काठमाडौँ– सहकारीको रकम अपचलन गरेको भन्दै संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रक्राउ गरी अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) माथि चर्को दबाब परेको थियो। तर सीआईबीले गुरुङलाई पक्राउ नगरी बुधबार बयानका लागि मात्रै आफ्नो कार्यालय बोलायो। किन त?
गुरुङकी तत्कालीन सासू कमला गुरुङले आफू थाइल्यान्डमा हुँदा धनराजले ललितपुरस्थित मितेरी सहकारीको ५० लाख रुपैयाँ रसिद बनाएर ठगेको आरोप लगाएकी थिइन्। त्यसैको प्रमाण जुटाएर बुधबारसम्म गुरुङलाई पक्राउ गर्ने तयारीमा सीआईबी थियो। सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार गुरुङले आफ्नी सासू कमलालाई बैंकबाट ४९ लाख ९५ हजार रुपैयाँ बैंकमार्फत फिर्ता गरिसकेको प्रमाण भेटिएपछि तत्कालै पक्राउ नगर्ने योजनामा सीआईबी पुगेको छ।
यद्दपि यसबारे थप प्रमाणहरु जुटाउन आफूहरु सक्रिय हुने सीआईबीका एक अनुसन्धान अधिकृतले बताए। “कमला गुरुङले आफ्नो पैसा ठगेको भन्ने आरोप लगाएको अवस्था थियो। तर उनले (धनराज गुरुङ) कमलाको नाममा पैसा फिर्ता गरेको बैंक स्टेटमेन्टबाट देखियो,” सीआईबीका ती अनुसन्धान अधिकृतले भने, “त्यसपछि गुरुङलाई तत्कालै पक्राउ नगरिएको हो। तर, हामीले बयानका लागि भने बोलाएका छौं। यसबारे थप प्रमाण जुटाउने कोशिश पनि हामी गर्नेछौँ।”
यस्तै, गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङले घर धितोमा राखेर सहकारीबाट ऋण लिएको तर पछि तिर्न नसकेपछि सहकारीलाई नै घर सुम्पिएको प्रमाण भेटिएको छ। यसलाई समेत आधार मानेर सीआईबीले तत्कालै गुरुङलाई पक्राउ नगरी बयानका लागि मात्रै बोलाएको छ।
घर बिक्री भइसकेपछि पनि व्यवसायी एवं भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसँग थप ९१ लाख २५ हजार ६ सय ४४ रुपैयाँ ऋण लिएर सहकारीलाई भुक्तान गरेको प्रमाणसमेत फेला परेको सीआईबीका अधिकारीहरू बताउँछन्।
सीआईबीले बयान लिने क्रममा गुरुङलाई सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले उठाएका विषय, गुरुङकी पूर्वश्रीमती ज्योतीले सहकारीको रकम अपचलन गरेको भनेर लगाएको आरोप, सासू कमला गुरुङले आफ्नो सहकारीको रकम रसिद नै बनाएर ठगेको भन्ने दाबीलगायत विषयमा केन्द्रित भएर सोधपुछ गरेको थियो।
सीआईबीका प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीका अनुसार गुरुङसँग बुधबार साँझसम्म पाँच घण्टा बयान लिइएको थियो। “सीआईबीले उहाँको (गुरुङको ) लामो बयान लिएको छ। अब थप प्रमाण जुटाउनेतर्फ लाग्नेछ,” बोगटीले भने, “कहीँ कतैबाट सहकारीको रकम अपचलन गेरेको पुष्टि भएमा अनुसन्धानलाई थप अगाडि बढाउँछौँ।”
बयान दिनेक्रममा गुरुङले सहकारीको पैसा ठगेको भनी आफूमाथि लगाइएको आरोप झूटो भएको भन्दै आफूलाई जोगाउने प्रयास गरेका थिए। उल्टै सम्बन्धविच्छेदका बेला सम्झौता भएअनुसार आफ्नो भागमा परेको ८४ लाख रुपैयाँ पटकपटक गरेर तिरेको उनले दाबी गरेका छन्। यस्तै, श्रीमतीसँग भएको सम्बन्धविच्छेद बाहिर हल्ला गरिएजस्तो नभई साँचो भएको पनि उनको जिकिर छ।
उनले २०६६ सालसम्म श्रीमतीसँग सम्बन्ध राम्रो भएको तर त्यसपछि उनकै स्वभाव र शैलीका कारण सम्बन्धविच्छेद गरेको गुरुङले बयानका क्रममा भनेका छन्। “मैले सहकारीको कत्तिपनि पैसा अपचलन गरेको छैन। बरु, उल्टै सहकारीबाटै ठगिएको छु,” उनको बयान उद्धृत गर्दै सीआईबीका अर्का अनुसन्धान अधिकृतले भने, “म श्रीमतीबाट पनि पीडित छु। सहकारीको पैसा अपचलन गरेको भनेर मेरो राजनीतिक करिअर पनि ध्वस्त बनाउने प्रयास भएको छ।”
ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी बचत तथा ऋण सहकारी ठगी प्रकरणबारे बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको उजुरीमा धनराजको नामसमेत समावेश थियो। उक्त सहकारीको १४ करोड ८१ लाख रुपैयाँ हिनामिनामा संलग्न रहेको भन्दै ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापासँगै धनराजविरुद्ध सहकारीले उजुरी दिएको थियो।
यो पनि: स्वघोषित सच्चरित्रवान धनराज
तर प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले भने गुरुङको नाम हटाएर सीआईबीलाई पत्र पठाएको थियो। यसबारे संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थाका तर्फबाट ज्योती गुरुङ र धनराज गुरुङसमेतको नाममा प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय हेटौँडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकोमा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानूनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशितसमेत गरेको छ।’
स्थापनाकालदेखि मितेरी सहकारीमा काम शुरू गरेकी गुरुङले २०६५ सालदेखि संस्थाको रकम अपचलन गरेको समितिको निष्कर्ष छ। गुरुङ अहिले फरार छिन्। उनीविरूद्व प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरिसकेको छ। सीआईबीका अनुसन्धान अधिकृतका अनुसार अध्यागमन विभागबाट प्राप्त विवरण (ट्राभल हिस्ट्री)ले उनी अमेरिका गएको देखाएको छ। यसबारे धनराजले बुधबार बयानका क्रममा पनि खुलाएका छन्।
यसअघि मितेरी सहकारीका विषयमा पनि समितिमा उजुरी परेपछि गत भदौ ६ गते समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङलाई बोलाएर बयान लिएको थियो।