Saturday, May 04, 2024

-->

पारसको क्यान यात्रा: चन्दसँग टकराव, चन्दकै समर्थनमा सचिव

क्यान अध्यक्ष चतुरबहादुर चन्दसँगको असहज सम्बन्धकै कारण पारस खड्काले कप्तानबाट राजीनामा दिएर केहीपछि मैदानसमेत छाडेका थिए। अहिले पारस उनै चन्दको सहयोगमा क्यान सचिव भएलगत्तै एक्लो महसुस गर्दैछन्।

पारसको क्यान यात्रा चन्दसँग टकराव चन्दकै समर्थनमा सचिव

काठमाडौँ- “म धेरै पहिला नै मेन्टली रूपमा थाकिसकेको थिएँ। क्रिकेट मैदानमा जानु भनेको मेरो लागि ठूलो पीडा थियो,” सन्यास लिएको केही दिनपछि सञ्चारकर्मीहरूसँग पारस खड्काले भनेका थिए।

फक्रिँदै गरेको नेपाली क्रिकेटमा पारस यस्तो नाम थियो, जसले मैदानबाट आफूलाई मात्रै होइन नेपाललाई समेत विश्वसामू चिनाएका थिए। सन् २००२ मा उमेर समूहबाट क्रिकेट खेल्न शुरू गरेका पारसले आफ्नो कप्तानीमा इतिहासमै पहिलोपटक टी-२० विश्वकप खेलाए। उनकै कप्तानीमा नेपालले टी-२० आईदेखि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यतासमेत प्राप्त गर्‍यो। 

सन् २००९ मा उनले सिनियर टोलीको कप्तानी सम्हाल्दा नेपालले ‘डिभिजन फाइभ’ खेलिरहेको थियो। अर्को वर्ष नेपाली टोलीलाई डिभिजन फाइभको उपाधि दिलाएका उनले सात वर्षमै ‘डिभिजन टू’ खेलाउन सफल भए। नेपाली क्रिकेटलाई अगाडि बढाउन उनले मैदानभित्र मात्रै होइन मैदानबाहिर पनि उत्तिकै संघर्ष गरे। 

विनोद दासलाई ‘रिप्लेस’ गरेर नेपाली टोलीको नेतृत्व सम्हालेका पारसले खेलाडीको हक अधिकारबारे पनि खुलेर बोल्न थाले। उनले हरेक खेलाडीको समस्या सुन्ने र नेपाल क्रिकेट संघ (क्यान) नेतृत्वलाई समाधान गरिदिन दबाब दिन्थे। यही कारण क्यान नेतृत्वसँग उनको टसल शुरू भएको थियो।

क्यान नेतृत्वदेखि आजित भएका उनी आफू नै क्रिकेट व्यवस्थापनमा जाने सोच्न थालेका थिए। “एक वर्षमै मलाई यस्तो फिल भयो कि कप्तानको पोजिसनबाट नै धेरै कुरा गर्न सकिने रहेछ। खेलाडीहरूको हक अधिकार र नेपाली क्रिकेटको व्यवस्था परिवर्तन गर्न यही पदबाट पनि गर्न सकिने रहेछ भन्ने मलाई लाग्यो। त्यसपछि बेटर सिस्टको लागि मैले धेरै कुरा उठाउन थालेँ,” उनी भन्छन्। 

पारस कप्तान बन्दा नेपाली खेलाडीहरूले दैनिक २५ रूपैयाँ भत्तामा क्रिकेट खेलिरहेका थिए। सन् २०१० मा उनको नेतृत्वमा रहेको राष्ट्रिय क्रिकेट टोलीका १८ सदस्यले क्यानविरुद्ध विद्रोह गरे। 

“त्यतिबेला सानोभन्दा सानो कुरामा पनि हामीले क्यानसँग गुनासो गर्नुपर्ने हुन्थ्यो। हामी त्यो पहिलो ब्याज थियौँ, जसले क्यान नेतृत्वसँग प्रश्न गर्ने हिम्मत गरेका थियौँ,” उनी भन्छन्। 

हुन् त पारसको कप्तानीमा नेपाले क्रिकेट खेलिरहेको बेला अधिकांश क्यान सदस्यहरूसँग क्रिकेटको कुनै सम्बन्ध नै थिएन। सरकारी हस्तक्षेपका कारण क्यान राजनीतिक नियुक्तिले भरिएको थियो।  व्यक्तिगत फाइदा र पद बाँडफाटमा नेतृत्व रुमलिरहँदा पारसको नेतृत्वमा रहेको नेपाली टोली भने आफ्नै गतिमा अगाडि बढिरहेको थियो। कप्तानी गरेको दुई वर्षमै उनले ‘मिसन विश्वकप’ नामक भाइभर ग्रुप बनाएका थिए। त्यसको तीन वर्षमै नेपालले बंगलादेशमा भएको टी-२० विश्वकपमा ऐतिहासिक डेब्यू गर्‍यो। 

नेपालले समूह चरणमा हङकङलाई ४२ रन र अफगानिस्तानलाई ९ रनले पराजित गरेको थियो। महत्त्वपूर्ण खेलमा नेपालले टेस्ट राष्ट्र बंगलादेशलाई जित्न सकेन। तर ठूला प्रतियोगिताको अनुभव नबटुलेको नेपाली टोलीले सारा विश्वको मन जित्न सफल भयो। नेपाली टोली पुन: त्यही लयमा फर्किने सबैले आश गरेका थिए। तर विपरीत भइदियो। 

बंगलादेश जानुअगाडि नै नेपाली टोली बिनापारिश्रमिक खेलिरहेका थियो। बंगलादेशबाट फर्किएसँगै पारसले त्रिभुवन विमानस्तलबाटै क्यान नेतृत्वविरुद्ध विद्रोह गर्ने उद्‍घोष गरे। त्यो उद्‍घोषबाट तर्सिएका क्यान नेतृत्वले धेरैपटक उनीसँग वार्ता पनि गरेको थियो। तर आफूले उठाएको मुद्दाको सुनुवाइ नहुँदा उनले क्यानको पुनर्संरचना र खेलाडीहरूको लागि राम्रो सुविधाको माग गर्दै राष्ट्रिय लिग बहिष्कारको नेतृत्व गरे। उनी त्यतिमै रोकिएनन्, क्यान पदाधिकारीविरुद्ध भ्रष्टाचारको आरोप पनि लगाए। 

पारसले आफ्नो अगुवाइमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेर क्यान पदाधिकारीविरुद्ध उजुरी नै दर्ता गराए। उक्त उजुरीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाली क्रिकेटको विकासका लागि ८४ लाख रुपैयाँ दिएको तर उक्त रकम हिनामिना गरेको आरोप लगाइएको थियो। 

अख्तियारले उक्त रकम तत्कालीन अध्यक्ष टंक आङ्बुहाङसहित ३१ जना पदाधिकारीबाट असुलउपर गर्न निर्देशन दिएको थियो। तर पछि अनुसन्धानमा उक्त पैसा नआएको पुष्टि भयो। अख्तियारले पनि यो मुद्दालाई थाती राखेर अन्य मुद्दामा प्रवेश गर्‍यो। त्यही समय अख्तियारले बल तथा ब्याट खरिद र मूलपानीको रंगशाला निर्माण गर्दा माटो कटाइ तथा सम्याइमा अनियमितता भएको भनेर तत्कालीन अध्यक्ष आङ्बुहाङसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यद्यपि, यो मुद्दामा सबै पदाधिकारीले सफाइ पाए। 

क्यान भ्रष्टचारको मुद्दामा रुमलिन थालेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले क्यानमा राजनीति घुसाउन पायो। सरकारको हस्तक्षेप हुन थालेपछि आईसीसीले पनि सन् २०१६ मा नेपाली क्रिकेटलाई प्रतिबन्ध लगायो। त्यसपछि पारसले राष्ट्रिय क्रिकेट टोलीको छनोट समितिमा पहुँच बनाए। 

आर्थिक मामिलादेखि सबैमा पारसको पहुँच बढ्दै गयो। अन्तर्राष्ट्रियस्तरमा उनको सम्बन्ध सुमधुर भयो। पारसलाई सहयोग गरेका खेलाडीले फितलो प्रदर्शन गर्दा पनि टोलीमा लामो समय टिके। तर त्यो खुशी धेरै समय रहन सकेन। उनैले भष्ट्रचारको आरोप लगाएका अधिकांश पदाधिकारी क्यान प्रतिबन्धमा लागेको तीन वर्षपछि नै नेतृत्वमा फर्किए। पारसले तीनै पदाधिकारीबाट आफू असुरक्षित ठाने र करिब दुई दशकको क्रिकेट यात्रामा पूर्णविराम लगाए। 

यसपछि उनले नै चाहेका ज्ञानेन्द्र मल्लले कप्तानी भूमिका प्राप्त गरे। तर, मैदान बाहिरबाट क्यानभित्र उत्तिकै पहुँच बनाउने प्रयास गरेका पारसले चतुरबहादुर चन्दलाई पहिलाको जत्तिकै दबाबमा राख्न सकेनन्। क्यान र खेलाडीबीचको अनुबन्ध विवादले ज्ञानेन्द्रको कप्तानी पद खोसियो। त्यसपछि क्यान नेतृत्वमा आउन चाहिरहेका पारस आफैँ चन्दको पक्षमा उभिन थालेको उनीनिकट स्रोतको भनाइ छ। पारसले अहिले विगतका कुरा बर्सिसकेका छन्। उनी अहिले भन्छन्, “त्यो व्यक्तिको लागि लडाइँ थिएन, संघविरुद्धको लडाइँ थियो।”

कसरी मिले पारस र चन्द?
क्रिकेट मैदानबाट बाहिर रहे पनि पारसको कद घटेको थिएन। टोलीको खराब लय होस् या सफलता प्राप्त गर्दा नेपाली समर्थकहरूले उनलाई नै सम्झिन्थे। पारसलाई त्यही ‘स्टारडम’को कारण बेलाबेलामा सन्यास फिर्ता लिएर मैदानमै फर्किने सोच पलाएको उनी आफैँ बताउँथे। तर उनको लक्ष्य अब क्रिकेट व्यवस्थापन थियो। उनी भन्छन्, “फोहोरलाई सफा गर्न फोहोरभित्रै पस्नुपर्ने रहेछ।” 

पारसले क्यान नेतृत्व गर्ने योजना बनाउँदै गर्दा उनको साथमा पूर्वअध्यक्ष विनयराज पाण्डे, सदस्य छुम्बी लामा र लामो समय मैदानमा सँगै बिताएका शक्ति गौचनलगायत केही व्यक्ति मात्रै थिए। 

राखेपबाट क्यान सदस्य भएर गएका छुम्बी क्यान प्रतिबन्धदेखि नै पारस निकट मानिन्छन्। अधिकांश समय क्यान नेतृत्वविरुद्ध चर्को आवाज उठाएका कारण उनी चर्चामा रहने गर्थे। यता, चन्द पक्षकै ऋणिराम गौतम, दाउद अन्सारी र करण महतरा क्षेत्री पनि क्यान नेतृत्वविरुद्ध आवाज उठाइरहेका थिए। 

पारस क्यानको राजनीतिमा आउने पक्का भएपछि छुम्बी नै उनी र असन्तुष्ट पक्षबीच समन्वयकर्ता बने। टिम नपुग्ने भएपछि छुम्बीले गुटभन्दा बाहिर रहेका दीवाकर घलेलाई पनि आफ्नो साथमा लिने निर्णय गरे। 

यसरी फरक समूह बनाइरहँदा पनि पारसले आफूलाई अध्यक्षका रूपमा अगाडि सारेका थिएनन्। तर उनले आफ्नो टोलीबाट अध्यक्ष बन्न सक्ने खुबी भएका कसैलाई पाएनन्। बरु कुनै समय चन्दसँगै रुष्ट हुँदै राजीनामा दिएका अशोकनाथ प्याकुरेलको साथ खोजेका थिए। क्यानमाथिको प्रतिबन्ध फुकुवा गर्नमा प्याकुरेलको भूमिका महत्त्वपूर्ण थियो। चन्दसँग तिक्तता बढेपछि राजीनामा दिएका प्याकुरेलले फेरि फर्किने इच्छ्या नदेखकाएको गौतम बताउँछन्।

“पारस, म, छुम्बी, दाउद र दिवाकरलगायत सबै उहाँलाई मनाउन पटकपटक गयौँ। तर उहाँले मान्नुभएन। तपाईँहरु मिलेर अगाडि बढ्नु म सहयोग गर्छु भन्नुभयो। उहाँ हाम्रो साथमा भएको भए राम्रो हुन्थ्यो,” गौतम भन्छन्।

यता आफू कमजोर बन्ने थाहा भएपछि पारसले गौतमकै सहयोगमा चन्दसँग निकटता बढाए। क्यानभित्रको किचलो, टोलीको खस्किँदो प्रदर्शन र नेपाल टी-२० लिगमा देखिएको समस्याले अलोकप्रिय भएका चन्दले पनि आफूलाई साथ दिइरहेका राजुबाबु श्रेष्ठ, प्रशान्तविक्रम मल्ल, उत्तम कर्माचार्यलगायत केही व्यक्तिलाई गुमाइसकेका थिए। 

टी-२० विवादपछि क्यानको तत्कालीन कोषाध्यक्ष रोशनबहादुर सिंहले आगामी निर्वाचनमा अध्यक्षमै लड्ने दाबी गर्दै हिँडेका थिए। त्यसैले उनी पनि पारसको साथ चाहन्थे। यही कारण वार्तामा बसेका पारस र चन्दले विगतका कुरा बिर्सिएर अगाडि बढ्ने वाचा गरेको पारस निकट स्रोत बताउँछ। तर गत भदौमा कोशी प्रादेशिक क्रिकेट संघको निर्वाचन हुनुअघिसम्म पनि चन्दले पारसलाई विश्वास नगरेको स्रोतको भनाइ छ।

“कोशी प्रदेशमा रोशनको दबदबा थियो। त्यो प्रदेशमा जितेको भए उनी क्यान निर्वाचनमा हाबी हुन सक्थे। तर उनलाई साइजमा ल्याउन चन्दले पारससँग हात मिलाए। दुईपक्षको मिलापत्र भएपछि अध्यक्षमा विप्लव घोषलाई पराजित गर्दै सर्वजित पाण्डे निर्वाचित भए र रोशन कमजोर बने,” उनी भन्छन्। 

कर्णाली र सुदूरपश्चिममा चन्दको पकड थियो। गण्डकी र बागमती प्रदेशमा पारसको पकड थियो। “गण्डकीमा गुम्ने पक्का थियो, तर चन्दले बचाइदिए। बागमतीमा पनि उनको अप्रत्यक्ष सहयोग रह्यो। भक्तपुरको अदालती विवादमा चन्दले सहजीकरण गर्दिए," क्यानको तत्कालीन सदस्यसमेत रहेका उनले भने, "बागमती प्रदेशमा पारसको समर्थक र चन्दको समर्थक बराबर थिए। चन्द हैटौँडा, भक्तपुर र ललितपुर पनि पुगे र पारसलाई बागमतीमा आउने ढोका खोल्दिए।”

चन्द बागमतीकै नतिजा कुरेर बसेका थिए। यो प्रदेशबाट जो आउँछ त्यसैसँग मिलेर जाने योजनामा थिए। बागमती प्रदेशमा पारसलाई टक्कर दिन उमेश पीया थिए। विगतमा सुदीप पीया र पारसको सम्बन्ध राम्रो थियो। तर व्यक्तिगत असहमजदारीले गर्दा पारससँग आफ्नो सम्बन्ध बिग्रिँएको उनी यसअघि नै बताउँदै हिड्थे। सुदीप र उमेश दाजुभाइ हुन्।
“बागमतीमा पारसबाहेक अन्य कोही आएको भए उनले उसैलाई समर्थन गर्थे। तर पारस आएको हुँदा उनलाई जसरी पनि हराउने भन्नेमा उनी लागे र उमेश पीयालाई पठाए। उमेश पराजित भए,” ती व्यक्ति भन्छन्। 

बागमती प्रादेशिक संघमा आउनुभन्दा अगाडि पारस संघमा कुन पदमा लड्ने भन्नेबारे स्पष्ट थिएनन्। उनी भन्ने गर्थे, “व्यवस्थापकीय ठाउँमा जाने मेरो लक्ष्य हो। अहिले नै यो पदमा जान्छु भनेर सोचेको छैन। टिम छ, त्यो टिमले के भन्छ म त्यहीअनुसार जान्छु।” 

पारस बागमतीमा आउने बितिकै चन्दसँग ‘विनविन’को स्थिति आयो। आफूले पकड बनाउँदै गएपछि पारसले सचिवमा बार्गेनिङ थाले। पारसलाई चन्दले सचिव दिने पक्का भएसँगै रोशनको साथ खोजेका प्रशान्त चिढिए। रोशनले नै पटकपटक प्रशान्तलाई सचिवमा उठाउन चन्दसँग वार्ता नगरेका होइनन्। तर टी-२० लिगको बेला बढेको दूरीले गर्दा चन्दले प्रशान्तलाई साथ नदिएको क्यानका तत्कालीन ती सदस्य बताउँछन्।

“रोशनलाई चाहिँ क्यानको नेतृत्वमा ल्याउनुपर्छ भनेर चन्द बोल्दै हिँड्थे। तर प्रशान्तलाई ल्याउने कुरा कहिल्यै गरेनन्। रोशन अन्तिम समयमा चन्दसँग नमिल्दिएको भए प्रशान्तले सचिव जित्ने पक्का थियो। उनले पनि बिहीबार बिहानसम्म रोशनलाई सहयोग गर्दिन दबाब दिइरहेका थिए,” उनी भन्छन्। 

शुक्रबार क्यान साधारणसभाका क्रममा नक्सालमा भेटिएका रोशनले पनि उक्त कुरा अस्वीकार गर्न सकेनन्। आफ्नोभन्दा पनि प्रशान्तको कारण चिन्तामा रहेको सुनाइरहेका थिए। उनी भन्दै थिए, “मलाई त खास चिन्ता केही थिएन। तर प्रशान्तको कारण म हिजो बेलुका (बिहीबार) झन्डै प्रेसरले ढलेँ।” 

कसैको साथ नपाएपछि प्रशान्त एक्लै सचिवमा हिम्मत गरेर लडेका हुन्। तर पारससँग पराजित भए।

पारसलाई एक्लिने डर
प्रशान्तलाई ११ मतले पराजित गर्दै व्यवस्थापकीय स्थानमा पुगेका पारसलाई पाकिस्तानका पूर्वकप्तान तथा पूर्वअध्यक्ष इमरान खानझैँ बन्ने अवसर जुरेको छ। अर्को कार्यकालसम्म आफूसँग भएको स्रोत प्रयोग गरेर तथा आईसीसी र एसीसीसँग मिलेर भारत, श्रीलंका, बंगलादेशजस्ता राष्ट्रसँग सिरिज खेलाउन सके एक दिवसीय मान्यता जोगाइरहन सकिन्छ। उनले आफ्नो लक्ष्य पनि त्यही भएको बताइसकेका छन्।

तर यो मौकामा काम गर्न सकिएन भने पतनको बाटोमा पुगिने सम्भावनाप्रति पनि उनी सचेत छन्। त्यसैले टिम ‘स्पिरिट’मा काम गर्ने बताइरहेका छन्।

विगतमा चन्दसँग भएको तिक्ततापूर्ण व्यवहारले गर्दा काम गर्न असहज हुनसक्ने चिन्ता पनि उनलाई छ। त्यसैले जितपछि पनि उनी त्यति खुशी हुन सकेनन्। उनले भने, “हाम्रो टिम नै थियो। त्यो टिमबाट ४/५ जना आइदिएको भए सजिलो हुन्थ्यो। तर त्यस्तो भएन।” 

चन्दसँग अहिले बहुमत छ। उनीसँग उपाध्यक्ष रोशनसँगै कोषध्यक्ष पदमबहादुर खड्काको बलियो साथ छ। सदस्यमा पनि धिरेन्द्र सावद, विक्रम विष्ट, सुदीप शर्मा, जयन्ती भट्ट र विरेन्द्र चन्दको साथ छ। आयुश श्रेष्ठ, अर्जुन पौडेल र माधव कर्माचार्य भने रोशनको साथमा छन्। दुर्गाराज पाठक चन्द र रोशन दुवैको पक्षमा छन्। पारससँग दीवाकर घले र करन महतरा क्षेत्री मात्रै छन्। उनलाई यहाँसम्म ल्याउन जोडतोडले साथ दिएका गौतम र अन्सारी गोलप्रथाबाट पराजित भए।


सम्बन्धित सामग्री