Sunday, April 28, 2024

-->

अडानी ग्रुप–भाजपा सरकारको ‘क्यास फर क्वेरी’ पासामा महुआ मोइत्रा

भाजपाको बहुमत रहेको सदनले उचित प्रमाण जुटाउँदै मतदानको प्रस्ताव ल्याउला? दुबे र देहाद्राई नैतिक समितिसमक्ष के कस्ता 'खुलासा' गर्न समर्थ हुन्छन्?

अडानी ग्रुप–भाजपा सरकारको ‘क्यास फर क्वेरी’ पासामा महुआ मोइत्रा

एकात्मक सत्ताशक्तिको रापताप रहेको भारतीय राज्यसभा र लोकसभामा प्रतिपक्षी दलहरूको प्रस्तुति प्रायः एकदमै फितलो हुने गर्छ। भारतीय जनता पार्टीका 'बडबोला' सांसदहरूको दबदबा रहेको लोकसभामा प्रस्ट र तर्कसंगत रूपमा सत्तापक्षलाई 'ठाउँ देखाउन' सक्षम औँलामा गन्न सकिनेमध्ये एक बहालवाला विपक्षी सांसद हुन्, महुआ मोइत्रा।

सन् २०१९ जुनमा अल इन्डिया तृणमूल कंग्रेसबाट भारतीय लोकसभा सांसद चुनिएकी मोइत्रा 'फासीवादका सात प्रारम्भिक लक्षणबारे आफ्नो 'डेब्यु' भाषणका साथै चर्चामा आएकी थिइन्। उक्त भाषणमा नरेन्द्र मोदीको भाजपा सरकारमा यी लक्षण देखिएको र हरेक सांसदले बचाउने प्रण गरेको संविधान नै खतरामा परेको भन्दै उनी आक्रामक रूपमा प्रस्तुत भएकी थिइन्। मे महिनामा मणिपुर राज्यमा भड्किएको हिंसाबारे पनि सत्तारुढ दलको चुप्पीबिच उनै मोइत्राले सशक्त आवाज उठाएकी थिइन्।

राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)का सांसदले सरकारको बचाउमा अनेक फजुल शब्द खर्चिरहँदा मोइत्रा उत्पीडित, शोषित र सिमान्तकृत समूहको पक्षमा आवाज उठाइरहेकी हुन्छिन्। 

गत जनवरी २४ मा हिन्डनबर्ग रिसर्चको एक अनुसन्धानले अडानी ग्रुपमाथि आफ्नो शेयरको मूल्य कृत्रिम रूपमा बढाउन 'अफशोर फन्ड'मार्फत भित्री लेनदेन गरेको आरोप लगाएको थियो। त्यसलगत्तै मोइत्राले कुनैबेला भारतकै सबभन्दा धनी व्यक्ति गौतम अडानीमाथि हिन्डनबर्गले लगाएको आरोपबारे छानबिनको माग गरेकी थिइन्। प्रधानमन्त्री मोदीमाथि केही विशिष्ट व्यापारिक समूहलाई जोगाएको आरोप लगाएकी थिइन्।

अहिले तिनै 'फायरब्रान्ड' विपक्षी नेतृमाथि अडानी ग्रुप र मोदी सरकारले 'हिसाब फिर्ता' गर्ने मनशायले निशाना साँधेको छ।

मोइत्रामाथि भइरहेको यो 'जवाफी हमला'को सिलसिला शुरू हुन्छ, मध्य अक्टोबरबाट। मोदी, मोइत्रा, अडानीका साथै यस विषयमा जोडिएका पात्रहरू हुन्, भाजपा सांसद निशिकान्त दुबे, भारतीय सर्वोच्च अदालतका अधिवक्ता जय अनन्त देहद्राइ र व्यापारी दर्शन हीरानन्दानी। अक्टोबर १४ मा जय देहाद्राइले महुआले संसद्‌मा अडानी ग्रुप उपर प्रश्न उठाउनका निम्ति दर्शन हीरानन्दानीबाट 'क्वीड प्रोको फेभर'  लिएको 'रिसर्च' आफ्ना केही नजिकका व्यक्तिमाझ सार्वजनिक गरे। तर यस आरोपको पुष्टि हुनेगरी कुनै प्रमाण दिइएको थिएन।

त्यसको भोलिपल्टै भाजपा सांसद निशिकान्त दुबेले भारतीय तल्लो सदनमा उक्त 'गहन खोज'का आधारमा मोइत्राविरुद्ध सीबीआई मुद्दा र संसदीय नैतिक समितिद्वारा जाँचको माग गरे। लोकसभाका अध्यक्ष ओम बिरलासमक्ष उनलाई बर्खास्त गर्नुपर्ने प्रस्ताव गरे। मोइत्रा र दुबे यसअघि धेरैपटक विभिन्न मुद्दामा छलफल गर्ने क्रममा संसद्‌मा आमने-सामने भएका छन्। केही महिनाअघि दुबेले संसदीय दस्ताबेजमा फर्जी शैक्षिक योग्यता उल्लेख गरेको र त्यसकारण उनलाई पदमुक्त गरिनुपर्ने दलिल महुआले दिएकी थिइन्। 

आफूविरुद्ध 'हात धोएर' पछि लागेकी सांसदलाई उत्तर दिन उपयुक्त मौका कुरिरहेको अडानी ग्रुपले अक्टोबर १६ मा सूदसमेत हिसाब चुक्ता गर्‍यो। उक्त समूहले देहद्राई र दुबेले मोइत्राविरुद्ध लगाएको आरोपलाई फाइनान्सियल टाइम्स र  अर्गनाइज्ड क्राइम एन्ड करप्सन रिपोर्टिङ प्रोजेक्ट (ओसीसीआरपी) समूहको आलोचनात्मक कभरेजसँग जोड्दै मिडियामा बयान जारी गर्‍यो। सो बयानका माध्यमबाट अडानी विरोधी तत्वहरूको षडयन्त्रको सिकार भएको भाष्य तयार गर्न खोजिएको थियो। तर मोइत्रा डगमगाइनन्। सोही दिन 'क्यास फर क्वेरी' (प्रश्नका लागि नगद) आरोपको सामना गरिरहेकी तृणमूल सांसदले देहाद्राइ, दुबे र १७ वटा विभिन्न मिडिया प्लाट्फर्मलाई मानहानीको आरोप लगाउँदै कानूनी नोटिस पठाइन्।

स्मरण रहोस्, हिन्डनबर्ग रिपोर्ट प्रकाशित भएदेखि अडानी ग्रुप आफ्नो व्यापारिक मामिलामाथि भइरहेका अनेक अन्तर्राष्ट्रिय जाँचका कारण हैरानी बेहोर्न बाध्य छ। यो अध्यायपछि उसको स्टक मूल्यमा भारी गिरावट आएको थियो। हालसालै फाइनान्सियल टाइम्समा ओसीसीआरपीले हात पारेको अडानीको आन्तरिक दस्ताबेजमा आधारित रहेर उक्त समूहलाई हानी पुग्ने थप लेख प्रकाशन भएको थियो।

यही समयमा पर्दा अगाडिका खेलाडीद्वय दुबे-देहद्राईसँग जोडिन आइपुगे तेस्रा पात्र, दर्शन हीरानन्दानी। उनी यूएईलाई आधार बनाएर व्यवसाय गरिरहेका धनाढ्य हुन्। उनले अक्टोबर १९ मा एक 'एफडेभिट' (हलफनामा) जारी गर्दै आफूले मोइत्रालाई संसद्‌मा अडानीविरुद्ध प्रश्न राख्न 'उपहार' दिएको आरोप लगाए। साथै, उक्त कार्यका लागि आरोपित सांसदले लोकसभा वेबसाइटको पासवर्ड आफूसँग साझा गरेको कागजातमा लेखिएको छ। हीरानन्दानीले सही गरेको उक्त पत्रले अडानीलाई अरू स्वार्थ-समूहहरू ईर्ष्या को सिकार भएका पात्रको रूपमा चित्रण गरेको छ भने मोइत्रा फाइनान्सियल टाइम्स र राहुल गान्धी, शशी थरूरलगायत अरू अडानी-मोदी विरोधी 'तत्व'को सम्पर्कमा रहेको भनेको छ। 'निती सुशासन र व्यक्तिगत रूपले अब्बल प्रधानमन्त्री मोदीमाथि हमला गर्ने अरू कुनै उपाय नदेखेपछि अडानीसँग नाम जोडेर उनीमाथि प्रहार गर्न खोजियो,' उक्त दस्ताबेजमा लेखिएको छ। 

त्यसै दिन बेलुका एक विज्ञप्तिका माध्यमबाट मोइत्राले प्रधानमन्त्री मोदीको कार्यालयले हीरानन्दानीको हलफनामाको मस्यौदा तयार पारेको र भारतमा उनको व्यापारलाई नोक्सान पुर्‍याउने धम्की दिएर हस्ताक्षर गर्न बाध्य पारेको प्रतिआरोप लगाएकी थिइन्। “यस्तो हतारमा नोटराइज नगरी बनाइएको पत्रमा कसैले कन्चटमा बन्दुक तेर्स्याएर मात्र सही गराउन सक्छ। मेरा प्रिय मित्र दर्शन हीरानन्दानीलाई यो 'जोक' भन्न बाध्य पारिएको हो,” मोइत्राले आफ्नो नोटमा लेखेकी छन्। 

दर्शन हीरानन्दानी उक्तहलफनामा सही गरेकै दिन यूएई फर्किएका थिए। यद्यपि, मोइत्रा आफूले हीरानन्दानीसँग 'उपहार' लिएको वा नलिएको भन्ने आरोपलाई स्वीकार वा अस्वीकार गरेकी छैनन्। जसले गर्दा उनीमाथि सर्वसाधारणले प्रश्न तेर्स्याइरहेका छन्। त्यसैगरी, उनले प्रतिनिधित्व गर्ने अल इन्डिया तृणमूल कंग्रेसले मोइत्रासँग यस 'क्विड प्रो क्वो' आरोपबारे स्पष्टीकरणको माग गरेको छ। उक्त दलले सार्वजनिक रूपमा यस विषयमाथि प्रतिक्रिया भने जनाएको छैन।

मोइत्रा, देहद्राइ र हेनरी
देहद्राइले लगाएको भ्रष्टाचार आरोपलाई मोइत्राले 'जिल्टेड एक्स' अर्थात सम्बन्ध सकिएपछि रिसाएको पूर्वप्रेमीको झूट भनेर सफाइ दिएकी थिइन्। सोही वक्तव्यपछि यी दुईबिच कुनै बेला रहेको नजिकको सम्बन्धबारे जानकारी सतहमा आएको हो। तिनबर्षको सम्बन्धपछि यही वर्षको पूर्वार्द्धतिर उनीहरूको सम्बन्ध टुंगिएको थियो। तर लडाइँ त्यसपश्चात् पनि चलिरह्यो, हेनरीका कारण। हेनरी, उनीहरू दुवैले पालेको रटवाइलर नस्लको कुकुर।

मोइत्राले देहद्राईको आरोपविरुद्ध लगाएको मानहानी मुद्दाको बेहोरा अनुसार उनले मार्च र सेप्टेम्बरमा दुई पटक उनका पूर्व साझेदारमाथि चोरी र अतिक्रमणको जाहेरी दिएकी थिइन्। यसको कारण थियो दुवैको हेनरीप्रतिको लगाव। मोइत्राले कुकुर उनले बेलाबेला जयको रोहबरमा छाड्थिन्। तर हाल आएर जसले हेनरी फिर्ता गर्न आनाकानी गरेका थिए जसका कारण तनाव बढेको थियो। 

यहाँ चाखलाग्दो कुरा के छ भने उदारवादी, प्रगतिशील नेतृ मानिने मोइत्राका पूर्वप्रेमी सर्वोच्च अदालतका वकिल जय देहाद्राई कट्टर मोदी र योगी आदित्यनाथका समर्थक र राहुल गान्धी एवं शशी थरुरका कठोर विरोधी हुन्। 

मोइत्राको विश्वसनियतामाथि आँच पुर्‍याउने उद्देश्यले अहिले उनले व्यक्तिगत पल, सामूहिक समारोहलगायत विभिन्न समयमा लिइएका तस्वीरहरूको चलाखीपूर्ण सम्पादन गरेर सार्वजनिक गरिरहेका छन्।

मोइत्रामाथि होला कारबाही?
अक्टोबर २० मा भारतीय संसद्को नैतिक समितिका प्रमुखले हिरानन्दानीको शपथपत्र प्राप्त गरेको र त्यसको नोट लिएको बताएका थिए। भाजपाका विनोदकुमार सोनकरको अध्यक्षतामा रहेको समितिले देहद्राई र दुबेलाई अक्टोबर २६ मा सुनुवाइका लागि बोलाएको छ। तर उक्त समितिले दुबेले चाहे जस्तो कुनै सांसदलाई निष्कासन गर्ने सामर्थ्य राख्दैन। दोषी पाएको आधारमा निलम्बन भने गर्नसक्छ। 

मोइत्रालाई सत्तापक्षले निष्कासन गर्न चाहेर मात्र पुग्दैन। सदनले उचित प्रस्तावमा मतदानका माध्यमबाट उनलाई हटाउनुपर्ने हुन्छ ‌। 

भाजपाको बहुमत रहेको सदनले उचित प्रमाण जुटाउँदै मतदानको प्रस्ताव ल्याउला? दुबे र देहाद्राईले नैतिक समितिसमक्ष के कस्ता 'खुलासा' गर्न समर्थ हुन्छन्? दर्शन हीरानन्दानीले समितिले मागेको खण्डमा आवश्यक प्रमाण जुटाउन सक्छन्? 

यस प्रकरणबाट सफाइ पाएर मोइत्रा फेरी लोकसभामा प्रश्नको फाइल लिएर फर्किन्छिन् कि उनीमाथि संसद्ले कारबाही गर्छ? स्‍मृति ईरानीको ग्लोबल हंगर इन्डेक्सबारे को बुझाई जतिकै पेचिलो बनेको यो रहस्य माथिका तीन प्रश्नको गर्भमा लुकेका छन्, जसको उत्तर आउने दिनमा क्रमशः भेटिँदै जानेछन्।


सम्बन्धित सामग्री