Sunday, April 28, 2024

-->

दशैँमा बिदेसिन बाध्य नेपालीको लस्करमा भेटिने पारिवारिक वियोग र बेखुशी

विमानस्थलको आगमन र प्रस्थान कक्षमा भिडभाडको दृश्य उस्तै भए पनि उभिनेहरूको अनुहारमा विपरीत भाव देखिन्थ्यो। कोही घर फर्किंदाको खुशीले मुस्कुराइरहेका थिए, कोही आँशु लिएर बिदाइको हात हल्लाइरहेका थिए।

दशैँमा बिदेसिन बाध्य नेपालीको लस्करमा भेटिने पारिवारिक वियोग र बेखुशी

काठमाडौँ– नेपालीको मुख्य सांस्कृतिक पर्व दशैँ आएसँगै विदेशमा बसेका या घरबाट टाढा स्वदेशमै रहेकाहरू परिवारसँगै चाड मनाउन आ-आफ्नो घर जाने गर्छन्। विदेशबाट फर्किएका र रोजगारीको लागि शहरमा बसेका नेपालीहरू गाउँ जाने क्रम बढिरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने वैदेशिक रोजगारीको लागि बिदेसिने नागरिकको भिड देखिन्छ।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्ष दुवै ठाउँमा भिडभाडको दृश्य उस्तै थियो। त्यो भिड शनिबारसम्म पनि लगभग उस्तै छ। तर भिडमा उभिनेहरूको अनुहारमा भने ठीक विपरीत भाव झल्किइरहेको देखिन्थ्यो। कोही घर फर्किन पाउँदाको स्वागतमा खुशीले मुस्कुराइरहेका थिए भने कोही आँखामा टिलपिल आँशु लिएर झोला बोक्दै बिदाइको हात हल्लाइरहेका थिए।

कोही विदेशबाट आउँदै गरेका आफन्तजनलाई स्वागत गर्न फूलका गुच्छा र माला लिएर बाटो हेर्दै प्रतीक्षारत  थिए भने कोही खादा बोकेर बिदाइ भेटको पर्खाइमा देखिन्थे।

त्यही भिडको बीचमा भेटिएका सुरज विश्वकर्मा कोरियाबाट नेपाल फर्केको तीन महिना मात्र भएको थियो। दशैँको बेला नै कम्पनीले कोरिया फर्किन भन्छ होला भन्ने उनले सोचेका पनि थिएनन्। अप्रेसनका लागि नेपाल आएका उनी दशैँतिहार मनाएर मात्र जाने सोचमा थिए। तर सोचेजस्तो भएन। "कम्पनीले आज नै बोलायो। टिकट सारेर बस्छु भन्ने सोचेको थिएँ, तर पछि महँगो पर्छ। त्यही भएर दशैँको मुखमै नेपाल छोड्नु पर्‍यो," आँखा रसिला बनाउँदै उनले भने। 

सुरजको नजिकै फोनमा कुरा गरिरहेका थिए स्याङजाका सुदीप ढकाल। उनी पनि चाडपर्व नजिकिँदै गर्दा बिदेसिनु रहर नभई बाध्यता भएको फोन संवादमा बताइरहेका थिए। दशैँको टीका आउन केही दिन मात्र बाँकी हुँदा बिदेसिनु परेकोमा मन भने खिन्न भइरहेको उनले बताए।

उनलाई परिवारसँग बसेर टीका लगाउने मन थियो। तर दुबईमा सुरक्षा गार्डको लागि भिसा आएपछि दशैँको मुखमै घरपरिवार छाड्नु परेको विवशता सुदीपले दर्शाए। “धेरै वर्षपछि सँगै दशैँ मनाउन पाइने भयो भनेर बुवाआमा कत्ति खुशी हुनुभएको थियो। तर  यो वर्ष पनि मौका जुरेन," उनी भन्छन्, “हामी नेपालीको भाग्य नै यस्तो छ। देशमा रोजगारी नपाएपछि आफ्नो भविष्य बनाउन र परिवार पाल्न विदेश नगइ सुखै छैन।”

मान्यजनहरूबाट निधारभरि दशैँको टीका थापेर आशीर्वाद लिने साइत आउनै लाग्दा विदेश जान बिदाइको टीका थापेका नेपाली देखेर नरमाइलो लागेको अन्तर्राष्टिय विमानस्थालमा भटिएकी सिन्धुपाल्चोकी शुभद्रा चौलागाईं बताउँछिन्।

"छुट्टीमा आएकी थिएँ। दशैँतिहार मनाएर जाने सोच थियो। तर तुरुन्त आउनुपर्‍यो भनेर कम्पनीले उतैबाट टिकट काटेर पठाइदिएछ। घरपरिवारमा सबैले दशैँ मनाएर मात्र जान आग्रह गर्दा पनि बाध्यताको अगाडि मेरो केही लागेन। आखिर चाडबाडकै बेला घरै अँध्यारो बनाएर विदा हुनु पर्‍यो," उनले खिन्न अनुहारमा भनिन्।

दशैँ आउन केही दिन बाँकी हुँदा यसरी परिवार छोडेर विदेश जान अरू कसैलाई पनि नपरोस् भन्दै रोइरहेकी आमालाई सम्झाउँदै प्रस्थान कक्ष अगाडिको लामो लाइनमा उभिएकी थिइन् उनी।

सोही लहरमा भेटिइन् चितवनकी सम्झना खनाल। उनले १० कक्षासम्म मात्र पढेकी छन्। घरको आर्थिक अवस्था बलियो नहुँदा उनी पनि विदेश उड्न बाध्य भइन्। "देश र परिवार छोड्ने रहर त कहाँ थियो र! तर  घरको अवस्था देखर जान्नँ भन्न पनि सकिनँ," उनी भन्छिन्।

देशमा रोजगारी पाउन महामुस्किल छ। कुनै व्यापार-व्यवसाय गर्न आर्थिक अवस्था राम्रो छैन। त्यस्तै बाध्यतामा छन् सुर्खेतका महेन्द्र कार्की। सानो छोरा र श्रीमतीलाई चाडपर्वका बेला छाडेर जानुपर्दा उनको आँखामा आँशु भने रोकिएको थिएन। प्रियजन सहितका परिवारसँगको विछोडको पीडा त छँदै थियो, घरको आर्थिक अवस्थाले पनि उस्तै पिरोलिइरहेका थिए उनी।

“छोराको पढाइ र घरको अवस्था सुधार्नको लागि विदेश जाँदै छु,” उनले भने, “दशैँ त अर्को वर्ष मनाउँला, तर भिसा पाएको मौकामा आज म विदेश गइनँ भने श्रीमती र छोराको भविष्य के होला भनेर डर लाग्छ।"


सम्बन्धित सामग्री