Monday, May 13, 2024

-->

भारतसँग उल्टियो सिमेन्ट व्यापारघाटाः १३ महिनादेखि निर्यात उकालो, क्लिंकर आयात ठप्प

दुई वर्षअघिसम्म क्लिंकरको निर्यात शून्य र सिमेन्ट निर्यात नगन्य थियो। तर पछिल्लो १३ महिनामा भारतसँग सिमेन्टको व्यापारनाफा शतप्रतिशत छ। यी दुई वस्तुको आयात ठप्प हुँदा निर्यात लगातार बढिरहेको छ।

भारतसँग उल्टियो सिमेन्ट व्यापारघाटाः १३ महिनादेखि निर्यात उकालो क्लिंकर आयात ठप्प

काठमाडौँ– एक वर्षअगाडिसम्म नेपालले सिमेन्ट उत्पादनका लागि आवश्यक क्लिंकर भारतबाट आयात गर्थ्यो। सिमेन्ट र क्लिंकरको निर्यात भने शून्य थियो। तर गएको साउनमा नेपालबाट २३ करोड रुपैयाँभन्दा बढीको सिमेन्ट र क्लिंकर भारत निर्यात हुँदा क्लिंकरको आयात शून्यमा झरेको छ। सिमेन्टको आयात पनि लगातार घटिरहेको छ।

नेपालमा बाहिरबाट क्लिंकर ल्याएर सिमेन्ट उत्पादन हुने गरेको थियो। तर अहिले स्वदेशी खानीमा आधारित उद्योगहरूले नेपालको बजार धानेका मात्र छैनन्, सिमेन्ट र क्लिंकर निर्यातसमेत हुन थालेको छ। यसबाट सिमेन्टको मूल्य नियन्त्रित हुनाको साथै आयात घाटा कम गर्न भूमिका खेलेको छ।

सिमेन्ट उत्पादनका लागि चाहिने प्रमुख कच्चा पदार्थ क्लिंकर हो। यो चुनढुंगाबाट बनाइन्छ।

भन्सार विभागको तथ्यांकअनुसार, तीन वर्षअघि आर्थिक वर्ष २०७७/७८ मा सात लाख ४९ हजार ३११ टन क्लिंकर भारतबाट आयात भएको थियो। उक्त वर्ष निर्यात भने शून्य थियो। अर्को आर्थिक वर्ष २०७८/७९ मा क्लिंकर आयात ह्वात्तै घट्यो। भारतबाट ४७ हजार ८२६ टन क्लिंकर मात्र आयात भए पनि निर्यात हुन सकेन।

गत आर्थिक वर्ष २०७९/८० मा भने दृष्य फेरियो। आर्थिक वर्षको पहिलो महिना साउनमा ४९ लाख रुपैयाँ बराबरको सिमेन्ट नेपालबाट भारततर्फ निर्यात भयो। वर्षभरिमा निर्यातको आँकडा उत्साहजनक रह्यो।

गत वर्ष सिमेन्ट तथा क्लिंकर गरी ७८ करोड रुपैयाँ बराबरको १० लाख चार हजार टन सिमेन्ट तथा क्लिंकर निर्यात भयो। क्लिंकर मात्र ४२ करोड रुपैयाँभन्दा बढीको तीन लाख ९६ हजार ९५० टन र ३५ करोड रुपैयाँ बराबरको ६ लाख सात हजार ७३ टन सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांक छ।

चालु आर्थिक वर्षमा सिमेन्ट तथा क्लिंकर निर्यात अझ उच्च हुने सम्भावना देखिएको छ। आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै २३ करोड ४९ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर भारततर्फ निर्यात भएको छ। चालु आर्थिक वर्ष साउनमा निर्यात भएको सिमेन्ट तथा क्लिंकर गत वर्ष साउनको तुलनामा ४८ गुणा र गत आर्थिक वर्षको औसत मासिक निकासीभन्दा ३.६१ गुणा बढी हो। यो वर्ष साउनमा भारततर्फ नौ हजार ५७३ टन सिमेन्ट निकासी हुँदा ५०५ टन मात्र आयात भएको छ।

सरकारले निर्यातमा ४ देखि ८ प्रतिशतसम्म नगद अनुदान र विद्युत् महुसलमा समेत छुट दिने घोषणा गरेपछि नेपालबाट सिमेन्ट निर्यात बढ्न थालेको उद्यमीहरूको भनाइ छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारका क्लिंकर तथा तयारी सिमेन्ट दुवैको निर्यात दायरा अझ बढ्नसक्ने बताउँछन्।

खानीमा आधारित चार वटा सिमेन्ट उद्योगहरूले नेपालबाट भारततर्फ सिमेन्ट निकासी गरिरहेका छन्। भारतको सीमावर्ती बजारमा सिमेन्ट तथा क्लिंकर निर्यात गर्ने उद्योगमा पाल्पाका पाल्पा सिमेन्ट र सीजी सिमेन्ट, रुपन्देहीको अर्घाखाँची सिमेन्ट तथा कपिलवस्तुको बालाजी सिमेन्ट छन्।

२०७९ साउनमा पाल्पा सिमेन्ट उद्योगले पहिलोपटक ‘तानसेन’ ब्रान्डको सिमेन्ट रुपन्देहीको बेलहिया भन्सार नाका (भैरहवा) बाट भारतर्फ निर्यात गरेको थियो। त्यसपछि अर्घाखाँची, बालाजी र सीजी सिमेन्ट निर्यात हुन थालेका हुन्।

भारतकै चर्चित व्यावसायिक समूह अदानीसँग रणनीतिक साझेदारी गरेर गएको भदौ २१ गतेदेखि सीजी सिमेन्टका उत्पादक चैधरी समूहले सिमेन्ट निर्यात थालेको छ। अदानी समूहले भारतमा पनि स्थापित उद्योगहरूको बहुमत शेयर किनेको छ। उक्त समूहले अम्बुजाको ६३.१५ प्रतिशत र एसीसीको ५६.६९ प्रतिशत शेयर किनेर सिमेन्ट उत्पादनमा प्रवेश गरेको हो। 

अदानीले सघन जनसंख्या रहेको उत्तर भारतको बजारलाई लक्षित गरी नेपाली खानीबाट निकालिएको चुनढुंगाबाट बनेको क्लिंकर पनि आयात गर्ने योजना बनाएको एक उद्योगीले बताए। त्यहीकारण क्लिंकरको निर्यात अझै बढ्ने सम्भावना रहेको उनको भनाइ छ।

खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट तथा सूचना अधिकारी नारायण बास्कोटाका अनुसार नेपालमा १५८ वटा अनुमति प्राप्त खानी छन्। तीमध्ये १४० वटाभन्दा बढी चुनढुंगा खानी हुन्। चुनढुंगा क्लिंकर तयार गर्ने कच्चा पदार्थ हो।

नेपालमा पहिला भारतबाट क्लिंकर आयात गरेर सिमेन्ट बनाउने ‘ग्राइन्डिङ युनिट’ धेरै थिए। अहिले स्वदेशी खानीमै आधारित उद्योगको संख्या बढ्न थालेसँगै निर्यात पनि बढेको अर्घाखाँची सिमेन्टका सञ्चालक मुरारकाले बताए। गत वर्ष ८७ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको र यो वर्ष साउनजस्तो ‘अफ सिजन’ मानिने समयमा साढे २३ करोडको निर्यात हुनु आशा जगाउने विषय भएको उनको भनाइ छ।

“आयात घाटा हरेक वर्ष बढ्दो रहेको अवस्थामा आफ्नो कुनै उत्पादन निर्यात गर्न पाउनु उत्साहजनक विषय हो,” मुरारका भन्छन्, “साउनमा देखिएको निर्यातको अनुपात कायम रह्यो भने यो वर्ष २८० करोड रुपैयाँभन्दा बढीको निर्यात हुन्छ। सिजन अब बल्ल शुरू हुन गइरहेको छ। वर्षको अन्त्यसम्म तयारी सिमेन्ट र क्लिंकर गरी ६०० करोडसम्मको निर्यात हुने सम्भावना छ।”

अर्घाखाँची सिमेन्टले गत आर्थिक वर्ष करिब ३७ करोडको सिमेन्ट र क्लिंकर निर्यात गरेको थियो। चालु आर्थिक वर्षको अन्त्यसम्म १५० करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात गर्ने लक्ष्य रहेको सञ्चालक मुरारका बताउँछन्। नेपाली सिमेन्ट र क्लिंकर दुवैको गुणस्तर राम्रो हुँदा भारतमा माग बढेको पाइएको उनको भनाइ छ। 

“एकपटक नेपाली सिमेन्ट आयात गरेकाहरू भारतमा दोहोर्‍याएर माग गरिरहेका छन्,” मुरारकाले भने, “हाम्रो गुणस्तरलाई मन पराइएको भन्ने हामीले सहजै बुझेका छौँ। राज्यले प्रोत्साहन गरेमा र निर्यातमा पर्ने समस्याहरूको व्यवस्थापनमा ध्यान दिए वार्षिक डेढ खर्बसम्मको सिमेन्ट तथा क्लिंकर निर्यात गर्न सकिने साम्भावना छ।”

निर्यातमा भन्सार महसुल नलाग्ने भएकोले सरकारलाई राजस्व जोखिम छैन। तापनि सिमेन्ट बोकेका ट्रक भन्सार नाकाबाट पास गराउन आठ–दश घन्टासम्म खर्च हुने गरेकोले निकासी लागत र समय दुवै बढी लाग्ने एक उद्योगीले बताए। भन्सार कार्यालयबाट निर्यातको प्रक्रिया सहज र छरितो बनाउन नीति र जनशक्तिको अभाव देखिएको ती उद्योगीको भनाइ छ।

नेपालको घरेलु बजारको मागभन्दा धेरै क्षमतामा सिमेन्ट उत्पादन रहेकाले देशबाहिर बजार विस्तार हुनु राम्रो संकेत भएको वीरगन्ज–पथलैया करिडोरस्थित कलश सिमेन्टका संचालक अनिल अग्रवाल बताउँछन्। अहिले घरेलु बजारमा सिमेन्टको माग घटेको कारण भारत निर्यातले आशा जगाएको पनि उनले बताए।

“भारत सरकारको गुणस्तरसम्बन्धी मापदण्डअनुसारको इन्डियन स्ट्यान्डर्ड इन्स्टिच्युट (आईएसआई) पाएपछि मात्र भारतले सिमेन्ट भित्रिन दिन्छ,” अग्रवालले भने, “सिमेन्ट उद्योगहरू निर्यातको अनुमति पाउनका लागि आईएसआई प्रमाणपत्र लिने प्रयासमा छन्। निर्यात अझै बढ्न सम्भावना छ।”

उत्तर प्रदेशका गोरखपुर, लखनउलगायत शहरहरू र उत्तर प्रदेशसँग सीमा जोडिएका विहारका शहरमा नेपाली सिमेन्टको माग छ।


सम्बन्धित सामग्री