेरी दिदीको बिहे धरानको केटासँग गर्न कुरा छिनेको र लगन पनि जुराइसकेको भनेर आमाले हजुरआमालाई सुनाइन्। भाञ्जीको बिहे भनेर हजुरबा र मामाहरूले भरिया नै लगाएर हामीलाई पठाए। एक हप्तापछि हामी माथि लेकको बाटो भएर घर फर्किन हिड्यौँ।

बिहे घर भएको हुँदा धान कुट्ने, चिउरा कुट्ने, दाउरा काट्ने, बोक्ने, पात टिप्ने, गाँस्ने कामका लागि छिमेकी घरका आमा र दिदीहरू जम्मा हुन्थे। राजाको सवारीको चर्चा सेलाएको थिएन। तल्लो घरकी हजुरआमा भन्दै थिइन्, “राजाको सवारी नेपालबाट सत्र दिनमा धनकुटा आइपुगेको रे। राजालाई कत्रो दुःख! प्रजाको कस्तो माया! दरबारको सुखसयल छाडेर भिर, पाखा, नदी, जंघार तर्दै हिँडेका। कहिले दर्शन पाउनु हामीले! घरघरै आएर हामी प्रजालाई दर्शन दिए।”

मेरी हजुरआमाले भनिन्, “म मुद्दा पर्दा छोरो लिएर नेपाल गएँ नि! तर नेपालमा पनि राजा कहाँ देख्नु र! यहाँ देख्न पाइयो। हेर है, यो वर्ष बालीनाली राम्रो हुन्छ, दुःखपिर हट्छ। किनकि, स्वयं भगवानको सवारी भएको छ।”

जीवनभर दुःखैदुःखको भारीले थिचेका हाम्रा आमा र हजुरआमाहरू राजाको सवारीले सुखका दिन फिर्ने कुरा गरिरहेका थिए। बाबुहरू राजाका पाउ मात्र छुन पाए पनि पुण्य मिल्ने विश्वास राख्थे।

तर आमा र बाहरूका दुःख उस्तै रहिरहे।

(लेखक एमाले नेता तथा पूर्वसांसद हुन्।)


सम्बन्धित सामग्री