Monday, April 29, 2024

-->

किसानलाई प्रांगारिक मल चिनाउने क्याप्टन फार्म

वीरगन्जका ताराप्रसाद गुप्ताले तीन वर्षअघि प्रांगारिक मल उत्पादन गर्दा किसान प्रयोग गर्नै मान्दैन थिए। मल प्रवर्धन गर्न कतिपयलाई निःशुल्क उपलब्ध गराएका उनी अहिले वार्षिक ६ करोड बराबरको कारोबार गर्छन्।

किसानलाई प्रांगारिक मल चिनाउने क्याप्टन फार्म

काठमाडौँ– ताराप्रसाद गुप्ताले वीरगन्ज आसपास क्षेत्रमा बेच्ने गरी तीन वर्षअगाडि प्रांगारिक मलको उत्पादन थाले। आफूले उत्पादन गरेको मल राख्न अनुरोध गर्दै उनी वीरगन्जका बीउबिजन तथा मल बेच्ने पसलहरूमा पुगे। पसल सञ्चालकहरूले ‘यस्तो चिज कसैले लैजादैन’ भनेर राख्नै मानेनन्। किसानले पनि पत्याएनन्।

त्यसपछि उनी प्रांगारिक मल चिनाउने अभियानमा लागे। चिनजानकालाई आफूले उत्पादन गरेको मल एकपटक प्रयोग गरेर हेर्न आग्रह गरे। कतिपय किसानलाई निःशुल्क दिनेदेखि उत्पादनमा राम्रो नतिजा भए मात्र पैसा तिर्ने शर्तमा उधारो बेच्नेसम्म गरे।

उत्पादन थालेको तीन वर्षपछि आर्थिक वर्ष २०७९/८० मा गुप्ताले ६ करोड रुपैयाँ बराबरको दुई हजार टन प्रांगारिक मल बिक्री गरे। अहिले किसानहरू मल खोजी गर्दै उनको कारखानासम्म आउन थालेका छन्।

“जसले प्रयोग गरे, उनीहरूले नै चर्चा गर्न थालेपछि बजार पाउनु स्वाभाविक हो। अहिले यसको माग बढेको छ,” तारा भन्छन्, “नेपालमा जसरी रासायिनक मलको अभाव र दुष्प्रभाव छ, प्रांगारिक मलको बजार अझ बन्नुपर्ने थियो। तर त्यसो नहुँदा प्रांगारिक मल चिनाउने, यसको महत्त्वप्रति जागरुक बनाउनेतिर हाम्रो समय खर्च हुँदैछ।” 

खेतबारीलाई उब्जाउ र कृषि उपजलाई स्वस्थकर बनाउन माटोमा रासायनिक मलको प्रयोग घटाउनुपर्ने तारा बताउँछन्। प्रांगारिक मलले उत्पादन र बालीको गुणस्तर दुवैमा राम्रो गरिरहेको अनुभव गरेका किसानहरूको ‘माउथ टु माउथ पब्लिसिटी’का कारण आफूहरूको उत्पादनले बजार लिन थालेको उनको अनुभव छ। 

प्रांगारिक मल उत्पादन गर्न ताराले वीरगन्ज महानगर–२४ रामगढवामा क्याप्टन फार्म प्रालि खोलेका छन्। उनको पुस्तैनी व्यवसाय भने चामल उद्योग हो। वर्षमा ६ करोड रुपैयाँसम्मको मल कारोबार हुन थालेपछि उनी यसैलाई विस्तार गर्ने योजनामा छन्।

चामलको ब्रान्ड अब मलमा
ताराका बुबा रामअयोध्या प्रसादले बाराको विश्रामपुरमा दमकलको इन्जिनबाट चल्ने धान कुट्ने मिल खोलेका थिए। कहिले? डिजेलबाट चल्ने मिलको इन्जिनको चिम्नीमा शिशाको बोतल राखिएको कारण पुकपुक–पुकपुक आवाज आउँथ्यो। मिल चल्न थालेपछि आवाज सुनेर गाउँका मानिस साइकल र बयलगाडामा धानका बोरा राखेर आउँथे। कतिपय किसान टाउकामा बोरा बोकेर आएको पनि तारालाई सम्झना छ। चामल मिलले नाफा दिन थालेपछि चिउरा मिल पनि थपिएको थियो।

धानबाट चामल बनाउने उद्योगलाई विस्तार गर्दै उनको परिवारले २०४७ सालमा वीरगन्जको अलौमा ओम खाद्य उद्योग खोल्यो। रामअयोध्या प्रसादका ६ छोराहरूले अर्को न्यू ओम खाद्य उद्योग पनि खोले। उनीहरूले उत्पादन गर्नेमध्ये ‘रूख’ ब्रान्डको चामल बढी लोकप्रिय भयो। दाजुभाइमा कान्छो तारा चामल उद्योगमा जमेका थिए। 

त्यसपछि अवस्था फेरियो। सीमापारी विहारमा कम लागतमा उत्पादन भएको चामल आयात हुन थालेपछि स्वदेशी उद्योग संकटमा पर्न थाले। त्यसयता धेरै चामल उद्योगीहरू डुबेको वा व्यवसाय परिवर्तन गरेको नेपाल चामल, तेल, दाल उद्योग संघका पूर्वअध्यक्ष सुबोध गुप्ता बताउँछन्। 

उनका अनुसार विहारमा कृषिमा आधारित उद्योग खोल्न सरकारले अनुदान त दिन्छ नै, सस्तो व्याजमा ऋण, मेशिन खरिदमा सहुलियत र विद्युत महसुलमा छुट पनि हुन्छ। करिब एक दशकअघि विहारमा भारी उत्पादन क्षमताका चामल उद्योगहरू थपिए। यता नेपाल सरकारले तयारी चामल र त्यसको कच्चा पदार्थ धानको आयातमा भन्सार महसुल एउटै गरिदियो। जसकारण भारतीय धान ल्याएर चामल बनाउनुभन्दा सिधै चामल ल्याउन सस्तो भयो।

नेपालका चामल उद्योग मुस्किलले संचालनमा रहेको बेला ताराले भने पुस्तैनी उद्यमको विकल्प खोज्न थालेका थिए। उनीसँग रामगढवास्थित सिर्सिया खोलापारिको नयाँ बस्तीमा एक बिघा जग्गा थियो। त्यससँगै जोडिएको थप साढे दुई बिघा भाडामा लिएर साढे तीन बिघा जग्गामा २०७२ सालमा क्याप्टन फार्म स्थापना गरे। त्यहाँ १०० वटा गाईभैँसी राखेर दुध उत्पादन शुरू गरे। 

दुध बजारमा गए पनि गोबर थुप्रिन थाल्यो। गोबरको व्यावसायिक उपयोगिता खोज्ने क्रममा उनले प्रांगारिक मल बनाउन सकिने मेसो पाए। “२०७३ सालको कुरा हो, विहारमा गोबरबाट प्रांगारिक मल बनाउने गरिएको थाहा पाएपछि मैले पनि अध्ययन थालेँ। दर्जनौँ ठाउँ पुगेँ। एकपटकमा हजार किलोमिटरसम्मको यात्रा गरेँ। कहीँ पनि चित्तबुझ्दो स्वरूपमा प्रांगारिक मल उत्पादन गरिएको भेटिनँ,” उनी भन्छन्।

ताराप्रसाद गुप्ता।


गुप्ताले त्यही बेला बाराको चकियामा अवकाश प्राप्त माटो वैज्ञानिक अजय देवले सञ्चालन गरेको फार्म फेला पारे। त्यहाँ उत्पादन भइरहेको प्रांगारिक मलको प्रविधिबारे जानकारी लिए। त्यो विधि मन पराएपछि थप अध्ययन गरे।

आर्थिक वर्ष २०७३/७४ देखि ताराले क्याप्टेन फार्ममा वैज्ञानिक मापदण्ड अपनाएर प्रांगारिक मल उत्पादन शुरू गरे। आफ्नै चामल उद्योगको नाम चलेको ब्रान्ड ‘रुख’लाई नै मलको नाम दिए। तीन जना कामदार राखेर शुरू भएको कारखानामा अहिले १५ जनाले नियमित रोजगारी पाएका छन्। थप केहीले आंशिक रोजगारी पाएका छन्। करिब २५ करोड लगानी भएको फार्ममा उनले छोरा राहुललाई पनि सामेल गराएका छन्। 

यो फार्मले उत्पादन गर्ने मल प्रत्येक २५ किलो बोराको ७५० रुपैयाँमा खुद्रा बिक्री हुन्छ। पछिल्लो एक वर्षमा ८० हजार बोरा मल बिक्री भएको तारा बताउँछन्। उनी भन्छन्, “खासमा हाम्रो पुस्तैनी व्यवसाय कृषिसँग जोडिएको कारण कृषिसँगै जोडिएको क्षेत्रमा नयाँ केही गर्न सकिने र मल अभाव घटाउन थोरै मात्र सहयोगी हुन सकिन्छ कि भन्ने हुटहुटी पनि थियो।”

अवकाशप्राप्त वरिष्ठ माटोविज्ञ राममिलन यादव र उर्वरकविज्ञ डा. आरसी साहको परामर्शमा धानबालीको लागि विशेष प्रांगारिक मल बनाइरहेको तारा बताउँछन्। उक्त मलको प्रयोगले धानबालीमा लाग्ने ‘ब्लाष्ट’ रोग न्यून हुने उनको दाबी छ। 

प्रांगारिक मलमा प्राृकतिक रूपमा विकसित नाइट्रोजन, फोस्फरस, आइरन, पोटासलगायत उर्वरक तत्व राखिन्छ। यसले माटोको अम्लीयपन सुधार र उत्पादकत्व वृद्धि गराउँछ। 

वीरगन्जको घण्टाघरस्थित कृषक बिज भण्डारका विनय कुमारका अनुसार उनी दैनिक दुईदेखि तीन बोरा ‘रूख’ छाप प्रांगारिक मल बेच्छन्। त्यसैगरी, जय किसान एग्रो सप्लायर्सका राहुल पटेल करेसाबारी र विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानका फूल बगैँचालगायतमा हाल्न यो मल किन्ने गरिएको बताउँछन्। सिजनमा यो मलको माग अधिक हुने उनको भनाइ छ।

अनुदान होइन प्रचार जरुरी
संघीय र प्रदेश सरकार प्रांगारिक मल उत्पादनमा अनुदान दिन तयार रहेको तारा बताउँछन्। मधेश प्रदेशका तत्कालीन कृषि सचिव डा. गोविन्द शर्माको टोलीले आर्थिक वर्ष २०७७/७८ मा क्याप्टन फर्म अवलोकन गरेको थियो। त्यसपछि पूर्वाधार निर्माणको लागि आफूले २५ लाख रुपैयाँ अनुदान पाएको उनको भनाइ छ। अब भने सरकारी अनुदान नलिने उनले बताए।

“केन्द्रदेखि प्रदेशसम्म सरकारका निकायसँग मैले पटकपटक आग्रह गरेको छु, अनुदान दिनुको सट्टा प्रांगारिक मलको महत्त्व किसानलाई बुझाइदिने कार्यक्रम ल्याउनुपर्छ। यसलाई प्रयोग नगरेका किसानहरूलाई के थाहा छैन भने, यसले युरिया र डीएपी दुईटैको काम गर्छ। माटो बिगार्दैन। यसअघि किसानको हातमा सही प्रांगारिक मल पुगेन,” तारा भन्छन्।


आफूहरूले अहिलेकै संरचनामा पूर्ण क्षमतामा उत्पादन गर्न सके प्रतिवर्ष १५ करोड रुपैयाँ बराबरको पाँच हजार टनसम्म मल उत्पादन गर्न सक्ने उनको भनाइ छ। यो उत्पादनले मुलुकभरि वार्षिक पाँच लाख टन मल मागको एक प्रतिशत मात्र धान्छ। “जरुरी विषय भनेको विदेशबाट आयात गर्नु पर्ने रासायनिक मलमाथिको निर्भरता हटाउनु हो। सरकारले सशर्त अनुदानसहित ल्याउने कृषिका कार्यक्रमहरूमा प्रांगारिक मलको उपयोग अनिवार्य गर्न सक्नुपर्छ,” उनले भने। 

आफ्नो फार्म पूर्ण क्षमतामा सञ्चालन गर्न सके करिब ४५ जनाले रोजगारी पाउने तारा बताउँछन्। उनी बारा र पर्साका स्थानीय तहसँग मिलेर काम गरिरहेका छन्। पहिला त्यहाँका जनप्रतिनिधिलाई भेटेर प्रांगारिक मलको महत्त्व बुझाए। त्यसपछि, कतिपय स्थानीय सरकारले मल किनेर किसानलाई अनुदानमा वितरणसमेत गरिरहेका छन्। अहिले पर्सा, बारा, रौतहट, मकवानपुर, सप्तरी, कास्की र धनगढीसम्म क्याप्टन फार्मको प्रांगारिक मल पुगिसकेको छ। चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ बराबरको प्रांगारिक मल उत्पादन गर्ने उनको लक्ष्य छ।

प्रांगारिक मल उत्पादन पर्यावरण मैत्री भएकोले यसको प्रवर्धन आवश्यक रहेको तारा बताउँछन्। किसानले थुपारेर राख्ने गाईभैँसीको गोबर उनले पैसा तिरेर किनिदिने गरेका छन्। क्याप्टन फार्म प्रांगारिक मलको उत्पादनतिर केन्द्रित भएपछि उनले भने गाइभैँसी पाल्न छाडेका छन्।

गाउँघरको जलासयलाई ढाकेर कुरूप बनाउने जलकुम्भी पनि यहाँ कच्चा पदार्थको रूपमा प्रयोग हुने भएपछि तीनको सफाइमा फार्मले सघाउने गरेको छ। वन क्षेत्रमा उम्रिने वनमारा झारलगायत वनस्पति कुहाएर त्यसमा गँड्यौला राखिन्छ। त्यसको ४५ देखि ६० दिनमा मल तयार हुन्छ। 

नेपालमा यस्तो मलको व्यापक सम्भावना भएको र ठूलो परिमाणमा उत्पादन हुन सके रासायनिक मलको प्रयोग घटाउन सकिने तारा बताउँछन्। मध्यपूर्वका मुलुकहरूको हाउजिङ र अर्गानिक खेतीमा जोड दिइएका अन्य मुलुकमा प्रांगारिक मलको माग रहेको आफ्नो प्रारम्भिक अध्ययनले देखाएको उनले बताए।

एकपटक मल उत्पादन गर्न डेढदेखि दुई महिना लाग्छ। उत्पादन श्रृंखला बनाउन र किसानले चाहेको बेला मल दिन निश्चित समय अन्तरालमा कम्पोष्ट हुनका लागि मिश्रणहरू बनाउँदै भण्डरण गर्नुपर्ने तारा बताउँछन्। यसले गर्दा फार्ममा पनि नियमित काम भइरहने उनले बताए।


सम्बन्धित सामग्री