Saturday, May 11, 2024

-->

वन्यजन्तु पर्यटनका ६ दशकः विदेशीमाथिको निर्भरता बदलिँदै, आन्तरिक पर्यटकको दबदबा

नेपालको वन्यजन्तु पर्यटनलाई विश्वव्यापी बनाउने काम झन्डै ६ दशकअघि बेलायती नागरिक जिम एडवार्डले गरेका थिए। त्यसबेला विदेशी पाहुनामाथि निर्भर पर्यटन व्यवसायको स्वरूप अहिले उल्टिएको छ।

वन्यजन्तु पर्यटनका ६ दशकः विदेशीमाथिको निर्भरता बदलिँदै आन्तरिक पर्यटकको दबदबा  
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा हात्ती सफारी गर्दै स्वदेशी पर्यटक। पहिले विदेशी पर्यटकमा निर्भर चितवनको वन्यजन्तु पर्यटनको अधिकांश हिस्सा अहिले आन्तरिक पर्यटनले ओगटेको छ। तस्वीर: रासस

काठमाडौँ– हरेक सरकारमा नयाँ वनमन्त्री नियुक्त हुँदा चर्चाको केन्द्रमा रहने विषय हो, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र बन्द अवस्थामा रहेका सातवटा होटल सञ्चालन। २०६९ सालयता बनेका सबैजसो सरकारका वनमन्त्रीले निकुञ्जभित्र रहेका होटल सञ्चालन गर्न स्वीकृत दिने प्रतिबद्धता जनाए। यद्यपि आफैमा विवादास्पद बनेको बन्द होटल सञ्चालनमा भने कसैले अग्रसरता लिन सकेका छैनन्।

पछिल्लो पटक वन तथा वातावरणमन्त्री बनेका वीरेन्द्रप्रसाद महतोले त निकुञ्जभित्र होटल मात्र होइन, पैसा कमाउन सकिने खालका व्यवसाय गर्नुपर्ने पक्षमा लबिइङ गर्दै आएका छन्। विश्व बाघ दिवसको अवसरमा गत साउन १३ गते आयोजना गरिएको कार्यक्रममा उनले भएको स्रोतलाई उपयोगमा ल्याउन नसक्दा वन क्षेत्रबाट फाइदा लिन नसकिएको बताएका थिए। “राष्ट्रलाई समृद्ध बनाउने सबैभन्दा ठूलो स्रोत नै वन हो, तर हामीले देशलाई फाइदा हुनेगरी व्यवस्थापन गर्न सकेका छैनौँ। हामीसँग सम्भावना छ। त्यसको सदुपयोग गरेर राष्ट्र समृद्ध बनाउनुपर्छ,” मन्त्री महतोको भनाइ थियो। 

त्यसैगरी यसअघिका वनमन्त्री प्रदीप यादव, शक्ति बस्नेत, शंकर भण्डारी लगायतले निकुञ्जभित्र बन्द अवस्थामा रहेका होटललाई कार्यविधि बनाएर सञ्चालन गर्न दिने प्रयास गरेका थिए। तर संरक्षणकर्मीहरूबट चौतर्फी विरोध भएपछि होटल सञ्चालन गर्न दिने प्रयास अहिलेसम्म रोकिएको छ। 

सरकारले निकुञ्जभित्र पर्यापर्यटनसम्बन्धी गतिविधि सञ्चालन गर्ने उद्देश्यले पर्यटकीय सेवासम्बन्धी कार्यविधि २०७८ ल्याए पनि अहिलेसम्म उक्त कार्यविधि स्वीकृत हुन सकेको छैन। चितवन राष्ट्रिय निकुञ्जभित्र बन्द अवस्थामा रहेको टेम्पल टाइगर रिसोर्टका सञ्चालक वसन्त मिश्र निकुञ्जभित्रका होटल सञ्चालन गर्न दिन राजनीतिक नेतृत्व सकारात्मक देखिए पनि कर्मचारी प्रशासनले अड्काइराखेको बताउँछन्।  

५० वर्षअघि चितवन राष्ट्रिय निकुञ्ज स्थापनाकालमा टाइगर टप्स होटल क्षेत्रमा हात्ती चढेर गैँडा हेर्दै विदेशी पर्यटक। तस्वीर सौजन्य: टाइगर टप्सको वेबसाइट

२०६९ साल असारसम्म म्याद सकिनुअघि निकुञ्जमा सञ्चालन गरिएका टाइगर टप्स, मचान वाइल्ड लाइफ रिसोर्ट, नारायणी सफारी, गैँडा वाइल्डलाइफ क्याम्प, चितवन जंगल लज, आइल्यान्ड जंगल रिसोर्ट र टेम्पल टाइगर रिसोर्ट गरी सात होटल सञ्चालनमा थिए । तर सरकारले म्याद नथपेपछि अहिले ती सबै होटल बन्द छन्। 

नेपालमा संरक्षण पर्यटन 
२०३० सालमा चितवन राष्ट्रिय निकुञ्ज बन्नुअघि त्यहाँको वन क्षेत्र सिकारका लागि खुला थियो। प्रजातन्त्र स्थापना हुनुअघि राणाहरू जाडो मौसममा चितवनमा गैँडा, हात्ती र बाघको सिकार खेल्न जान्थे। राणा शासन अन्त्यपछि पनि राजा–महाराजा र राजपरिवारका सदस्यहरूले यो क्रमलाई निकुञ्ज स्थापना अघिसम्म निरन्तरता दिए। दरबारिया र उनीहरूका विदेशी पाहुनलाई चितवनमा सिकारका लागि लगिने गरेको चितवन निकुञ्ज स्थापनाकालदेखि काम गरेका र निकुञ्जको प्रमुख संरक्षण अधिकृतसमेत भइसकेका संरक्षणविद् रामप्रित यादव बताउँछन्। 

उनका अनुसार सन् १९६२ मा नेपाल आएका अमेरिकी नागरिक जिमकोप म्यानले चितवनमा सिकारका लागि आउने विदेशीहरूलाई लक्षित गरी शुरूमा दुई वटा सिमलको रुखको बीचमा बारेर बस्न मिल्ने कोठा सहितको घर बनाएका थिए। यो नै चितवन राष्ट्रिय निकुञ्जभित्र खुलेको पहिलो होटल थियो जसलाई ‘टाइगर टप्स’ भनियो। अफ्रिकाको थ्री टप्समा काम गरेका उनले पछि निश्चित क्षेत्र लिएर रिसोर्ट बनाए। तर सञ्चालन गर्न नसकेपछि सन् १९६४ मा बेलायती नागरिक जिम एडवार्डलाई बिक्री गरेर उनले नेपाल छोडेका थिए।

त्यसयता टाइगरटप्सलाई जिम एडवार्डले सञ्चालन गरे। पर्यटन व्यवसायी मिश्र नेपालको वन्यजन्तु पर्यटनलाई विश्वव्यापी बनाउने काम टाइगर टप्सका सञ्चालक जिम एडवार्डले गरेको बताउँछन्। “वाइल्डलाइफ टुरिजम हाम्रो प्रडक्ट होइन, यो अफ्रिकाको हो। तर जिम एडवार्डले यसैका माध्यमबाट नेपाललाई विश्वमा चिनाउने काम गरे,” उनी भन्छन्, “जसले गर्दा वन्यजन्तुमा सौखिन प्रशस्त पैसा खर्च गर्ने पर्यटक नेपाल आए। यसबाट वाइल्डलाइफ टुरिजममा नेपाल संसारभर चिनियो।”

२०४८ सालमा तत्कालीन राजा वीरेन्द्रलाई टाइगर टप्स होटलमा स्वागत गर्दै त्यसका सञ्चालक जिम एडवार्ड। तस्वीर सौजन्य: टाइगर टप्सको वेबसाइट

टाइगरटप्स खुलेपछि निकुञ्जभित्र अन्य ६ वटा होटल पनि सञ्चालनमा आए। निकुञ्जका पूर्व संरक्षण अधिकृत यादवका भनाइमा निकुञ्जभित्र होटल सञ्चालन गर्दासम्म चितवनको मेघौली विमानस्थलबाट काठमाडौँका लागि विमानको दैनिक उडान हुन्थ्यो। निकुञ्ज भित्रका होटलहरूले विदेशीलाई जहाज मार्फत मेघौलीसम्म ल्याउने र त्यहाँबाट हात्तीमा चढाएर निकुञ्जभित्र लैजाने गरेको यादव बताउँछन्। 

फेरिएका समय र मान्छे 
कुनै समय थियो, होटल व्यवसायीहरूले पश्चिमा मुलुकबाट आउने (मुख्यतः गोरो वर्णका) लाई मात्र पर्यटकका रूपमा लिन्थे र उनीहरूलाई विशेष प्राथमिकतामा राख्थे। तर अहिले सोचाइमा फेरबदल आएको छ। होटल व्यवसायीहरू विदेशीहरूले भन्दा नेपालीहरूले नै धेरै खर्च गर्ने बताउँछन्। बर्दियाको ठाकुरद्वारामा होटल सञ्चालन गर्ने बुद्धिबहादुर सिँजाली विदेशी नागरिकभन्दा नेपाली पर्यटक नै खर्चालु हुने बताउँछन्। 

यही कारण नेपालीहरूप्रति होटल व्यवसायीहरूको व्यवहार पनि फेरिएको छ भने नेपाली परिवारमा घुम्ने संस्कृति विकास भएको छ। यहाँ विकसित घुम्ने संस्कृतिकै कारण कोरोना महामारीले थलिएका होटल व्यवसायीहरू कोरोनाको कहर कम हुने वित्तिकै तंग्रिए। यसको कारण थियो, ठूलो संख्यामा नेपालीहरू देशका विभिन्न स्थानमा घुम्न निस्कनु। 

क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष सुमन घिमिरे कोरोना महामारीलाई आन्तरिक पर्यटनको ‘टर्निङ पोइन्ट’ मान्नुपर्ने बताउँछन्। उनका भनाइमा कोरोना महामारी अघि चितवनको सौराहाका होटलहरूमा आउने ७० प्रतिशत पाहुना विदेशी नागरिक हुन्थे। कोरोना महामारीको बीचमा बन्दाबन्दी खुकुलो भएपछि भने अवस्था त्यसको ठ्याक्कै उल्टो भयो। त्यसयताका पाहुनामा ७० प्रतिशत नेपाली र ३० प्रतिशत विदेशी रहेको घिमिरे बताउँछन्। 

“कोरोना महामारीले नेपालीलाई घुम्न सिकायो। बन्दाबन्दी खुकुलो हुनेबित्तिकै मानिसहरू एकै पटक घुम्न निस्किए जसले गर्दा कोरोना महामारीले थलिएका व्यवसायी पनि थामिए,” घिमिरे भन्छन् “त्यतिबेला विदेशी आउन पनि सहज थिएन। त्यही कारण हामीले पनि आन्तरिक पर्यटनमै जोड दियौँ। व्यवसायीमा पनि आन्तरिक पर्यटकबाट हुने कमाइले बाँच्न सकिँदो रहेछ भन्ने आत्मविश्वास पलायो।”

पछिल्लो समय तराई क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज र त्यस आसपासका मध्यवर्ती क्षेत्र आन्तरिक पर्यटकका प्रमुख गन्तव्य हुने गरेका छन्। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा निकुञ्जभित्र जंगल सफारी गर्ने पर्यटकको संख्या दुई लाख ९९ हजार ४१२ रह्यो। त्यसमध्ये ९३ हजार ८०७ जना विदेशी थिए। त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार एक वर्षमा २४ हजार पर्यटकले जंगल सफारी गरेकोमा तीमध्ये सात हजार विदेशी थिए।


सम्बन्धित सामग्री